यस्तै टे्रकिङमा रमाउने एउटा साथी अस्ति भन्दैथ्यो, पानी पर्ने मौसममा गोसाइँकुन्ड यात्रा पनि रमाइलो हुन्छ। कहिले घाम, कहिले पानी, कहिले आकाशभरि बादल। चिप्लोमा पछारिने डर बोक्दै। जिउमा टाँस्सिने जुका फ्याँक्दै। झरी परिरहेको बेला स्याँस्याँ गर्दै लौरीविनायकको उकालो चढ्नु। उसले भनेजसरी ठ्याक्कै लेख्न आएन, तर कसरी वर्णन गरेको थियो भने मलाई अहिल्यै जाउँ, भरे जाउँ भएको थियो।
तर, पत्रकारिताको व्यस्त दिनचर्या!
छुट्टी नै कहाँ मिल्छ पाँच/छ दिन गोसाइँकुन्ड बरालिन?
समस्या सुनाउँदा साथीले झर्कंदै भनेको थियो, ‘अरू केही होइन, तिमी अल्छी हौ। नत्र तिमी काठमाडौंमा कुनै बाघ मारिरहेका छैनौ, फुर्सदै नहुन। तिम्रो अफिसमा छुट्टी नदिने नियम पनि पक्कै छैन होला!'
अझै उसलाई आफ्नो समस्या बुझाउने प्रयास गरे पनि मलाई भित्रभित्रै आफू अलि अल्छी नै हो किजस्तो लागेको थियो।
पानी दर्किनै पो थाल्यो। आठ बजे एप्वइन्टमेन्ट भएको न्युज सोर्सलाई ‘पानी परिरहेको छ, साँझतिर भेटौंला' भनेर एसएमएस लेखिदिएँ र ब्ल्याङ्केट अझै माथिसम्म तानेँ, मुखै छोपिने गरी।
यतिखेर ऊचाहिँ जोमसोम फ्लाई गरिरहेको होला!
...
‘भाइ, कपुर सुध्रिएछ, खुसी लाग्यो,' विष्णुदाइले फेसबुकमा म्यासेज पठाएका थिए। ह्यापी इन्डिङ कथाहरू मान्छेलाई मन पर्छन्। त्यही भएर कमर्सियल हिन्दी फिल्महरू बढी चलेका होलान्। अझ त्यो कथा कपुरको जस्तो साँच्चै भए!
मैले अघिल्लो काठमान्डु कथामा बाबुआमाको एक्लो छोरो कपुर कसरी सुध्रियो भनेर लेखेको थिएँ। नर्वेमा विष्णु दाइ पनि त्यो पढेर खुसी भएछन्। आफूले चिनेको मान्छे सुध्रियो भन्ने थाहा पाउँदा खुसी लाग्ने नै भयो। विष्णु दाइ नर्वे जाने अघिल्लै दिन त हो, त्यो ठिटाले बानेश्वरको रेस्टुरेन्टमा आफैंलाई पढाउने सरलाई मुक्का हान्देको।
बिहान मलाई एसएमएस गरेको थियो, ‘दाइ, म पोखरा एयरपोर्टमा छु। पहिलोपल्ट प्लेन चढ्न लागेको, त्यो पनि जोमसोम फ्लाइट।'
दुई महिनामा दोस्रोपटक मुक्तिनाथ जाँदै थियो ऊ।
मलाई डाहा लागेको थियो। आफू एकपल्ट जान पाइएको होइन!
...
