विमान परिचालिकाले प्रश्न गरिन, ‘के भयो र सर?’
मोबाइल अफ नगरे ढोका लाग्दैन भनेर सोझा नेपालीको खिल्ली उडाउने? घरबार बन्दकी राखेर थोरै पैसाका लागि कतारको मरुभूमिमा जीवनसँग साटेर थोरै पैसा ल्याएका मानिसको अवोधपनालाई हाँसोको विषय बनाउनु हुन्न भन्ने तर्क गरेँ मैले। त्यतिखेर म्यानपावरको ढोकामा झुत्रे कपडा लगाएर लाइन लागेका धेरै नेपाली दाजुभाईको सम्झना भइरहेको थियो। श्रम कार्यालय वरिपरी मलिनो अनुहार र आखामा आशा बोकेर कर्मचारी अनि म्यानपावरवालाको हप्की खाइरहेका नेपाली युवाहरुको याद आइरहेको थियो। वैदेसिक रोजगारीका लागि जाने क्रममा विमानस्थलमा गमनपत्र भर्न नजानेर अल्मलिइरहेकालाई सहयोग गरेको याद आइरहेको थियो। प्रस्थान गर्ने लबीमा कर्मचारीले जानीजानी आगमन पत्र राखेर लेखपढ गर्न नजान्नेलाई झुक्याएको सम्झना आइरहेको थियो। अध्यागमनका कर्मचारीले रुखो पारामा हप्काएको आवाज कानमा ठोक्किइरहेको थियो। अनि तारे होटलका वातानुकुलित हलमा ठूला व्यावसायी, राजनीतिक नेता र प्रशासकहरुले चिल्लो टाई र कोट लगाएर रेमिटान्सले देश थेगेको भाषण छाँटेको याद आइरहेको थियो। सँगै कतारमा भेटिएका सयौं नेपाली दाजुभाईका मार्मिक कथा पनि बिर्सन सकेको थिइन।
धेरैजसो विदेशी एयरलाइन्सबाट यात्रा गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीलाई विमान कर्मचारीले गरेको रुखो व्यवहारले पनि दुःखी बनाएको थियो। कम्तिमा नेपाली विमानबाट यात्रा गर्दा त ति नेपालीको अवोधपना अपमानित हुनुनपर्ने अपेक्षा राख्नु अस्वभाविक थिएन। त्यसैले मैले ति विमान परिचालिकासँग गलफत्ति गर्न चाहेको थिएँ। तर उनलाई मसँगमात्र गलफत्ति गरेर बस्ने फुर्सत थिएन। पढेलेखेकाले नै नियम तथा अनुसासन मिचेर विगारेको देशका धेरैजसो अनपढ नागरिकमा उनी उडानसम्बन्धी चेतना भर्ने प्रयासमा थिइनन्। मसँग गलफत्ति गर्नुभन्दा त्यस्तै अरु यात्रुलाई झुठै कुरा गरेर भए पनि मोबाइल अफ गर्ने, सिट बेल्ट बाध्ने, विमानले भुई छाड्ने क्रममा सिटलाई ठाडो पार्ने, हाते झोला जथाभावी नराख्ने जस्ता कामका लागि सहमत गराउनु उनको पहिलो प्राथमिकता थियो।
‘यसो नभने कसैले गर्दैनन सर अनि के गर्ने,’ उनले मलाई जवाफ दिइन।
म पनि के कम। फेरी विचार राखेँ, ‘ढोका लाग्दैन भनेर ढाँटनु भन्दा मोबाइल अन गर्दा हुने सुरक्षा खतराबारे जानकारी गराउनुस न। त्यसपछि जीवनको मायामा सबैले आफै गरिहाल्छन् नि।’
‘तपाई एक दिन यात्रा गर्नुहुन्छ र तपाईमा कुनै जिम्मेवारी पनि छैन। त्यसैले यसो भन्नुहुन्छ। हामी हरेक दिन सम्झाउँदा सम्झाउँदा दिक्क भइसकेका छौं। यस्तै नभनी हुँदैन यहाँ,’यत्ति भनेर उनी पछाडितिर लागिन्, उसैगरी ढाँटदै। त्यसो भनिरहँदा उनी मतिर हेरेर हाँसिरहेकी थिइन्। उनको हाँसोले मलाई, ‘यहाँ यस्तै हो । प्लिज अव धेरै ‘डिस्टर्ब’ नगर्नुस्’ भनिरहेको थियो सायद। त्यसपछि पनि करिव पाँच घण्टा (ठ्याक्कै समय विर्सिएँ) को यात्रा दौरान केही पटक आँखा जुध्दा उनी त्यही कुरा सम्झेर हाँसिरहेकी थिइन्। मैले पनि त्यसलाई हल्का रुपमा लिएर फिस्स हास्दै उनलाई जवाफ फर्काएँ।
