१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

यसर्थ ती डाक्टरलाई टेरिनँ

२०७२/०२/१८ सोमबार।
नाम: साध्या दाहाल, उमेरः २० महिना, समस्याः ज्वरो र घाँटीमा समस्या।

जस्तापाताले छाएको 'मल्टिपर्पोज भवन' को हलमा पार्टिसनबिनै इमर्जेन्सी, वार्ड र ओपिडी एकै ठाउँमा सञ्चालन गरिएका छन्। भूकम्पपछि फेरिएको मेरो बसाइबाट नजिक पर्ने भक्तपुर, दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज कम्युनिटी अस्पताल पनि मेरै डेराजस्तो चर्किएर टहरोमा सरेको छ। म ज्ञानेश्वरको पुरानो घरबाट सरेर नयाँ घर खोज्दै दुवाकोट पुगेको छु, अस्पताल नयाँ ९ तले भवनबाट पुरानो टहरोमा पुगेको छ। जस्ताको तातोमुनि साथमा श्रीमती र काखमा छोरी साध्या छिन्। छोरीको ज्वरोको तातोले मेरो काखभन्दा मन बढी पोलिरहेछ ।

 

अघिल्लो रात छोरी राम्रोसँग सुतेकै थिइनन्। श्रीमती भन्दै थिइन्, 'दिउँसैदेखि केही खाएकै छैन।' यसअघि धेरैपटक बिरामी भए पनि दूध चुस्न गाह्रो हुँदैनथ्यो उनलाई। यसपटक चुस्न खोज्छिन्, सक्दिनन्। रुँदै छाडिहाल्छिन्।' मैले चिउँडो मुनिबाट छामेँ, टन्सिल बढेको छ कि छैन? म आफैँले पनि जीवनमा जति एन्टिबायोटिक्स खाएको छु, त्यसको ९० प्रतिशतभन्दा बढी टन्सिलकै कारण हो। आफूले जानेको टन्सिल भए–नभएको जाँच्ने तरिकाले छोरीको अवस्था हेरेँ। वयस्कहरुमा टन्सिलको दुखाइ जति पीडादायी हुन्छ, बालबालिकामा त्यसभन्दा निकै भयावह हुन सक्छ भन्ने मैले धेरैपटक लेखेको छु। टन्सिलको असर मुटुसम्म पुग्छ बच्चाको। एन्टिबायोटिक्स नखुवाई निको हुँदैन। मेरो त्रास टन्सिलले हो कि भन्नेमा थियो। श्रीमतीमा भने एन्टिबायोटिक्स खुवाउनुपर्ने भयो भन्ने चिन्ता थियो। म पहिला टन्सिल हो/होइन, यकिन भएर औषधि खुवाई हाल्न चाहन्थेँ। त्यसैका लागि म नजिकैको अस्पताल पुगेँ।

***

बाइकको आवाजले नै छोरी म घर आइपुगेको थाहा पाउँछिन्। साँझ घरमा पहिलोपटक स्वागत गर्ने आउने उनै हुन्छिन्। बाइकसमेत राम्रोसँग थन्क्याउन नपाउँदै उनीलाई मेरो काखमा बस्न हतार हुन्छ। अपूरा वाक्यमा उनी दिनभर सिकेका कुरा सुनाउँछिन्। काखमा बसेर दिनभरका कुरा सुन्न भ्याउँदा–नभ्याउँदै म उनको अवस्था नियाल्छु। कहिले शरीर तातेको हुन्छ, कहिले नाकमा चोट हुन्छ, कहिले घुँडामा घाउ। यस्ता समस्याको कारण खोजी गर्छु, वा चिकित्सकसँग परामर्श लिन्छु।

