२१ आश्विन २०८१ सोमबार
image/svg+xml
प्रवास

पोर्चुगलमा अवैतनिक दूतावास बन्द हुँदा नेपाली श्रमिक मारमा

पोर्चुगलको राजधानी लिस्बनमा रहेको अवैतनिक महावाणिज्य दूतावास सेवा बन्द भएपछि त्यहाँ पुगेका नेपाली कन्सुलर सेवा पाउन नसक्दा अप्ठ्यारोमा परेका छन्। महावाणिज्य दूतावासले एक सूचनामार्फत करिब दुई महिनाअघि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको थियो। हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा महावाणिज्य दूतावासले विगत १० वर्षदेखि राहदानीलगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत नियुक्ति गरिसकेको छ। राजदूत नियुक्तिपछि कामकारबाही सुरु गर्न केही समय लाग्ने भएका कारण यतिबेला पोर्चुगलमा रहेका नेपालीका दैनिक समस्या समाधान, अड्डा–अदालतमा बहस, पैरवी र विभिन्न सरकारी निकायसँग समन्वय गर्ने कार्य स्थगित भएको छ। 

कार्यालय बन्द भएपछि विशेष गरेर पोर्चुगलमा भर्खरै गएका नेपालीहरू सबैभन्दा बढी मारमा परेको केही समयअघि पोर्चुगल पुगेका अशोक घिमिरेले बताए । पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्य दूत मकरबहादुर हमालले एक्कासि कन्सुलर सेवा बन्द गराएपछि आफूहरू अप्ठेरोमा परेको घिमिरे सुनाउँछन्।

‘पोर्चुगलमा जेसुकै काम गर्न पनि कागजपत्र चाहिन्छ’, उनले भने, ‘त्यही कागजात बनाउन कन्सुलर आवश्यक हुन्छ। अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा हामी धेरै मारमा परेका छौं।’ सरकारले सन् २०१४ मा मकरबहादुर हमाललाई अवैतनिक वाणिज्य दूत नियुक्त गरेको थियो। त्यसलगत्तै सन् २०२० मा महावाणिज्य दूतमा पदोन्नति गरेको थियो। अहिले यो सेवा बन्द हुँदा पोर्चुगलको स्थानीय कार्ड बनाउन समस्या भएको घिमिरेको गुनासो छ।  

‘यहाँको कार्ड बनाउन बायोमेट्रिकका लागि मिति तोकिदिएको थियो। बायोमेट्रिक गर्ने मिति आइसक्यो, तर कन्सुलर सेवा सुचारु भएको छैन। यो कागजात प्रमाणीकरण गर्न फ्रान्सको परराष्ट्र मन्त्रालयमा पुर्‍याउनुपर्छ। त्यसका लागि महिनाभरि कमाएको आम्दानीभन्दा बढी युरो लाग्छ’, उनले आफ्नो गुनासो नागरिकसँग पोखे।

उनी भन्छन्, ‘नियुक्त भएका नयाँ राजदूत नआउँदासम्म अवैतनिक महावाणिज्य दूतावासले नै सेवा दिनुपथ्र्यो, तर यहाँ हजारौं नेपाली अलपत्र पर्ने गरी पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई र पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्य दूत मकरबहादुर हमालले एक्कासि कन्सुलर सेवा बन्द गराएर हामीलाई पार्नु बिजोक पारे।’

उनका अनुसार राजदूत नै तोकेपछि यहाँ दूतावास आउनुपर्‍यो अथवा केही वैकल्पिक व्यवस्था हुनुपर्ने हो । पोर्चुगल आएका कतिपय नेपालीका परिवार ल्याउने प्रक्रिया नै रोकिएको छ । लाखौं ऋण गरेर आएका नेपालीको यहाँ कागजात नबन्दा काम गर्न धेरै असहज भइरहेको छ। कतिपय नेपालीले फ्रान्स गई बनाएर ल्याएको कागजातलाई पनि मान्यता नदिएको उनको भनाइ छ। यसमा नेपाल सरकारले केही न केही व्यवस्था गरोस् भन्ने उनले आशा गरेका छन् ।

पोर्चुगलमा कागजात बनाउन उनीजस्तै अप्ठेरोमा परेका काशिराम काफ्ले हुन् । पोर्चुगलमा अस्थायी बसोवास गर्दै आएका मानिसलाई यहीबेलामा स्थायी बनाउने प्रक्रिया अघि बढेको काफ्लेले बताए । नेपालबाट आउने प्रहरी रिपोर्ट र विभिन्न कागजात प्रमाणीकरण गर्नुपर्ने बेलामा कन्सुलर सेवा अचानक बन्द भएको उनको गुनासो छ।

‘यहाँ कन्सुलर सेवा नहुँदा हामीले धेरै सास्ती खेप्नुपरेको छ’, उनले भने, ‘त्यही पुरानो कन्सुलर सेवालाई वैकल्पिक तवरको सेवा पाउनुपर्‍यो। नेपालको परराष्ट्र मन्त्रालयले यसरी बिजोकमा पार्नु त भएन नि ? राजदूत आउने मात्रै भनिएको छ, तर ६ महिनापछि आउला रे ? त्यतिबेलासम्म त धेरै गाह्रो हुन्छ नि ?’ पोर्चुगलमा नेपाली समस्यामा पर्नु भनेकै परराष्ट्र मन्त्रालयले बेवास्ता गरेको उनको गुनासो छ।

