१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

आर यू केपी ओलिङ मि?

झट्ट सुन्दा कस्तो कस्तो लाग्ने 'आर यू केपी ओलिङ मि ?' शब्द, हामीलाई पनि सुन्दा अचम्मै लाग्यो। 'आर यू किडिङ मि ?' भन्ने शब्दको अपभ्रंस बनाई त्यसो गरिएको रहेछ। कसैले कसैप्रति ठट्यौली गरेर बोल्दा वा साँच्चै नबुझेर त्यसो हो भन्दा जवाफमा आर यु किडिङ मि? भनेर अहिले पनि अंग्रेजीमा सोध्ने गरिन्छ। 'ओलिङ मि?' भनेको पहिलो चोटी सुन्दा गजबले हाँसियो।

केपी ओली विगत लामो समयदेखि मृगौला रोगले पीडित छन्। उनी प्रधानमन्त्री पदमा रहुन्जेलसम्म देशको लागि काम गरुन् भन्ने लागेको थियो तर उनी त देशको पहिलो हाँस्य प्रधानमन्त्रीका रुपमा स्थापित पो हुन पुगे जस्तो देखिँदैछ।  हाल उनी एउटा औषधिको सेवन पनि गर्छन् जसले मानिसलाई उत्तेजित गर्छ रे। सायद त्यही औषधिको असरले पनि ओलिङ गरिरहेको हुन् कि!

कसैले हिन्दी फिल्मका हिरो अमिर खानको पिके भन्ने फिल्मसँग जोडेर ओलीको मजाक उडाइरहेका छन्। कसैले फेसबुकमा एप नै बनाएर उनका उखान टुक्काहरु राखिदिएका छन्। पदको गरिमाको हिसाबले सम्माननीयको हँसीमजाक कम हुनु पर्ने हो। सम्माननीय त अदालत पनि हो तर उसविरुद्ध बोलियो भने अदालतको अपहेलनामा कारवाही हुने व्यवस्था छ। त्यतातिरको चर्चा गर्न मनाही छ। जोडबल लगाए सिधै जेल जरिवाना पक्का। ओली जनताका प्रतिनिधि हुन्। लोकतान्त्रिक अभ्यासका क्रममा जनताबाट चुनिएर सम्माननीयको हैसियतमा पुगेका हुन्। त्यसैले उनी जनताप्रति सार्वजनिक रुपमा जवाफदेही हुनुपर्छ। र उनलाई जनताले प्रश्न गर्न पनि पाउँछन्। आफ्ना प्रत्येक अभिव्यक्तिप्रति जिम्मेवार रहनुपर्छ। संविधानले पनि वाक स्वतन्त्रताको व्यवस्थाले त्यसै भन्छ तर अदालतमाथि प्रश्न उठाउनै नपाउने व्यवस्था छ। यो व्यवस्थाको अभ्यास हेर्दा आर यु केपी ओलिङ मि ? गरिरहेको हो कि भन्ने कताकता भान हुन्छ।

ko oli

प्रधानमन्त्री ओलीको भनाइ देखाउन फेसबुकमा बनाइएको एपले यस्तो देखाउँछ

प्रधानमन्त्री भइसकेपछि ओलीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट बनेको संवैधानिक व्यवस्थाकै ओलिङ गरे- संवैधानिक व्यवस्था भन्दा बढी उपप्रधान तथा मन्त्री नियुक्त गरेर। त्यसपछि बेतुके भाषण गर्दै हावाबाट बिजुली निकाल्ने भन्ने उक्ति आए लगत्तै टेण्डर हाल्ने कम्पनीको कुरा आयो त्यसको पुँजी नै थोरै रहेको समाचारले केपी ओलिङ गरेको पुष्टि हुन आयो। अर्को लोडसेडिङ एक वर्षमै अन्त्य गर्छु भन्ने कुरो अायो। एक वर्षभित्र ग्यासको लाइन बस्नु नपर्ने अवस्था अाउने कुरो पनि अायो। चार-पाँच महिनादेखिको नाकाबन्दी र कालोबजारी त हटाउन सकेका छैनन्। लोडसेडिङका कुरा? के यो केपी ओलिङ हैन? सारा जनतालाई बेबकुफ बनाउनु भनेकै केपी ओलिङ हो। केपी ओली असहज अवस्थामा प्रधानमन्त्री भएका व्यक्तित्व हुन् तर उनले जुन हिसाबले जनमतको खिल्ली उडाउने कोसिस गरे त्यो उनले जनतामाथि गरेको केपी ओलिङ हो। उनले चाहेको भए महाकाली सन्धि हुँदा पनि राष्ट्रवादी सोच देखाउन सक्थे। त्यतिखेर जो जो महाकाली सन्धिको विरोध गर्छन ती सब अराष्ट्रिय तत्व बनाइए। महाकाली सन्धि गरे वर्षको २० अर्ब वार्षिक नेपालले पाउँछ भन्ने बखान सार्वजनिक रुपमै गरे। उनले बोलेका कुराहरु पुराना पत्रिकामा अहिले पनि पढ्न सकिन्छ। त्यतीखेर अहिलेको जस्तो बुढो, अशक्त तर लाचार राष्ट्रवाद कहाँ थियो? आर यु केपी ओलिङ मि?

