अस्मिता न्यौपाने
किसानले खेतबारीमा लगाउने विभिन्न बालीनाली सुरक्षाका लागि शत्रुजीवविरुद्ध प्रयोग गर्ने रासायनिक वस्तुलाई सामान्यतः विषादी भनिन्छ । यसरी विषादी प्रयोग गर्दा मानव स्वास्थ्ययलगायत वातावरणमा पर्ने असर विकराल छन् । तरकारी र फलफूलमा जथाभावी विषादी प्रयोगले किसान र उपभोक्ताको स्वास्थ्यमा घातक जोखिम बढाएको छ । विषादी अवशेष धेरै रहेका फलफूल र तरकारी बजारमा आइरहँदा सहरी क्षेत्रका उपभोक्ताको स्वास्थ्ययमा बढी जोखिम थपिँदै गएको छ । व्यावसायिक खेतीको विकास सँगसँगै खाद्यान्न तथा तरकारीमा प्रयोग गरिने विषादीको मात्रा पनि बढ्दै गएको छ ।
विषादी प्रयोग गर्दा प्रत्यक्ष असर पर्ने भए पनि अधिकतर किसान यसबारे अनभिज्ञ छन् । उनीहरू बालीमा विषादी छर्दा हात–मुख र छालालगायत शरीरका भाग छोप्न लुगा, मास्क, चस्मा आदि लगाउँदैनन् ।
सबै किसिमका रासायनिक विषादीले स्वास्थ्यमा नकारात्मक असर पार्ने भए पनि धेरैजसो किसानलाई विषादीका किसिम, प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कता र त्यसले निम्त्याउन सक्ने हानिबारे जानकारी कमै भएको पाइन्छ । सन् २०१५ मा प्रकाशित एक रिपोर्टका अनुसार १५ वर्षको तथ्यांक हेर्दा विषादीको आयात ७ गुणाले बढेको छ । २०१८÷१९ मा मात्र नेपालमा ६३५ मेट्रिक टन विषादी आयात र प्रतिहेक्टर ३९६ ग्राम खपत भएको थियो । फलफूल तथा तरकारी टिप्ने समय नजिक आइसक्दा पनि विषादी प्रयोग गर्ने र टिपिसकेपछि समेत ताजा देखाउन विभिन्न किसिमका हानिकारक रासायनिक वस्तुको प्रयोग भएको पाइन्छ ।
विभिन्न अध्ययनअनुसार नेपालमा ५० प्रतिशतभन्दा बढी किसानलाई विषादीको सुरक्षित प्रयोग कसरी गर्ने भन्नेबारे थाहै छैन । तरकारी र फलफूलमा विषादी आवश्यक भए पनि सही रूपमा प्रयोग नगर्दा खतरा बढेको हो । विश्वका अन्य देशका तुलनामा विषादी प्रयोगको मात्रा नेपालमा कम भए पनि व्यवस्थित नहुँदा किसान तथा उपभोक्ताको स्वास्थ्ययमा प्रत्यक्ष असर परेको हो ।
विषादी प्रयोग गर्दा प्रत्यक्ष असर पर्ने भए पनि अधिकतर किसान यसबारे अनभिज्ञ छन् । उनीहरू बालीमा विषादी छर्दा हात–मुख र छालालगायत शरीरका भाग छोप्न लुगा, मास्क, चस्मा आदि लगाउँदैनन् । धेरै किसानलाई विषादी प्रयोग गर्दा हुने हानिबारे ज्ञान नहुँदा क्यान्सरजस्ता खतरनाक रोगको सिकार बन्ने गरेका छन् । यस्तै विषादीका कारण कतिपय पन्छी पनि लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समय अस्पतालमा क्यान्सरका बिरामीको संख्या बढ्दै गएको चिकित्सक बताउँछन् । बालबालिकामा रगत तथा छालाको क्यान्सर हुने गरेको भेटिएको छ । विषादी प्रयोगका कारण महिलालाई क्यान्सर हुने, गर्भपतन हुन सक्ने, बच्चा अपांग तथा सुस्त मनस्थितिको बन्नेलगायत खतरा हुने गरेको विज्ञ बताउँछन् ।
विषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
१) विषादीको सही मात्रा कति हो राम्रोसँग बुझेर त्यहीअनुसार उचित मात्रा पानीमा मिसाएर प्रयोग गर्ने ।
२) विषादी खरिद गर्दा एग्रोभेट, बिक्रेता तथा विज्ञमार्फत सम्पूर्ण जानकारी लिएर मात्र खरिद गर्ने ।