‘ध्यान गर्न थाल्नुभयो त?' गुरुपूर्णिमाको भोलिपल्ट ऊ मेरो घरमा आएको थियो।
‘कहाँ यार! म त तिमीले भनेजसरी दुई मिनेट पनि बस्न सकिनँ। आँखा चिम्लिनेबित्तिकै मनमा नानाथरि कुरा आउँछन्। टाउको फुट्लाजस्तो पो भयो। मेरो बुताको कुरा होइनजस्तो छ।'
‘एकै दिनमा कहाँ हुन्छ त दाइ, ट्राइ गर्नुस् न।'
‘ल, ल,' मैले टार्न खोजेको थिएँ।
म त्यो दिन दिउँसो एकछिन ऊसँग गएको थिएँ, कमलपोखरीको अग्रवाल भवनसम्म। गुरुपूर्णिमामा नेपाल आएका पाइलटबाबाले भक्तहरूलाई दीक्षा दिने कार्यक्रम रहेछ। ऊ बाबाको दर्शन गर्न आएका भक्तहरूको लाम मिलाउन थाल्यो। बाबा भित्र सभाकक्षमा रहेछन्।
मलाई अल्छी लाग्यो। बाहिर निस्केँ। जिर्णोद्धार गरिएको कमलपोखरी किनारका मसिना ढुंगा बटुल्दै पानीमा हान्न थालेँ।
एकछिनमा ऊ मलाई खोज्दै आयो, ‘किन दाइ, भित्र रमाइलो लागेन?' उसका हातमा दुइटा डिभिडी र एउटा किताब थिए।
‘ह्या! तिमी कहाँ यस्तो धर्मसर्ममा लागेको भन्या? पढाइ गोल खाने भयो त!'
‘होइन दाइ, म यहाँ रमाइरहेको छु। अध्यात्म के रै'छ भनेर अलिअलि बुझ्दैछु। अहिले कलेज छुट्टी छ। म त अलि दिन बाबासँगै घुमूँ भन्ठानेको, लुम्बिनी, मुक्तिनाथ, पोखरातिर!
‘हे भगवान्, यो फुच्चे त जोगी पो होलाजस्तो छ!' मैले मनमनै सोचेँ।
‘हा... हा... हा... मलाई थाहा छ दाइ, तपाईंले म जोगी हुन्छु कि भन्ठान्नुभो होला। जोगी हुन सके त राम्रै हुन्थ्यो तर मजस्तो संसारको चमकदमक बानी परिसकेको मान्छेलाई जोगी बन्न गाह्रै छ। म त अध्यात्मको दुनियाँ पनि अनुभव गरौं भनेर यता लागेको,' पुरानै स्टाइलमा हाँस्दै उसले भन्यो।
‘जे गर है भाइ,' मैले आजित स्वरमा भनेँ।
डिभिडी र किताब हातमा थमाइदिँदै उसले अंगेजीमा भन्यो, ‘चिन्ता नलिनू दाइ, म अलिअलि संसार बुझ्ने प्रयासमा लागेको छु। तपाईंलाई यी डिभिडी र किताब उपहार ल्याइदिएको छु। हेर्नू। पढ्नू।'
आजभोलि भन्दाभन्दै डिभिडी हेर्ने, किताब पढ्ने फुर्सदै भएन। तीन-चार दिनपछि अफिसबाट चाँडै निस्केको साँझ घर आएर ती डिभिडी ल्यापटपमा घुसारेँ। दुवै डकुमेन्ट्री रहेछन्। एउटा ‘समाधि', अर्को ‘कुन्डलिनी' भन्ने।
समाधिभित्रको विज्ञान, जोगीहरू सासै नफेरी वा अत्यन्त कम अक्सिजन लिएर कसरी लामो समयसम्म ध्यानमा बस्न सक्छन् भनेर व्याख्या गरिएको रहेछ एउटामा। पाइलट बाबा समाधिमा बसेको, उनकै समूहका ‘माता', ‘महामन्डलेश्वर'हरू समाधिमा बसेका फुटेज पनि थिए।
