नारायण वाग्ले साधारणत: कोट लगाउँदैनन् तर लगाउँदा गज्जब ह्यान्डसम् देखिन्छन्। म त्यस्तै सोच्थें र त्यो सही पनि हो। तर नारायणलाई कोटले सधैँ साथ दिँदैन वा ऊ चाहँदैन कोटको सहयोगले व्यक्तित्व बढाउन। उसलाई सायद लुगाले थप्ने व्यक्तित्वसँग चिढ छ। ऊ आफैँमा एक पूर्ण व्यक्तित्व छ, किन चाहियो लुगाको लेपन? तथापि कहिलेकाहीँ ऊ लुगाको लेप लगाउने उपक्रम गर्दछ। यस्तै उपक्रम गर्यो नारायणले उसको अत्यन्त चर्चित र अत्यन्त पढिएको पुस्तक ‘पल्पसा क्याफे’को फ्रान्सेली अनुवादको लोकार्पण समारोहमा (नोभेम्बर २८, २०१४)।
फ्रेन्चमा ‘अनुदित पल्पसा क्याफे’को नेपालमा लोकार्पण गर्दा यसका पाठकसम्म पुग्ने सबैभन्दा सशक्त तरिका के हुनसक्थ्यो? बडो सशक्त अभिव्यक्ति बडो सहज ढंगले सम्पन्न गराए पुस्तकका प्रकाशकले। सायद यो बुद्धि नेपालयका प्रकाशक किरणकृष्ण श्रेष्ठकै हुनुपर्दछ। नारायणले पुस्तकको विषयमा बोलीसकेपछि सो पुस्तक नेपालका लागि फ्रान्सेली राजदूत मार्टिन बासरोलाई समर्पित गरे। एउटा राजदूतलाई उनको भाषामा छापिएको पुस्तक समर्पित गर्नु कति तार्किक, कति सान्दर्भिक।
तर किताबको विमोचनले मेरो ध्यान तानेको होइन। नारायणको कोटले मात्र पनि होइन। उसको सम्पूर्ण हाउभाउ र व्यवहार हेर्दै जाँदा ऊ धेरै प्रफुल्ल थियो। उसको प्रफुल्लता उसको बोली र अनुहारको भावमा झल्किरहेको थियो। नारायण भन्दै थियो, कसरी एक टुरिस्ट गाइड सुरज शाक्यले पल्पसा क्याफे फ्रेन्चमा अनुवाद गर्ने प्रस्ताव ल्यायो भन्नेबारे। मैले मोबाइल निकालें र फोटो खिँचे। सोचेँ घर पुगेर केही लेख्छु नारायणको बारेमा। तर केही टिपिनँ। लाग्यो, टिपेर त केवल रिपोर्टिङ होला, भावको गंगा बहाउन सकिन्न।
विमोचनको एक दिनअघि बिहीबार सार्क सम्मेलनले सम्पूर्ण काठमाडौं कर्फ्युमय बनाएको बेला हाम्रो अचानक कुपन्डोलमा जम्काभेट भयो। लमक लमक लम्केर सेतोपाटीको पुल्चोक अफिसबाट बत्तिसपुतलीतिर हान्निंँदै थियो नारायण। ऊ सधैँ यसरी नै हिँड्छ। म कहिलेकाहीँ मात्र। तर आज भेट भयो। उसलाई भेट्दा मलाई सधैँ आफ्नो निकै नजिकको मित्र भेटेजस्तो लाग्छ। तर हाम्रो भेट हम्मेसी हुँदैन। कुनैबेला हुन्थ्यो, हामी दुवै एकै प्रकाशनका दुई पत्रिकाका सम्पादक हुँदा। करिब पाँच वर्ष हामी सधैँ सँगै जस्तै हुन्थ्यौँ। पछि अरु साथीसहित भएर छुट्टै प्रकाशन संस्था सञ्चालन गर्ने कोसिस गर्दा पनि हामी छुट्टिएनौं। तर नारायण नागरिकको सम्पादक भएको तीन महिनापछि मैले नेपाल रिपब्लिक मिडिया छाडेँ। अनि हाम्रो भेटघाट पातलियो। अहिले उसले नागरिक छाडेको अवस्था छ र म नागरिकको सम्पादक छु। नियतिले सायद यस्तै चाहेको छ।
के छ ? कसो छ ? संवादपछि उसले मलाई किताब विमोचनको कार्यक्रम सम्झायो। मैले ‘हुन्छ, आउँछु’ भनें । उसलाई आउँछु भन्नुभन्दा पहिल्यै सुदिप श्रेष्ठसँग विमोचनमा सँगै जाने कार्यक्रम तय भइसकेको थियो। शुक्रबार नागरिककर्मी पाँचजना साथीहरू हिँडेरै गइयो ‘पल्पसा क्याफे’को फ्रेन्च भर्सनको विमोचनमा। फ्रान्सेली केन्द्र त्रिपुरेश्वरको पुरानो ठाउँबाट अलिकति पर र अलिकति भित्र सरेको रहेछ। यो केन्द्रले काठमाडौंमा धेरैपल्ट आफ्नो वासस्थान फेरेको छ। कहिले बागबजार, कहिले डिल्लीबजार, कहिले थापाथली, कहिले त्रिपुरेश्वर र अहिले फेरि त्रिपुरेश्वरमै अर्को स्थान। नयाँ स्थान ठूलो र राम्रो रहेछ। किताबको विमोचन र त्यसपछि चियाको कार्यक्रम गर्न अति उपयुक्त स्थान।