पहिले उनले पानी खाए–नखाएको सोधिखोजी गर्छु। २० महिनाअघि महाराजगन्जस्थित शिक्षण अस्पतालमा जन्मिनेबित्तिकै उनलाई आमाले राम्रोसँग दूध चुसाउन सकिनन्। उनलाई ज्वरो सुरु भयो । मैले धेरै चिकित्सकसँग परामर्श गरेँ । छोरीलाई डि–हाइड्रेसनको ज्वरो हो भन्ने निष्कर्ष आयो। बिस्तारै दूधको मात्रा बढ्दै जाँदा ज्वरो घट्दै गयो । अहिले पनि हल्का शरीर तातेको थाहा पाउनेबित्तिकै पहिले पानी खुवाउँछु। अनि धेरै समय ज्वरो घट्छ पनि । तत्काल चिकित्सकसँग सल्लाह लिन सम्भव नभएको अवस्थामा म सिटामोल खुवाउने निर्णय आफैँ लिन्छु। बच्चालाई सय डिग्री फरेनहाइटभन्दा माथि ज्वरो आउँदा सिटामोल खुवाउनुपर्छ। सबैभन्दा सुरक्षितमध्येको औषधि सिटामोलले गर्ने असरभन्दा ज्वरोको असर धेरै बढी हुन सक्छ।

अघिल्लो दिन राति घर पुगेर छोरीलाई काखमा लिनासाथ मैले उनलाई ज्वरो आएको आभास गरेँ। थर्मोमिटर र सिटामोल दुवै भेटिनँ। अलि राति भइसकेकाले कुनै डाक्टरलाई फोन पनि गरिनँ। त्यसैले सिधै नजिकै रहेको त्यही केएमसी शिक्षण अस्पतालको फार्मेसी पुगेर 'पेसिमोल' नामको औषधि खुवाएँ। त्यसपछि ज्वरो घटे पनि छोरी राम्रोसँग सुत्न भने सकिनन्। दूध चुस्न खोज्ने तर केहीबेर चुसेपछि रुँदँ छाड्ने उही समस्या। मैले घाँटीतिर छामेँ, टन्सिलको आभास भएन। त्यो रात अनिदोमै बित्यो।

बिहानसम्म सिटामोलले ज्वरो घटाए पनि छोरीको खान्की बढेको थिएन। अघिपछिको जस्तो चन्चलता पनि थिएन। घाँटीमै केही समस्या होलाजस्तो लागिरह्यो। रुवाएरै भए पनि घाँटी हेर्छु भनेर दुवै दाँतको बीच बाहिरबाट औँलाको दबाब दिएँ। मुख खोलियो र भित्र हेरेँ। घाँटीको बीच भागमा केही फोका देखिए।

बिहान मैले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत कान्ति बाल अस्पतालमा रेजिडेन्सी गरिरहेका एक चिकित्सक मित्रलाई फोन गरेर छोरीको समस्या सुनाएँ। ती चिकित्सकको सल्लाहमा त्यो सामान्य फंगल्स इन्फेक्सन थियो। उनले मलाई एसएमएसमार्फत क्यान्डिड ड्रप मुखमा हाल्न र कुनै समस्या परे जतिसुकै बेला पनि जानकारी दिन भने। म सो ड्रप किन्न छोरी लिएरै केएमसी शिक्षण अस्पताल पुगेको थिएँ।

औषधि किन्न फार्मेसी पुगेका बेला मलाई बालरोग विशेषज्ञ कोही भए देखाऊँ कि भन्ने लाग्यो। फोनबाट गरेको सिफारिसमै विश्वास लिएर औषधि किन्न गइरहेको थिएँ। डाक्टर नै भेटिए भने किन नदेखाउनु भन्ने लाग्यो। सवा १० बजेको थियो। अस्पतालमा बालरोग विशेषज्ञ त थिएनन्। केहीबेरमा आउँछन् भन्ने सूचना मिल्यो। कुरिरहेकै अवस्थामा मैले छोरीको मुखभित्र त्यसैगरी हेरेँ। यसपटक अलि भित्रैसम्म देखियो। घाँटीको बीचको अलि ठूलै क्षेत्र रातो भएको थियो। फोका र रातो भाग देख्दा अलि डर लाग्यो। भित्र पसेर दर्ता गर्ने ठाउँमा सोधेँ– 'पेडियाटिसियन कोही आउनुभयो?'

