१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

मोफसलमा फोटो प्रदर्शनी अनुभव

फोटो प्रदर्शनीबारे कुनै अनुभव र ज्ञान थिएन। अझ एकल फोटो प्रदर्शनी गर्ने विषय मेरा लागि 'अँध्यारो गल्लीको यात्रा'जस्तै थियो। तर यात्रा पूरा भयो, त्योपनि अनपेक्षित उत्साहसहित। राजधानी काठमाडौं र पोखरामा फोटो पत्रकारहरूले एकल फोटो प्रदर्शनी गरेका समाचारले मलाइ उत्प्रेरित गर्थ्यो। तर ती ठूला शहर हुन्। अन्य साना सहरबाट यस्ता समाचार विरलै आएका छन्। नेपाली आम पत्रकारका लागि फोटोग्राफी सस्तो र सहज छैन भन्ने मान्यता करिब यथार्थ नै रहेछ।

मोफसलमा फोटोग्राफीबारे अनुभव साटासाट गर्ने र सल्लाह लिने 'जानकार सर्कल' पाउन मुस्किल पर्दो रहेछ। अझ फोटो प्रदर्शनीका लागि सल्लाह लिन पाउने विषय त टाढाकै भयो। तैपनि इच्छाका अगाडि विकल्पहरू उभिँदा रहेछन्। काठमाडौं र पोखराका अग्रज फोटो पत्रकारहरूलाई बारम्बार फोन गरेर प्रदर्शनीका आधारभूत मापदण्डबारे ज्ञान लिन र मापदण्ड पूरा गर्ने प्रयासमा लागेँ।

स्वयं नागरिककर्मी भएकाले नागरिकका फोटो पत्रकारहरूसँग चाहेअनुसार सोझै सल्लाह लिन मलाई सहज थियो। अनुभबी फोटो पत्रकार चन्द्रशेखर कार्की र विकास कार्की मेरा मार्गदर्शक बन्नुभयो। एकल फोटो प्रदर्शनीका धेरै अनुभव संगालेका पोखरेली फोटो पत्रकार कृष्णमणी बराल आफैँ फोन गरेर मलाई सल्लाह दिने र हौस्याउने गर्नुहुन्थ्यो। फोटोग्राफीबारे रूचि राख्‍ने पाल्पाली अग्रजहरू निर्मल श्रेष्ठ र सागर महर्जनले मलाई जोश थप्नुहुन्थ्यो।
फोटो प्रदर्शनीका दौरान अनुभव भयो- फोटोग्राफीका लागि मोफसलको अर्को ठूलो समस्या प्राविधिक पक्ष रहेछ। चाहेको आकारमा फोटो प्रिन्ट गर्न प्रिन्टिङ ल्याब छैन । महँगो उस्तै। गुणस्तर कमजोर। विकल्प सिमित। फोटो बोकेर काठमाडौं पुग्ने कुरा पनि उत्तिकै झन्झट। जहाँ पायो त्यहाँ फोटो प्रिन्टिङमा दिँदा कपिराइट सुरक्षित गर्ने अर्को चुनौती।

नयाँ काममा जोखिम र सम्भावना दुबै हुँदो रहेछ। पत्रकारको दिनदैन्य कामभन्दा फरक काम भएकाले यो नयाँ थियो। फागुन १७ देखि २७ गतेसम्म ११ दिन तानसेनमा चलेको पाल्पा महोत्सवको मुख्य आकर्षण नै फोटो प्रदर्शनी बन्यो। 'हाम्रो पाल्पा राम्रो पाल्पा' विषयमा करिब ९० वटा फोटोहरू प्रदर्शनीमा राखिएका थिए। पाल्पाको पर्यटकीय सम्भावनालाई झल्काउनु प्रदर्शनीको लक्ष्य थियो। पाल्पाको जनजीवन, प्रकृति, संस्कृति, वन्य जीवन र पर्यटकीय आकर्षण झल्काउने तस्विरहरू प्रदर्शनीमा राखिएका थिए। आयोजक पाल्पा उद्योग वाणिज्य संघले फोटो प्रदर्शनीलाई प्रमुख आकर्षणको सम्मान दियो। करिब दश हजारले प्रदर्शनी अवलोकन गरे। चानचुन पाँच सय लिखित प्रतिकृया प्राप्त भए।

प्राप्त केही लिखित प्रतिकृयाहरू यस्ता छन्
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्व अर्थ सचिव रामेश्वर खनाल- नागरिकमा तपाईँका मनै लोभ्याउने तस्विरहरू देखेर तपाईँलाइ भेट्ने धोको थियो टेकनारायणजी। आज पूरा भयो। र, तपाईँले खिचेका चित्ताकर्षक छायाँचित्रहरू हेर्ने अवसर मिल्यो। तपाईँको उत्कृष्टताको खोजी, कामप्रतिको लगाव कयम रहोस्, मेरो शुभकामना।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार- पत्रकार टेकनारायण भट्टराईको पाल्पाको प्रवर्दनमा समर्पित यो प्रयास सराहनीय छ। मंगलमय शुभकामना। -भाष्करराज राजकर्णिकार।

