४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सुबेदार बमप्रसादको खोजी

नेपाल सरकारको सहयोगमा दलाई लामाका सेना खम्पाहरू नेपाल भित्र्याउने काम भइरहँदा अमेरिका र भारत खुसी थिए भने चीन बढो सतर्कता अपनाउँदै थियो। उत्तरी सीमानामा त्योभन्दा अगाडि भारतीय सेनाका चेक पोस्ट नेपाल सरकारकै सिफारिसमा राखिएका थिए। भारत र अमेरिका मिलेर नेपाल सरकारलाई दबाब दिई नेपालमा खम्पा भिœयाउने काम २००७ सालपछि बनेको मातृकाप्रसाद कोइरालाको सरकारको पालादेखि नै सुरु भयो। सुरुसुरुमा ५०० जना खम्पा सेनाको तथ्याङ्क दिएको त्यो सरकारले पछि प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पालामा ६ हजार ५ सय जतिको आँकडा प्रस्तुत गरेको पाइन्छ।

उत्तरी सीमामा २००९ सालपछि नै भारतीय सेना तैनाथी गराउनुको स्वार्थ खम्पाहरूलाई नेपाल प्रवेश गराउनु र तीनलाई सुरक्षासमेत दिनु थियो। अनि तिब्बततर्फको चिनियाँ सेनाको हर्कतको जासुसी गरेर त्यो खबर नेपाली सीमामा तैनाथी रहेका भारतीय आर्मीले दिल्ली पठाउँथे। दिल्ली आर्मीले दिल्लीकै ब्रिटिस राजदूतावासलाई खबर पठाउँथे अनि खबर लन्डन पुग्थ्यो। लन्डनको सेनाको च्यानलमार्फत अमेरिका अर्थात् ‘सिआइए’मा पुग्थ्यो। गज्जबको कुरा त के हो भने (काठमाडौं मनपा पेरिस डाँडा निवासी कर्नेल झङ्कबहादुर सिलवालका अनुसार) त्यसबखत हिमाल राइफल (हिरा) कम्पनीहरू खडा गरेर नेपाली सेना उत्तरी सीमानातर्फ पूर्व–पश्चिम तैनाथी थिए। तीमध्येको एक पोस्ट थियो सुबेदार बमप्रसाद बास्कोटा उपाध्यायले कमान्ड गरेको मुस्ताङको सैनिक टुकुडी। यहाँ ४३ जनाजतिको एक सेना प्रमुख (एक प्लटुन) मात्र थियो। ती सबै हिमाली राइफल कम्पनीहरूले समेत चीनको सीमा क्षेत्रमा तैनाथी भारतीय सेनाको रेडियो सेटबाट नै नेपाली सेनाको समेत खबर नेपाली जङ्गी अड्डासँग आदानप्रदान हुँदो रहेछ। हाम्रो गोपनीयता भारतीयको हातमा थियो। दलाई लामा, भारत र अमेरिकाको त्रिकोणात्मक सम्बन्ध र योजनाबाट नेपालको उत्तरी सीमामा भारतीय सेना राखेको र खम्पा भिœयाइएको थियो। दलाई लामाबाट खम्पा लडाकुहरूलाई दिने सन्देश पनि त्यही च्यानल हुँदै नेपाल, अमेरिकाको कोलोराडो र देहरादुनको चक्रतामा रहेका खम्पाहरूसम्म पुर्‍याउँथे, किनकि खम्पाहरू नेपालको उत्तरी सीमामा तैनाथ थिए भने कोलोराडो र चक्रतामा सैनिक तालिम लिन्थे।  

ओलाङचुङ्गोलादेखि पश्चिममा ट्रिन्कर–लिपुलेकसम्म भारतीय सेना तैनाथ थिए भने ती सबै क्षेत्रमा खम्पाहरूको जासुसी टिम (रेकी पेट्रोल) घुमी रहन्थे। किनकि जहाँ चिनियाँहरूको कमजोर सुरक्षा पोजिसन हुन्थ्यो, त्यहाँबाट खम्पाहरूले चिनियाँ सेना मार्ने, गाडीलाई ध्वस्त पार्ने, लुट्ने, रेप गर्नेजस्ता काम गर्थे।  

