सो समयमा पशुपति पुग्दा केही फोटो पत्रकारहरु र अन्य पत्रकारहरु पनि पशुपतिको पश्चिमी ढोकामा उभिएका थिए। पत्रकार कनकमणि दीक्षित केही बेरमै आइपुगे। त्यसपछि कलाकार मदनकृष्ण श्रेष्ठ पनि पुगे। उनीहरुले क्षमा पूजा कहाँ गराउनेबारे छलफल गर्न थाले।
'यहाँ आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति मन्दिरमै विशेष पूजा गराए,' दीक्षित छलफलमा भन्दै थिए, 'अब हामीले क्षमा पूजा त्यही गर्न त हुन्न । त्यसैले कही बाहिरी क्षेत्र रोजौं।'
ठाउँको टुंगो लाग्यो। पशुपति मन्दिरको पश्चिमपट्टीको पर्यटक काउण्टर पछाडिको शिवलिङ्ग रहेको ठाउँमा पूजा गर्ने निधो गरियो। अब सबै पश्चिम गेटबाट उतैतिर लागे।
अब त्यहाँ पुजाका समाग्री व्यवस्थापन गर्न पुजारी अघिसरे। बेलाबेलामा दीक्षितले उनलाई निर्देशित गर्दै थिए। त्यहाँ पुग्न बाँकी थियो, कलाकार हरिवंश आचार्य र भारतीय प्रधानमन्त्री मोदी उर्फ मनोज जगुरेल।
बेलाबेलामा पूर्वराजा ज्ञानेन्द्र, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत नेपाली नेताहरुको क्यारिकेचर गर्दै आएका गजुरेल मोदी भेषमा झुल्किए। सबैले उनलाई हेर्न थाले। मोदी शैलीमा दुई औँला देखाएर उनले सबैलाई अभिनन्दन गरे।
नक्कली मोदी नै सहि क्यामेरा र स्मार्टफोनहरु उनीतर्फै सोझिए। त्यहाँ उनले हिन्दीमै भाषण दिए। पूजाको तयारी हुँदै थियो। करिब पाँच मिनेटमा उनीहरु क्षमा पूजा गराउन तयार देखिए।
गजुरेलसँग कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पत्रकार कनकमणि दीक्षित, पूर्व मुख्यसचिव लीलामणि पौडेल र साहित्यकार मदनमणि दिक्षित उनीहसँगै क्षमा पूजाका लागि पशुपति मन्दिरतर्फ फर्केर बसे। पुजारीले मोदीलाई नसताउन आग्रह गरे। 'अहिलेसम्म जे गरेँ त्यो सबै पाप कटोस पशुपतिनाथ,' पण्डितले क्षमा माग्न थाले।
मोदीले शिवलिंगमा दुध चढाए। त्यसपछि फूलपनि चढाए। मोदी स्वयम्ले पशुपतिलाई दिएको चन्दन पनि उनीहरुले चढाउन भ्याए।
त्यसपछि कलाकार हरिवंश आचार्यले उनीमाथि छोटो टिप्पणी गरे। 'भारतले अब धेरै नेपाललाइ दुःख नदेओस,' उनले भने । त्यसपछि उनले ल्याएको एक बोतल 'नेपालीको आँसु' पनि दिए।
त्यसपछि पालो आयो बोल्ने कलाकार मदनकृष्ण श्रेष्ठको उनले पनि मोदीलाई नेपालीलाई दुःख नदिन आग्रह गरे। 'नेपालमा इन्डियन प्लेट तल (जमिन मुनि) बाट धकेलेर भूकम्प आयो,' उनले भन्दै गए, 'अहिले माथिबाटै धकेल्दा हामीलाई खान, बस्न र हिँड्ड्ल गर्नै समस्या प¥यो।'
यतिबेलासम्म पूजा हेर्नेको घुइँचो ठूलो भैसकेको थियो। अन्तिममा बोल्दै गजुरेलले मोदीकै शैलीमा 'अब मैले यस्तो गर्दिन, मलाई माफी देऊ पशुपति भगवान्' भन्दै क्षमा मागे। करिब २० मिनेटसम्म उनले क्षमा पूजा गरे।
अबको कार्यक्रम पशुपति मन्दिर भित्र पुग्नुपर्ने थियो। पशुपति मन्दिर छिर्नु अघि मोदीसँग कतिपय सहभागीले सेल्फी लिन भ्याए। गगुरेलले मोदी शैलीमा नमस्कार र हाँसो दिइरहे। यो दृश्य देखेर पशुपति दर्शन गर्न पुगेका कतिपय भक्तजन अचम्मित भए।
मन्दिरभित्र पस्ने क्रममा पश्चिम ढोकामा केहीबेर फोटो सेसन चल्यो। एकछिन पछि पशुपतिलाई दाहिनेतिरबाट सबैले फन्को मारे। उत्तर ढोका नजिकै पुग्दा केही भारतीय दर्शनार्थीसँग मोदी टोलीको जम्काभेट भयो। भारतीय तीर्थालु दर्शनार्थी अचम्ममा परे। गजुरेललाई आफ्ने देशको प्रधानमन्त्री सम्झेर उनीहरुले नमस्कार गरे। गजुरेल पनि के कम तत्कालै उनले ठ्याक्कै मोदीशैलीमा मुस्कान फर्काइदिए। मोदीले झैं हात मिलाइदिए। उनीहरुसँग हिन्दीमै भलाकुसारी पनि गर्न पनि भ्याए।
दक्षिण ढोका पुग्दा अर्की भारतीय मुलकी एक महिला देखिइन्। गजुरेल पनि उनका अगाडि पुगे। 'कहाँ से हो,' हात जोड्दै मोदी शैलीमा उनले सोझे। 'तामिल से हैं,' ती महिलाको जवाफ थियो। गजुरेलले त्यसपछि उनलाई तामिलकै केही चल्तिका शब्द भन्न भ्याए। ती महिला पनि तामिलमै अर्को वाक्य सुनाइन्। उनले लगेर आफ्ना श्रीमानलाई समेत भेटाइन। यतिखेरसम्म गजुरेल भारतीय दर्शनार्थीबाट घेरिइसकेका थिए।
अघिल्लो वर्ष साउन महिनामा काठमाडौं आएका प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेका थिए। म आफैँ सो पूजाको रिपोर्टिङ गर्न पुग्दा मोदीले हात हल्लाएर सबैलाई अभिवादन गरेका थिए। बिहीबार बिहान पशुपतिमा जगुरेल उनीभन्दा कुनै पक्षमा पनि कमी देखिएनन्।
प्रकाशित: २१ आश्विन २०७२ ०१:३० बिहीबार