मैले त्यो प्रसंगलाई धेरै गम्भिरतापूर्वक नलिनुमा दुई कारण थिए। पहिलो काठमाडौंबाट अघिल्लो साता दोहाका लागि उड्ने क्रममा विजनेस क्लासमा थियो मलगायत साथीहरुको टिकट। विजनेस क्लासमा त्यहाँ पनि एक अधवैसे परिचारिका दिदीले म आफैलाई मोबाइल अफ गर्न भनिन्। मैले सँधै झैं मोबाइल एरोप्लेन मोडमा राखेँ। ति दिदीले मलाई मोबाइल पुरै अफ गर्न बाध्य पारेकी थिइन्। मैले धेरै सवालजवाफ नगरीकन ‘नेपाल एयरलाइन्सको विमानमामात्र यस्तो व्यवस्था रहेछ। संसारका अरु कुनै पनि विमानमा नभएको जात्रा’ भनेर मोबाइल अफ गरेर सुतेँ।
दोस्रो थियो, कतारमा मैले ज्यान गुमाउने र अंगभंग हुने नेपाली कामदारको बारेमा केही जानकारी लिने मौका पाएको थिएँ। कतारमा सुकिलो कामको मौका पाएका केही पढेलेखेका र व्यावसाय गर्ने नेपालीसँग मैले ‘काठको बाकसमा फर्किने’ नेपाली दाजुभाईको बारेमा सोधेको थिए। उनीहरुका अनुसार कतारमा ज्यान गुमाउने र अंगभंग हुनेमध्ये अधिकांस सडक दुर्घटनाको सिकार भएका हुने रहेछन्।
नेपालमा मोटर सडकको वायाँतिरबाट गुड्ने। कतारमा ठिक उल्टो । नेपालमा सहरभित्र मुश्किलले ४०-५० किलोमिटर प्रतिघन्टा तथा राजमार्गमा ७०-८० किलोमिटर प्रतिघन्टासम्मको गतिमा मोटर गुड्ने। त्यहाँ औसत गति नै १ सय किलोमिटर प्रतिघन्टाभन्दा माथि। जसका कारण अधिकांस त बाटो काटनै नपाइने ठाउँबाट काट्ने। बाटो काट्दा दायाँ हेर्दै अगाडि बढनु पर्नेमा नेपालकै सम्झेर बायाँ हेर्ने। मोटरको दुरी र गतिको अन्दाज लगाउन नसक्ने तथा जाउँ की नजाउँ भन्ने दुविधामा सड्कमा हाम फाल्ने मुख्य कारण रहेछन्।
त्योभन्दा बढि त धेरैजसो नेपालीहरु देशमै पनि राम्ररी सहरको अनुभव गर्न नपाएका, ट्राफिक नियमबारे जानकारी नभएकाहरु हुने रहेछन्। रेमिटान्सले देश धानेको भनेर ठुल्ठूला भाषण छाँट्ने नेपाली प्रशासनले विदेश जान चाहनेलाई गाउँदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म उनीहरुको सुरक्षा र भविश्यको नाममा दुःख दिने गरेका थुप्रै घटनाको पनि साक्षी भइसकेको थिएँ। विमानस्थलमा अध्यागमनले गर्नुपर्ने पासपोर्ट जाच्ने काम पुलिसले गरेर धेरैलाई (आफै पनि खाडी मुलुकको भ्रमण गर्दा भोगेको) दुःख दिँदा ‘मानिसलाई झुक्याएर बैदेशिक रोजगारीमा लान लागेको हुनसक्छ। कतार, दुवइ भनेर अन्यत्रै जान लागेको हुन सक्छ’ भन्ने गरेको सुनेको/भोगेको थिएँ। पर्यटक भिसामा जान लागेका मानिससँग पनि श्रमको कागजात मागेको देखेको थिएँ। त्यसैले देश चलाउन रेमिटान्स भित्रयाउने कर्मठ तर सोझा नेपालीलाई राज्यका सबै अंगले यसैगरी अपमान गरिरहेको देखेको थिएँ। उल्लु बनाईरहको देखेको थिएँ। घर जग्गा धितो राखेर आएकाबाट घुस खाएको सुनेको थिएँ। पूरा देशले नै हेपेकालाई एउटी विचरी विमान परिचालिकाले थोरै उल्ल्याउँदा किन धेरै गम्भिर हुनुपर्ने जस्तो लाग्यो।
बरु रेमिटान्सले देश थेगेको भनेर जत्ति पनि प्रवचन दिन सक्नेहरुले विदेशिक रोजगारीका लागि जान चाहनेलाई जानुअघि नै सम्बन्धित देशको ट्राफिक नियम, त्यहाँ र यहाँको फरक, त्यो देशको कानुनजस्ता विषयमा जनचेतनामुलक कक्षा लिने गरे कति राम्रो हुन्थ्यो जस्तो लाग्यो। प्रस्थान कक्षमा आगमन पत्र र आगमन कक्षमा गमन पत्र राखेर झुक्याउने काम नगरे हुन्थ्यो जस्तो लाग्यो । मोटरसमेत धित मरुन्जेल चढन नपाएकालाई विमानबारे पनि जानकारी गराइदिएरमात्र पठाए हुन्थ्यो जस्तो लाग्यो।
सम्बन्धित निकायको कानमा बतास लागोस्!
प्रकाशित: २४ कार्तिक २०७१ १९:२३ सोमबार