१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

ब्रेकिङमा ब्रेक नलाग्दा..

पत्रकारिता हतारको साहित्य हो - ‍म्याथ्यु आर्नोल्डको यो परिभाषा कालजयी रहेछ। न्यू मिडियाको प्रवेशपछि यसलाई 'अति हतारको साहित्य' माने पनि हुने भयो अब। सामाजिक सञ्जालको विकास र विस्तारपछि सबैलाई ब्रेकिङ गर्ने अवसर मिलेको छ। मिडिया सञ्चालकहरुको एकहोरो म्यासेज फ्लो गर्ने परिधि खुम्चिएर गएको छ। पछिल्लो उदाहरण बन्यो नाम चलेका गुण्डाहरुमाथि सम्पत्ति शुद्धिकरणबारे परेको मुद्दा। विशेष अदालतमा दायर भएको यो मुद्दा नेपाली अनलाइन पत्रकारका लागि धेरै हतारको साहित्य बन्यो। केही रमाइलो र केही तनाव दुबै दियो यो घटनाले।


नागरिकन्युजका उमेश श्रेष्ठ र अर्का साथी उमेश पोखरेलसँगै दिउँसो चिसो पिउँदै गर्दा केपी ढुंगानाले भनेको थियो, 'आज ४-५ जनालाई मुद्दा हाल्दैछन् विशेष अदालतमा, मोबाइल अलर्टमा रहनु है'। विशेष अदालत जाने उसको तयारी त्यहीँ तय भयो पनि। दिउँसो २ बजेतिरको कुरा थियो यो। हामी पुष्टि भएपछिमात्रै ब्रेक गर्ने तयारीमा थियौं।

पौने ४ बज्दा एउटा म्यासेजको अलर्ट आयो। केपीकै रहेछ। पाँच डनहरुविरुद्ध विशेष अदालतमा मुद्दा परेको सूचना थियो। उसले म्यासेजमा लेख्यो : चक्रे, दीपक, अभिषेक गिरी, पर्शुराम बस्नेत र गणेश लामाविरुद्ध मुद्दा दायर।

यसको पाँच मिनेटमा हामीले ब्रेकिङ गर्यौँ। ब्रेक गरिसकेपछिमात्रै केपीलाई फोन गरियो। उसले मुद्दा दायर भए पनि उनीहरुमाथि के कति रकम बराबरको अवैध सम्पत्ति छ भन्ने खुल्न बाँकी रहेको जानकारी गरायो। केही समयअघि नागरिकमा केपी र बिजनेस ब्युरोका सुदर्शन सापकोटाले ज्वाइन्ट बाइलाइनमा सम्पत्ति सुद्धिकरण र डनहरुमाथि भएको प्रहरी अनुसन्धानबारे समाचार छापिएको थियो। राजनीतिक दलका छत्रछायाँमा हुर्केका कारण प्रहरीले अनुसन्धान गरेपनि उनीहरु स्वच्छन्द हिँडिरहेका थिए। गणेश लामा त ठेक्कापट्टाको ब्ल्याक लिस्टमा रहे पनि गृहमन्त्री विजयकुमार गच्छदारको प्रभावका कारण राजधानीका सडकमा कालोपत्रेको ठेक्का पाइरहेका थिए।

यिनै गणेश लामा आजको ब्रेकिङमा महत्त्वका विषय थिए। केपीले अदालतबाट एक-एक गरी कति-कति रकम अवैध रहेको दावी गरिएको उल्लेख गर्दै थियो। चक्रे ७ करोड ८ लाख, पर्शुराम ११ करोड ४१ लाख, मनाङ्गे १४ करोड ७३ लाख भन्दै उसले एक-एक गरी विवरण दियो। हामीले हरेक रकमलाई शीर्षकमा राख्दै गयौं। तर गणेश लामाको आउँदैन त ! आयो। एक्कासी फोन। केपीकै थियो। 'गणेश लामाको मुद्दा दर्ता भएको छैन, भूल सुधार गर्नुपर्ने भयो,' उसले सुनायो।