नाम दर्ता गर्नेले छोरीको नाम सोधे।

नाम दर्तापछि मलाई कार्ड थमाउँदै एक जना डाक्टर (युवती) तर्फ इशारा गर्दै भनियो, 'उहाँलाई देखाउनुस् ।' उनी विशेषज्ञ त थिइनन् तर त्यहाँ भएका मध्ये बालबालिकाका केस अलि बढी हेर्ने भएर हो कि ! म ती डाक्टरतिर जाँदै गर्दा सोचेँ। भर्खरै एमबिबिएस अन्तिम वर्षको नतिजा आएकाले इन्टर्न होलिन् भन्ने लाग्यो। मैले लक्षण र अन्य अवस्था सुनाएँ। उनले आफूले कुनै प्रयत्न नगरी मुख हेर्नुपर्योर भनिन्। मैले आफैँले हेर्दा गर्नेजस्तै गरी मुख खोलेर देखाइदिने प्रयास गरेँ, मुख खुल्यो तर ती डाक्टरले 'देखिएन' भनिन्। उनीजस्तै देखिने सहकर्मीलाई बोलाएर हेर्न भनिन्। अर्की चिकित्सक पनि उस्तै। मैले पुनः प्रयास गरेपछि उनले पर्दैन-पर्दैन भनिन् र बेन्चमा बसिन्। मैले रोए पनि त हेर्नुपर्योक नि भनेँ। तर चिकित्सक मोबाइलमा गुगल सर्च गर्न थालिन्। खै के खोजिन्, के भेटिन्– 'पख्नुस् है' भन्दै फोन डायल गरिन् र फोनबाटै कसैलाई छोरीको समस्या व्याख्या गर्न थालिन्। उतातिर सायद कोही वरिष्ठ वा सुपरभाइजर थिए। उनले ती डाक्टरलाई बच्चालाई ज्वरो र टन्सिल भएको सुनाइन्। ती डाक्टरले बच्चाको तौल सोधेछन् क्यार, उनले हामीतिर फर्केर सोधिन्। मैले तौल भनिदिएँ। औषधिको मात्रा लेख्न होला। केहीबेरमा उनले औषधि लेखेर कागज थमाउँदै भनिन्, 'टन्सिल हो, ठूलै छ। एन्टिबायोटिक्स खानुपर्छ पाँच दिनसम्म, कम भएन भने फेरि आउनुहोला।'

म झसंग भएँ। कसरी यो टन्सिल हो भन्ने निष्कर्षमा पुगिन् ती डाक्टर। ज्वरो धेरै चर्को थिएन। टन्सिलमा हुँदाजस्तो पूरै घाँटी रातो पनि थिएन। सामान्य सिटामोलले नै घटिरहेकै थियो। उनले न घाँटी हेर्न नै खोजिन् न मैले खोलिँदिँदा चासो दिइनँ। एकाएक उनले कसरी टन्सिल हो भनेर एन्टिबायोटिक्स दिइन् ? म ती नयाँजस्ती देखिने डाक्टरप्रति भन्दा पनि उनलाई फोनबाटै टन्सिल भन्दै एन्टिबायोटिक्स सुझाउने ती डाक्टरप्रति आश्चर्य लाग्यो। कतिबेला त्यहाँबाट उम्कौँ भन्ने भयो। पुर्जा लिएर बाहिर निस्कँदै गर्दा नै मैले उनको सुझाव नमान्ने र अर्को डाक्टरलाई देखाउने यकिन गरिसकेको थिएँ ।

त्यही साँझ म वरिष्ठ बालरोग विशेषज्ञ डा. चन्देश्वर महासेठकहाँ पुगेँ। डा. महासेठले रुवाएरै भए पनि छोरीको घाँटी राम्ररी हेरे र भने, 'टन्सिल होइन, फंगल्स छ। अबको तीन दिनसम्म यत्तिकै पेसिमोल मात्रै दिएर हेरौँ। औषधि खुवाउँदा पनि ज्वरो घटेन भने सामान्य एन्टिबायोटिक्स खुवाउँला।'

