सुन्धाराको चहलपहल नियाल्दै थिएँ। एक्कासी 'चिठ्ठा खोल्नुस्, भ्यालेन्टाइन्स् भेट्नुस्' भनेर सुने। आवाज कताबाट आयो भनेर सबैजना आवाजलाई पछ्याउन थाले। केन्द्रीय हुलाकको अफिस अगाडि एक दौरा सुरुवाल लगाएका अधबैँसे मानिसले माइकबाट चर्को स्वर गर्दै भीड जम्मा गरिरहेका थिए। भीडलाई पछ्याउँदै अधबैँसे मानिसतर्फ लागियो। माइकमा चर्को स्वर गरिरहेको ती मानिसको छेऊमा केही खाम र पोस्टकार्डहरु थिए। उनको केहीपर गुलाब राखिएको थियो।
केही भीड जम्मा भएपछि ती मानिसले सबैतिर हेर्दै भने, 'मेरा नाम चन्द्रकुमार बिक उर्फ लभ गुरु। आजको दिन यो चिठ्ठा खोल्नुस्, भ्यालेन्टाइन्स् भेट्नुस्। भाग्यमानीहरुको जिन्दगी उभो लाग्नेछ। अभागीले अर्कोवर्ष फेरि धाउनुपर्नेछ।' चन्द्रकुमार बिक उर्फ लभ गुरुको कुरा सुनेर अन्योल शैलीमा सबैजना एकअर्कालाई हेर्दै कानेखुसी गर्न लागे। फेरि लभ गुरु बोल्न लागे, 'यो चिठ्ठामा तपाईँहरुको भाग्य छ। आँट गर्न सक्नुहुन्छ भने जिन्दगी उभो लाग्छ।'
लभ गुरुको कुरा सुनेर एउटा युनिर्फममा देखिएका भाइले सोधिहाले, 'चिठ्ठा खोलेर भाग्य बन्न भए। किन दुःख गर्नुपथ्यो। कुरा बुझिएन लभ गुरुज्यू।' ती भाइका कुरामा भीडका सबैले सहमति जनाए। बल्ल लभ गुरुले सबैलाई बिस्तार गराए, 'यस चिठ्ठाभित्र व्यक्तिको नाम र ठेगाना छन्। यक्ति तपाईँहरुको किस्मत चम्किने भयो भने उनीहरुलाई सम्पर्कचाहिँ तपाईँहरुले गर्नुपर्नेछ। त्यसबापत तपाईँहरुले आ-आफ्नो परिचय र ठेगाना यो पोस्टकार्डमा लेखेर सय रुपैयाँ तिनुपर्नेछ।'
महोल केहीबेर रमाइलो भयो। कलेजका विद्यार्थीहरुले रमाइलो शैलीमा सय रुपैयाँ तिरेर नाम लेखाउने भए। त्यसबापत उनीहरुले चिठ्ठासमेत पाउने भए। असनमा तरकारी व्यापार गर्ने भए केटाले लभगुरुको सोचलाई कार्वन्यन गरिहाले सय रुपैयाँ तिरेर। लभ गुरुले उनलाई चिठ्ठा दिए। अन्य केहीले पनि सय रुपैयाँमा चिठ्ठा किन्न थाले। एक कलेजमा अध्ययनरत विद्यार्थीले चिठ्ठा खोलिन्। खामचित्र एउटा पोस्टकार्ड थियो। पोस्टकार्डमा लेखिएको थियो, 'हेलो पोस्टकार्ड किनुदिनु भएकोमा धन्यवाद। तपाईँले खर्चिनुभएको सय रुपैयाँ आठ वर्षीय बालिकाको उचारमा खर्च हुँदैछ। नेहा बिक, रसुवा।'
केहीबेर भीड शान्त भयो। लभ गुरु सबैलाई हेरेर मन्ध मुस्कान दिए। सबैजना केही नबोली आ-आफ्नो बाटो लागे। आँट गरेर मैले सोधिहाले,'किन यस्तो गर्नुभयो?' लभ गुरुले भने, 'साउदी काम गर्न गएको थिए। मेसिनले थिचेपछि काम गर्न नसकिने भएर फर्किए। आठ वर्षे छोरीको रोगबारे थाहा भएपछि सबैलाई गुहारे। केही नभएपछि आजको दिन विभिन्न स्थानमा गएर यस्तै गरेर केही रकम जम्मा गर्छु।'
प्रकाशित: २ फाल्गुन २०७२ ०१:४८ आइतबार