विमोचनको सुरुवात अर्का सेता कपालधारी वरिष्ठ पत्रकार कुन्द दीक्षितले गरे। नारायणले पत्रकारिता गर्दा नै वरिष्ठ पत्रकारका रुपमा गनिइसकेका दीक्षितले आफूलाई नारायणजस्तै हुँ भनेर परिचित गराउन खोज्नुले नै वाग्लेको व्यक्तित्व कति अग्लो छ भन्ने देखाउँदै थियो। व्यक्तित्वमा मात्र होइन सेतो कपालमा पनि नारायण र दाजु दीक्षितको प्रतिस्पर्धा नै छ। तर अहिले अलिअलि कालो देखियो नारायणको कपाल। केही समय पहिले कालो लगाएर फेरि जराबाट सेतो आउन थालेर आधा बाटो पुगेजस्तो छ उसको कपालको रंग। जे होस्, त्यसपछि नारायणले बोल्न थाले, ‘कसरी पल्पसा क्याफे’को फ्रेन्चमा अनुवाद भयो भन्ने कुरा।
तर मेरो ध्यान उसले लगाएको कोटले तान्यो। कोट राम्रो छ, घ्यू रङको। करिब ६ फिट ३ इन्च अग्ला वाग्लेलाई अलि लामो भएको हो कि जस्तो, हो नै भन्न नसकिने। तर खुकुलो त पक्कै हो। टाँक लगाउँदा पनि भित्र स्वेटर लगाएको भए ठिक्क हुन्थ्यो कि जस्तो। फेरि स्वेटर किन नलगाएका हुन् वाग्लेले? जाडो नभएको त होइन जस्तो लाग्यो किनभने कोटको मात्र होइन टाइ नलगाएको सर्टको पनि घाँटीसम्म टाँक लगाएका थिए। सर्ट पनि आफैँमा राम्रो, रातो र कालो चेक। तर कोटसँग मेल नखाएको हो कि जस्तो लाग्ने । कोट आफैँ पनि एकपल्ट आइरन दलिन नपाएझैं अनुहार लाएको थियो तर नारायणको ओजमा कसले कोटको कोप हेरिदिने? तर अचम्मसँग कोटको खल्तीमा चस्मा उनिएको छ, त्यो पनि डाँठ बाहिर देखाएर होइन, पुरै चस्मै बाहिर छ, एउटा डाँठमात्र कोटको माथिको खल्तीबाट भित्र छिरेको छ। के नारायणलाई नजिकको हेर्न चस्मा लगाउनुपर्ने भयो? म आफैँलाई प्रश्न गर्छु तर उत्तर खोज्दिनँ। नारायण यस्ता प्रश्न उत्तर नदिइकनै उडाउँछन्।
म नारायणको व्यक्तित्व छोडाउन खोज्दैछु, उता उनी बोल्दैछन् धाराप्रवाह। नारायण दङ्ग छन्, मस्त छन् किनकी उनको हरेक भनाइमा स्रोता हाँस्दैछन् वा ताली बजाउँदैछन्। उनले बुझे, यो मेरो शो हो भन्ने कुरो - नाराण वाग्ले शो। उनी खुलेर कुरा गर्दा बेलाबेलामा खुट्टाको चाल नाचेको झैंँ हलुको र बाङ्गो बनाउँछन् अनि चोर औँलोले केही देखाएझैंँ गरी हातले इसारा पनि गर्छन्। अहिले अंग्रेजी भाषामा बोल्दैछन् नारायण। टुटे फुटेको भन्न मिल्ला कि? तर त्यस्तो पनि होइन। उनी भावमा बहँदा करिब ५० प्रतिशत वाक्य अपुरो बोल्दै थिए तर उनका स्रोता १०० प्रतिशतै भाव बुझेर मस्त थिए। अंग्रेजीका धुरन्धर कुन्द दीक्षित सायद मनमनै सोच्दै थिए हुनन्- पाठकको मनमा बसेका लेखकले धेरै मिलाएर बोली राख्ने जरुरत छैन। फेरि उनलाई अंग्रेजीमा कसैले पारख गर्ने पनि त होइन।
धेरै कुरा अन्तमा खोलेर साथीभाइलाई चकित पार्ने बानी छ, नारायणको। ‘पल्पसा क्याफे’ लेख्दै गर्दा उनले कभर पेजको एउटा सानो पोस्टकार्ड जस्तो बोकेका रहेछन् उ बेला। एकदिन अमित ढकाल र मलाई ठमेलको एक पबमा लगेर गोप्य तरिकाले देखाए। हामी दङ्ग पर्यौं। तर त्यो कभर लगाएर पल्पसा क्याफे पुस्तकाकार रुपमा आइसकेको रहेछ। उनको किताब प्रकाशकले हाम्रा प्रकाशकलाई पठाइसकेका रहेछन्। भोलिपल्ट उनले र मैले प्रकाशकको कोठामा एकैपल्ट किताबस्वरुप पल्पसा क्याफेलाई हेर्दा दुवै दङ्ग पर्यौं। तर यसपल्ट स्रोताको ताली र हाँसोमा मस्त नारायणले एक कुरा अलि चाँडै खोले। उनी नयाँ किताब लेख्न केही दिनअघि नगरकोटको एक रिसोर्टमा गोप्य बसाइमा थिए रे। अर्थात नारायणको अर्को किताब आउँदैछ। अर्थात् नारायणले अब अर्को कोट लगाउँदैछ, चाँडै कुनै दिन। फेरि पनि उसको कोटमा आइरन गरेको छ कि छैन, कोट खुकुलो छ कि मिलेको छ र सर्टसँग कोटको मिलाप भएको छ कि छैन कसैले हेर्दैन। सबैजना उनको नयाँ पुस्तकमा के छ भन्ने सुन्न र जान्न फेरि पनि लालायित हुनेछन्। म पनि।
प्रकाशित: १३ मंसिर २०७१ ०६:१० शनिबार