१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

विश्वकपबाट सिकेको पाठ

नेपालले पाँच आइसिसी यु-१९ विश्वकप क्रिकेट खेल्ने क्रममा थुप्रै कीर्तिमान बनाएको थियो। सन् २००० मा सुपर लिगमा पुग्नु, टेस्ट खेल्ने राष्ट्र पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका (दुईपटक), न्युजिल्यान्ड र जिम्बावेलाई पराजित गर्नु युवा विश्वकपमा नेपालले बनाएका अनुपम उपलब्धि हुन्।

व्यक्तिगततर्फ त्यसको दुई वर्षपछि न्युजिल्यान्डमा बरदान चालिसेले एकै प्रतियोगितामा २ सय ३१ रन बनाउनुका साथै ७ विकेट लिनु, कनिष्क चौगाईंले २० खेलमा कुल ५ सय ३७ रन बनाई सर्वाधिक रन बनाउनेमा प्रतियोगितामै दोस्रो स्थानमा रहनु तथा शक्ति गौचन, विनोद दास, बसन्त रेग्मी र पारस खड्काको अलराउन्ड प्रदर्शन शीर्ष टोलीकै खेलाडीको जस्तो छ।
अस्ट्रेलियामा भएको यसपटकको विश्वकपमा नेपालले सहभागितालाई निरन्तरता दियो। तर यसपटक धेरै कीर्तिमान नेपाली टोलीविरुद्ध थियो। नेपाली टोली पहिलोपटक चार खेलमा पराजित भयो र समूह चरणमा एउटै खेल जित्न सकेन। श्रीलंकासँग ७९ र अस्ट्रेलियासँग ८२ रनमा समेटिनु नेपालको विश्वकपमा दोस्रो र तेस्रो न्युन स्कोर थियो। अविनाश कर्ण विश्वकपमा नेपालको अहिले सम्मकै महङ्गा बलर बन्नु आदी, इत्यादी।
राहुल विक र प्रदीप ऐरीले नेपालबाट व्यक्तिगत उत्कृष्ट प्रदर्शन नगरेका होइनन । त्यसका वावजुद यु-१९ विश्वकप क्रिकेटमा १३औं स्थानमा टुंगाउनु नेपालको अहिले सम्मकै कमजोर प्रदर्शनमा स्थापित भयो। विगतमा अप्रत्यासित नतिजाहरु निकाल्दै टेस्ट राष्ट्रको छवि बनाएको नेपाललाई एसोसिएट राष्ट्रसँगको खेल जित्नु हम्मे पर्‍यो। आयरल्यान्डसँगको १४ रनको हार यु-१९ विश्वकपमा नेपालको एसोसिएट राष्ट्रसँग केवल दोस्रो हार बन्यो।
कप्तान पृथु बाँस्कोटासहित प्रदीप ऐरी, राहुल विक र सुवास खकुरेल मलेसियामा अर्को हप्ता सुरु हुने विश्व क्रिकेट लिग डिभिजन ४ का लागि छानिएका खेलाडी हुन्। नरेश बुढाऐर पनि राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडी हुन्। राष्ट्रिय खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले मासिक तलब दिने भनेर अनुबन्धित गरेको छ। त्यो हिसाबमा यी खेलाडीको प्रदर्शन व्यवसायिक थिएन्।
अझ पृथुको प्रदर्शन विर्सन लायक रह्यो। बलिङमा पाँचौं बलरको भुमिकाबाट आफ्नो प्रदर्शनमा केही हद सम्म न्याय गरे पनि ब्याटिङमा उनी र नेपाली टोलीमा खासै फरक देखिएन्। कप्तान आफै उदाहरणिय रुपमा प्रस्तुत हुनु पर्नेमा उनी नेपाली टोली जस्तै धरासायी हुन पुगे। यु-१९ विश्वकप अगाडीको अभ्यास खेलमा घाइते हुन पुगेका उनले ६ खेलमा ४९ रनमात्र बनाउन सकेनन्। विश्वकपमा आउनु अगाडी मलेसियामा भएको एसिसि यु-१९ एसिया कपमा पृथु तीन मध्येको दुई खेलमा डक आउट भएका थिए। उनको त्यही प्रदर्शनले विश्वकपमा पनि निरन्तरता पायो।
न्युजिल्यान्डसँगको अभ्यास खेलमा १ सय १४ रन बनाएपछि नरेश नेपाली टोलीका सवैभन्दा आशा लाग्दा खेलाडी बनेका थिए। पृथु जस्तै उनी पनि दुई खेलमा डक आउट भए। उनले ६ खेलमा ३२ रनमात्र बनाउन सके। पपुवा न्यु गिनीसँगको अन्तिम खेलमा जोडेको २७ रन पनि त्यसमा समावेश छ।