यो अवस्थामा चिनियाँ सेनाको पनि बोर्डर फाइटिङ पट्रोल ती इलाकामा घुम्न थाले भने उपल्लो मुस्ताङ र तिब्बती भूमिको नजिकसम्म चिनियाँ सेना आए। २०१७ असार १४ गते चिनियाँ पट्रोलको एक हजारभन्दा बढी सेना देखेपछि मुस्ताङका राजाले मुस्ताङमा तैनाथ भारतीय सेनालाई खबर गरी मुस्ताङ बचाइदिन अनुरोध गरे। सो खबर भारतीय सेनामार्फत दिल्ली, दिल्लीबाट लन्डन र त्यहाँबाट अमेरिका पुग्यो र तुरुन्तै नेपाल सरकारलाई दबाब आयो कि ती चिनियाँ सेना किन मुस्ताङ आए र किन चुप बसेको नेपाल ? सो खबरका आधारमा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई दबाब पर्‍यो। त्यसपछि तुरुन्तै चिनियाँ सेना आएको हो होइन भन्नेबारे बुझ्न मुस्ताङमा तैनाथ रहेका नेपाली सेनाका कमान्डर सुबेदार बमप्रसाद बास्कोटा उपाध्यायको कमान्डमा १ सेक्सन सेना, भन्सार अधिकृत, स्थानीय जनप्रतिनिधि र दोभासे गरी १७ जनाको टोली अझै उत्तरी सीमानातर्फ हिँडे। नेपाल–चीनको सीमामा नियमअनुसार नेपाली सेना हतियार नबोकी र सैनिक पोसाक नलगाई गएका थिए।  

नेपाली टोलीका सबै घोडा चढेर गएका थिए। तर सुबेदार बमप्रसादकी श्रीमती लीलादेवी बास्कोटाका अनुसार सुबेदार मात्र घोडामा र अरू पैदाल गएका थिए। केही घण्टा हिँडेपछि उनीहरूमाथि चिनियाँ सेनाको फायर आयो। सुबेदार बमप्रसाद मारिए र अर्का १ जना सैनिक घाइते भए। अनि ती घाइतेलगायत १६ जना चिनियाँ सेनाका बन्धक बने भने सुबेदारको लास पनि उनीहरूले नै कब्जामा लिए। तर सुबेदार बमप्रसादकी श्रीमती लीलादेवीका अनुसार सुबेदार मारिए। अर्का १ जना सिपाही घाइते बने। ६ जना भाग्न सफल बने र १० जना चिनियाँ सेनाको कब्जामा परे। सुबेदारको लास र घोडासमेत उनीहरूले नै लगे। ती भागेका ६ जनाबाट उक्त घटनाबारे मुस्ताङमा रहेका नेपाली सेनाको क्याम्प र भारतीय सैनिक पोस्टलाई खबर गरेकाले नै भारतीय रेडियो सेटमार्फत सोही दिन, सो खबर संसारभरि फैलियो र नेपालको राजधानीसम्म पुग्न पायो। यो बारेमा नेपालका प्रधानमन्त्री बिपी कोइराला र चिनियाँ प्रधानमन्त्री चाउ एन लाईको १० वटाभन्दा बढी पत्राचार छन्।  

नेपाली सेनाको पट्रोल टिमलाई चीनले दलाई लामाका सेना ‘खम्पा’ ठानेकाले त्यो घटना हुन गएको लेखेको छ। वास्तवमा उसबखत मनाङ–मुस्ताङ क्षेत्र खम्पाको नियन्त्रणमा थियो। नेपाली प्रशासनको केही हात थिएन। पछि छानबिन गर्‍यो चीनले। घटनामा गल्ती स्विकारी मृतकलगायत सबैको क्षतिपूर्ति ५० हजार रूपैयाँ तिर्‍यो। माफी मागेको छ, चीनले। यसबारे विस्तृत अध्ययन गर्न गृष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण, भाग २ को पृष्ठ १३६ देखि ५८१ सम्म ठाउँठाउँमा छन्। गजबको कुरो त यो बारेमा नेपाली सेनालाई यो घटना र मृतक सुबेदार बमप्रसादका बारेमा थाहा नै छैन। २०४९ सालदेखि आजसम्म नेपाली सेनाले १० वटा जति सैनिक इतिहास प्रकाशन गरेको छ। तर कतै उल्लेख गरेको भेटिएको छैन।  

