'ट्रयु कलर' नामको एप्स भएको मोबाइलमा इन्टरनेट कनेक्सन छ भने त्यहाँ स्वतः डायल नम्बर कस्को नाममा छ भन्ने देखाउँछ। मेरो फोनमा त्यो एप्स हुँदा आज काम लाग्यो। डायल नम्बर मनोज यादवको भन्ने एप्समा देखियो। पूरा घण्टी बज्याे तर फोन उठेन। म केहीबेरमा फेरि डायल गर्ने याेजनामा थिएँ तर तुरून्तै सोही नम्बरबाट 'कल ब्याक' आयो। मैले उठाएँ र सोझै मनोजजी हो? भनि सोधे। 'हो म मनोज यादव बोल्दैछु,' भन्ने जवाफ आयो। ट्रयु कलर एप्सले देखाएको नाम 'ट्रयु' नै रहेछ।
'तपाँइको फोन नम्बर रेडियो परासीमा पेट्रोल बम प्रहार भएको घटनासँग जोडिएर समाचारमा आयो, वास्तविकता के हो?' मैले टोलिफोनमा यादवसँग प्रश्न राखेँ। उनको जवाफ आयो 'म निर्दोश छु, रेडियोमा मैले राति फोन गरेको हो तर बम प्रहार भएको घटनासँग मेरो कुनै संलग्नता छैन।' अफूले फोन गर्नु र बम प्रहार हुनु संयोग मात्र रहेको उनले प्रस्टिकरण दिए।
मनोज नवलपरासीका स्थानीय व्यापारी रहेछन्। उनको परासी बजारमा आँखा अस्पताल अगाडि 'परासी चश्मा पसल' छ। कुनै राजनीतिक दलसँग आबद्ध नरहेको र मधेसी मोर्चा वा अन्य कुनै दल र समूहको आन्दोलनमा संलग्नता र समर्थन पनि नरहेको मनोजको भनाई छ। बम प्रकरणसँग जोडिएपछि उनी यतिबेला प्रहरीको निगरानीमा छन्। उनीमाथि प्रहरी अनुसन्धान सुरु भएको छ। बुधबार राति रेडियोमा बम प्रहार भएको घटनापछि तुरुन्तै उनलाई प्रहरीले फोन गरेर कार्यालयमा आउन भनेको थियो। मनोजले रातिमा नआउने, भोलि अाफै प्रहरी कार्यालय आउने भन्दै आफू निर्दोश भएको बताएका थिए। उनी अहिले प्रहरीको अनुसन्धानमा छन्।
सुन्नुहोस टेकनारायण भट्टराई र मनोज यादवबीचको टेलीफोन संवादः
प्रकाशित: १० मंसिर २०७२ ००:२४ बिहीबार