केपी ओली एक जना उदाहरण प्रतिनिधि पात्रमात्र हुन् उनी जस्ता राज्यलाई केपी ओलिङ गर्ने थुप्रै मुर्धन्य व्यक्ति अहिले पनि राज्यकोषको ढुकुटीमा राज गरी बसिरहेका छन्। के त्यो चै होइन ओलिङ मि? अख्तियारका प्रमुख लोकमान सिंह कार्कीलाई नपुग्दो के छ? आयल निगमका गोपाल खड्कालाई नपुग्दो के छ? पूर्व प्रधानन्यायाधिश दामोदरप्रसाद शर्मा आफैँ सन्यास धारी थिए। उनलाई नपुग्दो के थियो ? उनीहरुविरुद्ध समाचार प्रकाशित हुँदा केही नबोल्ने र आफ्नो क्रियाकलापले त्यसलाई पुष्टि गरिरहने प्रवृत्तिले त्यही देखाउँछ। न्यायपरिषद आफैँमा आवश्यक सबै व्यवस्था भएको संस्था हो तर त्यसका पात्रले पनि न्यायपालिका माथि ...ओलिङ गरिरहेका छन्। देशको सर्वोच्च अदालतमा न्यायधीश छैनन्, मुद्दा मात्र छन्। नियुक्त गर्न सक्ने मान्छेलाई कुनै नाकाबन्दीले रोक्न सक्दैन तर पनि न्यायपालिका माथि नाकाबन्दी लगाउने काम गरिँदैछ के यो ...ओलिङ हैन? न्यायधीशमाथि समेत भ्रष्ट्राचारको छानविन गरिने व्यवस्था बकाइदा छ तर हालसम्म गुनासो समेत सुन्ने काम भएको छैन। के त्यो केपी ओलिङ हैन? नेपाल बार न्यायापालिकामा भइरहेको गतिविधिमाथि निगरानी गर्ने तथा कानुन व्यवसायीको हकहितको लागि बोल्ने संस्था हो। तर आज उसको भूमिका अदालतको कुन बेन्चमा आफ्नो मुद्दा छ सो मुद्दा कसरी जित्ने भन्ने सोचले काम गर्दैछ। के यो नेपाल बारको भावना माथिको ... ओलिङ होइन ? कति दिनसम्म यस्तो?

हिजो जनयुद्धताका माओवादीले देशलाई जनवादीमय बनाउने घोषणा गरेका थिए। जब मान्छे मार्न थाले। जो जसको ठुलो रकमको तमशुक थियो वा जो ठुलो अपराध गरी लुकेको थियो उसले ताली बजायो। त्यो अपराधी नै अपराधको दुनियाँबाट माक्र्सवादी कहलिएर निस्कियो। उ सच्चा कमरेड भयो। सत्तामा आएउना साथ जनवादीमय बनाउने नारा त कहाँ पुगे माओवादी आफैँ फुटेर टुक्राटुक्रा भयो। जो जो जनयुद्धमा होमिएका थिए तिनका सन्तानले न केही पाए न लिए। लिए त लिए केवल द्वन्द्वका घाउ। के यो केपी ओलिङ होइन ? यसकौ जवाफ कसले दिने ?

राज्यले कालोबजारीलाई प्रसय नदिने हो भने विलासिताको सामान सबैको पहुँचमा नराख्ने नीति ल्याउने हो भने, शैक्षिक संस्था लगायत स्वास्थ संस्थाको नियमन गर्ने हो भने कसैले किन अनावश्यक धन थुपार्ने गर्छ र ? तर समाजमा धन हुने नै प्रतिष्ठित हुन्छ भन्ने गरिब मानसिकताले अहिलेको युवा पिँढी पनि मेहनत गर्न होइन बरु केपी ओलिङ मि गर्नतिर लागेको जस्तो भान हुन्छ । सबैलाई कुनै मेहनत बिनै मनग्य कमाउन मन छ। त्यसैले हाम्रो देशका प्रधानमन्त्री पनि कुनै कुराको लेखाजेखा, अध्ययन अनुसन्धान नगरीक नै आफैलाई ओलिङ मि गरिरहेका छन्।

सरकारको जिम्मेवार पदमा बसेकाहरुको सिर्जनात्मक दिमाग काहाँ कसरी के लिन सकिन्छ भन्ने भ्रष्ट बाटोतिर मात्र लाग्यो। यी महापुरुषहरुले पदको दुरुपयोग नगरी आफूले पाएको अधिकारको सही सदुपयोग गरिदिएको भए सारा जनताको वाहावाही पाउने थिए। त्यती खेर केपी ओलिङ मि भन्ने कसैले आँट गर्ने थिएन। राजनितीक मुलधारका नेताले गर्ने गरेको ...ओलिङ मि को आवाज अहिले समाजिक सन्जालमा समेत गुञ्जिरहेको छ।
(लेखक अधिवक्ता हुन्)

प्रकाशित: १९ माघ २०७२ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App