८ आश्विन २०८१ मंगलबार
image/svg+xml
प्रवास

गैरआवासीय नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्ना १० बुँदे कार्ययोजना समेत सार्वजनिक गरेका छन्।

संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभा मार्फत आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफुले अध्यक्ष पदमा  उम्मेदवारी दिने बताए।

‘आदरणीय अग्रजहरु, संसारभर रहनु भएका एनआरएनकर्मी मित्रहरु तथा शुभचिन्तकहरुसंग सरसल्लाह गरि एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले भने। ‘विगतमा झैं यो अभियानलाई सवै अग्रजहरु, मित्रहरु र शुभचिन्तकहरुको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त छु।’

उम्मेदवारी  घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प समेत गरेका छन्।

उनले आफ्नो उम्मेद्धारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्।

आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन ठोस कार्ययोजना सहित अघि बढने बताएका छन्।

त्यसैगरी वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई बर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सन्जाल बनाई उनीहरुसंग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिवद्धता गरे।

उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रकृयामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरुप निकर्षमा पु-याउन निर्णायक पहल गर्ने बताए।

उनले नागरिकता प्राप्तीको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने बताएका छन्।

‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भने । ‘समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन छ, हाल बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसंग मैले पहल गर्नेछु।’

अध्यक्षका दावेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरुबाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए।

नयाँ समिति निर्वाचित भएको एक महिना भित्र गत मार्चमा काठमाडौंमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारवीच दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए।

परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन संघको तर्फबाट भूमिका निर्वाह गर्ने साथै गत बर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गर्ने समेत उनले कार्ययोजना सार्वजनिक गरेका छन्।

संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यले व्यक्त गरेका छन्। त्यसैगरि आगामी २ बर्ष भित्र सदस्य संख्या कम्तिमा एकलाख पु-याउन विशेष अभियान सन्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएन एफाउण्डेसन मार्फत गर्ने व्यवस्था मिलाउने उनले बताए।

प्रकाशित: ८ आश्विन २०७६ १०:२१ बुधबार

एनआरएन अध्यक्ष उम्मेदवारी