पोर्चुगलमा बसोबास गर्दै आएका प्रेम कार्की अरूजस्तै अप्ठेरोमा परेको बताउँछन्। नेपालबाट आएका युवा वर्गलाई अस्थायी बसोवास (टिआरसी) का लागि छाप लगाउन समस्या परेको उनी बताउँछन्। ‘नागरिकलाई विनासूचना यसरी कन्सुलर सेवा बन्द गर्नु राम्रो होइन’, उनले भने, ‘जनतालाई धराशायीमा राख्नु राम्रो होइन। धेरै नेपाली छन् यहाँ। यहाँ दूतावासको खाँचो छ।’

अर्का पीडित कमलनयन शर्माका अनुसार नेपालबाट आएको प्रहरी रिपोर्टलाई पोर्चुगलमा छाप लगाउन नपाउँदा तनाव बढिरहेको छ । पोर्चगलमा प्राप्त भइरहेको सेवासुविधा बन्द हुँदा धेरै आपत परेको शर्माको गुनासो छ। ‘यहाँ मेरो प्रहरी रिपोर्ट बुझाउने म्याद सकिइसकेको छ’, उनले भने, ‘नेपालको परराष्ट्र मन्त्रालयबाट त प्रहरी रिपोर्ट आउँछ आउनलाई त, तर यहाँ छाप लगाउने ठाउँ छैन। पहिला महावाणिज्य दूतावासले नेपालबाट आएको प्रहरी रिपोर्टलाई पोर्चुगल भाषामा अनुवाद गरी छाप हानेपछि प्रक्रिया अघि बढ्नुपथ्र्यो, तर उक्त सेवा नै बन्द भएपछि हामी दुःखको भुमरीमा परेका छौं।’

सरकारले पोर्चुगलका लागि राजदूत नियुक्त गरेमा उनका लागि बस्ने घर खोज्ने काम आफैंले गर्ने लामो समयदेखि पोर्चुगलमा बसोवास गरिरहेका केशव बास्तोला बताउँछन्। उनका अनुसार पोर्चुगलमा रहेका नेपाली मारमा नपरून् भनेर सक्दो प्रयास गरिरहेको छु। नयाँ नियुक्त भएर आउने राजदूत र त्यहाँ रहनहरूका लागि घरको व्यवस्था पनि गरिसकिएको उनले बताएका छन्।

परिवारको भविष्य खोज्न आएका नेपाली श्रमिकलाई वाणिज्य दूत मकरबहादुर हमाल र फ्रान्सस्थित नेपाली दूतावासको ठाडो आदेशमा विनाजानकारी कन्सुलर सेवा बन्द गरेकोमा हजारौं नेपाली स्तब्ध भएको बास्तोलाले बताए। ‘पोर्चुगलमा दैनिक सेवा पाइरहेका नेपाली नराम्ररी प्रभावित भएका छन्’, बास्तोलाले भने, ‘नेपालीको कागज प्रमाणीकरणमा एकाअधिकार जमाई १० वर्षदेखि दस्तुर लिइराखेको र विनासूचना दिइँदै आएको सेवासुविधा अवरुद्ध हुँदा नयाँ नेपालीको भविष्य प्रभावित भएको छ।’

उनका अनुसार पोर्चुगलमा करिब ५० हजारभन्दा बढी नेपाली बस्दै आएकोमा सबैभन्दा धेरै कृषि क्षेत्रमा काम गर्दै आएका श्रमिक अझ मारमा परेका छन्। ‘एकल पुरुष तथा महिला विशेष गरेर कार्ड छिटो बन्ने प्रलोभनमा गाउँतिरको खेतीपातीमा लागेका छन्’, उनले भने, ‘कन्सुलर सेवा बन्द हुँदा उनीहरूले बढी सास्ती खेपेका छन्।’

श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौता गरेको देशमा न नेपाली दूतावास छ, न त त्यो देशको नेपालमा दूतावास छ भन्दै उनले आक्रोश पोखे । ‘श्रम सम्झौता गरेको देशमा नेपाली दूतावास भए सबै नेपाली किन अरू देशको भिसा लिन भारतमा जानुपर्छ ?’, उनले भने । पोर्चुगल, माल्टा, सर्भिया, क्रोएसिया र रोमानिया देशमा विनादूतावास श्रम सम्झौता गर्नु आत्मघाती भएको बास्तोलाले बताए।

सरकारले परराष्ट्रका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिस गरिसकेको छ । हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा महावाणिज्य दूतावासले विगत १० वर्षदेखि राहदानीलगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो।

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज अधिकारीका अनुसार दूतावास स्थापना गर्ने निर्णय भएको छ, तर कहिलेसम्म हुन्छ, थाहा छैन । ‘पोर्चुगलका लागि राजदूत पनि नियुक्त गरिसकिएको छ’, उनले भने, ‘त्यहाँ रहेका नेपालीलाई परेको समस्यालाई मध्यनजर गर्दै समस्या समाधानका लागि यो पहल गरिएको हो।’

प्रकाशित: १३ भाद्र २०८१ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App