यसै सन्दर्भमा म मकवानपुर जिल्लाको सानो अनुभव व्यक्त गर्न गइरहेको छु। ११ बजेर ५६ मिनेटमा आधा नेपाललाई तहसनहस गर्नेगरी आएको भूकम्पले मकवानपुर जिल्लालाई पनि अछुतो राख्ने कुरो भएन। आधा दर्जनभन्दा बढी एफएम सञ्चालित मकवानपुर जिल्लामा भूकम्पको कम्पनले हेटौंडा एफएमबाहेक सबैजसो एफएम रेडियो बन्द भए। सोमाथि ३ दिने विद्युत् आपूर्तिको समस्याले गर्दा त झन् एफएम रेडियोले प्रशारण ३ दिनसम्म बन्द गर्न बाध्य भए। भएका स्थानीय दैनिक पनि ठप्प भए। यद्यपि यो समस्या मकवानपुर जिल्लामा मात्र होइन देशैभर थियो।
भूकम्प गएपछि एफएमका सबैजसो कर्मचारी पत्रकार अब के गर्ने भन्ने दोधारमा रहेकै बेला अब यो समय भनेको सूचना दिनेमात्र हो भन्ने मूल मन्त्रलाई ध्यानमा राखी प्रवेश गरियो एफएम स्टुडियोमा। एफएमको हालत पनि कम भने थिएन। भएको सूचनाको स्रोत इन्टरनेट पूर्णरूपमा अवरुद्ध भएको थियो भने टेलिभिजन तथा स्याटेलाइट पनि पूर्णरूपमा अवरुद्ध भएकाले नयाँ जानकारी कसरी स्रोतासम्म पुर्या्उने भन्ने चिन्ता नै पहिलो हुन गयो। त्यतिबेलाको एकमात्र माध्यम ल्यान्डलाइन टेलिफोन सञ्चालनमा आएपछि नयाँ जुक्ति अपनाइयो र रेडियोबाट स्रोतालाई फोन गरी गाउँगाउँको अवस्थाबारे जानकारी दिन आग्रह गरिए। यसैबमोजिम एकै घन्टामा जिल्लाभरको अवस्थाबारे जानकारी स्रोतासमक्ष राख्न सकियो। यस्तो अवस्थामा जिल्ला बाहिरको सूचना पाउनु अर्को चुनौती थपियो एफएमहरुलाई। यस्तो अवस्थामा एकमात्र माध्यम आक्कल झुक्कल लाग्ने सञ्चारकर्मीहरुको टेलिफोन नै सूचनाको भरपर्दो माध्यम हुन पुग्यो। बल्लबल्ल वर्ल्डलिंकले अपराह्न ४ बजेपछि जोडिदिएको इन्टरनेट नै एकमात्र माध्यम भयो सञ्चारको भरपर्दो साथी।
जिल्लाको सदरमुकाम हेटौंडाको प्रत्येकजसो गल्ली टोलमा र गाउँगाउँमा पनि सूचनाको भोक कति रहेछ भन्ने यस पटकको महाभूकम्पको अवस्थामा थाहा भयो। घरमा मान्छे बस्न नसकेको अवस्थामा पनि मान्छेसँग मोबाइल तथा एफएम रेडियोमात्र साथमा रहेको अवस्था पनि यसै बेला देख्न पाइयो। एफएमका स्रोता घट्दैछन् एफएम रेडियोको लोकप्रियता कम भयो भन्नेहरुका लागि पनि यो अवस्था गतिलो झापड भएको जस्तो लाग्छ। हामीले बजिरहेको गीत बन्द गरी भूकम्प गएको दिन १२ बजेर १५ मिनेटबाट सुरु गरिएको समाचारको रफ्तार आजसम्म जारी छ। सबैको मुखमा एकमात्र माध्यम वा हेटौडा एफएम भन्दा पो त साँच्चै राम्रो काम गरिएछ जस्तो लागेको छ।
अनवरतरूपमा समाचार दिइरहँदा पटकपटक आउने भूकम्पको धक्काले केहीबेर आउने अवरोधबाहेक हामीले आमसञ्चार हुनुको धर्म पूर्णरूपमा निर्वाह गरेका छौँ। कति पटक भूकम्पको जानकारी गराउँदा गराउँदै पुनः आउने भूकम्पको धक्काले हामीलाई स्टुडियोबाट भाग्न बाध्य बनाएको भए पनि समाचारको क्रम भने रोकिएन र रोक्न चाहेनौँ पनि। भूकम्पको त्रासले सबैजसो कर्मचारी बाहिरिइरहेको अवस्थामा प्रमुख नै स्टुडियोमा पसेर बोल्न थालेपछि साथीहरुलाई दुःखको अवस्थामा राज्यलाई जानकारी गराउने एकमात्र माध्यम भइरह्यो एफएम रेडियोहरु। दिनभर जस्तो क्षतिका विवरण आउने क्रम जारी रहेेको अवस्थामा गाउँगाउँमा लोडसेडिङका कारण मोबाइल चार्जको समस्या उत्पन्न भएको जानकारी पाएँ। लगत्तै हामीले अर्को राहतमूलक काम गरेका थियौँ– निःशुल्क मोबाइल चार्जको व्यवस्था। यसले पनि करिव २ हजार जनाले प्रत्यक्ष मोबाइल चार्ज गर्न पाएको देख्दा मन कम्ताको खुसी भएन ।
जिल्लामा भएका सबै एफएम बन्द भएको अवस्थामा जिम्मेवारी र स्रोता एकै पटक बढ्न गयो। हुँदाहुँदा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले फोन गरी सर्वदलीय बैठक हुने जानकारीसमेत एफएमबाट सूचना बजाउनुपर्दा जिल्लाको अवस्था कस्तो थियो होला भन्ने कल्पना गर्न सकिन्छ। हुन त अन्य जिल्लाको तुलनामा मानवीय क्षति कम भएको भए पनि घरवार क्षति हुनेको संख्या भने ज्यादै उल्लेख्य रहेको मकवानपुर जिल्लामा सबैजसो स्थानमा मानिसको जमघट तथा खुला चौरमा माइक तथा स्पिकर बजाइ हेटौंडा एफएममात्र बजाउँदा भने साँच्चै सञ्चार संस्था सञ्चालन गर्नुको गर्व महसुस भयो।
सबैजसो मानिस खुला स्थानमा बसी रातभर सुन्न खोजेको एफएम रातभर भने बजाउन सकेनौँ हामीले। दिनभर जेनेरेटरको भरमा रिले स्टेसन भैरवडाँडा तथा प्रशारण केन्द्र कमलडाँडाबाट सञ्चालन गर्न नसक्ने अवस्था आएका कारण बाध्यतावस ११ बजे बन्द गरिएको एफएम बिहान ५ बजे सुरु गरिएको थियो। भोलिपल्टबाट हेटौंडा एफएमले भूकम्पपीडितका लागि सञ्चालन गरेको राहात कोषमा ४ लाखभन्दा बढी रकम जम्मा भयो भने सो रकमले गाउँगाउँमा राहत वितरणको क्रम जारी नै छ। यस पटकको भूकम्पको अनुभव साँच्चै गज्जवको थियो भने हामीले गरेको साहसको प्रशंसा सबैतिर हुनुले पनि गतिलै काम पो गरिएछ भन्ने लागेको छ। आजसम्म पनि धक्का आउनेबित्तिकै भाग्ने र बोल्ने क्रम जारी छ।
प्रबन्ध निर्देशक, हेटौंडा एफएम
प्रकाशित: २३ वैशाख २०७२ २२:१७ बुधबार