गाँउबाट गएका मान्छेलाई घरवालाले शंकाको घेराबाट हेर्थे। 'कतै माओवादी त होइन?' भन्नेखालका प्रश्न पनि उनीहरुले नगरेका होइनन्। यस्तो सोधाइ उनीहरुको रहर र सौख थिएन, बाध्यता थियो। त्यतिबेला उनीहरुका घर दिनहुँ सुरक्षाकर्मीबाट खानतलासी हुन्थ्यो। नचिनेको मानिस घरमा भए प्रहरी चौकीदेखि सेनाको ब्यारेकसम्म पुग्नुपर्थ्यो। यस्तो अप्ठ्यारोबीच डेरा पाउनुलाई हामीले आफूलाई भाग्यमानी ठान्थ्यौं।
सीमित घर रहेको भोजपुरमा विद्यार्थीको चाप बढ्दा सानो कोठामा च्यापिएर बस्नुको पीडा सम्झिन लाएकको छ। डेराको बन्दोबस्त गरिसकेपछि परीक्षाका लागि सम्पूर्ण पोकोपन्तेरो बोकेर आउने दिन नजिकियो। परीक्षा अवधिभरका लागि चामल, तरकारी, नुन, तेल, खाजालगायतको पोको ममीले तयार पारिदिएपछि १०-११ दिनका लागि घर छोडेर सदरमुकाम आइयो। त्यहाँ आएपछि भात अनि तरकारीकारुपमा गुन्द्रुक पकाएर खाएको याद अहिले पनि झल्झली आउँछ। भात खाउञ्जेल त सुखै हुन्थ्यो। तर, भाँडा माझ्ने बेलामा भने साथीहरुसँग झगडा नै गर्नुपर्थ्यो।
परीक्षा हुने अघिल्लो दिन हाम्रो परीक्षा केन्द्र रहेको सरस्वती निमाबि पोखरेमा प्रवेशपत्र वितरण गरियो। प्रवेशपत्र लिने ठाउँमा समेत सेना र प्रहरीको उपस्थिति बाक्लो थियो। यसअघि नजिकबाट मैले त्यति धेरै सुरक्षाकर्मी देखेको थिइनँ। त्यो देखेर मन अक्रान्त बनेको थियो।
भोलिपल्ट बिहानदेखि हुने परीक्षामा सामेल हुन आधा घण्टा अगाडि परीक्षा केन्द्र पुगेँ। परीक्षा केन्द्र वरिपरि सेना र प्रहरीले घेरा लगाएका थिए। प्रवेशद्वारमा प्रहरीले विद्यार्थीलाई खानतलासी गर्दे थिए। प्रहरीले शिरदेखि पाउसम्म छामछुम गरे। जुत्तासमेत खोल्न लगाए। कडा चेकजाँचपछि परीक्षा हलमा पुगेँ।
पहिलोपटक प्रहरीले जिउ छोएपछिको त्रास लिएर हलमा छिर्दासम्म मन हलुगो भएन। त्यसबेला मलाई सबैभन्दा ठूलो चुनौती विद्यालयको इज्जत राख्नुक थियो। किनकि म पढेको पशुपति मावि खावा विद्यालयले अघिल्लो वर्षमात्र निल जोगाएको थियो। त्योभन्दा पहिले दुई वर्षसम्म शून्य अंक प्राप्त गरेको थियो। त्यतिबेला धेरै विद्यालयले एसएलसी परीक्षामा निल खाने गरेका थिए भने नतिजा पनि अत्यन्तै कम हुन्थ्यो। १० वर्षपछि यी कुरा उल्लेख गर्दा धेरैलाई काल्पनिक लाग्न सक्छ। तर यो यथार्थ हो।
अहिले देश युद्धमा छैन। देश नयाँ संविधान निर्माणतर्फ उन्मुख छ। गाउँबाट विद्यार्थी परीक्षा दिन सदरमुकाम धाउनु पर्दैन। अनि परीक्षा केन्द्रमा सुरक्षाकर्मीको घेरा पनि हुँदैन। विद्यार्थीले सहज ढंगबाट परीक्षा दिन पाउँछन्। विद्यालयको उत्तीर्ण संख्या शून्य हुँदैन। उत्कृष्ट अंकका साथ अत्याधिक विद्यार्थी पास हुन्छन्। हामीले दिएको एसएलसी विशेष परिस्थितिले भयरहित नबनेपनि अहिले शान्ति छाएको छ।
