दुवाकोटका मेरा एकजना मित्रको घरमा दिनहुँ बडेको काँक्रा चोरी हुने। उनकी आमा निकै तनावमा। वर्षादको महिना गाँउका हरेकजसो घरको आँगनमा काँक्रा, घिरौला, करेलाजस्ता तरकारी फलफूलको झाङ हुन्छन्। मेरा ती साथीको आँगनमा भने थाँक्रो हालेको काँक्रो फलेपछि कहिल्यै ठूलो हुन नपाउने! 'दिउँसो हेर्यो, कलिलो काँक्रो टिप्न लायक हुँदैन। भोलि टिपौंला भन्यो बिहान त्यो काँक्रो नै झालमा हुँदैन,' साथीकी आमा निकै पिरोलिनुभएको थियो।
एकदिन आमाले रातभर मझेरीमा बत्ती निभाएर काँक्रो चोर पत्ता लगाउने अठोट गर्नुभयो। खानपिन सकेपछि सबै सुत्नतिर लागे, आमा चाहीँ बत्ती निभाएर छिँडिकै मझेरीमा चोर कुरेर बस्नुभयो। बाहिर सर्याक सुरुक आवाज आउनेवित्तिकै उहाँ चनाखो भएर आँखीझ्यालबाट चियाउनुहुन्थ्यो।
मध्यरात भएपनि पूर्णिमाको जून टहटह लाग्दा भित्र अँध्यारोमा बस्नुभएकी आमाले बाहिरको दृष्य देख्नुहुन्थ्यो। एकदुई पटक कुकुरको सर्याक सुरुकले पनि आमालाई चनाखो पारेको थियो। तर ठ्याक्कै साढे एघार बजे फेरी काक्राको झालतिर सर्याक सुरुक गर्यो। मनमनै फेरी त्यही कुकुर त होइन भन्दै आखिझ्यालबाट चिहाउँदा आमाले मानवआकृति देख्नुभएछ। 'आज त बचेर कहाँ जालास बजिया!' भन्दै काक्रो नटिपेसम्म आँखीझ्यालबाट चिहाइरहनुभएकी आमाले थाक्रोभित्र छिरेपछि गुहार माग्दै ढोका खोल्नुभएछ। सिधै काक्राको झालमा झम्टेर चोर समाउदा आमालाई झन आपत पो परेछ। काक्रो चोर्ने त छिमेकी बुहारी पर्ने रहिछन्। आमाले 'तँलाइ लाज लाग्दैन, यसरी सधै काक्रो चोर्न। मागेकै भए पाइहाल्थिस नि' भन्दा चोर बुहारीले नेपाली चलचित्रमा कलाकारले गर्नेजस्तो नसुहाउदो अभिनयका साथ भनिछन्, 'ए आमा म त बौलाहिछु कि क्या हो। म कसरी यहाँ आइपुगिछु। लौन मैले यो के गरिछु।'
चिनेको चोर पक्राउ खाँदा यस्तो नमिल्दो अभिनय स्वभाविक हो। केही दिनअघि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तीको विषयमा चलचित्रकर्मी आन्दोलित भइरहँदा रेखा थापाले सुटुक्क प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेको समाचार आयो। नेपालकी 'नम्बर वन' हिरोइनले गौरवसाथ प्रधानमन्त्रीलाई भेटेको बखान गरेकी थिइन्। सम्पूर्ण चलचित्रकर्मीहरु आन्दोलनमा उत्रेका बेला रेखाले सुटुक्क प्रधानमन्त्री भेटेको समाचार आएपछि उनका सहकर्मीहरु त अलोचनामा जुट्ने नै भए, प्रधानमन्त्री भेटेको उनको धक्कु पनि धेरैबेर टिकेन।
प्रधानमन्त्रीका स्वकीय सचिवले समाचार देख्नेबित्तिकै खण्डन गरेर भने, 'रेखा नामकी कुनै केटीले प्रधानमन्त्री भेटेको रेकर्ड छैन। बरु हिरोइन रेखाले चाहिं हिसिला म्याडमलाई भेटेकी हुन्।' त्यसपछि काँक्रो चोर बुहारीकै हविगतमा पुगिन् रेखा। भोलिपल्टै उनले पनि काक्रो चोर्ने बुहारीकै भाकामा फिल्ममा जस्तै कमजोर अभिनय गरिन्, 'अँ, प्रधानमन्त्रीलाई नै भेटेको जस्तो त हो नि। खासमा कुरा के भने मेरो विरोधी को को रहेछन् भन्ने त जान्न पाएँ नि, हैन?'
