गोर्खा भूकम्पले हामी विपत व्यवस्थापनमा अति नै लाचार छौं भन्ने कुरा घाम जत्तिकै छर्लंग पारेको छ। तर वास्तविकता गजब छ, किनकि विपत व्यवस्थापनका विकासे कार्यकर्ता कसैलाई फुर्सद छैन, सबैलाई चटारो छ, अनि पीडितहरुसँगको सेल्फीले पत्रपत्रिकादेखि सामाजिक साइटहरु भरिएका छन्। उता भूकम्पपछिको सुरुका दिन विपद् आइलागे पनि जति सजिलो भएको थियो त्यसपछिका दिन झनै कठिन बनेको भूकम्पपीडितहरुको अनुभव छ।
हाम्रो समाजमा भन्ने गरिएको छ कि 'दुष्टले समेत सात घर छोडेर आफ्नो कुकर्मको लागि बाटो सजिलो पार्छ रे।' तर हामीले त्यति पनि गर्न सकेनांै र पुनर्निर्माण प्रधिकरणजस्तो अति महŒवपूर्ण निकाय केवल आफ्ना कारिन्दाहरुको जागिर खाने थलो बनाउन पुगेका छौं। यता माघ २ गते देखि महानिर्माणको सुरुवात गर्नेहरुले नेरु २५० को 'कालो पेट्रोल' किनेर कसरी पीडितहरुको नजिक पुग्ने भनेर योजना त पक्कै बनाउँदै होलान्, तर दुई दिन नेपाल आएर गोर्खाको एउटा ढुङ्गो टिपेर, अनि केही जीपीएसको तथ्यांक टिपेको भरमा काठमाडौँमा अर्को भूकम्पको खतरा भन्दै विदेशी महावैज्ञानिकहरु जर्नलमा छाप्दै छन्। त्यसैको भरमा हाम्रो समाजमा कोलाहल हुँदै पनि छ।
विश्वका कुनै पनि देशले आफ्नो देशको भौगर्भिक अध्ययन र निचोडका बारेमा बोल्ने अधिकार केवल त्यसै देशका वैज्ञानिकहरुलाई मात्र दिएको हुन्छ, अनि त्यो देशमा विश्वविद्यालयहरु अनुसन्धानमा व्यस्त हुन्छन्। तर, हाम्रो देशमा आज माघ २ गतेको दिन विकासे कार्यकर्ता जीपीएस राख्न विदेशी अनुसन्धानकर्ता भनाउँदाहरुको झोला बोकेर नेपालको भू–विपदको अनुसन्धान गरिरहेका छन्। यता विश्वविद्यालयका अनुसन्धानकर्ताहरुलाई सरकारले अहिलेसम्म कुनै काम लगाएको छैन। उता विदेशी महावैज्ञानिकहरु तिनै विश्वविद्यालयका अनुसन्धानकर्ताहरुलाई फकाउँदै, भेट्दैछन् अनि कुरा धुतेर आफ्नो तथ्यांक बलियो पर्दै अन्तर्राष्ट्रिय जर्नलमा लेख छाप्दैछन्। कतिपय यस्ता विदेशी महावैज्ञानिकहरु विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको कुरा सुनेर दोस्रोपटक उनीहरुसित भेट्दैनन् किनकि गोर्खाको एउटा ढुङ्गो टिपेर कम्तीमा हिमालयको जटिल भूसंरचनाको कुरा हाम्रो विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको अगाडि हुन सक्दैन भन्ने कुरा ती महावैज्ञानिकहरुलाई राम्ररी थाहा छ।
आज माघ २ गते, शहरमा 'कालो पेट्रोल' हालेर भूकम्प सुरक्षा दिवसको नाममा माइकिङ हँुदै होला अनि कुनै भव्य समारोहमा प्रधानमन्त्री पहेलो ज्याकेट लगाएर टेबुलमुनि लुक्दै पनि हुनुहोला। तर विदेशमा नाम भएका अनि स्वदेशमा 'खेसरीको दाल'झंै रहेका दसांै नेपाली वैज्ञानिकहरु विपत व्यवस्थापनको ठूलो माफियातन्त्र हेरेर टुलुटुलु हेर्दै आफ्नो पैसा खर्च गरेर काठमाडांै, चौतारा र चरिकोटजस्ता ठाउँका लागि चाहिने भूकम्प सुरक्षित घरहरुको मोडल, पोखराको आगामी भुकम्पीय जोखिम नक्सा अनि तराईका शहरको आगामी भूकम्पीय सुरक्षाको खाका तयार पार्दैछन्। विचराहरुलाई थाहा छ माफियातन्त्रले चलेको देशमा उनीहरुको उपलब्धि हाँसोको विषयमात्र हुनेछ। तर कम्तीमा 'थालमा भात'को आशामा बसेका पीडितहरुलाई 'खाली थालमा सफा हात'को प्रोजेक्ट लिएर आउने विकासेकर्ताभन्दा राम्रो उपलव्धि दिन सकिनेमा उनीहरु विश्वस्त छन्।
