१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

सभासद् दाइ

निलो आकाश सेता बादलका बुट्टाले कति आकर्षक देखिएको छ भने हिँड्दै गरेको गल्ली काठमान्डु नै होइनजस्तो लाग्छ। घाम पारिलो बन्दैछ। साँझपख पातलो सिरेटो चल्न थालेको छ। झरीले रूपहीन देखिएको सहरको फोहोरमान्डु परिचय सोह्रश्राद्ध सुरु भएपछि बिस्तारै बदलिँदैछ। दसैं भित्रिएको छ। गाउँ जानेहरू बसपार्कतिर बराम लाग्न थालेका छन्।
'ओ दाइ, घर कहिले जाने हो?' अघिल्लो शनिबार मर्निङ वाकबाट फर्कंदा उनी डेरा बस्ने घरको गेटबाटै म चिच्याएँ।
कोही बोलेन, कुकुर भुकेको मसिनो आवाजबाहेक। बाँधेको रहेछ, नत्र गेटसम्मै आइपुग्थ्यो।
म भर्खरै निलो रङ लगाएको सानो गेट घँचेटेर भित्रै पसेँ।
दाइको डेरा ग्राउन्ड फ्लोरमै थियो। ढोका ढेलेँ र बैठक कोठासम्मै आइपुगेँ।
भान्सामा सुसेधन्दा गर्दै गरेकी भाउजु देखिइन्।
बोलेँ, 'नमस्ते भाउजु, दाइ खै?'
'सुतिराछन्।'
'किन यति ढिलासम्म?'
सात बज्दै थियो।
'राति टन्न धोकेर बल्ल एक बजेतिर आइपुगेका थिए,' भाउजुको बोलीले दाइसँग रिसाएको प्रस्टै बुझिन्थ्यो।
'ए... अनि यसपालि घर नजाने?'
'नजाने बाबु यो वर्ष।'
'किन भाउजु?'
'दाइलाई नै सोध्नू न,' उनी अलि टिमुर्किन्।
'ओ मनोज, के छ?' पछाडिबाट कसैले ढाडमा ड्याम्म हान्यो। झसंग भएँ। दाइ रहेछन्।
'ठिकै छ, के हो यसबेलासम्म सुत्दिने?' मैले जिस्क्याएँ।
उनले आङ तन्काए र भने, 'आऊ न यता कोठातिर, तिमीसँग गफ गर्नु छ।'
उनी भाउजुसँग छलिन खोज्दै थिए। सायद हिजो राति टन्न रक्सी खाएर ढिला घर आएकाले बुढीसँग डराएका थिए।
म लुरुलुरु पछि लागेँ।
छोराछोरी अर्को कोठामा सुतेका थिए। हामी बैठक कम सयनकक्षमा बसेर गफ हान्न थाल्यौं।
पूर्वैतिरका भएकाले पुरानै चिनजान छ सभासद् दाइसँग। गफ पनि राम्रै जम्छ उनीसँग मेरो।
************************************************************
'किन नजाने नि यसपालि घर?' पुरानो मैलो सोफामा थेचारिँदै मैले कुरा सुरु गरेँ।
'नहँसाऊ न यार, कुन मुख लिएर जानु?'
'यही मुख लिएर जाने नि, के खराबी छ र?'
'मैले पोहोर अष्टमीको दिन गाउँको कार्यक्रममा भाषण दिँदा तिमी पनि थियौ है?'
मैले मुन्टो हल्लाएँ।
'त्यही दिन 'झापा सेकुवाघर'मा हामी राति दुई बजेसम्म दारू खाएर बस्दा पनि तिमी थियौ, होइन?'
'हाहाहा... मैले नै होइन, पछि तपाईंलाई घरसम्म छोड्देको?'
'अनि तिमी नै भन त, म के मुख लिएर गाउँ जाऊँ? क्या गफ हानेको थिएँ! गणतन्त्र यस्तो-उस्तो, गज्जब संविधान बन्छ, देशको कायापलट हुन्छ, जेठपछि नेपालका सारा समस्या समाधान हुन्छन् भन्या थेँ, होइन?'