अर्कोमा चाहिँ शरीरमा सुषुप्त अवस्थामा सात शक्तिकेन्द्र हुन्छन् जसलाई चक्र भनिन्छ, योगका माध्यमबाट ती चक्र जागृत गरेर शारीरिक, मानसिक र आत्मिक रूपमा स्वस्थ हुन सकिन्छ भनेर व्याख्या गरिएको थियो। चक्र जागरण प्रक्रियालाई कुन्डलिनी भनिँदो रहेछ।
हेरुन्जेल रमाइलै लाग्यो।
एकचोटि हेरूँ न त भनेर खाना खाइसकेपछि कपुरले दिएको किताब पनि पल्टाएँ। तिनै पाइलट बाबाको नेपाल सम्बन्धबारे लेखिएको रहेछ।
भारतीय वायुसेनामा काम गर्दारहेछन् पाइलट बाबा। सानैदेखि अध्यात्मप्रति आकर्षित। विश्वमै कम उचाइमा हेलिकप्टर उडाएको भनेर उनको नाममा कीर्तिमानै रहेछ गिनिज बुकमा। एकपटक हेलिकप्टर उडाउँदै गर्दा झन्डै क्र्यास भइसकेको अवस्थामा एउटा अदृश्य शक्तिले बचाएको रहेछ। त्यसपछि वायुसेनाको जागिर छोडेर अध्यात्म यात्रामा निस्केका रहेछन्।
भौंतारिएको अवस्थामा थिए रे उनी त्योबेला। कहाँ जाने, के गर्ने, थाहा थिएन। त्यही यात्राका क्रममा नेपालका थुप्रै ठाउँ घुमेका रहेछन्। मुख्यगरी हिमालय क्षेत्रतिर। तातोपानी, मुक्तिनाथतिर लामो समय बसेका रहेछन्। हिमाली गुफाहरूमा थुप्रै साधुसँग संगत पनि गरेछन्। ध्यान गर्दै, भगवान्को खोजी गर्दै हिँड्ने।
पछि हेटौंडानजिकै भैंसेमा हरिबाबा भन्ने जोगीसँग १५ वर्ष साधना गरेर बसेछन्। गोरखनाथको दर्शनपछि तिनै हरिबाबाले उनलाई दीक्षा दिएका रहेछन्। ती हरिबाबाका गुरु अवतारबाबा पनि त्यहीँ बस्दारहेछन्।
‘नेपाल मेरो गुरुधाम हो,' किताबमा पाइलट बाबालाई उद्धृत गर्दै लेखिएको थियो।
जोगीका चमत्कारी र रमाइला प्रसंग पढेर रोमाञ्चित भएको थिएँ। पढ्दापढ्दै निदाएछु। सपनामा पनि पाइलट बाबा नै पो! मुक्तिनाथको कुन्डनजिकै बसेर ध्यान गरिरहेका।
...
फोनको आवाजले ब्युँझिएँ। नचिनेको नम्बर थियो, सिडिएमए फोनको जस्तो। अमेरिकाबाट भाइले गर्यो किजस्तो लागेर निद्राकै सुरमा उठाएँ।
‘हेलो... हेलो... कपुर हियर... कलिङ फ्रम मुक्तिनाथ।'
हत्तेरी, ऊ पो रहेछ, बिहानै निद्रा चोर्दिने।
‘के हो दाइ, अहिलेसम्म सुतिरा? जीवनमा सुत्नुबाहेक अरू पनि थुप्रै काम छन् भनेर तपाईंलाई कहिल्यै थाहा भएन है?'
‘ल ल, भाषण बन्द गर, हिजो प्रधानमन्त्रीको चुनाव थियो संसद्मा। त्यसले गर्दा न्युजहरू ढिला भए। राति घर आउँदा एक बजेको थियो। अब दुई बजे सुतेको मान्छे कतिखेर उठ्नु त? तिमीहरू जोगीजस्तो चौबीसै घन्टा फुर्सद हुने हो र हामीलाई?'
‘हा... हा... हा... जिन्दगीभरि न्युज-न्युज भनेर कुद्नुस् दाइ। कुवाको कुवामै रहनुस्। देशदुनियाँ केही घुमेको, बुझेको होइन।'
‘के कुरा गर्छौ? देशविदेशका समाचार बिहानै तिम्रो घरसम्म पुर्याइदिने काम कसले गर्छ? मलाई देशदुनियाँ थाहा नभएको भन्ने?'