तर, यो खुसी व्यक्त गरिरहँदा एसएलसीमा देखा परेका विकृतिलाई कोट्याउने हो भने निकै अमिलो लाग्छ। द्वन्द्वपश्चात् हुन थालेको एसएलसी कतिसम्म गिरेको छ भने परीक्षा केन्द्रमा शिक्षकदेखि अभिभावकसम्म चिट चोराइरहेका छन्। अभिभावक र शिक्षकलाई जसरी भए पनि विद्यार्थी उत्तीर्ण गराउने भूत चढेको छ। परीक्षा वरिपरि निषेधित क्षेत्र तोकिए पनि त्यसको पालना भइरहेको छैन। सुरक्षा निकायका अधिकारी, अभिभावक र शिक्षकको हर्कतले गाउँमा निरीहतूल्य छन्। त्यसो नगरे गाउँलेको पिटाइ खाएको घटना ताजै छन्।
जिल्ला सदरमुकामबाट परीक्षा निरीक्षणका लागि सम्बन्धित अधिकारीहरु गाउँसम्म पुग्दैनन्। जिल्लाबाट केन्द्राध्यक्ष मर्यादित वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्रसम्म खटिन्छन्। तर, उनीहरु कर्तव्यबाट विमुख भएको देख्दा सरकारको निर्णयलाई खिल्ली उडाएको महशुस हुन्छ। कतिसम्म भने यतिबेलाको गाउँ केन्द्रीत एसएलसी परीक्षा केवल प्रमाणपत्र लिने थलोमात्र बन्दैछन्। विद्यार्थीको आफ्नो सिर्जनशिलता क्रमशः हराउँदै गएको छ। परीक्षा केन्द्रमा ढुक्कले चिट चोर्न पाएका छन्। उनीहरु उपर कसैले औँला ठडाए परीक्षा हलबाट बाहिर निस्कन साथ उनीहरुलाई रामधुलाई गरेका घटना प्रशस्त छन्।
यही सेरोफेरोमा आजभोलि एसएलसी परीक्षा हुने गरेको छ। १० वर्षअघि एकदेखि दुई जना विद्यार्थी उत्तीर्ण गराउन धौ-धौ पर्ने विद्यालयहरु शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर मख्ख छन्। सबै विद्यालय असक्षम छन् र विद्यार्थी कमजोर छन् भन्न खोजिएको होइन। तर, जसरी पनि पास गराउने जुन शिक्षक र अभिभावकले निति लिएका छन्, त्यो नीति दक्ष जनशक्ति उत्पादन गर्ने थलोभन्दा पनि बेरोजगार उत्पादन गर्ने कारखानाको उपमा पाउन थालेका छन्, हाम्रा विद्यालयहरुले। सरकारले जतिसुकै परीक्षा मर्यादित बनाउने धुँवाधार गफ दिए पनि, नीति बनाए पनि, त्यसको कार्यान्वयन पक्ष भने फितलो देखिएको छ, विगत वर्षमा। अधिकतम विद्यार्थी उत्तीर्ण गराउन शिक्षकहरु लाग्नुको उदेश्यचाहिँ के छ भने हचुवाका भरमा प्रत्येक गाविसमा खोलेका उच्च मावि टिकाउनका लागि पनि हो। हाम्रो पालामा जस्तो एक जना विद्यार्थी पास भएर उच्च मावि सञ्चालन हुँदैन भन्ने हेक्का बुझेकाले पनि शिक्षकहरु लम्पट भएर विद्यार्थीलाई चिट चोराउने गरेका हुन्। तिनै शिक्षकहरु हुन् जो, बालबालिकाको भविष्यलाई बन्धक बनाएर लामो समयसम्म विद्यालय बन्द गराउँछन्। विद्यालयमा आएर पढाउनुपर्ने समय अन्यत्रै मोड्छन्। राजनीतिक दलका नेता-कार्यकर्ता आज तिनै शिक्षक छन्। ठेकेदारदेखि एनजिओका मालिक तिनै शिक्षक हुन्। विद्यालयमा पाठयक्रमै नसकी विद्यार्थीहरु परीक्षा दिन बाध्य छन्। यसै वरिपरी यस वर्षको प्रवेशिका परीक्षा हुँदैछ। परीक्षामा सामेल हुने सबै परीक्षार्थीलाई सफलताको शुभकामना।
प्रकाशित: ५ चैत्र २०७१ ०५:०६ बिहीबार