म खिस्स हाँसे।
भाउजुले कालो चिया ल्याइन् र भनिन्, 'बाबु, आज यतै खाना खाएर जाऊँ है।'
भाउजु कोठामा आएपछि चुप्प लागेका दाइ उनी बाहिरिनेबित्तिकै सुरु भइहाले।
'अरूभन्दा पनि मलाई त झापा सेकुवाको प्रेमले नै मार्छ, पोहोर पार्टी गरेको २० हजारजति तिर्नै बाँकी छ,' रातिको ह्विस्कीले लोलाएका दाइका आँखा अझ चिम्सा देखिए। ह्याङओभर प्रस्टै देखिन्थ्यो।
'त्यो त तिर्दिने नि दाइ,' मैले आइडिया ल्याएँ।
'कहाँबाट पाएर तिर्नु दसैंमा २० हजार? दसैं मान्न जम्मा त्यही २० हजारजति होला आफूसँग। त्यही पनि तिर्दियो भने चाडबाडका बेला भुरा भोकै हुन्छन् त!'
सभासद् दाइको दुःख देखेर आफूसँग भए केही हजार सापटी दिऊँजस्तो भयो!
'पोहोर बोलेका कुरा सम्झेर अहिले आफैंलाई लाज लाग्छ। संविधान बन्छ भनेर क्या मुड्की बजारेको थिएँ! थुक्क ... ,' उनको मुखबाट अश्लील शब्द निस्कियो।
हुन पनि पोहोर दाइले स्वादको भाषण गरेका थिए। मलाई नै पनि जेठमै बन्छ कि क्या हो संविधान भनेजस्तो लागेको थियो।
'अब यो वर्ष त्यस्तै भयो यार गाउँ जान, संविधान बनेछ भन्ने अर्को वर्ष छाती फुलाएर जाउँला!'
दाइ ङिच्च हाँसे। मैले पनि दाँत देखाएँ।
************************************************************
उनले टिभी खोले। न्युजस्युज खासै थिएन। कांग्रेसको महाधिवेशनबाहेक अरू केही समाचारै हुन्नझैं गरेर जोसिएका पत्रकार सेलाएका थिए।
'तिमी त पत्रकार मान्छे, केही लेख्देऊ यार! संविधान बनाउने हामीले होइन भनेर छाप्देऊ न प्लिज!'
'तपाईंहरूले नबनाए कसले बनाउने हो त दाइ, संविधान? नहँसाउनू न!'
'तिमीजस्तो मान्छेले पनि यस्तो भन्ने, भाइ? हामीले बनाउने हो त संविधान? हामीले गर्ने हो त गणतन्त्र संस्थागत? हामीले बनाउने हो त देश? हामी त जागिरे हौं, जागिरे!'
'के भन्न खोज्नुभएको?'
'यो सभासद्को जागिरले म वाक्कै भइसकेँ। एक मन त कुनै कार्यक्रममा विदेश गएर लुक्दिऊँ कि जस्तो पनि लाग्छ।'
'हे भगवान्? के भनेको दाइ?'
'मलाई लाज लाग्छ भाइ, बिनाकाम देशको पचासौं हजार सित्तैमा खान। के गर्नु, घर चलाउनै पर्‍यो! डेराभाडा तिर्नैपर्‍यो! भुरा पढाउनै पर्‍यो! सभासद् भनेर गाउँका मान्छे आउँछन्, भात खुवाउनै पर्‍यो! दुईचार पैसा सरसहयोग गर्नैपर्‍यो!
'त्यो त पर्‍यो!'
'नेताहरूलाई हेर त, क्या मस्ती छ। एकजना चाडबाडअघि सरकार बन्दैन भनेर अमेरिका गए। कोही विदेशीसँग साँठगाँठ गर्न मलेसिया गएका छन्। प्रधानमन्त्री बन्न मरिहत्ते गर्दैछन् कोही। मधेसी नेता भारतीयलाई नागरिकता दिलाउन भिडेर लागेका छन्। कामचलाउ प्रधानमन्त्रीलाई खुदो पल्टिएको छ- आइसक्रिम खाँदैछन्।'
म हाँसेँ।
'हामी बाटामा टुकुरटुकुर हिँड्ने भारेभुरे नेतालाई कहिले संविधान बन्छ हौ सभासद्ज्यू भन्दै मान्छेहरू उडाउँछन्।'
'त्यो त सोधिहाल्छन् नि दाइ, उनीहरूको आशा भनेकै तपाईंहरू हो।'
'मैले के जवाफ दिनु? आउँदो जेठमा चाहिँ पक्का बन्छ भन्नु? बन्छ त?'