ब्याटिङमा सुवास र प्रदीपले नेपालबाट सवैभन्दा बढी क्रमस १५५ र १४९ रन बनाए। पछिल्ला पाँच विश्वकपमा देखाएको प्रदर्शन दोहर्‍याउने लक्ष्य नेपालले बनाएको हो भने माथिल्लो क्रमको ब्याट्सम्यानका हिसावमा त्यो कम हो। यी दुई ओपनर पनि भएकाले नेपाली टोलीले कस्तो खेल्ने भन्नेमा धेरै निर्भर थियो। सुवास तीब्र बलिङमा राम्रो खेल्ने खेलाडी मानिन्छन्। अस्ट्रेलियाको तीब्र विकेटमा उनको प्रदर्शन औषत रहयो। लामो इनिङ खेल्न नसक्नु उनको परमपरा बन्यो।
कडा प्रहार गर्ने ब्याट्सम्यान प्रदीपले पछिल्लो दुई खेलमा अविजित १ सय १० रन बनाए। दुबै इनिङ उनले मध्यपंक्तिबाट खेलेका थिए। प्रदीप र राहुल दुबै अस्ट्रेलिया यात्राको अन्तिममा आएर जमेका खेलाडी हुन्। राहुलले पपुवा न्यु गिनीसँगको अन्तिम खेलमा ६.२ ओवरमा ४ मेडन राख्दै ३ रन खर्चेर ६ विकेट लिइ यु-१९ विश्वकप इतिहासकै किफायती (५ ओवर भन्दा माथीमा) बलिङ गरे।
दुबैले आफ्नो प्रदर्शनबाट प्रशिक्षक पुबुदु दासानायाकेलाई झकझकाएका छन्। झन्डै एक वर्षअघि दासानायके आएपछि प्रदीप नेपाली राष्ट्रिय टोलीको ओपनरको भुमिकामा खेल्दै आएका छन्, जबकी उनी स्लग ओवरकै राम्रो ब्याट्सम्यान मानिन्छन्। पछिल्लो साँढे दुई वर्षमा १ सय अन्तर्राष्ट्रिय विकेट लिइसके पनि राष्ट्रिय टोलीमा उनको स्थान पक्का भएको छैन। दासानायकेले मार्चमा विश्व ट्वान्टी-२० छनोट खेल्न युएई जाँदा टोलीमा राखेका थिएनन्।
क्यानाडालाई २०११ को विश्वकपमा छनोट गराई अन्तर्राष्ट्रिय क्रिकेट परिषदको हाइपर्फोमेन्स प्रशिक्षण लिएका दासानायके खेलाडी छनोटमा चुकेको जस्तो देखियो। कृष्ण कार्की र फजलुर रहमानलाई पहिलो रोजाइ भित्र-बाहिर राख्ने दासानायकेको निर्णय कमजोर थियो। दासानायकेले विश्वास देखाएका सौरभ खनालको प्रदर्शन विश्वकप खेल्ने खेलाडीको जस्तो देखिएन।
क्यान परमपरागत ढर्रामा चलेकामा यो नतिजा आएकोमा कुनै शंका छैन्। वैशाखमा भएको यु-१९ राष्ट्रिय प्रतियोगितामा १४ मुख्य खेलाडीलाई नखेलाउने क्यानको निर्णय सवैभन्दा विवादस्पद थियो। गत अगस्टमा आयरल्यान्डमा भएको आइसिसी विश्वकप छनोटमा दोस्रो भएको नेपाली टोलीका खेलाडाीलाई नखेलाउने क्यानको निर्णयको असर विश्वकपसम्म परेकोमा धेरै सहमत छन्।
नया खेलाडीलाई अवसर दिने निर्णय क्यानको थियो। अनुभवि खेलाडीसँग प्रतिस्पर्धा नगराए सम्म छानिएका नया खेलाडी प्रभावकारी नहुन सक्छन्। आयरल्यान्डमै खेलेको भरमा अनुभवि बनेका खेलाडीहरु राष्ट्रिय प्रतियोगिता दौरान मैदानमा देखिएका थिए। खेल्नका लागि आतुर उनीहरुको भाव त्यही देखिन्थ्यो। राष्ट्रिय टोलीमा छनोट भएका बाहेक आयरल्यान्डमा खेलेका अन्य खेलाडीहरु विश्वकपको एक महिना अघि यु-१९ एसिया कपलाई बन्द प्रशिक्षणमा बोलाउनु बाहेक निस्त्रि्कय जस्तै थिए। राष्ट्रिय प्रतियोगिता उनीहरुका लागि अभ्यसरत हुने अवसर पनि थियो।
दासानायके जस्ता हाइपर्फोमेन्स प्रशिक्षक ल्याए पनि क्यानले बनाएको प्रशिक्षण शैलीमा कुनै परिवर्तन थिएन्। एक महिना अगाडी बन्द प्रशिक्षण गराउने अनि मुख्य प्रतियोगितामा उतार्ने। टेस्ट खेल्ने राष्ट्रसँग अर्को अप्रत्यासित नतिजा निकाल्न यो शैली निकै पुरानो भइसकेको छ। यसले एसोसिएट राष्ट्रसँगै कठिन हुने सवक यस विश्वकपले दिएको छ। वर्षमा एउटा राष्ट्रिय प्रतियोगिताका आधारमा चुनिएका खेलाडीको प्रदर्शन राम्रो-नराम्रो हुनु दोस्रो विषयमात्र हो।

प्रकाशित: ९ भाद्र २०६९ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App