इतिहाद रंगशालाभरि खचाखच आकाशे निलो जर्सीमा सजिएका समर्थकहरुको खुसी हेर्दा लाग्थ्यो, साँच्चै उनीहरु आनन्दको चरमोत्कर्षमा झुमिरहेका छन्। यता नेपालले पूर्वी टिमोर विरुद्ध पाँच-शुन्यको विजय हात पारेर विश्वकप छनोटको दोश्रो चरण प्रवेश गर्दा दशरथ रंगशालाको माहोल फरक थिएन; उही जोश, उही उत्साह र मुटुमा आफ्नो प्रिय फुटबल टोलीको धड्कन।
सन् १८८८ मा 'फुटबल लिग' को नामबाट सुरुवाट भएको संसारकै सबैभन्दा पुरानो लिग प्रतियोगिताले आज १२५ वर्षको यात्रा तय गर्दा संसारभर सर्वाधिक हेरिने फुटबल लिगको उपमा पाएको छ। प्रथम र दोश्रो विश्व-युद्धताका लिग सुचारु हुन नसकेपनि बेलायतिहरुको फुटबलप्रतिको असिम लगाबले गर्दा त्यसयताका वर्षमा लिगले कुनै व्यवधान बेहोर्नु परेन। टेलिभिजन प्रत्यक्ष प्रसारणको बढ्दो लोकप्रियतालाइ मध्यनजर गर्दै फुटबल लिगको शीर्ष डिभिजनमा रहेका टोलिहरुको समन्वयमा त्यहाँको लिगलाई अझ परिस्कृत र व्यावसायिक बनाउने प्रयास अटुट जारी रह्यो। फलस्वरुप, १९९२ मा आधुनिक इंगलिस प्रिमियर लिगको सुरुवात भयो।
सन् १९२० तिर राणाशासनका बेला नेपालमा भित्रिएको फुटबल खेलले एक दशकको अवधिपछि मात्र प्रतिस्पर्धात्मक प्रतियोगिताको ढाँचा पाएको थियो। १९३४ मा महाविर-११, जावलाखेल-११, एनआरटि-११ जस्ता टोलीहरुको स्थापनासँगै जनमानसमा फुटबलको लोकप्रियता अझ बढ्न थाल्यो। सन् १९४७ मा ‘राम जानकी कप' को नामबाट सुरु भएको नेपाली फुटबल लिग लगभग सात दशकको यात्रा पश्चात अझै वामे सर्दै गरेको अवस्थामा देखिन्छ। राणाशासन, पञ्चायत, बहुदल आदी आन्दोलन चरमोत्कर्षमा पुगेका बेला फुटबल लिगले गति लिन पाएन। फुटबल संघकै आन्तरिक कलहले गर्दा थुप्रै वर्ष लिगले व्यवधान खेप्नु पर्यो। अत: ६ दशक अवधिमा जर्ज बेस्ट, बबी चार्ल्टन, केनी डाल्गलिस जस्ता सदावहार फुटबल हस्तीहरु जन्माइसकेको इंगलिस फुटबल लिगसामु नेपाली लिग निरिह सावित हुन पुग्यो।
गर्विलो आर्थिक पृष्टभूमि बोकेका प्राय हरेक बेलायती शहर र नेपालको आर्थिक स्थितिमा आकाश-पाताल भिन्नता देखिन्छ। पूर्वमा लन्डनदेखि पश्चिमका म्यानचेस्टर र लिभरपुल, त्यसैगरि उत्तरमा न्युकासलदेखि दक्षिणका साउथह्याम्प्टन र प्लाइमाउथसम्मका सहरमा आर्थिक विकास गतिशील रहेको छ। समग्र आर्थिक विकाससंगै हरेक शहरमा फुटबल र फुटबल क्लबको गतिशील विस्तार हुनसक्नुनै आज इंगलिस प्रिमियर लिग संसारकै सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिता हुनुको मुख्य कारक हो। यता, दयनीय आर्थिक अवस्था रहेको नेपालका शहरहरुमा व्यावसायिक फुटबलले फक्रिने मौका कहिल्लै पाउन सकेन। देशको आर्थिक मुख्यालय काठमाडौंलाई केन्द्रविन्दु बनाई फुटबल र फुटबल क्लबको विस्तार हुँदै गयो; नतिजा, सहिद स्मारक लिगको ४०औं संस्करणसम्म आइपुग्दा प्रतिस्पर्धा गर्ने मोफसलका टोलीको संख्या नगन्य रह्यो।
स्थापनाकाल देखिनै वेलायती फुटबल क्लबहरुले व्यावसायीकरणको अवधारणा लागु गरेका थिए। सामुदायिक क्लबहरुले समेत आफ्नो आम्दानी जुटाउने उचित श्रोतको खोजी गरेका थिए। १९८०को दशकसम्म आइपुग्दा व्यावसायिकताले वेलायती फुटबलमा जरा गाडिसकेको थियो। १९९२ देखी विश्वभर टेलिभिजन मार्फत प्रसारण हुन थालेपछि प्रिमियर लिग क्लबहरुले आम्दानीको राम्रो श्रोत हासिल गरे। यसले प्रिमियर लिग क्लबहरुको लोकप्रियता संसारभर फैलाउन समेत मद्दत गर्यो। केहि वर्ष यता जर्सी र खेलसामग्री विक्रीबाट हुने आम्दानी प्रिमियर लिग क्लबहरुको आम्दानी वासालतको मुख्य हिस्सा हुने गरेको छ। खेलाडी भित्र्याउन करोडौं पाउण्ड खर्चिन तयार हुने अधिकांश बेलायती क्लबहरु बलियो आर्थिक जगमा अढिएका छन्।
