१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

लिखित उजुरी दिए तत्काल कारवाही हुन्छः श्रमसहचारी अधिकारी

महेश श्रेष्ठ

साउदी अरब– वैदेशिक रोजगारीका क्रममा साउदी अरब आएर पीडित भएका नेपालीहरुले म्यानपावर कम्पनीकाविरुद्ध लिखितउजुरी दिएतुरुन्तै कारवाही हुने भएको छ।

गैरआवासीय नेपाली संघ साउदी अरबको नवौं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको एक कार्यक्रममा श्रमसहचारी अम्बिका अधिकारीले यस्तो कुराको जानकारी दिएका हुन्। पीडितहरुका समस्याका सम्बन्धमा म्यानपावर कम्पनीहरुसँग पटकपटक मौखिक आग्रह गर्दा पनि आलेटाले मात्रै गर्ने गरेकाले लिखित उजुरी प्राप्त भए श्रम विभागमार्फत कारवाही हुने बताएका हुन्। ‘पीडितहरुको उजुरी इमेलमार्फत पनि स्वीकार गरिनेछ,’ उनले भने।

अलखोबरस्थित क्लासिक रेष्टुरेण्टमा गत २९ जुलाईमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि रहेका अधिकारीले साउदी अरबको श्रम ऐन र सम्झौताअनुसार कम्पनीहरुले व्यवहार नगरे विनम्रतापूर्वक आफ्ना समस्याका बारेमा बोल्न र नडराउन आग्रह गरे। उनले नेपाली श्रमिकहरुका हीतका लागि वैदेशिक रोजागार ऐन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै श्रमिकहरुको माग गर्ने प्रक्रियामा सम्बन्धित देशको नेपाली राजदुतावासको पूर्वस्विकृतीलाई अनिवार्य नगरिएसम्म श्रमिकहरुको समस्याको न्यूनीकरण गर्न नसकिने बताउँदैे मन्त्रालय उदासिन रहेकोमा दुःख व्यक्त गरे।

कार्यक्रममा श्रमसहचारी अधिकारीसमक्ष पीडित नेपालीहरुले आफ्नो समस्या राख्नुका साथै राजदुतावासप्रति गुनासो पनि गरेका थिए।

एनआरएनए साउदीको सो नवौं वार्षिकोत्सवमा अन्तर्राष्ट्रिय वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक धरम केसीले हालै कतारमा भएको मध्यपूर्वको बैठकका बारेमा जानकारी दिँदै ओली सरकारले काँचो सुन नेपाल लैजान बन्देज लगाएको नीतिप्रति विरोध जनाए।

कार्यक्रममा उपाध्यक्ष डम्बर यादवले आर्थिक प्रतिविदेन पेश गर्दै सामाजिक कार्यमा एनआरएनए साउदी अरबले निरन्तरता दिन प्रतिबद्ध रहेको बताए। त्यसैगरी महासचिव तेजबहादुर थापाले वार्षिक प्रतिवेदन पेश गरेर सबै सामाजिक संघसंस्थाहरुलाई एनआरएनको छातामुनि गोलबन्द हुन आह्वान गरे।

कार्यक्रममा संस्थापक, उत्कृष्ट सदस्य, समाजसेवी, भूकम्प पीडितका लागि राहत संकलन सहयोगी, परिचयपत्र छपाई सहयोगी तथा राहदानी सहजिकरणका स्वयंसेवीहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुने संस्थापकहरुमा वीरेन्द्र चौधरी, ओम घले, राजु सैयद र रुद्र सारु मगर रहेका छन्। समाजसेवीमा जोन अर्याल र सिरी यवा लिम्बू सम्मानित भएका छन्।

यस वर्षको उत्कृष्ट एनआरएनएमा तेजुकुमार श्रेष्ठ, मनोज बराल, भीम गुरुङ र दलबहादुर पुलामीलाई घोषित भए। उनीहरु पनि सम्मानित भए। विविध साँस्कृतिक कार्यक्रमसमेत गरिएको सो कार्यक्रम अध्यक्ष नारायण पासवानको सभापतित्वमा सम्पन्न भएको थियो।

 

प्रकाशित: १५ श्रावण २०७३ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App