१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

विमान भित्र पुरस्कारको ओइरो !

'ज–जसको विहे भएको २५ वर्ष भइसकेको छ र पनि श्रीमतीहरू खुसी छन् ती सबै पुरुषले पुरस्कार पाउने छन्।' एक्कासि ठूलो स्वरले हामी सबैको ध्यान तान्यो।

 

'आश्चार्यको कुरा के थियो भने यो भनाइ विमानभित्र सुनिएको थियो। २०१५ जनवरी १७ मा मैले काम विशेषले लाइमा ओहायोबाट अलबामा राज्यको हन्सभील जाने क्रममा डेटन विमानस्थलबाट अमेरिकन एयरलाइन्सको उडान नम्बर ए ए १०५९बाट डाल्लासका लागि विमान समातेको थिए। त्यो पुरस्कारको कुरा गर्ने अरु कोही नभएर विमान परिचारिका थिइन्। मैले वोर्डिङ पास लिएर विमान कुर्ने क्रममा उनलाई कुनै पाइलटसँगै देखीसकेको थिएँ। तर उनी यसै विमानकी परिचारिका भएको थाहा थिएन। अफ्रिकी मुलकी जस्तो देखिए पनि उनलाई गहुँगोरी भन्न सुहाउँथ्यो। फराकिलो निधारमा घुम्रिएको छोटो कपाल। अनि रातो लालीले ढपक्क ढाकीएका ओँठ। उमेर त्यस्तै ३० देखि ३५ हुँदो हो। निलो रंगको प्यान्ट र आकासे रंगमा निलो धर्को भएको कमिज त्यसमाथि निलो कोट अनी घाँटीमा रातो स्कार्फ।

हुन त उनको स्वर सुनिनु अघि म स्वयं यही विमानका परिचारिकाबारे सोच्दै थिएँ। यसको कारण अरु केही नभएर विमानभित्र प्रवेश गर्दा यात्रुलाई गरिएको उपेक्षा नै थियो। हुनत तपाइँलाई विमानको ढोकामा मुस्कुराउदै पर्खेका परिचारिकाको त्यो शैली पूर्ण व्यावसायिक हुनेगर्छ। उनीहरू विमानमा यन्त्रवत रुपमा मुस्कुराउदै सबै यात्रुलाई स्वागतम भन्दै गरेका हुन्छन्। तपाइँले ध्यान दिएर हेरे थाहा पाउनुहुनेछ, कहिलेकाही त उनीहरूको अनुहार यात्रुतिर भए पनि आँखा भने अर्कैतर्फ हुने गर्छ।

मलाई कहिले कहीँ लाग्थ्यो–कही यिनीहरूको मुस्कान यात्रुका लागि नभएर यात्रु माथि त होइन!

त्यसमाथि आज विमान भित्र छिर्दा झन औनोठो दृश्य थियो। साच्चै भन्ने हो भने त त्यसलाई कुनै दृश्य भन्न पनि नमिल्ला। किनभने विमानको ढोकामा यात्रुलाई स्वागत गर्न कोही पनि थिएन। विमान भित्र भने एउटी परिचारिका जस्ती देखिनेले ककपिट भित्र पाइलटसँग कुरा गर्दै थिइन्। यसो गर्दा उनको पिट्ठ्यु हामी यात्रुतर्फ फर्केको थियो। त्यो हामी सबैका लागि नौलो एवं नरमाइलो अनुभव थियो त्यो।

हो, मैले त्यतिबेला यही चिसो स्वागत (वा उपेक्षा) बारे विचार गरिरहेको थिए।

'ढुक्क हुनुहोस जजसको दाँत मेरा जस्ता मिलेका छन् ती सबैले पनि पुरस्कार पाउने छन्।' उनीबाट पुरस्कारको दोस्रो अफर घोषणा हुँदासम्म सबै यात्रुलाई थाहा भइ सकेको थियो यो पाइने खालको पुरस्कार होइन।

त्यतिबेलासम्म त विमान बादलसँग लुकामारी खेल्न सुरु गरिसकेको थियो। उनी बेला बेलामा हरेक यात्रुसँग मायालु पाराले कुरा गर्थिन्।

'ओ हो यिनी तिम्रा श्रीमान हुन् ? कति ह्याण्डसम !' उनी अब मेरो अघिल्तिर बसेका दम्पतीहरू तर्फ उन्मुख भएकी थिइन्। 'हे भगवान पहिला मसँग भेट भएको भए हुन्थ्यो नी है' उनले मस्कदै भनिन्– 'तर मेरा श्रीमान पनि कम छैनन् है, त्यसमाथि मलाई असाध्यै मायाँ गर्छन्।'

'ओ हो मेरो प्रियेले मलाई बोलाए' उनी लगभग चिच्याउँदै विमानको अन्तिम सिटसम्म पुगेर एक जना यात्रुलाई भनिन्– 'के सेवा गरौँ प्रिये?'

