काठमाडौं उपत्यकाका प्राय सांस्कृतिक गतिविधि चन्द्रमाको गतिअनुसार चलेका हुन्छन्। त्यसमा केही जात्रा एवं चाडपर्व सूर्यको गतिमा आधारित हुन्छन्। प्रत्येक वर्षको माघ १ गतेलाई माघे संक्रान्तिका रुपमा विशेष दिन मानिन्छ। काठमाडौं उपत्यकालगायत नेवार समुदायमा यो दिन 'ध्य चाकु सल्हुँ' का नामले चिनिन्छ। यस दिन घिउ र चाकु खाने संक्रान्ति भएर ध्यु चाकु सल्हूँ भनिएको हो। यस दिनबाट सूर्य कर्कट राशिबाट मकर राशिमा प्रवेश हुने भएकाले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ। यस दिन घरघरमा घिउ, चाकु, तरुल, सिद्रा माछा, हरियो लसुनको टाउको आदि चिजबिजका साथ भोज खाने चलन छ। साथै, नुहाइधुवाइ गरी टाउकोमा तेल राख्ने गर्छ। र ठाउँठाउँमा लाग्ने मेलामा सरिक हुन्छ। विशेष गरी त्रिवेणी तीनवटा नदीको संगमस्थलमा स्नान गर्नेको घुइँचो लागेको हुन्छ। यसमा भक्तपुरको खोह्र हनुमानघाट, पनौतीको खोह्र, पशुपति आर्यघाट, टेकु, शंखमूल, विष्णुमती, देवघाटजस्ता प्रसिद्ध तीर्थमा स्नान गरी ब्राह्मणलाई घिउ चाकु तरुल आदि दान दिनेहरुको ठूलो मेला लाग्छ। यता भक्तपुर नगरभरि दिपंकर बुद्धको जात्रा हुन्छ। स्थानीय हिन्दुहरुबीच पाँच पाण्डवले चिनिने दिपंकर बुद्धलाई सम्यकदान अत्यन्त महŒवले भरिएको सांस्कृतिक गतिविधि हेर्न लायकको हुन्छ। भक्तपुरको पाँचवटा बिहारबाट सूर्यमढी टोलमा जम्मा भएपछि सुरु हुने यो नगर परिक्रमा टौमढी पुगेपछि समापन हुन्छ। यता टौमढीको तिलमाधव नारायण चोकमा पनि अर्को मेला लाग्छ। तिलमाधल नारायणको जिउभरि घिउ चाकु दल्ने र गाईलाई पकाएको गहँु ख्वाउने चलन छ। यस दिन विवाहित छोरीबेटी लोग्नेको घरमा केही खाँदैनन्। यता ज्वाइँहरु पनि ससुरालीमा केही खाँदैनन्। यस दिन विवाहित छोरीबेटीहरु चाड मनाउन माइती पुगेका हुन्छन्। यस दिन विशेष गरी खानपानकै सन्दर्भमा काँचो घिउ, चाकु, तरुल, लसुनको टाउको आदि खानुलाई वैज्ञानिक एवं समयानुकूल मान्न सकिन्छ। जाडो याम भएकाले घिउ–चाकुजस्ता वस्तु जमेर ढिक्को हुने र खान सजिलो हुने छँदैछ। जाडोमा शरीरलाई आवश्यक उर्ज्कासमेत घिउ, चाकु, तरुल, लसुनको टाउको खाँदा प्राप्त हुने अर्को पक्ष अत्यन्त महŒवपूर्ण छ। जाडो समयमा घरघरमा खानका लागि प्रशस्त चाकु हुने समय हो। केही समय अगाडि मात्र सकिएको योमरी पूर्णेका लागि पनि चाकु घर भिœयाइएको हुन्छ। बाँकी चाकु सक्ने उद्देश्यले पनि माघे संक्रान्तिको दिन चाकु खाने परम्परा विकास भएको मानिन्छछ। त्यस्तै, अहिले जाडोको समयमा गाईबस्तुले धेरै दूध दिने भएर खपतभन्दा बढी दूधको घिउ उत्पादन हुन्छ। जाडो समयमा चाकुझैं घिउ पनि जम्ने भएकाले खानका लागि सजिलो हुन्छ। त्यस्तै, तरुल पनि यो समयमा प्रशस्त पाइने कन्दमूल हो। जसरी सकिमना पूर्णेको दिन जमिनमुनि पाइने पिँडालु र सखरखण्ड उसिनेर खाने चलन छ, त्यस्तैगरी माघे संक्रान्तिको दिन तरुल काँचै र भुटेर खाने गर्छ। यही बेला खेतमा प्रशस्त हरियो लसुन हुन्छ। शीतले लसुन असाध्यै मिठो पनि हुन्छ। आयुर्वेदिक हिसाबले लसुन औषधी पनि हो। गुठी भोजमा मुलाको टाउको खाएझैं माघे संक्रान्तिको दिन लसुनको टाउको खाने चलन छ। यहाँ लसुनको टाउकोलाई शत्रुको टाउकोको संज्ञा पनि दिइन्छ। लसुनको टाउको पिरो हुने हुँदा पिरो चिज खाँदा शत्रु सम्झी खाएमा सजिलै खान सकिन्छ भन्ने मान्यताले यसो भनिएको हुनुपर्छ। यस्तै सिद्रालाई पनि शत्रुको टाउको मानी खाने चलन छ। वास्तवमा माघे संक्रान्तिको दिन खाने प्राय सबै चिजबिज जस्तो घिउ, चाकु, तरुल, माछाको सिद्रा, लसुनको टाउको आदि काँचो खानुको अर्थ यो समयमा तागतिलो तर पचाउन गाह्रो यस्ता खानेकुरा खान सकिन्छ भन्ने सन्देश दिन नै हो। जाडोको समयमा यस्ता तागतिलो चिज खाई आउने गर्मी यामका लागि शक्तिसञ्चय गर्नु नै चाडको प्रमुख उद्देश्य हो। वास्तवमा घिउ–चाकुमा रहेको असंख्य शक्तिको पहिचान हाम्रा पुर्खाले हजारौं वर्षपहिले नै पत्ता लगाइसकेको र यसको वैज्ञानिक पुष्टि माघे संक्रान्तिबाट भएको छ। यस दिनबाट सूर्य उत्तरायणबाट दक्षिणायन लाग्ने हुँदा मौसममा न्यानोपन आउने र त्यही न्यानोपनलाई हाम्रो शरीरले आत्मसात गर्न सकोस् भन्ने अभिप्रायले माघे संक्रान्ति चाड मनाएको देखिन्छ।
माघे संक्रान्तिको दिनबाट गर्मीयामको सुरुआत हुने भनिए पनि चन्द्रमाको गतिअनुसार योमरी पूर्णेको दिनबाटै गर्मी लागिसकेको हुन्छ। यसैलाई मनन गरी माघे संक्रान्तिको दिन अझ तागतिलो चिज खाने परम्परा बसेको हो। यसमा पनि योमरी पूर्णेको दिनबाट रात छोटो दिन लामो हुँदै जान्छ।
प्रकाशित: ३० पुस २०७२ २०:५० बिहीबार