३) विषादीको खतराका आधारमा बट्टामा हरियो, पहेंलो, नीलो र रातो गरी ४ रङ अंकित गरिएका हुन्छन् । हामीले सकेसम्म हरियो चिह्न भएको विषादी प्रयोग गर्नुपर्छ र रातो रङअंकित विषादी सबैभन्दा खतरा हुने भएकाले सकेसम्म प्रयोग नगर्ने ।
४) विषादी प्रयोग गर्दा टोपी, चस्मा, मास्क, पञ्जा र पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । मास्क नभएका खण्डमा कुनै कपडा मुख र नाक छोप्ने गरी बेर्ने ।
५) विषादीलाई नांगो हातले छुन हुँदैन र विषादी राख्ने मेसिन अथवा भाडा नचुहिने र सुरक्षित हुनपर्छ ।
६) विषादी छरिसकेपछि साबुन–पानीले राम्रोसँग नुहाउनुपर्छ र विषादी छर्दा लगाएका कपडा पनि साबुन–पानीले राम्रोसँग धुनुपर्छ ।
७) विषादी छरिसकेपछि मेसिन तथा भाँडालाई पानीले राम्रोसँग सफा गर्नाका साथै त्यो भाँडा पखालेको पानीलाई जथाभावी नफाली उचित व्यवस्थापन गर्नुपर्छ ।
८) विषादी प्रयोग गरेपछि तरकारी तथा फलफूल निश्चित समयसम्म पर्खिएर मात्र टिप्नुपर्छ र विषादी छरेको केही दिनसम्म ती वस्तु टिपेर बजारमा बेच्न हुँदैन ।
९) बचेको खण्डमा विषादीलाई राम्रोसँग बन्द गरेर बालबालिकाले नभेट्ने ठाउँमा सुरक्षितसाथ राख्नुपर्छ ।
उपभोक्ताले ध्यान दिनुपर्ने कुरा
१) बजारबाट तरकारी वा फलफूल खरिद गर्दा राम्रोसँग बुझेर हेर्दा ठूलो, हरियो, आकर्षकभन्दा पनि सानो, खुम्रिएको, कम विषादी प्रयोग भएजस्तो देखिनेलाई प्राथमिकता दिने ।
२) तरकारी वा फलफूल किनेर घरमा ल्याइसकेपछि त्यसलाई तातोपानीमा १५–२० मिनेटसम्म डुबाएर राख्ने अनि राम्रोसँग पखालेर मात्र प्रयोग गर्ने.
३) एक चम्चा नुन अथवा भिनेगर १ लिटर पानीमा राख्ने र त्यसमा १० देखि १५ मिनेटसम्म तरकारी वा फलफूललाई डुबाएर राख्ने अनि पखालेर मात्र खाने ।
४) धेरैजसो विषादीका अवशेष बाहिरी भागमै हुने भएकाले तरकारी वा फलफूलको बोक्रा छोडाएर प्रयोग गर्ने ।
५) बेमौसमी फलफूल र तरकारीमा अलि बढी विषादी प्रयोग हुने भनेकाले सकेसम्म त्यस्ता तरकारी र फलफूललाइ प्राथमिकता नदिने ।
घरेलु विषादी
घरेलु विषादी गाउँमा पाइने सयपत्री, टिमुर, असुरो, हात्तीबार, सिमली, लसुन, अकबरे खुर्सानी, तीतेपाती, सुर्ती, बकाइनो, गोदावरी फूल, बोझो, सिस्नुलगायत वनस्पतिको मिश्रणबाट बनाउन सकिन्छ । यी सबै वनस्पतिलाई टुक्र्याएर एउटा ड्रममा खाँद्नुपर्छ र १ महिनासम्म हावा नछिर्ने गरी राखेर तयार भएको विषादी जति नै गहुँत फिट्नुपर्छ । विषादीलाई १ भागमा २० भाग पानी हालेर प्रयोग गर्नुपर्छ ।
यसरी बालीनालीमा छर्नाले लाही, झुसिलकीरा, भाइरस, काँक्रो, फर्सीको धुले, ढुसी रोग, पात बटार्ने रोग आदि रोकथाम गर्न सकिन्छ । त्यसैगरी बिरुवाको फेदमा फुको खरानी छर्ने अथवा पानीमा खरानी घोलेर छर्ने गरेमा शंखेकीरा काट्नेकीराजस्ता किरा नियन्त्रण गर्न सकिन्छ । एक भाडा पानीमा साबुन हालेर उमाल्ने, अनि त्यसमा चिसो पानी मिसाएर बनेको झोल विषादीका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी बजारमा पाइने विभिन्न किसिमका कीरा चप्काउनी र मार्ने पासाको प्रयोगबाट पनि कीरा नियन्त्रण गर्न सकिन्छ ।
प्रकाशित: ३० जेष्ठ २०७७ ०४:२७ शुक्रबार