त्यसबीचमा उनले एक जना महिलाको ज्याकेटको प्रशंसा गर्न भ्याइ सकेकी थिइन्।

उनी फेरी हुत्तिदै अगाडि आइन्। 'ल सुनौँ ज जसको कपाल नक्कली छ ती सबैले पनि पुरस्कार पाउनेछन्। तर त्यसका लागि आफ्नो नक्कली कपाल (विग) निकाल्नु पर्ने छ।' उनको यो घोषणाले विमान भित्र हाँसोको फोहोरा छुट्यो।

'तपाइहरू मध्ये कति जनाको कपाल सक्कली होला कतिको नक्कली है।' उनले फेरि हास्दै भनिन्। तर २५ वर्षको वैवाहिक जीवनमा आफ्नी श्रीमतीलाई खुसी राख्न सक्ने श्रीमानलाई भने मान्न पर्छ है।'

उनको भनाइ खस्न नपाउदै एक जना यात्रुले अली चिच्याएर भने– 'हैन २५ वर्षसम्म श्रीमतीलाई खुसी पार्नमै लाग्ने श्रीमानको के गती भएको होला त्यस वारेमा विचार गरौँ न।'

'हेर दुष्ट ! उनले ती यात्रु तर्फ मायालु पारामा हेर्दै भनिन् र उनी नजिकै गएर फेरि भनिन्– तिमीलाई थाहा छ मेरो प्रिये, वैवाहिक जीवनलाई सुखमय बनाउनु एउटा कला हो । अनी यहाँनिर यो कलालाई निर्वाह गर्न महिलाभन्दा पुरुषको भूमिका बढी हुन्छ।'

उनी निकै छिटो छरितो रुपमा यात्रुहरूको सेवामा प्रस्तुत भइ रहेकी थिइन्। अनी बेला बेलामा पुरस्कारका लागि प्रश्न सोधी रहेकी हुन्थिन्।

'अमेरिकाको सबैभन्दा अग्लो पर्वतको नाम बताउन सक्नेले पनि पुरस्कार पाउने छ।' हत्तेरिका, मैले मनमनै सोचेँ विश्वकै अग्लो चुचुरोको नाम सोधेको भए त मैले भन्ने थिए नि पुरस्कार पाए पनि नपाए पनि!

'अनी जो जो लोग्ने मान्छे मेरो उमेर समूहका छन् ती सबै पनि पुरस्कृत हुनेछन् ।' उनको भनाइ पूरा हुन नपाउँदै एक जना यात्रुले ठट्यौली पारामा सोधी हाले– 'हैन, त्यो उमेर समूह कति होला हँ ? फेरि विमान हाँसोले भरियो।' उनले आफ्नो उमेरको प्रसङ्गलाई भने चुप लागेर पञ्छ्याइन् ।

'ओ हो कति राम्री बच्ची ! धेरै बेर त उनी के चुप लागेर बस्न सक्थिन र ? त्यसैले निमेष भरपछि नै उनी एउटी साच्चै नै गुडिया जस्तै छोरीकासाथ यात्रा गरिरहेका दम्पतीसँग कुरा गर्दै थिइन्।

'हैन कति राम्री हुन् स्यानी परि जस्तै! अनी तपाइँहरूलाई थाहा छ म पनि सानीमा यस्तै राम्री थिए नि।'

'अहिले पनि कहाँ कम हो र!', उनको भनाइ पूरा हुन नपाउदै अर्का यात्रुले थपिहाले।

'तिम्रो विहे त भा को छैन नी ! उनी पनि के कम मुस्कुराउदै सोधी हालिन्। लगभग ३० वर्षको जस्तो देखिने ती युवा लजाउदै चुप लागे।

एक्कासी विमानमा पाइलटको स्वर सुनियो।

'अब केही समय भित्रै जहाज डाल्लास विमानस्थलमा अवतरण हुँदैछ।'

वस्तवमा लगभग १ घण्टा २५ मिनट समयको उडान कसरी पुरा भयो हामी कसैलाई पत्तो समेत भएन। र यो सबै तिनै गफाडी परिचारिकाका कारण भएको थियो।

'आशा छ तपाइहरू सबैका लागि यो यात्रा अविस्मरणीय भयो होला। अनि फेरि फेरि पनि हाम्रै विमानबाट यात्रा गर्नुहोला। तपाइँहरू सबै मेरा प्रिय हुनुहुन्छ।' उनले भनिन्।

मसँगैको सिटमा एक जना लगभग ५५–६० वर्षका व्यक्ति थिए। यात्रा अवधिभर हामीबीच कुरा हुन सकेको थिएन। विमानबाट निस्कने क्रममा भने हामीबीच मुस्कानको आदान प्रदान भयो।

'तपाइलाई थाहा छ मेरो विहे भएको ३५ वर्ष भइ सक्यो। मैले आजसम्म मेरी श्रीमती खुसी छन् छैनन् भनेर ध्यान नै दिएको थिइनँ। अब म आजै उनलाई गएर सोध्ने छु।' डाल्लास नै गन्तव्य भएका उनले त्यसो भनिरहँदा मलाई लाग्यो– 'त्यो प्रश्न सामान्य थियो तर त्यति सामान्य पनि थिएन।'

प्रकाशित: २७ फाल्गुन २०७१ २३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App