मुस्ताङ घटना घट्नुभन्दा एक दिनअगाडि २०१७ असार १५ गते श्री ५ को सरकार परराष्ट्र मन्त्रालयले ‘नेपालको चीनसँगको उत्तरी सीमानाको चिनियाँ क्षेत्रमा केही तिब्बती विद्रोहीहरूले गोलमाल मच्चाएकाले उक्त विद्रोहीहरूलाई दबाउन चीन सरकारले ती चिनियाँ क्षेत्रमा सशस्त्र चिनियाँ फौज पठाएको छ भनी श्री ५ को सरकारमा खबर पठाएको छ। चीन सरकारले श्री ५ को सरकारलाई यो आश्वासन दिएको छ। उक्त तिब्बती विद्रोहीहरूलाई दबाउने कामको सिलसिलामा यदि यस्ता विद्रोहीहरू भागी नेपालको सरहदभित्र पसे भने कुनै हालतमा पनि चिनियाँ फौजहरूले उक्त विद्राहीहरूको पिछा गर्दै नेपाल–चीनको सीमाना नाघ्ने छैनन्, सम्झौता नै राखिने छन्। यस सम्बन्धमा श्री ५ को सरकार लेखापढी गर्दै छ भन्ने विज्ञप्ति प्रकाशित गर्‍यो। (ग्रीष्मबहादुर देवकोटा, नेपालको राजनीतिक दर्पण (दोस्रो भाग), वाराणसी: भट्टराई बन्धु प्रकाशन, वि.सं. २०३३, पृ.१३६–५८१।  

तर दुर्भाग्यवस श्री ५ को सरकार, परराष्ट्र मन्त्रालयबाट २०१७ असार १६ गते ‘मुस्ताङको नेपाल र चीनको सीमानामा नेपाली सरहदभित्र दैनिक काममा गएका श्री ५ को सरकारका निःशस्त्र कर्मचारीहरूउपर चिनियाँ फौजले गोली चलाई नेपाली सरहदभित्र पसी निज कर्मचारीहरूको मालसामान र घोडाहरूसमेत लुटी लगेको र १७ जना मानिस अझसम्म बेपत्ता भएको खबर प्राप्त भएको छ। उक्त घटना र नेपालको सरहदभित्र पसी नेपालको सार्वभौमिकताउपर नै दख्खल परेकोमा श्री ५ सरकारले ‘आजै चीन सरकारसमक्ष एक कडा विरोध पत्र पठाएको छ र यस सम्बन्धमा उचित कारबाही हुँदै छ’ भनेर विज्ञप्ति जारी गर्‍यो।  

सुबेदार बमप्रसाद मारिएपछि

गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले २०१६ असार १८ गतेको महासभा बैठकमा मुस्ताङमा घटेको घटनाका विषयमा स्पष्टीकरण दिएका थिए। महासभा बैठकमा बोल्दै उनले ‘मुस्ताङका राजाले नेपालको सीमाना पारी ठूलो सङ्ख्यामा चिनियाँ सैनिकहरूको जमघट देखिएको कुरा श्री ५ को सरकारलाई सूचित गरेपछि श्री ५ को सरकारबाट यथार्थ वस्तुस्थिति के हो, त्यसको रिपोर्ट पठाउनु भन्ने आदेश पठाएको हुनाले त्यहाँ रहेका श्री ५ को सरकारका कर्मचारीहरू गत जुन २८ तारिख (असार १५ गते) का दिन सदाका जस्तै आफ्नो सीमानाको निरीक्षण गर्न गएका थिए। श्री ५ को सरकारका कर्मचारीहरूको दलमा १७ जना थिए। जसमा गाउँका मुखिया र भन्सारका खरिदार पनि थिए। त्यसै दिन राती थाहा भयो कि सीमानातिर नेपाली दल पुग्दा चिनियाँ सैनिकहरू नेपालको सीमानाभित्र पसी गोली चलाएछन्। जसबाट नेपाली दलका सुबेदार बमप्रसादको त्यहीं मृत्यु भयो। चिनियाँहरूले त्यो लास र दलका अरू सबै व्यक्तिहरूलाई चिनियाँ इलाकातिरै लगे भन्ने कुरा सुनियो। तर त्यसबेला त्यसबारेमा राम्रो थाहा भएको थिएन, पछि सबै नेपालका सरकारी व्यक्तिहरूलाई उनीहरूको घोडा र सामानसमेतलाई चिनियाँले आफ्नो क्याम्पमा लगेर राखेका छन् भन्ने थाहा भयो।

चिनियाँ प्रधानमन्त्रीको पहिलो पत्र नेपालका प्रधानमन्त्रीलाई

नेपालका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाद्वारा २०१७ असार १६ गतेका दिन पठाइएको पत्रको उत्तर चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले २०१७ असार १७ गते नै पठाए। पत्रमा भनिएको थियो–

