१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

ट्राफिकले लाइसेन्स फर्काएन

ट्राफिक प्रहरी प्रमुखज्यू, कुनै पनि ठाउँमा प्रहरी चेकिङमा पर्नु सामान्य नागरिकका लागि सामान्य कुरा हो। यस्तै भयो वैशाख १४ गते राति ८ : १५ बजे। म सानेपाबाट सामाखुसी जाँदै थिएँ, स्कुटरमा। थापाथलीमा मापसे चेकिङ रहेछ।

महिला ट्राफिक प्रहरीले लाइसेन्स माग्नु भो। दिएँ। पछिल्लो मोटरसाइकल चालकले पनि लाइसेन्स दिनुभो। चेकिङ सकिएपछि पछिल्लो मोटरसाइकल चालक लाइसेन्स लिएर जानुभो। मेरो मुखमा पाइप तेर्स्याउँँदै ट्राफिकले भन्नुभो, 'फु˜˜˜ गर्नुस्।'
फुकेँ। मिटरले जिरो देखाएपछि हातमा लाइसेन्स पर्‍यो। लाइसेन्स अलि पुरानो थियो। अर्कैको रहेछ। 'यो लाइसेन्स मेरो होइन,' ट्राफिकलाई भनेँ। लाइसेन्स हेरेपछि ट्राफिक आत्तिनु भो, 'ए! त्यो अर्को मान्छेले लग्यो तपाईँको लाइसेन्स।'
मेरो लाइसेन्स लगेको मोटरसाइकल चालकको लाइसेन्समा भएको नम्बरमा ट्राफिकले फोन गर्नुभो। उठेन। 'भोलि आउनुस्,' ट्राफिकले निर्देशन दिनुभो।
'म किन आउने?' गल्ती तपाईँले गर्ने म लाइसेन्स लिन आउने? तपाईँले ल्यादिनुपर्छ।' ट्राफिक प्रहरीको गल्ती भएको हुनाले लाइसेन्स मेरो अफिसमा ल्याइदिनुपर्ने तर्क मैले राखेँ अनि रसिद मागेँ। ट्राफिकले रसिद दिनुभो।
'लाइसेन्स चेन्ज भएको लेखिदिनुस्, रसिदमा,' मैले भनेँ। उहाँले, 'स, चा. अ. प. चेन्ज भएको,' भनेर लेखिदिनुभो। उहाँको नाम र मोबाइल नम्बर पनि मागेँ।
'शारदा लामा,' र, मोबाइल नम्बर भन्नुभो।
'शुक्रबारदेखि आइतबारसम्म म बिदामा छु। सोमबार मेरो अफिसमा लाइसेन्स ल्याइदिनु होला,' भन्दै आफ्नो मोबाइल नम्बर दिएर घरतिर लागेँ। लैनचौर पुग्दा मेरो मोबाइल बज्यो। स्कुटर रोकेर फोन उठाएँ।
'तपाईँको लाइसेन्स लगेको मान्छेले लाइसेन्स ल्याइदियो,' लामाले भन्नुभो, 'लिन आउनुस्।' एक त बजारमा तेल अभाव, अर्को स्कुटरमा तेल कम। म आउन नसक्ने बताएपछि ट्राफिकले फोन काट्नु भो। म डेरातिर गएँ। सोमबार दिउँसोसम्म न अफिसमा लाइसेन्स आइपुग्यो न लामाको फोन उठ्यो। मंगलबार फोन गर्दा शारदाले फोन उठाउनुभो।
'लाइसेन्स लिन तपाईं कार्यालयमै आउनुपर्छ, मैले माथि कुरा गरिसकेँ, सरले पनि भेट्न खोज्नुभएको छ,' शारदाले भन्नुभो। म उहाँको अफिसमा जान नसक्ने बताएँ। उहाँले पनि लाइसेन्स मेरो अफिसमा ल्याइदिन नसक्ने भन्नुभो। 'कहीँ म चेकिङमा परेँ भने तपाईंले दिएको रसिद ट्राफिकलाई देखाउँछु' मैले भनेँ।
'त्यसरी हामी तपाईँलाई छाड्दैनौँ,' शारदाले भन्नुभो।
एक पटक, थाहा नभएर वान वेमा स्कुटर लैजाँदा मेरो लाइसेन्स ट्राफिक प्रहरीले लिनुभएको थियो। भोलिपल्ट ट्राफिक कार्यालयमै गई जरिवाना तिरेर फिर्ता लिएको थिएँ। किनकि मैले गल्ती गरेको थिएँ। तर, वैशाख १४ गतेको घटनामा मेरो गल्ती छैन। म सामान्य मान्छे। कुनै नेता, प्रहरीका सिनियर अफिसर र गुन्डाहरुसँग चिनजान छैन। दाङमा आफूले गल्ती नगर्दा राजनीतिक दबाबमा गल्ती गर्नेसँग माफी माग्न सक्ने तपाईँहरु आज आफैँले गल्ती गर्दा सच्याउन किन हिच्किचाउनु हुन्छ ट्राफिकज्यू?
ट्राफिक प्रहरी प्रमुखज्यू, मैले अन्जानवश गल्ती गर्दा म ट्राफिक प्रहरी कार्यालयमै गएर जरिवाना तिरेर मेरो लाइसेन्स फिर्ता लिएँ भने ट्राफिक प्रहरीले गल्ती गर्दा सम्बन्धित मान्छेकहाँ पुर्‍याइदिनुपर्छ कि पर्दैन? मैले क्षतिपूर्ति मागेको छैन। तपाईंले मलाई 'आफ्नो लाइसेन्स लिन ट्राफिक प्रहरी कार्यालयमै आउनुपर्छ,' भनेर सार्वजनिक रुपमा भन्न सक्नुहुन्छ भने म तयार छु।

 

प्रकाशित: २० वैशाख २०६९ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App