‘मुक्तिनाथ आउनु भएको छ? यति सजिलै आउन सकिने मुक्तिनाथ त अहिलेसम्म नआउनुभएको तपाईंलाई देशदुनियाँ थाहा छ भनेर म कसरी पत्याऊँ दाइ? तपाईंले लेख्ने, सम्पादन गर्ने न्युजहरू मैले पढेको छु। जहिल्यै उही शब्दहरू। उही भाषा। उही नेताहरूको भाषण। उही दुर्घटना र भोकभरीका कथा। झाडापखाला, बाढीपहिरो। स्टिरियोटाइप। तपाईंको पत्रिकामा दुई महिनायता छापिएका न्युजहरू केलाउने हो भने सधैं प्रयोग हुने हजार शब्दकै वरिपरि घुमिरहेका हुन्छन्। नयाँ के हुन्छ तपाईंहरूसँग हामीलाई पढाउन?'
मलाई जवाफ दिन आएन।
‘प्लिज यार, अब त छोड। कस्तो हुँदैछ मुक्तिनाथ, भन न?'
‘एक्स्लेन्ट दाइ, आई लभ मुस्ताङ, आई लभ जोमसोम, आई लभ मुक्तिनाथ, आई लभ पाइलट बाबा,' ऊ कति जोडसँग चिच्यायो भने मैले फोन कानबाट अलि टाढा लैजानुपर्यो।
‘ल ल, पागलपन छोड, कहाँ कहाँ घुम्यौ भन।'
‘दाइ, अहिले कति बज्यो तपाईंको घडीमा?'
‘साढे छ हुन लाग्यो।'
म उठेको अढाइ घन्टा भयो। बिहानै मुक्तिनाथको धारामा नुहाएँ, कालिगन्डकीको पानी रे यो। एक सय आठवटा धाराबाट चौबीसै घन्टा पानी आइरहँदो रहेछ। खुला हावामा एक घन्टा ध्यान गरेँ। अहिले हिँड्दै तलसम्म आएको छु। फोन टिप्दो रैछ। दक्षिणतिर हिमाल टल्किरहेको छ। शुद्ध हावा बगिरहेको छ। वरिपरि डाँडैडाँडा ...।'
उसले भनिसक्न नपाउँदै अनायासै मेरो मुखबाट ‘वाउ...' निस्क्यो। मुक्तिनाथको चिसो हावाले जिउमै छोएजस्तो भयो।
‘दाइ, मलाई त सधैं मुक्तिनाथमै बसौंजस्तो लागेको छ।'
‘नहँसाऊ मुला, त्यस्तो ठाउँमा एक-दुई दिनमात्र हो, मजा आउने।'
‘सिरियस्ली दाइ। म यहाँ एउटा ध्यानकेन्द्र खोल्न चाहन्छु। खुला आकाशमुनि। ओपन मेडिटेसन सेन्टर। काठमाडौंमा भिड, कोलाहल, प्रदूषण र भागमभागले थिचिएर कुच्रुक्क अनुहार भएकाहरूलाई एक हप्तासम्म यहाँ ल्याएर ध्यान सिकाउने। उनीहरूको फोक्सोभरि शुद्ध अक्सिजन भरिदिने। रिफ्रेस पारेर पठाउने। कमसेकम तपाईंहरूजस्ता कामकाजीहरूको काम गर्ने क्षमता अलिकति भए पनि बढ्थ्यो।'
‘ह्या! को जान्छ त्यत्ति टाढा ध्यान सिक्न?'
‘आई निड योर हेल्प दाइ, तपाईंको पत्रिकामा एउटा न्युज छाप्दिनुस् न, काठमाडौं छाडेर कसरी भागौं भनेर दाउ छोपिरहेका मान्छेहरू आइहाल्छन् नि ग्वारग्वार्ती।'
‘एनिवेज, कहिले फर्कने त्यहाँबाट? अबको कार्यक्रम के हो?' मैले कुरा मोड्न चाहेँ। उसमा महसुस गर्न सकिने चरम आनन्दको अनुभूतिले मलाई पोलिरहेको थियो।
‘भोलि पोखरा फर्कने हो। त्यहाँ बाबाको दसदिने यज्ञ छ। दस महाविद्या महायज्ञ। हिन्दू संस्कृतिअनुसारका दसजना देवीको पूजा हुन्छ, प्रत्येक दिन एकजनाको। मोक्ष, संस्कार, श्रीविद्या, भरणपोषण, संहारशक्ति, कल्याण, दुःखकष्ट निवारण, ब्रह्मास्त्रविद्या, सिद्धि, धन्यधान्य प्राप्तिका लागि बाबाले यज्ञ लगाउन लाग्नुभएको।'
‘यस्ता यज्ञले मोक्ष, संस्कार, कल्याण, दुःखकष्ट निवारण, धन्यधान्य हुन्छ त भाइ? के हावा कुरा गर्छौ यार!'
