९ मंसिर २०८१ आइतबार
image/svg+xml
ब्लग

तपाई पत्रकार कि पत्रकार महासंघको सदस्य ?

ठ्याक्कै मिति विर्सिएँ दुई वर्षअघि होला, काठमाडौंमा एउटा राजनीतिक दलको भ्रातृ संगठनकै हैसियत बनाइसकेको पत्रकारहरुको एउटा संगठनको साधारणसभा थियो। त्यो संगठनको साधारणसभामा सम्बन्धित दलसँग विचार मिल्ने पत्रकार साथीहरुको उपस्थिती अनिवार्य हुनु स्वभाविक थियो। नेपाल पत्रकार महासंघ र त्यसको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चवाहेक अरु कुनै पनि त्यस्तो संस्थासँग साइनो नभए पनि देशभरका पत्रकारहरुसँग भेट्नलाई त्यो हाम्रा लागि एउटा अवसर थियो।

विचारले एउटा दलसँग निकट भए पनि, स्वतन्त्र हुनुपर्ने पेशामा लाग्नका बावजुद दलको झण्डा बोक्न गौरव ठान्ने भए पनि हाम्रा लागि ति साथी थिए। फरक भुगोल, फरक परिस्थिती, फरक सुविधा, फरक चुनौतीका बीच फरक फरक विधामा कलम चलाउने साथीहरु थिए। कतिपय विभिन्न समयमा एउटै संचार गृहमा सँगै काम गरेका साथीहरुसँग पनि पूर्नमिलनको अवसर त्यो भेलाले दिन्थ्यो। खासगरी काठमाडौं बाहिरका र खेलकुद बाहेकका विधामा काम गर्ने साथीहरुसँग अनुभव साटासाट गर्न, भलाकुसारी गर्न रमाइलो हुनु स्वभाविक थियो।

केही खेल पत्रकार र फोटो पत्रकारको समूह दिनभर रिर्पोटिङ भ्याएपछि साँझपख केही बेर दरबारमार्गमा नियमित भेटिन्थ्यो। शेर्पा मलको आँगनमा बाहिरै पेटीमा बसेर कफीको चुस्कीसँगै गफिनुको मजा नै बेग्लै। आधा घन्टाको त्यो कफी समय फेरी अफिस फर्किएर राती अबेरसम्म समाचार लेख्ने उर्जाका लागि पर्याप्त हुन्थ्यो। दरबारमार्ग आफैमा एउटा ह्यापेनिङ प्लेस । त्यसमाथि साँझको समय त्यहाँको माहोल अझै उल्लासमय हुने।

काठमाडौं वाहिरका साथीहरुलाई पनि थाहा भइसकेको थियो, साँझपखको हाम्रो ठेगाना। पत्रकारहरुको त्यो भेलामा आएका नेपालगञ्जका केही साथीहरु हामीलाई भेट्नकै लागि शेर्पा मल पुगिसकेका रहेछन्। पत्रकारहरु भेट्दा हुने कुरा पत्रकारिताकै हो। रक्सी व्यापारको त्यहाँ कुरा हुँदैनन् । ठेक्का पट्टाको विषयमा पनि कुरा हुँदैन। दलाली र राजनीति पनि त्यहाँ चासोको विषय बन्दैनन् । बरु यी र अरु थुप्रै विषयमा पत्रकारले बनाएका समाचार गफको विषय बन्न सक्छन्। हामीलाई भेट्न हामीभन्दा पहिला शेर्पा मल पुगिसकेका साथीहरु पनि स्वभाविक रुपमा पत्रकारिताकै चिरफार गरिरहेका थिए । अझ पत्रकारहरुकै भेला भएको बेला त त्यसकै माहोल थियो।

हामी पुग्ने वित्तिकै झण्डै दशकभन्दा पहिलादेखि चिनजान रहेका एक पुराना नेपालगञ्जे मित्रले मलाई प्रश्न गरे, ‘दाई तपाई पत्रकार की पत्रकार महासंघको सदस्य ? मैले उनको प्रश्नको आशय बुझिन । सहज उत्तर दिएँ, ‘यार हामी सँगै काम गरेको कति भयो । तिमीलाई मेरो वारेमा सबथोक थाहै छ नी । म पहिला पत्रकार हुँ र पत्रकार भएकै कारण पत्रकार महासंघको सदस्य भएको छु । पत्रकार रहिन भने पत्रकार महासंघको सदस्य कसरी रहुँला र?’

