१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

कोरोनालाई जित्ने सूत्र

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण हामी घरभित्रै सीमित(लकडाउन) भएको २ महिनाभन्दा बढी भइसक्यो। संक्रमितको संख्या बढ्दो छ। हाम्रो धैर्यता, आत्मविश्वास डगमगाउन थालेको छ। नैराश्यता छाएको छ। लामो समयको लकडाउन र कोरोना संक्रमणका कारण हामी आत्तिएका छौं। केही मिडियाका कारण वातावरण अझ त्रासदीपूर्ण, आतंकित बनेको छ।  

तर हामी कमजोर छौ र ?पक्कै छैनौं। हामी सबै मिलेर हाम्रो आत्मविश्वास, आत्मबल कायम राखी कोभिड–१९ का कारण आउन सक्ने परिस्थिति सामान गर्न सक्षम छौं। हामीमा भएको यही मूल्यवान् शक्तिका कारण महाभूकम्प, नाकाबन्दीजस्ता विपद् जित्न सफल भयौं। यस घडीमा हामी आफ्नो खानपान,आनीबानीलाई ध्यानमा राख्न सक्यौं भने कोभिड–१९ पछि सुन्दर भविष्य प्राप्त गर्न अवश्य सफल हुन्छौं।  खाना हाम्रो जीवनको अपरिहार्य आवश्यकता हो। उपलब्ध खानेकुरा स्वच्छ, स्वस्थकर र सन्तुलित बनाउन सक्यौं भने हामी स्वस्थ रहनाका साथै शरीरको प्रतिरक्षा–प्रणालीपनि बलियो बनाउन सक्छौं।

स्वस्थ रहन हाम्रा आनीबानीले ठूलो भूमिका खेलेको हुन्छ। अहिलेको अवस्थामा भौतिक दूरी कायम गर्दै दैनिक कम्तीमा आधादेखि १ घण्टासम्म व्यायाम गर्नु अत्यन्त जरुरी छ।

 तसर्थ दैनिक विभिन्न प्रकारका खानेकुरा हाम्रो भोजनमा समावेश गर्नुपर्छ। अन्नलाई मात्र प्राथमिकतामा नराखेर रोग–प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिनयुक्त खानेकुराः दाल, गेडागुडी, सके माछा,मासु, अन्डा, दूध, दही तथा भिटामिन तथा खनिजपदार्थका स्रोत ः विभिन्न प्रकारका रंगीन तरकारी, दैनिक कम्तीमा एक फलफूल, शरीरलाई आवश्यक चिल्लोका लागि तेल, घिउ,तेलहन, नटस साथै विभिन्न मरमसलालाई भोजनमा समावेश गर्नुपर्छ। विशेषतःयी खानेकुराको सेवनको मात्रामा विशेष ध्यान दिनुपर्छ।

कुनैपनि अन्न–भात नै नभएपनि कोदो, गहुँ, फापर, मकै, वा ठीक मात्रामा प्रयोग गर्दा हाम्रो भोजनमा कार्बोहाइड्रेटको मात्रा  स्वतःकम हुन जान्छ। विभिन्न अनुसन्धानले कम कार्बोहाइड्रेटका कारण हाम्रो शरीरको इन्सुलिन भन्ने हर्मोनको प्रतिरोध कम गराई प्रतिरोध प्रणाली बलियो बनाइदिन्छ। तसर्थ हाम्रो खानेबानीलाई थोरै परिवर्तन गरी थाल वा प्लेटको एकचौथाइ भागमा मात्र अन्न राख्ने गरौं।  

एक चौथाइमा दाल, मासु वा अन्य प्रोटिनयुक्त खानेकुरा राख्नुपर्छ। आधा प्लेट विभिन्न थरीका तरकारी राखेर खाँदा पेट अघाउनाका साथै शरीरलाई चाहिने पौष्टिक पदार्थ पूर्ति हुन जान्छ। दैनिक २ देखि ३ लिटरसम्म स्वच्छ पानी पिई जलयोजनमा रहनु आवश्यक छ।  प्रशोधित खानेकुराका कारण पनि रोग–प्रतिरोधात्मक क्षमतामा असर पर्छ। यस्ता खानेकुरा, जस्तै : अत्यधिक मात्रामा चिनी तथा चिनीजन्य पदार्थ, मैदाबाट बनेका अति प्रशोधित खाद्यपदार्थ आदि बढी सेवन गर्दा दीर्घकालीन रोग, जस्तै : मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपना, क्यान्सरसमेत हुन सक्ने खतरा भएकाले विशेष ख्याल गर्न जरुरी छ।  

स्वस्थ रहन हाम्रा आनीबानीले ठूलो भूमिका खेलेको हुन्छ। अहिलेको अवस्थामा भौतिक दूरी कायम गर्दै दैनिक कम्तीमा आधादेखि १ घण्टासम्म व्यायाम गर्नु अत्यन्त जरुरी छ। सामाजिक सञ्जालमा घण्टौँ व्यतीत गर्नुभन्दा बीचबीचमा घरभित्रै गर्न सकिने सामान्य व्यायामले पनि मोटोपना नियन्त्रण गर्नाका साथै प्रतिरक्षा प्रणाली बलियो पार्न मद्दत गर्छन्। यस्तै मानसिक रूपले पनि आफूलाई बलियो बनाउन उत्तिकै जरुरी छ। 

तनाव, चिन्ता, नैराश्यताले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने भएकाले संक्रमण हुने सम्भावना बढाइदिन्छन्। तसर्थ कोभिडको त्रासलाई नियन्त्रणमा राख्न अत्यन्त जरुरी छ। यसका लागि आफूलाई व्यस्त राख्दै योगाभ्यास, ध्यान, नयाँनयाँ सिर्जनात्मक कामको थालनी गरी समाजलाई योगदान पुर्‍याउन सकिन्छ। कोभिडको चिन्ता गरेर हतास हुनुभन्दा यो समयलाई उपलब्धिमूलक बनाउनतिर आफूलाई केन्द्रित गर्न जरुरी छ।  

मस्त निद्रापनि प्रतिरक्षा प्रणाली बलियो बनाउने उपायभित्र पर्छ। हामीलाई  स्वस्थ रहन  दैनिक ७ देखि ८ घण्टासम्म मस्त निद्रा अति आवश्यक छ। सुत्ने समयको पनि उत्तिकै महत्व रहने भएकाले समयमै सुत्नुपर्छ। त्यस्तै चाहिनेभन्दा बढी सुत्नाले पनि शरीरलाई हानी पु¥याउने तथ्य अनुसन्धानले प्रमाणित गरिसकेको छ। समयमै सुतौं, समयमै उठौं, यो नै स्वस्थ रहने मूलमन्त्र हो। स्वस्थकर, स्वच्छ र सन्तुलित भोजन,  सकारात्मक सोच, आत्मविश्वास तथा अनुशासित जीवनशैली नै कोरोनालाई जित्ने सूत्र हुन्।  

(लेखिका त्रिवि शिक्षण अस्पतालकी डाइटिसियन हुन्।)

प्रकाशित: १२ जेष्ठ २०७७ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App