‘किन नहुनु दाइ? तर तपाईंजस्ता सबै मान्छेले संकल्प लिनुपर्छ। भगवान् बुद्धले पनि सही संकल्पका लागि सुझाएका छन्। संकल्पसहित गहिरोसँग लाग्यो भने जे पनि पाउन सकिन्छ। तपाईंमा प्रतिबद्धता छ र सही बाटो लिनुभयो भने जुनसुकै क्षमता वा गुण प्राप्त गर्न सक्नुहुन्छजस्तो लाग्छ। यज्ञ त त्यही संकल्प र प्रतिबद्धताको एउटा रूप न हो।'
मेरो दिमागमा केही छिरेन।
‘आउनुस् न तपाईं पनि पोखरा!' उसले निम्त्यायो।
‘दस दिन त कहाँ भ्याइन्छ र भाइ?'
‘दस दिन नभ्याए पाँच दिन आउनुस्, पाँच दिन नभ्याए दुई दिन आउनुस्, त्यो पनि नभ्याए एक दिन।'
‘हेरौं।'
‘दाइ, इट्स अल एबउट गेटिङ न्यु एक्सपिरियन्स, नयाँ चिजको एकैचोटि विश्वास नगर्नुस्, तर अनुभव त गर्न सक्नुहुन्छ नि। बुबाआमा, समाज, गुरुहरूले सिकाएका धारणाहरूले तपाईंमा एउटा विचारपद्धति बनेको छ। त्यसमा आफ्नै अनुभवद्वारा तपाईं केही नयाँ थप्न सक्नुहुन्छ वा पहिल्यै सिकेका कुनै कुरा अपूर्ण वा गलत रहेछन् भन्न सक्नुहुन्छ। आखिर तपाईंले अहिलेसम्म जे जान्नुभएको छ, त्यो सम्पूर्ण पनि त होइन। त्यसैले नयाँ कुरा ट्राई गर्न किन हिच्किचाउने?'
‘ल ल, म आउने प्रयास गर्छु। मेरो अर्को फोन बजिरहेको छ। अहिले म राखौं?' मैले कुरा टुंग्याउन चाहेँ।
...
हिजो राति लगभग सबै सहकर्मीले न्युज फाइल गरिसकेका थिए। पोलिटिकल ब्युरोबाट अन्तिम न्युज आउन बाँकी थियो। त्यो हेरिसकेपछि मेरो काम सकिँदै थियो।
न्युज पर्खेर फेसबुकमा स्टाटस अपडेट गर्दैगर्दा फोन भाइब्रेट गर्यो, एसएमएस आएको संकेत दिँदै।
कपुरकै रहेछ।
‘दाइ, यज्ञ राम्रोसँग चलिरहेको छ। भोलि पाँचौं दिन हो। भ्याए एक दिनलाई भए पनि आउनुहोला। अर्को वर्ष म मुक्तिनाथमा ओपन मेडिटेसन सेन्टर खोल्दै छु। यज्ञमा नभ्याए पनि त्यतिबेला तपाईं जसरी पनि आउनुपर्छ। अहिलेदेखि नै छुट्टी मिलाउनुपर्छ भने पनि मिलाउनू। प्लिज दाइ, कुवाबाट बाहिर निस्कने प्रयास गर्नू। गुडनाइट।'
प्रकाशित: २१ श्रावण २०६७ २३:४५ शुक्रबार