बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायतस्थित नेपाली समुदायको संरक्षक, अभिभावक र प्रवर्द्धकको भूमिकामा दूतावासको २४ सै घण्टा हरपल साथ रहने बताएका छन्।
गैर आवासीय नेपाली संघ युकेद्वारा आफ्नो सम्मानमा मंगलबार बेलुका आयोजित समारोहलाई सम्बोधन गर्दै राजदूत रेग्मीले नेपाल र बेलायतबीचको बहुआयामिक सम्बन्धलाई थप समृद्ध बनाउन आफुले कुनै कसर बाँकी नराख्ने जनाए।
नेपाल सरकारका पूर्वमुख्यसचिव रहीसकेका राजदूत रेग्मीले आफुले पाएको जिम्मेवारी बहन गर्न नेपाल र नेपालीको हितमा विकास, सभ्यता र संस्कृतिको लागि भूगोलका सीमाहरु भन्दा पनि माथि उठेर समर्पित रहने प्रतिवद्धता व्यक्त गरे। 'बेलायतमै स्थापना भएको एनआरएनको गरिमा र महत्व मैले राम्रोसंग बुझेको छु। नेपाल र नेपालीको हितमा, तमाम गैर आवासीय नेपालीहरुको हितमा कुनै पनि कमि आउन दिने छैन', उनले भने। नेपाल र नेपालीको हित प्रवर्धन गर्ने कार्यमा सघाउन एनआरएनए लगायत सबैलाई उनले आग्रह पनि गरे।
लन्डनस्थित नेपाली दूतावासकी उप नियोगप्रमुख रोशन खनालले बेलायतस्थित नेपाली समुदाय अत्यन्तै परिपक्व र नेपाली समाज विविधतायुक्त रहेको बताइन्। उनले नेपालमा विपत्तिका बेला योगदान गरिरहेको भन्दै नेपाली समुदायको र नेपाली कला तथा संस्कृति प्रवर्द्धनमा एनआरएनएले पुराएको योगदानको प्रशंसा गरिन्।
एनआरएनएका सल्लाहकार कुल आचार्यले धैर्यवान, थोरै बोल्ने, काममा दखल भएका, राजदूत बेलायतले पाएको भन्दै खुसि व्यक्त गरे।
एनआरएनएका महासचिव डा. हेमराज शर्माले संघले दूतावास नभएका ठाउँमा पनि संघ पुगेको बताए। "कोरोना महामारीको बेलामा ५० देशमा २,५०० स्वयम्सेवक परिचालन गरी १,७०,००० नेपालीहरुलाइ सहयोग गर्न संघ सफल भयो। आइएलओ र आइ ओ एमसंग सहकार्य गरेर १० करोडको बजेट ल्याएर मध्यपूर्वमा दुख पाएका नेपालीहरुलाई सहयोग गरेका छौं," उनले भने।
समाजसेवी डा राघव धितालले १९६० को दशकमा नेपालीहरु बेलायत आउन थालेका बताए। उनले वंशजको आधारमा नागरिकता निरन्तरता गर्न पनि आग्रह गरे।
बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ, आइसीसी सदस्य रामशरण सिम्खडा, आइसीसी सदस्य चन्द्र गुरुङ लगायतका वक्ताले नव नियुक्त राजदूत रेग्मीलाई स्वागत गर्द उनको कार्यकालको सफलताको कामना गरेका थिए।
प्रकाशित: २६ फाल्गुन २०७७ ११:५६ बुधबार