२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकसभा

चालिस बढी साहित्यिक संस्थाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकसभा आयोजना गरेको छ।

‘के खायो के लायो होला, वनको जुरेली चरोले’ भन्ने सत्यमोहन जोशीले संकलन गरेको लोकगीतबाट शुरू भएको उक्त सभाका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति डा.जगमान गुरुङ थिए भने विशेष अतिथि कवि भीम उदास थिए।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वाङमय शताब्दी पुरुष जोशीसँगका विभिन्न संस्मरण सुनाएका थिए। केही हफ्ताअघि मात्र बंगलादेशबाट आएका बंगाली साहित्यकारहरू, अमेरिकाबाट आएका नेपाली साहित्यकारहरूसँग भेट्दा जोशीले गरेका राम्रो व्यवहारबारे प्रशंसा गरे।

यसका साथै बालवाङमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, गुञ्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठकले पनि आआफ्ना संस्मरण सुनाएका थिए।

विशिष्ट अतिथि भीम उदासले एनआरएनएको कार्यक्रममा जोशीसँगका प्रसंगहरू सुनाए। त्यसरी नै प्रमुख अतिथि डा. जगमान गुरुङले स्व. जोशी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालका हुन् भनेर जोड दिए।

कार्यक्रमको शुरूमा एक मिनेटको मौनधारण पनि गरिएको थियो।

उक्त शोकसभाको सभापतित्व साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका थिए भने कार्यक्रमको सञ्चालन ‘शब्दपथ’का किशोर पहाडीले गरेका थिए।

कार्यक्रममा जोशीको स्मृतिग्रन्थ प्रकाशन लगायतका कार्यहरू गरिने प्रस्ताव पनि गरिएको थियो। यस कार्यक्रमका आयोजक सस्थाहरूमा क्रमशः साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान, नेपाल स्रष्टा समाज, दायित्व वाङमय प्रतिष्ठान, वासुशशी स्मृति परिषद, लघुकथा समाज नेपाल, गुञ्जन, भूगोल साहित्य समाज, ललितपुर कला संस्कृति प्रतिष्ठान, नेपाल भारत-साहित्य प्रतिष्ठान (नेपाली साहित्य सस्कृति समाज), नेपाल मुक्तक प्रतिष्ठान, शब्दपथ, नारी साहित्य प्रतिष्ठान, शिवपुरी साहित्य समाज, उपन्यास समाज नेपाल, नियात्रा समाज नेपाल, चेतन कार्की प्रतिष्ठान, सर्वदा वाङमय प्रतिष्ठान, सञ्चार मञ्च, नेपाली कला साहित्य डटकम प्रतिष्ठान, अनेसास नेपाल च्याप्टर, उर्वरा फाउन्डेसन, सखी प्रतिष्ठान, जनमत मासिक, नारी स्रष्टा समाज, नेपाली साहित्य मन्दिर, नारीस्वर, महिला गीतकार संघ नेपाल, डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठान, मदन दिपबम स्मृति परिषद्, घुम्ती मुक्तक नेपाल, एपेक नेपाल, संसाक मासिक, नेपाल साहित्यिक पत्रकार संघ, सिद्दिश्वरमान अक्षयलोक साहित्यिक केन्द्र, लेखक संसार नेपाल, जरा फाउन्डेसन, अमेरिका नेपाली साहित्य प्रतिष्ठान, लीलाध्वज साहित्य प्रतिष्ठान, बुद्ध फाउन्डेसन, सिर्जना उत्सव (अमेरिका), अमेरिका नेपाली साहित्य प्रतिष्ठान, यशस्वी प्रज्ञा प्रतिष्ठान र नेपाल बालवाङमय अनुसन्धान केन्द्र लगायतका संस्था रहेका छन्।

शोकसभा मनाएकै दिन बिहान अध्यक्ष राधेश्याम लेकाली, नरेन्द्रबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, विक्रमभक्त जोशी, राजबाबु श्रेष्ठ ‘सागर’ र सिर्जना दुवालले जोशीको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका थिए।

प्रकाशित: ११ कार्तिक २०७९ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App