म आफै पत्रकार महासंघको केन्द्रीय सदस्य भइसकेको मान्छे, त्यतिबेला महासंघको सबभन्दा सक्रिय एसोसिएट सदस्य नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्ष थिएँ। स्कुलमा नैतिक शिक्षा पढेको मजस्तो मानिसको जवाफ अरु हुन पनि सक्दैनथ्यो। खेलकुद पत्रकार मञ्चले पनि सधै आफूलाई यही मुल्य, मान्यता र अडानमा कायम राख्दै आएको थियो। तर पत्रकार संस्थाहरुको फोहोरी राजनीतिले वातावरण दुषित बनाइसकेको अवस्थामा मेरो जवाफ तत्कालै साथीहरुले गलत साबित गरिदिए।

अघि प्रश्न गर्ने साथीले अर्का एक भलादमीतिर देखाउँदै ठट्यौली शैलीमा केही भनेपछि पत्रकार र पत्रकार महासंघ सदस्यबीचको फरक प्रष्ट भयो। उनले भनेका थिए, ‘यो मेरो साथी फलाना । हामी सँगै स्कुल पढेका हौं । तर यसले सातपछि स्कुल जान बन्द गर्‍यो। लेखाईको कुरा गर्ने हो भने यसले अहिलेसम्म आफन्तलाई चिठी पनि लेखेको छैन, समाचारको त कल्पना नगरौं। तर यो पत्रकार महासंघको सदस्य हो। अब फेरी भन्नुस तपाई चाँही पत्रकार की पत्रकार महासंघको सदस्य।’

कफी गफ रमाइलो भयो । धेरै साथीभाईसँग एकै ठाउँमा भेट भयो । अनुभव साटासाट गरियो । तर साथीको एउटा प्रश्नले सधै पछ्याइरहयो, हामी पत्रकार की पत्रकार महासंघको सदस्य ? पत्रकार महासंघका ति सदस्य पेशाले पत्रकार पनि रहेनछन् । निर्माण व्यावसाय उनको पेशा रहेछ । दुई दशकदेखि लगातार अक्षरको खेती गरेर जिविको गरिरहेका हामीलाई कार्ड भिरेर सार्वजनिक ठाउँमा जान अप्ठेरो लाग्छ । पेशाप्रतिको हेयभावले होइन, दुरुपयोग नहोस भनेर हो। तर पत्रकार महासंघका सदस्य ति मेरा मित्र सानले उनी पत्रकारको बिल्ला भिरेरै दरबारमार्ग पुगेका थिए।

विकल्प नहुँदा देशभरका पत्रकारको छाता संगठनको हैसियतमा उत्ताउलिएको पत्रकार महासंघले एसोसिएट सदस्यको विषयमा फेरी एउटा विवादास्पद निर्णय गरेछ। विधागत संस्थामात्र एसोसिएट सदस्य हुन सक्ने वैधानिक प्रावधान र नेपालगञ्ज विधान महाधिवेशनको निर्णयलाई लत्याउँदै अमूर्त नामको एउटा ‘भोट बैंक’लाई नेतृत्वले केन्द्रीय समितिमा समेत छलफल नगरी चोरबाटोबाट भित्रयाएछ। कम्तिमा लाजगालकै लागि भए पनि एसोसिएट परिवारमा नयाँ सदस्य थपिँदा भइरहेका विद्यमान एसोसिएटसँग सामान्य छलफल पनि नगर्ने कस्तो विधि हो यो?

पत्रकार शुद्धिकरण अभियानको चर्चा चलिरहेकै बेला, प्रेस स्वतन्त्रता, लोकतन्त्र, विधी र विधानको कुरा गरेर नथाक्ने महासंघ नेतृत्वले किन यस्तो गरेको होला? नेतृत्वलाई पत्रकारको नभएर किन सदस्यको नेता बन्ने रहर पलाएको होला ? पत्रकारिता आफैमा कसैले हेप्नुपर्ने वा आफैले हेय पाल्नुपर्ने पेशा होइन। आर्थिक हिसावमा यो पेशाबाट करोडपति बन्न नसकिएला। तर हामीले कलमको माध्यमबाट देश र समाजका लागि धेरै गर्न सक्छौं, गरिरहेका छौं। आफूमाथि र आफ्नो पेशामाथि गर्व गर्न यो पर्याप्त छैन र? व्यक्तिगत र पारिवारिक थुप्रै विषयमा सम्झौता गर्दै यस्तो गौरवपूर्ण पेशामार्फत देश र समाजका लागि आफूलाई समर्पण गर्नेहरुको छाता संगठनको सदस्य हुँ भन्न किन साथीहरुले हेय पाल्नुपर्ने अवस्था आएको होला?

समिक्षा जरुरी छ । आज पत्रकार महासंघको ६३औं स्थापना दीवशकै दिनबाट सम्पूर्ण नेपाली पत्रकारहरुले गर्वका साथ ‘म नेपाल पत्रकार महासंघको सदस्य’ भन्न सक्ने अवस्था सिर्जना गर्न सबै लागौ भन्ने मेरो आह्वान हो। केही भोट र त्यसबाट आर्जन गरिने क्षणिक पदको मोह नेतृत्वलेमात्र त्याग्न सक्यो भने हाम्रो संस्थालाई मर्यादित बनाउनबाट कसैले रोक्न सक्दैन। कसैले पत्रकार महासंघको सदस्यलाई ‘पत्रकार हो की होइन’ भनेर सोध्न सक्दैन। अनि म जस्ता यही पेशामा समर्पितले गर्वका साथ भन्न सक्छ, ‘म पत्रकार महासंघको सदस्य हुँ ।’ किनकी पत्रकार महासंघको सदस्य भएपछि पत्रकार होइन भन्ने शंका गर्नुनपर्ने महासंघ मेरो अभियान हो। तपाईको नी ?

प्रकाशित: १६ चैत्र २०७४ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App