अहिले नै एन्टिबायोटिक्स खुवाइहाल्नुपर्दैन भन्ने सुनेपछि मेरी श्रीमतीको अनुहार उज्यालो भयो। मैले पनि राहत महसुस गरेँ। टन्सिल होइन रहेछ, अरू नै केही भए औषधि खुवाउँला। त्यसमा पनि केही बिगारिसकेको रहेनछ भन्ने लाग्यो। नभन्दै, पेसिमोलले नै ज्वरो घटायो । घाँटीको अवस्था पनि सुधार हुन थाल्यो। बिस्तारै छोरीले दूध चुस्न थालिन्। केही दिनमै पूरै निको भयो।

***

नेपालको मेडिकल शिक्षाको वस्तुस्थितिबारे बहस सुरु भएको आधा दशक भइसकेको छ तर सतही। यस्ता बहसहरु मेडिकल कलेजको संख्या, खुला अर्थतन्त्र र नेपाली मुद्रा बाहिरिनु–नबाहिनुसँग बढी केन्द्रित भएजस्तो देखिन्छ। मूल प्रश्न मेडिकल शिक्षाको गुणस्तरको हो। मैले एउटा घटनाका आधारमा ती चिकित्सकको क्षमतामा प्रश्न उठाउन खोजेको होइन । त्यो दुस्साहस पनि गर्दिनँ। मेरो पेसागत अभ्यासका क्रममा थुप्रै वरिष्ठ चिकित्सकबाट डाक्टरहरुमा सामान्य सीप र ज्ञानमै कमजोरी रहेको सुनेको छु। घाँटीकै दुखाइमा पनि भाइरल र ब्याक्टेरियल कुन हो भन्ने खुट्ट्याउन नसक्ने थुप्रै चिकित्सकका फरक सिफारिस मैले नै भोगेको छु। जसको तर्कले मन खान्छ, उसकै सल्लाह मान्छु। तर प्रश्न कसको सिफारिसमा समस्या भन्ने होइन। प्रत्येक स्वास्थ्य संस्थामा आफ्ना समस्या लिएर जाने बिरामीले के चिकित्सकबाट पाउने सल्लाह अक्षरशः पालना गर्ने अवस्था छ त? किन चिकित्सकहरु नजानेको कुरा मेरो विषय होइन, म जान्दिनँ भन्न तयार हुन्नन्र? किन बिरामी र तिनका आफन्तलाई सरल तरिकाले व्यवहार गर्दैनन् ? तथ्य र तर्कबाट यो डाक्टरले गरेको सिफारिस मान्नुपर्छ भन्ने बनाउन सक्दैनन् ?

र, अन्त्यमा। मलाई थाहा थियो– मैले छोरीलाई तिनै डाक्टरको सिफारिसअनुसार एन्टिबायोटिक्स खुवाएको भए पनि फंगल्स त निको हुने थियो। तर त्यो चिकित्सकीय हिसाबले 'मिसयुज अफ ड्रग्स' हो। एन्टिबायोटिक्स भनेको प्रतिजैविक औषधि हो जसले शरीरमा रहेका राम्रा–नराम्रा दुवैथरी ब्याक्टेरिया मारिदिन्छ र रोग निको बनाउँछ। त्यसले कालान्तरमा गर्ने नकारात्मक असरको जोखिम त रही नै रहन्छ। त्यसैले समस्या राम्ररी खुट्ट्याएर अति आवश्यकमा मात्र एन्टिबायोटिक्स खुवाउनु नै सही निर्णय हो। डाक्टरलाई देवतासमान मान्ने हाम्रो समाजका जोसुकैले उसका सिफारिस वरदानसरह पालना गर्छन्। तर त्यसमा विश्वस्त हुन सक्ने अवस्था कसरी आउला ? अहिलेको चिन्ता यत्ति हो।

प्रकाशित: ३१ जेष्ठ २०७२ ००:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App