९ मंसिर २०८१ आइतबार
image/svg+xml
प्रवास

प्रतिबन्धित औषधिका कारण गिद्ध संकटमा

कपिलवस्तु–सरकारले गिद्ध संरक्षणका लागि डाइक्लेफेमिन नामक औषधि बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको छ। लोप हुन लागेको गिद्ध बचाउन भेटनरीमा काम गर्ने प्राविधिकको पाराभेट संघले पनि कपिलवस्तुलाई डाइक्लेफेमिन मुक्त जिल्लाका रुपमा घोषणा गरिसकेको छ।

तर त्यही डाइक्लेफेनिकले अहिले पनि धेरै गिद्ध अकालमा मर्ने गरेका छन् । पशु संरक्षणकर्मीको पहलमा सरकारले २०६३ जेठमा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेमिन उत्पादन, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको थियो । ५ वर्षअघि जिल्लालाई डाइक्लोफेमिन मुक्त घोषणा गरिएको थियो । अझै पनि कृषकले आफ्ना पशुलाई उक्त औषधि सेवन गराउने गरेको धनकौलीका शिवलाल यादवले बताए ।

सरकारले उक्त औषधिमा प्रतिबन्ध लगाए पनि त्यसबारे अझै कृषककलाई थाहा नभएको उनले बताए । 'पशुलाई अझै पनि डाइक्लोफेमिन दिने गरिएको छ, त्यसैले सिनो खाएर गिद्ध मर्ने क्रमसमेत रोकिएको छैन,' उनले भने । खेत, नदी, चौर लगातय ठाउँठाउँमा मरेका गिद्ध देखिनु सामान्य बनेको यादवले बताए । सरकारले उक्त औषधिलाई प्रतिबन्ध लगाए पनि बजारमा सजिलै पाइने र सीमापारिबाट ल्याइने गरिएको छ ।

डाइक्लोफेनिक प्रयोग नरोकिएकाले नै सिनो देखिनेबित्तिकै गुजुम्म हुने गिद्ध यहाँ देखिन छाडेको अर्का स्थानीय प्रकाश घिमिरे बताउँछन् । 'प्रकृतिको कुचीकार मानिने गिद्ध अहिले टाढाटाढासम्म पनि देख्न पाइँदैन,' उनले भने । गिद्ध लोप हुन थालेपछि जिल्लाको ठाउँठाउँमा फालेका सिनोको दुर्गन्ध बढेर सर्वसाधारण सास्ती भोग्न बाध्य छन् । सदरमुकाम वरपरका गाउँमा फालेको सिनो गन्हाएर आवतजावत गर्न गाह्रो भइरहेको छ ।

'मरेका गाईबस्तु खान बथानै बथान आउने गिद्ध अहिले देखिँदैन,' घिमिरेले भने । पहिलापहिला यस क्षेत्रमा थुप्रै देखिने गरे पनि डाइक्लोफेमिन र मानवीय अतिक्रमणका कारण गिद्ध संकटमा परेको पशु कार्यालयका अब्दुल सलामको ठम्याइ छ । गिद्धलाई नराम्रो मानिने यस समाजमा अहिले यसको महत्व बल्ल थाहा भएको उनी बताउँछन् । सधैं २० किमी परको घर आउजाउ गर्ने निग्हिवाका रामलाल शर्माले तिलौराकोट नजिकै सीमासँगै मरेको गिद्ध देखेर आफू निकै दुःखी भएको बताए ।

पशुमा बढी प्रयोग गरिने डाइक्लोफेनिक औषधिले गर्दा गिद्धहरु कम देखिई लोप हुन लागेको पशु प्राविधिक बताउँछन् । मानिसका लागि समेत प्रयोग हुने डाइक्लोफेमिन पशुका लागि पनि प्रयोग हुने गरेको छ । पशुको जिउ दुख्ने र ज्वरो आउँदा प्रयोग हुने यो औषधि प्रयोगले गिद्धको बिनासमा ठूलो भूमिका खेलेको पशु चिकित्सक परबेज आलमले बताए । डाइक्लोफेनक औषधि लगाइएका सिनो खाएपछि गिद्धको मिर्गौलामा असर गर्ने हुँदा गिद्ध मर्ने गरेको उनले बताए । विश्वमा ८५ प्रतिशत गिद्धको मृत्यु डाईक्लोफेनिकले नै भएको पशु चिकित्सक बताउँछन् । गिद्धको सुरक्षित बासस्थल मानिने अग्दाअग्ला सिमल र सिसौका रुख काटिनुले पनि गिद्धलाई लोप हुने अवस्थामा पुर्याएको स्थानीयको भनाइ छ ।

गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिले पनि यसको संरक्षण आवश्यक रहेको चराविद बताउँछन् । गिद्धको संख्या घटदा मरेका पशुको दुर्गन्धका साथै सिनो खाने मुसा, स्याल र भुस्याहा कुकुरको संख्या वृद्धि भई महामारीको प्रकोप बढ्ने उनीहरुले बताए । गिद्धलाई बचाउन सामूहिक प्रयास र सचेतना कार्यक्रम गर्नुपर्ने पशु चिकित्सक आलमले बताए ।

सामान्यतया एउटा गिद्धले ३ दिनमा १ किलो तथा वर्षमा १ सय २० किलो सिनो खान्छ । यसले सिनो र फोहर खाएर वातावरण स्वच्छ राख्न सहयोग गर्छ । विश्वमा अहिले करिब २३ प्रजातिका गिद्ध पाइन्छन् । जसमा दक्षिण एसियामा ९ र नेपालमा ८ प्रजातिका भेटिन्छन् । नेपालमा पाइने प्रजातिमा सानो खैरो, राज, हिमाली, खैरो र हाडफोर, डंगर, सुन, गोब्रे हुन् ।

प्रकाशित: २१ वैशाख २०७३ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App