नेवाः संस्कृति काठमाडौं उपत्यकाको साझा संस्कृति हो। काठमाडौँ उपत्यका र उपत्यकावरिपरिका जिल्लाका आदिवासी या मुख्य बासिन्दा नेवार हुन्। वाग्मती नदीवरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन्। नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ। नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोबास उपत्यकामा रहँदै आएको पाइन्छ।
काठमाडौंका नेवारहरू राजधानीका आदिबासी मात्र होइनन्, कला, साहित्य, गीतसङ्गीत, खानपान, जात्रालगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन्। नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन्। अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत सङ्गीतकला, चित्रकला, खाद्यकलालगायतका सिर्जनात्मक कर्ममा तल्लीन भएका पाइन्छन्। यस्तो जातिगत सिर्जनात्मक कलामा मुख्यतः राजधानीकै नेवारहरू मनैदेखि लागिपरेको पाइन्छ।
साहित्य साधना, कलाकारिता, राजनीतिलगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
साहित्य साधनामा काठमाडौंका नेवार
भर्खरै शताब्दी पुरुष सत्यमोहन जोशीलाई हामीले गुमायौं। ललितपुरमा जन्मेहुर्केका जोशी नेपाली तथा नेवारी वाङ्मयका उच्च धरोहर हुन्। तीनपटक मदन पुरस्कार पाएका जोशी नेपाली साहित्य–संस्कृति, नेपाली मुद्रा, नेपाल–चीन सम्बन्धलगायतका क्षेत्रका प्रामाणिक ज्ञाता थिए। जोशीका अलावा नेपाली साहित्यमा योगदान पु¥याउने राजधानी उपत्यकाका नेवारी समुदायका साहित्यकारहरू धेरै छन्।
गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजय मल्ल कथा, उपन्यास, नाटकजस्ता विधामा सफल कलम चलाउने सर्जक दाजुभाइ हुन्। सामाजिक एवम् मनोवैज्ञानिक आख्यान तथा नाटक लेखनका क्षेत्रमा यिनीहरूको योगदान उल्लेख्य मानिन्छ। ‘एक चिहान’, ‘स्वास्नी मान्छे’ जस्ता क्रान्तिकारी उपन्यासका सर्जक हृदयचन्द्रसिंह प्रधान र निबन्ध एवम् समालोचनाका लौह व्यक्तित्व कृष्णचन्द्रसिंह प्रधान काठमाडौंको एउटै नेवार परिवारमा जन्मेहुर्केका साहित्यकार हुन्। ‘फूलको आँखामा फूलै संसार’जस्ता दार्शनिक गीतका सर्जक दुर्गालाल श्रेष्ठ कविता, गीत तथा बालसाहित्यको क्षेत्रमा ओजिलो योगदान दिने साहित्यकार हुन्। नेपाली र नेवारी संस्कृतिका ज्ञाता तेजेश्वरबाबु ग्वंगः भक्तपुरमा जन्मेहुर्केर अनवरत साहित्यसाधना गर्ने साधक हुन्। नियात्रा लेखनमा सक्रिय घनश्यामराज कर्णिकार, सिद्धहस्त आख्यान हस्ताक्षर पद्मावती सिंह, ओजिला कविता तथा गीतका सर्जक डा. राममान ‘तृषित’, लामा छोटा कथाका संयोजक श्रीओम श्रेष्ठ ‘रोदन’, देवकोटामा विद्यावारिधि गरेका विद्वान समालोचक तथा निबन्धकार डा. कुमारबहादुर जोशी काठमाडौं उपत्यकामा बस्ने नेवारी समुदायका प्रतिनिधि साहित्यकर्मी हुन्।
कविता, समालोचना, गीत इतिहास, चलचित्र निर्देशनजस्ता विविध विधाका प्रामाणिक साधक तथा अध्येता प्रकाश सायमि, उपन्यासकार धुस्वाँ सायमि, पर्यटन व्यवसायी तथा उत्प्रेरक लेखक कर्ण शाक्य, साहित्यकारहरू इन्द्र माली, कृष्णभक्त श्रेष्ठ, केशवलाल कर्माचार्य, शान्ता श्रेष्ठ, भिक्टर प्रधान, ललितजंग सिजापतिलगायतलाई काठमाडौं उपत्यकामा जन्मेहुर्केर नेपाली साहित्यमा योगदान पु¥याउने नेवार समुदायका प्रतिनिधि साहित्यकारका रूपमा लिन सकिन्छ।