महामहिम,

प्रधानमन्त्री

काठमाडाैं, नेपाल

महामहिम आदरणीय तथा प्रिय प्रधानमन्त्री,

महामहिमको जुन २९, १९६० को पत्र ३० जुनको बिहान १० बजे मैले प्राप्त गरें। महामहिमको पत्र पाउनुभन्दा पहिले नै हामीले वैदेशिक समाचारहरूबाट नेपाल–चीन सीमानामा चिनियाँ सैनिकद्वारा नेपाली नागरिक मारिएकोबारे थाहा पाइसकेका थियौं। यस कुरालाई लिएर चीन सरकार ज्यादै चिन्तित छ र यस कुराको तथ्य पत्ता लगाउन स्थानीय अधिकारीहरूसँग तुरुन्तै सम्पर्क राखिएको छ। यस सम्बन्धमा रिपोर्ट प्राप्त हुनासाथ श्री ५ को सरकारलाई तुरुन्त सूचित गरिने छ। यदि महामहिमको पत्रमा उल्लेख गरिएअनुसार नेपाली नागरिक मारिएको उक्त दुर्भाग्यपूर्ण घटना साँचो हो भने चिनियाँ सरकारले गहिरो खेद प्रकट गर्ने छ। नेपाली नागरिकलाई साँच्चै थुनुवामा नै राखिएको हो भने उनीहरू निश्चय नै तुरुन्त मुक्त गरिने छन्। सादर मेरो शुभकामना।  

चाउ एन लाई

प्रधानमन्त्री, गणतन्त्र चीन

पेकिङ, १०० घण्टा। ३० जुन, १९६०

नेपाली प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्रीलाई लेखेको अन्तिम पत्र

महामहिम

प्रिय प्रधानमन्त्रीज्यू,

महामहिमको १२ जुलाई, १९६० को पत्र प्राप्त भयो र त्यसमा लेखिएका कुराहरू मैले राम्ररी सावधानीका साथ अध्ययन गरें।

सबभन्दा पहिले मुस्ताङ इलाकामा भएको सीमा दुर्घटनाबाट हुन गएको भौतिक क्षतिको क्षतिपूर्तिस्वरूप हामीले माग गरेको रु. ५० हजारको रकम जुन शीघ्रतासाथ चीन सरकारले चलान गर्‍यो, त्यसका लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो दुई देशबीचको मैत्रीलाई कायम गर्न र अझ सुदृढ गर्ने तपाईंको इच्छाको प्रमाणका रूपमा श्री ५ को सरकार क्षतिपूर्ति तिर्ने यस तत्परताको सर्‍हाना गर्दछ।

घटनास्थलको हकमा यस्तो देखिन्छ कि हाम्रो पक्षको मतान्तर छ। तर चिनियाँ सेनाको निम्नस्तरीय जवानहरूको असावधानीले त्यो घटना हुन गएको हो भनी चीन सरकारले भनेको र त्यसका लागि चीन सरकारले आफ्नो दायित्व बहन गरिसकेको कुरालाई दृष्टिगत गरी म तपाईंको विचारधारासँग सहमत छु कि घटनाबारे वादविवाद जारी राख्नुबाट कुनै लाभदायक उद्देश्य प्राप्त हुने छैन। तर म किटानसँग अङ्कित गराउन चाहन्छु कि उक्त घटना नेपाली क्षेत्रमा घटेको भन्ने अडान बदल्ने श्री ५ को सरकारले कुनै कारण देखेको छैन।

सीमानाबाट २० किलोमिटरको इलाकाभित्र चिनियाँ फौजको प्रवेशबारे जुन २६ तारिखको श्री ५ को सरकारलाई दिएको सूचनाको उल्लेख महामहिमको पत्रमा गरिएको छ। सैनिक कारवाही सुरु हुनुभन्दा एकदिन अगाडि मात्र सूचना दिएकोलाई महामहिमले त्रुटि भनेर मान्नुभएको छ। यस सम्बन्धमा म यो याद दिलाउन चाहन्छुु कि जुन २६ तारिखका दिन सूचना पाउनेबित्तिकै तत्कालै श्री ५ को सरकारले आफ्नो मन्तव्य प्रकट गरेको छ कि चिनियाँ सरकारको यो एकतर्फी निर्णय सीमासम्झौतालाई उल्लङ्घन गरेको बराबर हो। त्यसकारण सैनिक कारवाही थोरै अवधिको सूचना दिई गरेकोमा चीन सरकारको त्रुटि भनी महामहिमले स्पष्ट स्वीकार गर्नु भएकोलाई सराहना गर्दै म यो पनि जोड दिएर भन्न चाहन्छु कि खुद एकतर्फी कारबाही नै चीन सरकारतर्फको एकतर्फी त्रुटि हो। महामहिमले अवश्य नै मञ्जुर गर्नु हुनेछ कि दुई सरकारमध्ये कुनैको पनि एकपक्षीय कारबाही सीमासम्झौताको शब्द मात्र होइन, भावनाको पनि निश्चय नै प्रतिकूल हो।