वरिष्ठ पत्रकार एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ- प्रकृतिको वरदान सुन्दर पाल्पालाई युवा फोटो पत्रकार टेकनारायण भट्टराईको क्यामराले अझै सुन्दर बनाएको छ। सुनमाथि सुगन्ध भनेझैं लाग्छ यस प्रदर्शनी अवलोकन गर्दा। क्यामेरा हरेक व्यक्तिसँग हुन्छ। फोटो खिच्ने रहर हरेक व्यक्तिमा हुन्छ। हरेक व्यक्तिले आफूलाई मन परेको दृश्य आफ्नो क्यामेरामा कैद गरेको हुन्छ। तर फरक के छ भने टेकनारायण भट्टराईले यस एकल फोटो प्रदर्शनीमार्फत् आफ्नो प्रतिभा प्रस्फुटन गर्न खोजेका छन्। फोटोग्राफी भिजन हो। कुन दृश्यलाई कसरी हेर्ने र कसरी खिच्ने भन्ने अध्ययन विना सुन्दर तस्विर श्रृष्टि हुन सक्दैन। साँच्चै नै टेकनारायण भट्टराईका लोभलाग्दा फोटाहरू उनको श्रृष्टि हो, सिर्जना हो। दृश्य जस्ले हेर्दा पनि एउटै देखिन्छ। तर त्यसलाई क्यामेरामार्फत् कैद गर्दा कसरी गरिन्छ भन्ने कुरा मानिसको सिर्जना हो। एउटा काँचो माटोलाई कुमालेले विभिन्न आकृतिमा ढालेजस्तै सुन्दर पाल्पाको प्रकृतिलाई टेकनारायणले सुन्दर प्रकृतिमा ढालेका छन्। धेरै वर्षपछि सुन्दर पाल्पाका मनमोहक फोटो प्रदर्शनी हेर्न पाउँदा खुसी लागेको छ।

सबै भन्दा दुर्लभ फोटोः A बतासेडाँडा- तम्घास तल जमेको कुहिरो। B गुडेको मोटरसाइकल अगाडी गिद्ध र C पेन्सन बुझ्न पालो कुर्दै वृद्ध महिला ।

सुझावः
१ कतिपय फोटालाई पोस्टर बनाएर छाप्न सके राम्रो।
२. कतिपय फोटालाई पोस्टकार्डको रूपमा छाप्न सके राम्रो।
३. कतिपय फोटो हुलाक टिकट छाप्न सके अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रबर्दन गर्न सजिलो हुने थियो।
यी सुझावमात्र होइन, कार्यान्वयन गर्न सकिने कुरा हो, प्रयास गरौं, म सधैं साथमा रहनेछु । -शम्भु श्रेष्ठ

गायिका अञ्जु पन्त- टेकजी असाध्यै राम्रो चित्रहरू क्यामेरामा कैद गर्नु भएर हाम्रो मनलाई आनन्द प्रदान गर्नुभएकोमा धन्यवाद। अझै प्रगतिको कामना। परमेश्वरले आशिष दिउन्।

गायक शिव परियार- वास्तवमा मलाई फोटोग्राफी सम्बन्धि आजको मितिसम्म यस्तो खास औपचारिक ज्ञान त छैन तर जसरी एउटा मिठो, चर्चित र सदावहार गीत सिर्जना गर्नका लागि हामी विशेष गरेर शब्द, संगित, स्वर, सुर संयोजनको उचित र पूर्ण प्रयोग गर्छौ, टेकनारायणज्यूको फोटो प्रदर्शनी हेरेपछि एउटा फोटोको लागि उहाँमा ती सम्पूर्ण ज्ञान अदभूत् रूपमा रहेको अनुभव गरेँ। वास्तवमै हृदय छुने संवेदना भरिएका तथा प्रकृतिको मनोरम छटा भरिएको यथार्थपरक फोटो हेर्दा सार्है आनन्द लाग्यो। भविष्यमा म गायक शिव परियारको तर्फबाट टेकनारायणज्यूको उत्तरोत्तर प्रगतिको कामना गर्छु।

गायक प्रमोद खरेल- फोटोमार्फत् जनजीवन र प्रकृतिलाई आम मानिसमा सन्देश दिनुहुने लोकप्रिय फोटो पत्रकार टेकनारायण भट्टराइलाई बधाइ तथा उत्तरोत्तर प्रगतिको कामना।

पाल्पा, गुल्मी र अर्घाखाँचीका २७ जना पत्रकारको सामूहिक प्रतिकृया- टेकनारायणजी तपाईँले यति धेरै फोटोहरू संकलन गरेर प्रस्तुत गर्नुभयो। उत्तर-उत्तर प्रगतिको कामना। हामीलाई तपाईँका यी तस्विरहरू हेर्दा मोफसलमा बसेर पनि केही त गर्न सकिने रहेछ भन्ने थप उत्साह जागेको छ।

प्रकाशित: २८ फाल्गुन २०६९ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App