'मलाई के थाहा! त्यो तपाईंको समस्या हो। तपाईंहरूलाई जनताले जिताएर पठाएका हुन्। संविधान बनाउने काम तपाईंहरूकै हो।'
'कुन दिनमा खाइएछ यार यस्तो झुर जागिर!'
उनले खुइय गरे।
************************************************************
पोहोर दसैंमा हामी एउटै बसमा गाउँ गएका थियौं।
टिकाको दिन दुई भाइ बिहानै माइखोला पुगेका थियौं। काठमान्डुको मैलो मिचीमिची पखालेका थियौं। लुगा फेरेपछि सूर्य चुरोट सल्काएर लामो सर्को तान्दै सभासद् दाइले पर दोमुखा छेउका इलामे डाँडाहरूतिर हेरेका थिए। उनको मुखबाट पहिले धुवाँ निस्केको थियो, त्यसपछि आवाज। भनेका थिए, 'क्या रमाइलो छ है हाम्रो गाउँठाउँ?'
'काठमान्डु त ...' उनले अश्लील शब्द बोल्दै काठमान्डुलाई गाली गरेका थिए।
म लुगा फेर्दै दाइको मुखमा हेरेर हाँसेको थिएँ।
'भाइ, म गाउँको नेता बन्ने हो! काठमान्डु त गाउँलेका कुरा पुर्‍याउनमात्र जाने हो। संविधान बन्नमात्र देऊ न, सिधै गाउँ फर्केर विकासका योजनामा काम सुरु गर्ने हो!'
'राम्रो काम गर्नुभयो भने म पनि तपाईंलाई सघाउँछु, दाइ,' सायद म पनि उनका कुरा सुनेर अलि भावुक बनेको थिएँ।
अघिल्लो दिन नवमीमा उनले हाम्रै घरछेउको लिंगेपिङ क्या मच्चाएका थिए। सभासद् त यसको साथीजस्तो छ भनेर बुबाआमा पनि दंग! उनले पिङमा मच्चिएर लिंगो छुवाउन लागेको देख्दा गाउँका केटाकेटीले पनि रमित मानेका थिए।
त्यही दिउँसो हामी मोटरसाइकलमा गाउँ घुम्न निस्केका थियौं। खेतमा धान पहेँलै थिए। कतैकतै सब्जीखेतीमा ठुल्ठुला फुलकोभी फलेका थिए। बाटामा सफा लुगा लगाएका मान्छेहरू दसैंको उल्लासले रमाएका थिए। शरदयाममा गाउँ सुग्घर देखिएको थियो।
झापाबजारतिरबाट यदाकदा आउने बसले उडाउने अलिअलि धुलोबाहेक आकाश सफा थियो।
बाइक चलाइरहेका सभासद् दाइले मेरो तिघ्रामा प्याट्ट हान्दै भनेका थिए, 'स्वर्ग हो भाइ हाम्रो गाउँघर त! मैले यहाँको मात्र कुरा गरेको होइन। मधेस, पहाड, हिमाल जताततै यस्तै रमाइलो छ।'
'तपाईंहरूले संविधान बनाउनुपर्‍यो दाइ, देशलाई शान्तिको ट्र्याकमा ल्याउनुपर्‍यो। बल्ल यो सुन्दरता मान्छेलाई रमाइलो लाग्छ!'
'म गर्छु भाइ,' उनको आवाजमा जोस थियो।
************************************************************
दाइका छोराछोरी अघि नै उठिसकेछन्। भाउजुले हामीलाई खाना खान बोलाइन्।
'मान्छेले बुझ्दैनन् भाइ, तर मलाई धेरै दुःख छ। केही गर्न नसकेको पीडा छँदैछ, त्यसबाहेक खर्चबर्च पनि गाह्रै छ। हिजोआज सभासद्को इमेज पनि छैन। घुस खाने, खुवाउने, मान्छे थर्काउने, सान दिने, पुलिसमा केटा भर्ना गर्दिने, बैठक नबसी भत्ता पचाउने भन्छन् हामीलाई।'
भाउजुले खाना थपिदिइन्।
'म अरूजस्तो होइन भनेर कसरी विश्वास दिलाउने? आफ्नो बुताले भ्याएसम्म लागेकै छु भनेर कसरी बुझाउने? समयमै संविधान नबन्ला कि भनेर आममान्छेजस्तै भुटभुटिएको छु भनेर कसरी देखाउने? समितिको बैठकमा गएकै छु। प्रधानमन्त्री चुनावमा भोट हालेकै छु। गाउँका मान्छेलाई पर्दावर्दा सहयोग गरेकै छु। सभामुखकहाँ संविधान बनाउन दलका नेताहरूलाई तताउनुपर्‍यो भनेर डेलिगेसन गएकै छु। मैले के गर्नु अरू?'