पुनर्निर्माण गर्नु भनेको पुरानै संरचना बनाउनु होइन भन्ने कुरा हामीले बुझाउन सकेका छैनौं। सस्तो घरको नारा सुनाउने गरिन्छ, तर 'सस्ता रोए बारबार, महँगा रोए एकबार' भन्ने हिन्दी उखान सबैले बिर्सिने गरेको देखिन्छ। त्यस्तैगरी गोर्खा र धादिङजस्ता जिल्लाहरुमा १ करोडको जस्ता–पाता ५० लाखमा हेलिकप्टरले उडाउन १ लाखे चार जना, २ लाखे दुई जना र ५ लाखे एक जना विकासे कर्मचारीहरु नियुक्त गरिने कुरा कसैबाट लुकेको छैन। यो कस्तो सस्तो निर्माणको कुरा भएको हो बुझिनसक्नु भएको छ्र
मुलभूत रुपमा भन्नु पर्दा अब जनसमुदायले बु‰नुपर्ने कुरा के छ भने, भूकम्प हाम्रो नियति हो, वर्षामा पहिरो पक्कै जान्छ, चैत्र वैशाखमा तराईमा आगलागी पक्कै हुन्छ। तर टेबुलमुनि छिरेर तपाई सुरक्षित हुन सक्नुहुन्न, पहिरोको मुखमा पक्की घर बनेको छ भनेर पनि तपाई सुरक्षित हुनुहुन्न।
अब, तपाई हाम्रो पालो आएको छ, जसरी हुन्छ घर बनाउँदा भूकम्पीय जोखिम कम भएको नै निर्माण गर्छु भन्ने सोच्नुहोस्। तपाईका इन्जिनियरहरुलाई गोर्खा भूकम्पको जस्तो जमिन हल्लिए मेरो घरमा के हुन्छ भनेर सोध्न नबिर्सिनुस्। जसले तपाईंको प्रश्नको उत्तर जान्दैन त्यसले तपाईंको घर भूकम्पीय दृष्टिकोणले सुरक्षित बनाउन सक्दैन।
पहाडको डिलमा सुरक्षित घर कसरी बनाउनुपर्छ भनेर सोध्नुस्। पिलर राख्दैमा घर बलियो हुँदैन भन्ने कुरा अब सबैले बु‰नुपर्छ। जसले जे सुकै भनुन्, तपाईहरु जमिनले भूकम्पीय तरंग कसरी प्रवाहित गर्छ भन्ने कुरा जानेर मात्र घर बनाउनुपर्छ भन्ने कुरामा ढुक्क नभई घर बनाउने कुरा सोच्दै नसोच्नुस्।
हामीहरुले तराईमा नयाँ बन्ने गरेका घरहरुको भूकम्पीय सुरक्षा कस्तो छ भनेर पनि चिन्ता लिनुपर्ने बेला हो यो। तराईमा भूकम्पीय तरंगको प्रवाह कसरी हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन। तर, अहिले नेपालको सुरक्षित घरहरुको मोडेल भनेर जताततै प्रचार गरिएको छ। तर, प्रत्येक नेपालीले बुझ्नुपर्ने कुरा त्यो घर तपाईंको आफ्नो घर हो, त्यसैले तराईमा घर बनाउँदै हुनुहुन्छ भने डिजाइन गर्ने इन्जिनियरहरुलाई मेरो घरलाई गोर्खा भूकम्पजस्तै गरेर भूकम्पको तरंग जाँदा के हुन्छ भनेर सोध्न नबिर्सनुस्। तपाईंको प्रश्नको उत्तर प्रत्येक डिजाइन गर्ने इन्जिनियरले दिनुपर्छ। नगरपालिकामा पैसा खर्च गरे नक्सापास भइहाल्छ भनेर आफ्नो काल आफैं निर्माण नगरिदिनुस्, अब तपाईंहरुको भूकम्पीय सुरक्षाको जिम्मा तपाई आफैंको हो, न सरकारले गर्छ, न विकासे कार्यकर्ताले गर्छन्। किनकि भूकम्पको ९ महिनाको अवधिमा हामी विज्ञ भनाउँदा नेपालीहरुले बुझेको र जानेको कटु यथार्थ यहीमात्र हो। यस्तो भनेर विचलित हुनुपर्दैन, हामी नेपाली वैज्ञानिक सदा हाम्रो विपत व्यवस्थापनका लागि अनुसन्धानरत् छौं र त्यो अनुसन्धान केवल तपाईहरुका लागि हो। आज भूकम्प सुरक्षा दिवसमा सबैलाई 'भूकम्पबाट आफ्नो सुरक्षा आफैं गरौं (अरुले गर्दैनन्, कसैको भर नपरौं' भन्ने अनुरोध गर्दछु।
सहप्राध्यापक, इन्जिनियरिङ भूगर्भविद्, त्रिभुवन विश्वविद्यालय
प्रकाशित: १ माघ २०७२ २२:३७ शुक्रबार