पौने करोडको उपाधिका लागी प्रतिस्पर्धामा होमिएका अधिकांश सहिद स्मारक लिगका क्लबहरुको आम्दानी चन्दा र विभिन्न दाताहरुको भरमा सिमित छ। यस हिसाबले हेरक खेलाडीका लागि महिनैपिच्छे पचासौं हजार खर्चिने यी फुटबल क्लबहरुको आर्थिक अवस्था दयनीय रहेको प्रस्ट हुन्छ। शिर्षताको होडमा रहेको एक क्लबले केहि महिनाअघि मनाङमा व्यावसायीक स्याउ खेति सुरु गरेको छ। यसै उदाहरणलाइ अनुसरण गर्दै अन्य क्लबहरुले पनि आफ्नो नियमित आम्दानीको श्रोत जुटाउनु अत्यावश्यक भइसकेको छ। निजीक्षेत्रले समेत प्रायोजन वा अन्य माध्यमबाट फुटबल क्लबमा गरिने लगानीको उचित प्रतिफल प्राप्त गर्ने वातावरण सृजना भइसकेको अवस्था बोध गर्न जरुरी छ। साथै, एन्फाले पनि घरेली फुटबल बिकासका निम्ति फुटबल क्लबहरुको आर्थिक स्थिति सुधार्ने नयाँ नीति ल्याउन आवश्यक भइसकेको छ।
वेलायतमा युथ एकेडेमीको अवधारणा दशकौं अघिदेखि सुरु भएको हो। युवा खेलाडीलाई फुटबल खेलप्रति आकर्षण गर्न र उनीहरुलाइ प्रतिभा निखार्ने मौका प्रदान गर्न युथ फुटबल लिगले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। एलेन शिरर, बबी मोरदेखि डेभिड बेकह्याम, रियो फर्डिनाण्ड र स्टिभन जेरार्डजस्ता विश्वविख्यात फुटबल प्रतिभा उत्पादन गर्ने श्रेय त्यहाँको युवा फुटबल अवधारणालाइ नै जान्छ। अधिकांश क्लबहरुले सानै उमेरका खेलाडीमा फुटबल क्षमताको पहिचान गरि एकेडेमीका माध्यमद्वारा उनीहरुलाई फुटबलका साथै व्यवहारिक ज्ञान प्रदान गर्ने गरेका छन्। आर्सनल, साउथह्याम्प्टन, वेस्ट ह्याम लगाएतका क्लबहरुले विगत केहि दशकमा थुप्रै यस्ता युवा प्रतिभाहरुलाई विश्वस्तरीय फुटबल खेलाडी बनाउन सफल भएका छन्।
दशकौंको इतिहास बोकेका नेपाली फुटबल क्लबहरुले अझै पनि एकेडेमी फुटबलको जग बसाल्न सकेका छैनन्। रास्ट्रिय फुटबल संस्था, एन्फाकै अगुवाइमा बुटवल, धरान र काठमाडौंमा फुटबल एकेडेमी संचालनमा छन्। यिनै एकेडेमीका उत्पादनहरुले केहि वर्षयता अन्तराष्ट्रिय फुटबलमा नेपाली रास्ट्रिय टोलीको साख धानेका छन्। एन्फाका साथै राजधानी र मोफसलका क्लबहरुले पनि युवा फुटबलको महत्व बुझी युवा टोली वा एकेडेमीमा लगानी गर्न जरुरि छ। सानै उमेरदेखि प्रशिक्षकको उचित मार्गनिर्देशनमा गुणात्मक क्षमता वृद्धि गर्दै फक्रिने मौका पाए यिनै एकेडेमी उत्पादनहरुले नेपाली फुटबलको सुनौलो भविष्य कोर्न सफल हुनेछन।
प्रसंग उस्तै होलान, सन्दर्भमा समानता भेटिएला, यात्राको भोगाई मिल्दोजुल्दो पर्ला तर विश्वकै सशक्त मध्यको एक इंगलिस प्रिमियर लिग र बामे सर्दै गरेको नेपाली फुटबलको तुलना गर्न निकै कठिन छ। केहि दिन अघि यो पंक्तिकार इंगलिस प्रिमियर लिग र सहिद स्मारक लिगको खेल तालिका नियाल्दै थियो। स्टोक-चेल्सी, ब्रिटानिया रंगशाला; आर्सनल-म्यानचेस्टर सिटि, इमिरेट्स रंगशाला; इभर्टन-स्वान्सी सिटि, गुडिसन पार्क। नेपाल पुलिस-हिमालयन शेर्पा, मनांङ मर्स्याङ्दी-मछिन्द्र, थ्री स्टार-नेपाल आर्मी। सहिद स्मारक लिगका हरेक खेलमा एउटा समानता भेटियो जुन नेपाल र बेलायतको फुटबल तुलना गर्नका लागी पर्याप्त थियो, खेलस्थान: दशरथ रंगशाला।
प्रकाशित: २३ पुस २०६९ ०५:०३ सोमबार