चलचित्रकर्मीले नेपाल चलचित्र विकास बोर्डमा यो क्षेत्र राम्ररी बुझेको व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका थिए। आन्दोलनमा नीर शाहदेखि बसुन्धरा भुषालजस्ता पाका चलचित्रकर्मीको भिड थियो। नयाँ पुस्तामा पनि सवैजसो चलचित्रकर्मीलाई सडकमा उत्रेको देखिन्छ। सवैको एउटै माग छ, 'बोर्डमा चलचित्र बुझेको, चलचित्रमा काम गरेको, चलचित्रकर्मीका समस्या बुझ्न सक्ने नेतृत्व देउ। राजनीतिक हस्तक्षेप बन्द गर।'
चलचित्रकर्मीको साझा माग भनेकै रेखा र उनीजस्तैलाई नेतृत्व दिनका लागि हो। आन्दोलनमा इमान्दार भएर लागिपरे माग पूरा हुँदा उनीजस्तैले मौका पाउने हुन्। तर नेतृत्व लिनका लागि कम्तीमा चलचित्रकर्मीको बीचमा आफुलाई अव्वल सावित गर्न सक्नुपर्छ। छोटा लुगा लगाएर फिल्मको पर्दामा नसुहाउदो पारामा नाचेकै भरमा सम्पुर्ण नेपाली चलचित्रलाई सही बाटोमा डोहोर्याउने, देशभित्र नेपाली फिल्मप्रति खस्कदै गएको दर्शक चासोलाई बढाउने, फिल्म उद्योगलाई नेपालमा सुधिर बश्नेतको ओरेन्टलजस्तो डुव्नबाट जोगाउने जिम्मामा बोर्डको नेतृत्व दिनु सम्भव छैन। रेखा तत्कालाका लागि नेपाली चलचित्रलाई विकासको बाटोमा नेतृत्व दिन सक्षम छैनन् भन्ने उनकै यो कर्तुतले प्रष्ट्याएको छ। बेफ्वाँकको फूर्ती लगाउन झुटो बोल्ने व्यक्तिलाई बोर्ड अध्यक्ष मान्न त अब फिल्मकर्मी पनि तयार हुँदैनन् होला।
त्यसो त एमाओवादीको आन्दोलनमा त्यो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग कम्मर मर्काएर नाचेर होस वा वाइसीएल नेता सागरलाई भाइटीका लगाएर उनले विगतमा थुप्रै पटक फिल्मबाहिरबाट पनि चर्चा बटुलेकी थिइन। राजनीतिक दललाई वशमा पारेर कुनैदिन त्यसबाट फाइदा उठाउने उनको अभिष्ट त त्यही बेला बुझिएकै थियो। रेखा थापाजस्तो कलाकारले बोर्डको नेतृत्व पाउनु आफैमा ठूलो कुरा होइन। उनी त्यसका लागि हकदार हुन सक्थिन। तर चाहेकै दिन, चाहेकै अवस्थामा केही पाइदैन भन्ने नबुझ्नु उनको बालसुलभ मस्तिष्कको अपरिपक्व सोच मात्र हो। रेखाले आफूलाई बोर्डको अध्यक्ष होइन सदस्य भएर करियर सुरु गर्नका लागि पनि धेरै अध्ययन र परिपक्वता हासिल गर्नु जरुरी छ। नीति नियम निर्माण गर्ने काम कसैले लेखिदिएको संवाद घोक्नुजस्तो सजिलो पनि पक्कै नहोला।
रेखा थापा वर्तमान नेपाली चलचित्र जगतकी नम्बर एक हिरोइन हुन रे। मैले हेरेका एकाध फिल्ममा उनको अभिनयले नछोएपनि यस्तै सुनेको हुँ। सञ्चार माध्यमले पनि यस्तै आसय प्रकट गरिरहेको पाइएकै हो। तर 'आज मैले प्रधानमन्त्रीलाई भेटेँ' भनेर फुर्ती लगाउनेले २४ घण्टा नवित्दै 'म त बहुलाइछु' को शैलीमा खण्डन गर्नु नम्बर एक हिरोइनमात्र होइन एउटा सामान्य कलाकारलाई पनि शोभा दिने कुरा होइन। अभिनय क्षमता, सौन्दर्य, बौद्धिकताका कारण उनले सफल हिरोइनको दर्जा पाएकी होइनरहेछ भन्ने यो घटनाबाट थप पुष्टी भएको छ। बोर्डको नेतृत्व पाउनु त परै जाओस, छोटा लुगा लगाएकै भरमा हिरोइन पनि बनिदैन भन्ने रेखाले बुझ्नु जरुरी छ। उनको यो व्यवहारबाट चलचित्र जगतमा आउन चाहने नयाँले शिक्षा लिउन र दर्शकले फेरि रेखाजस्तालाई बेहोर्नुनपरोस्।
प्रकाशित: २८ पुस २०६९ २२:३७ शनिबार