म दाल थप्दै गरेका छोराछोरीतिर हेरेर मुस्काएँ।
'नेताहरूलाई केही मतलब छैन, हामीले मात्र के गर्ने भाइ? प्रचण्ड, झलनाथ, रामचन्द्र, सुशील, माधव, बाबुराम, शेरबहादुर, उपेन्द्र, महन्थलाई ठूलो गाडीमा साइरन बजाउँदै हिँड्न पाए पुगिगो, दोषजत्ति हाम्रा टाउकामा! यी आठदस जना नेताले चाहे भने के हुँदैन यो देशमा? बिगार्ने, सपार्ने सबै यिनले होइन?'
'त्यो त हो दाइ।'
************************************************************
'तिमी कहिले जान्छौ गाउँ?' चुठ्ने बेला उनले मलाई सोधे।
'सप्तमीको दिन जान्छु,' मैले सुपारी टोक्दै भनेँ। भाउजुले पकाएको खाना जिब्रामै टाँस्सिएको थियो।
'ल यार, राम्ररी दसैं मानेर फर्क। तिम्रो त नयाँनयाँ बिहे, रमाइलो होला नि यो वर्ष!'
म हाँसेजस्तो गरेँ।
'गाउँमा सबैलाई मेरो नमस्कार सुनाइदेऊ। म संविधान बनाउन आफ्नो बुताले लागिरहेको छु भनेर बुझाइदेऊ। प्रेमजीलाई पछि आउँदा पैसा तिर्छ रे भन्देऊ।'
मैले पक्क परेर उनलाई हेरेँ। उनी अनुहार रूँलारूँला पार्दै थिए।
'जान्छु दाइ अब।'
मलाई घर गरेर नुहाइवरी अफिस जानु थियो।
'हुन्छ यार, अर्को वर्ष संविधान बनेपछि मलाई पनि ढुक्क हुन्छ। छाती फुलाएर हिँड्न पाउँछु। दसैंमा गाउँमै मोज गरौंला, तिम्रो घरमा पाँच रुपैयाँ पइन्ट म्यारिज खेलौंला।'
'अर्को वर्ष त के पाँच रुपैयाँ पइन्ट खेल्ने दाइ, दस चलाउनुपर्छ नि,' म जिस्किएँ।
'हेरौं, त्यो बेला कत्तिको पैसा हुन्छ,' उनी हाँस्न खोजे।
'अबचाहिँ म जान्छु दाइ।'
एघार बज्न लागिसकेको थियो।
भाउजु भान्साबाट निस्किन् र दस हजार रुपैयाँको सानो मुठो मलाई दिँदै भनिन्, 'बाबु, दसैंमा हाम्रो घर छिरेर यो पैसा बुबाआमालाई छोड्दिनू है! दाइको तलब त घरखर्च चलाउँदै सकिन्छ, मैले पार्टटाइम पढाएर कमाएको पैसा यति बचाएको छु।'
मलाई यो जोडीको दुःख देखेर साँच्चिकै झ्याउ लाग्यो। पैसाको मुठो समाएँ र भनेँ, 'हुन्छ नि भाउजु।'
ढोकातिर लम्किएँ।
'ल बाबु, दसैंको शुभकामना! घर राम्ररी जानू। शुभयात्रा!'
गेटमा पुग्नै लागेको थिएँ, भाउजुको मसिनो स्वर सुनेँ। उनीहरूतिर फर्केर थोरै मुस्काएँ र बाहिर गल्लीमा निस्केँ।
निलो आकाश सेतो बादलका टुक्राले कति आकर्षक देखिएको छ भने हिँड्दै गरेको गल्ली काठमान्डु नै होइनजस्तो लाग्छ।

 

प्रकाशित: २३ आश्विन २०६७ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App