प्रस्तुत आलेखको उद्देश्यअनुरूपमा नामहरू थुप्रै छन्। सबै नाम उल्लेख गर्न सम्भव छैन। यद्यपि नेपाली संस्कृति तथा कला–साहित्यको श्रीवृद्धि गर्ने कर्ममा काठमाडौंका नेवार साधकहरूको योगदान अतुलनीय छ। यहाँका साहित्यसाधकहरूले आफ्नो जातिको भाषा, साहित्य र संस्कृतिको मात्र संरक्षण नगरेर समग्र नेपाली भाषा, साहित्य तथा संस्कृतिको संवद्र्धन गरेका छन्।
गीतसङ्गीतमा काठमाडौंका नेवार
काठमाडौंमा जन्मेहुर्केका सेतुराम श्रेष्ठ नेपाली आधुनिक गीतसंगीतका आदि गायक मानिन्छन्। उनले १९६५ सालमा नै माध्यमिक कालीन प्रसिद्ध शृङ्गारिक कवि मोतीराम भट्टद्वारा सिर्जित गजल ‘यता हे¥यो यतै मेरा नजरमा राम प्यारा छन्’ गाएर आफूलाई नेपाली भाषामा गीत रेकर्डिङ गर्ने पहिलो गायकका रूपमा दर्ज गरे। काठमाडौंको किलागलमा जन्मेका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्य कालजयी नेपाली आधुनिक गायक हुन्। आधुनिक गेय विधाका शिखर संगीतकार तथा गायक नातिकाजी श्रेष्ठ राजधानी उपत्यका (पुलचोक, ललितपुर) मा नै जन्मी मलजल पाएका कलाकार हुन्। ‘तिरिरी मुरली बज्या बनैमा’ जस्ता कर्णप्रिय गीतका गायक पन्नाकाजी शाक्य आधुनिक गीतसंगीतका बिर्सन नसकिने साधक हुन्। नेपाली गीतलाई आधुनिक संरचनामा निपुणताका साथ निर्माण गरी जनमानसमा स्थापित गराउने काममा नातिकाजीको अभिभावकीय भूमिका रहेको छ। काठमाडौंको मखनटोलमा जन्मिएका माणिकरत्न स्थापितले ‘नआऊ जुन कोठामा राति’, ‘त्यो खोलाको सङ्लो पानी’, ‘म पनि त मानिस हुँ’ जस्ता दर्जनौं सदाबहार गीत गाएर आफूलाई यस क्षेत्रमा स्थापित गराए। पुष्प नेपाली (पुष्पराज जोशी) नेपाली सुगम संगीतका ओजस्वी गायक हुन्। काठमाडौंको ओमबहालमा जन्मेहुर्केका सर्जक डा. राममान तृषित ओजश्वी गीतकार हुन्। ‘मान्छेको माया यहाँ खोलाको पानीजस्तो’, ‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ’ जस्ता दर्जनौं सफल गीतका सर्जक हुन् तृषित। काठमाडौंको न्युरोडमा जन्मेहुर्केका चलचित्र आमाका नायक शिवशंकर मानन्धर नेपालमा अभिनय क्षेत्रका प्रारूप मानिन्छन्। तारादेवी कार्कीका रूपमा काठमाडौंको इन्द्रचोकमा जन्मे पनि कालजयी गायिका तारादेवी शिवबहादुर श्रेष्ठसँगको विवाहपश्चात् नेवारी परिवारमा भित्रिइन्। नेवारी संगत, संस्कार, जात्रा, गीतसंगीतकै प्रभावस्वरूप आफूलाई नेपाली आधुनिक गायिकाका रूपमा स्थापित गराइन्। ‘मर्न बरु गाह्रो हुन्न’, ‘यस्तो पनि हुँदो रैछ’, ‘सान्नानीको गालैमा कालो कोठी रैछ’, ‘रातो र चन्द्र सूर्य’ जस्ता अजम्मरी गीतका गायक फत्तेमान राजभण्डारी काठमाडौं उपत्यकाकै माटोले हुर्काएका गायक हुन्। ‘सपना भुलाइ सारा’ जस्ता कालजयी गीतका गायक योगेश वैद्य काठमाडौंमा जन्मेहुर्केर अनवरत गायनमा लागिरहेका गायक हुन्। हास्य कलाकारिताको सुगम युगका निर्माता मदनकृष्ण श्रेष्ठ काठमाडौं उपत्यकाकै नेवारी संस्कार, बाजागाजा, गीतसंगीत सुन्दै हुर्केका अभिनेता हुन्।
यहाँ केही प्रतिनिधि गायकगायिकाको मात्र नाम उल्लेख गरिएको हो। काठमाडौंको नेवारी परिवारमा जन्मेर नेपाली गीतसंगीतको क्षेत्रमा गहन योगदान दिने स्रष्टाहरू दर्जनौं छन्। गीतसंगीत चाडबाड, मनोरञ्जन, संस्कार–संस्कृतिको उल्लेख्य क्षेत्र हो। काठमाडौं उपत्यका देशको राजधानी त हो नै। त्यसका साथसाथै नेवारी संस्कृतिको उद्गम थलो पनि हो। नेवारी संस्कृतिको अनुसिञ्चनमा हुर्केका गायकगायिकाले नेपाली गीतसंगीतमा पु¥याएको योगदान अमूल्य छ भन्ने कुरा माथिका कलाकारहरूको योगदानले स्पष्ट पार्छ। यहाँ जातिगत कुरा गर्न खोजेको होइन तर नेपाली गीतसंगीतको संवर्धनमा नेवार समुदायका गायकगायिकाको योगदान अमूल्य रहेको कुरा कसैले नकार्न मिल्दैन।