नागरिकन्युजले ब्रेक गरेको यो समाचार अब सबै जसो अनलाइन पोर्टलका मेनन्युज बनिसकेका थिए। तस्बिरसहित हाल्ने होड चलिसकेको थियो। टेलिभिजनमा ब्रेकिङ आउन थालिसकेको थियो। विवरण हामीले हालेभन्दा फरक थिएन। तर, केपीले लामाविरुद्ध मुद्दा नपरेको बताएपछि हतारहतार भूल सुधार लेखियो : यसअघि गणेश लामाविरुद्ध पनि उजुरी परेको समाचार प्रकाशित गरेका थियौं। लामाविरुद्ध उजुरी नपर्दै हतारमा प्रकाशित भएकोले भूल सुधार गरिएको छ- सम्पादक।

हामीले हतारमा लेखेको समाचारलाई हतारमै सच्यायौँ।

अब फेरि अनलाइन पोर्टलहरुमा चारजनाविरुद्धमात्र मुद्दा दायर भएका खबरहरु ओइरिन थाले। हतारको यो समाचार दिँदा शीर्षकमा ५ डन भए पनि समाचारमा ४ डन अथवा शीर्षकमा ४ डन र समाचार ५ डन लेखिए। भूल सुधार छिटो गर्ने होडले अलमलमा पार्यो सबैलाई। समाचार सुधार गर्न हडबडाउँदा गडबड हुनु सामान्य नै थियो।

हामीले भूल सुधारसहित माफी माग्यौं। अरुले पनि समाचार सच्याए। अनलाइनहरुका समाचारमा अब ४ जनाको मात्र मुद्दा दर्ता भएका खबर छाए। टुइट र फेसबुकका वालहरु भरिए : लामाविरुद्ध किन उजुरी परेन। नसोचिएकोरुपमा फेरि घटनामा नयाँ ट्विस्ट आयो।

ट्विस्ट केपीको कलबाटै थियो। भन्यो : लौ गणेश लामाविरुद्ध मुद्दा दर्ता भयो। रकमबारे एकैछिनमा पत्तो लाग्छ।

उमेशले मिहेनत गरेर पाँच डनको तस्बिर जोडेको थियो समाचारका लागि। लामाको मुद्दा दर्ता नभएको खबरपछि उसले पाँचबाट एकलाई कटौती गरेर अपलोड गर्यो। उसले गरेको अपलोड लाइभ हुँदा नहुँदै फेरि फोटोसपमा अनडू गर्नुपर्ने भयो। एकैछिन अघि 'टाउको दुख्यो' भन्दै अनुहार मलिन बनाइरहेको उमेशको अनुहारबाट थकाइ र तनाव हटिसकेको थियो। ऊ फेरि फोटो जोड्न थाल्यो। न्युज फेरि पोस्ट गरियो। भूल सुधार हटाउन हामी बाध्य भयौं। एकैछिनमा केपीको म्यासेज झुल्कियो। गणेश लामाको अवैध सम्पत्ति सबैभन्दा धेरै रहेछ- २७ करोड १ लाख रुपियाँ।

हामीले सच्याउँदै अपडेट गर्दा अन्य अनलाइनमा अझै चार जनामात्रै र गणेश लामाविरुद्ध दर्ता भएन भन्नेखाले समाचारहरु धेरैपछिसम्म देखिए। ट्विटमा फलानो अनलाइनले त गणेश लामाविरुद्ध मुद्दा दर्ता भएन लेखेको छ नि भन्दै प्रश्न सोध्नेहरुको ओइरो लाग्यो। हामीले रकमसहितको समाचार अपडेट गरिसकेको हुनाले कुनै द्विविधा रहने कुरै भएन। समाचारको तनावमा खाजा खान बिर्सनु र दुखेको टाउको पनि बिसेक हुनु अनौठो सत्य हुन्, हामीले भोगिरहेको। हरेक पटक शीर्षक र समाचार फेरिरहँदा पूरै न्युजरुमका साथीहरु केपीको सूचनाको प्रतीक्षामा थिए। अदालतका समाचारहरु अपलोड गरिरहँदा उमेशले मुद्दा परेका पात्रहरुको पृष्ठभूमि थपिसकेको थियो। ऊ भन्दै थियो : अब भोलिका पत्रिकाहरुलाई डिटेल खोज्न सजिलो हुने'भो।

लगभग दुई घण्टापछि अनेकौँ पटक अपडेट गरिसकिएको यो समाचार नागरिकन्युजमा अन्तिम रुपमा यसरी देखापर्यो-

गणेश लामासहित पाँच 'डन' विरुद्ध अवैध सम्पति थुपारेको मुद्दा

प्रकाशित: ५ जेष्ठ २०७० ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App