राजनीतिमा काठमाडौंका नेवार
राजनीतिक उच्च पदमा धेरै नेवारहरू पुगेको त देखिँदैन तर राजधानीमा हुने आन्दोलन, सत्ता परिवर्तन तथा क्रान्तिमा नेवारी समुदायको भूमिका उल्लेख्य देखिन्छ।
राणाकालमा साहदत पाउने चार सहिदमध्ये तीनजना नेवार नै थिए। शुक्रराज शास्त्री काठमाडौंकै नेवार हुन्। धर्मभक्त माथेमा काठमाडौंको ओमबहालमा जन्मेहुर्केका अनि अन्याय–अत्याचारको विरोधमा सधैं निडर भएर लाग्ने व्यक्ति हुन्। गंगालाल श्रेष्ठको जन्म रामेछापमा भएको हो। उनले सानैदेखि अध्ययन, राजनीति, सङ्घर्ष काठमाडौंमै गरे। राणाशासनको विरोधमा उत्रेका श्रेष्ठलाई विष्णुमति नदीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो। २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंह थिए। नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र निडर एवम् क्रान्तिकारी प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ पनि काठमाडौंबाहिर जन्मेका भए पनि काठमाडौंले नै राजनीतिक अनुसिञ्चन गरेका राजनीतिज्ञ हुन्। महिलाको कुरा गर्ने हो भने काठमाडौंको नेवार समुदायमा जन्मिएर कम्युनिस्ट राजनीतिमा होमिएकी अष्टलक्ष्मी शाक्य नेपालकै इतिहामा पहिलो महिला मुख्यमन्त्री बनिन्।
भनिन्छ, काठमाडौंका नेवारहरूको दरिलो साथकै कारण राणाशासनविरुद्धको आन्दोलनले सफल बाटो पहिल्याएको हो। काठमाडौंका नेवारहरूको साथ नहुँदो हो त २०४६ सालको बहुदलीय प्रजातान्त्रिक आन्दोलनले सफलताको मार्ग लिन कठिन थियो। राजधानीमा राजनीतिक रूपमा बलियो बन्नकै लागि नेपालका अधिकांश नेताहरूले काठमाडौंका नेवार चेलीसँग विवाह गरेको यथार्थ हामीसामु प्रस्ट नै छ।
पटकपटक सत्तालाई झुकाउन मात्र होइन, राजनीतिक आन्दोलनको दिशा बदल्नसमेत निर्णायक बन्दै आएका काठमाडौं उपत्यकाका नेवार समुदायको शक्तिको आधार नेवाः सांस्कृतिक एकता अनि परम्परागत सांस्कृतिक वैभव नै हो। प्रधानमन्त्री केपी शर्मा ओलीको दुईतिहाइ बहुमतप्राप्त बलियो सरकारसमेत काठमाडौंका रैथाने नेवार समुदायको आक्रोश र असन्तुष्टिका अगाडि आफ्नो निर्णय फिर्ता लिन बाध्य भयो। सरकारले सदियौंदेखि सञ्चालन गर्दै आएका गुठीलाई गुठी प्राधिकरण मातहत ल्याउन र समुदायको धर्म संस्कृतिसँग जोठिएको गुठीको अस्तित्व नै समाप्त पार्न खोजेको भन्दै उपत्यकाका नेवार समुदाय आन्दोलित बन्यो। उक्त आन्दोलन हेर्दा लाग्थ्यो– उपत्यकाका नेवार समुदाय आन्दोलित बनेपछि राजधानी नै ठप्प बन्छ, देशका सारा संरचना अस्तव्यस्त बन्छन्। त्यसपछि सरकारले अगाडि सारेको गुठी विधेयक फिर्ता लिन बाध्य भयो।
निष्कर्ष
काठमाडौंको नवारी समुदायले साहित्य, सस्कृति, गीतसंगीत, राजनीतिलगायतका क्षेत्रमा सबल उपस्थिति जनाएको इतिहास छ। देशको राजधानी काठमाडौं सांस्कृृतिक सहर हुनुको प्रमुख कारण नै यहाँका आदिवासीको जीवनशैली सांस्कृतिक रङमा घोलिएको हुनु हो। साहित्य, कला, संगीतको क्षेत्रमा यहाँका नेवारहरूले पु¥याएको योगदान उच्च छ। राजनीतिको सर्वोच्च पदमा नपुगे पनि राजनीतिक–सांस्कृतिक आन्दोलनमा यहाँका नेवारहरूले अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्। २००७, २०४६, २०६२÷६३ लगायतका राजनीतिक आन्दोलनमा काठमाडौंका नेवारी समुदायको गर्विलो योगदान रहेको तथ्य हामीसामु प्रस्ट छ। यसप्रकार नेवार काठमाडौं उपत्यकाका रैथाने मात्र नभएर देशको सांस्कृतिक–साहित्यिक पहिचानका स्तम्भ पनि हुन्।
प्रकाशित: १९ कार्तिक २०७९ ०१:४९ शनिबार