मैले यो पनि बोध गरें कि दमन कार्य जुलाईको आखिरीतिर समाप्त हुने अनुमान गरिएको छ र त्यसपछि तुरुन्तै चिनियाँ सेनाहरू २० किलोमिटरको असैनिकृत इलाकाभन्दा पर हटाइने छन्। यस सम्बन्धमा म यो दोहोर्‍याउन चाहन्छु कि पछि जबजब असैनिकृत इलाकामा फौज पठाउनुपर्ने आवश्यकता उत्पन्न हुन्छ, त्यसबेला श्री ५ को सरकारको अनुमति लिएर मात्र फौज पठाइयोस्। आपसमा यसरी समीपस्थित र गाढा मैत्री भएका हाम्राजस्ता दुई देशले सधैं पारस्परिक भलाइका लागि काम गर्नुपर्छ।

हाम्रो मैत्रीलाई अझ सुदृढ गर्ने विभिन्न तरिकाहरूका बारे म काठमाडौंमा चिनियाँ दूतावास स्थापना गर्ने दिशातर्फ जुन प्रगति भएको छ, त्यसमा सन्तोष व्यक्त गर्दछु। पेकिङमा नेपाली दूतावास स्थापना गर्ने विषयमा श्री ५ को सरकार सक्रिय सोचविचार गर्दै छ। एकअर्काको राजधानीमा हामीहरूको दूतावास खडा भएपछि अरू विवरणहरू जस्तै रेडियो सम्पर्क स्थापना गर्नेबारे सजिलैसँग समाधान गर्न सकिने छ।

सायद महामहिमलाई नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले सूचना पठाइसकेकै होला कि नेपाल–चीन सीमा समितिका चिनियाँ सदस्यहरूको नामावलीलाई हामीले मञ्जुर गरिसकेका छौं र हामीले सुझाव दिएका छौं कि समितिको पहिलो बैठक काठमाडौंमा अगष्ट महिनाको पहिलो हप्ताभित्र हुन सक्दछ। यो मेरो उत्कट आशा छ कि उक्त समितिले चाँडै नै प्रचलित परम्परागत सीमानुसार दुई देशबीच औपचारिक सीमा रेखाङ्कन र वैज्ञानिक सीमा निर्धारण गर्ने छ।

अन्तमा म दोहोर्‍याउँछु कि नेपाल–चीन मैत्री एसिया र विश्व शान्तिका लागि अत्यन्त महत्वको छ। त्यसकारण म तपाईंलाई आश्वासन दिन चाहन्छु कि हाम्रो सम्बन्धलाई दिन प्रतिदिन निकट र सबल तुल्याउन श्री ५ को सरकारले कुनै पनि कदम उठाउन बाँकी राख्ने छैन।

प्रधानमन्त्री

श्री ५ को सरकार

को हुन् सुबेदार बमप्रसाद बास्कोटा ? 

ओखलढुङ्गा जिल्लाको माने भन्ज्याङ थाक्ले निवासी गंगाप्रसादका नाति नेपाली सेनाका मेजर देवीप्रसाद बास्कोटा उपाध्यायका छोरा थिए सुबेदार बमप्रसाद बास्कोटा उपाध्याय। मेजर देवीप्रसादले महिन्द्र दल रेजिमेन्टको ‘ग’ गुल्मको प्लटुन कमान्डर लप्टन भै हाल बर्मा इलाकामा जापानी विरुद्ध दोस्रो विश्व युद्धमा लडेका थिए। उनको जिउभरि गोली लागेका घाउहरू थिए भनी लीलादेवीले बताउनुभयो। बमप्रसादकी श्रीमती लीलादेवी र एक मात्र छोरी गीता बास्कोटा हाल सुनसरी जिल्लाको इनरुवाको माल अड्डा चोकमा बसेका छन्। लेखकले उहाँहरूसँग २०७९ भाद्र १७ गते साँझ टेलिफोन वार्ता गरी सबै विवरण तथा बमप्रसादको फोटोसमेत सङ्कलन गरेको हो। बमप्रसादले वि. सं. २००५ सालतिरै नेपाली सेनामा भर्ना भएको जानकारी पनि दिनुभयो। उनी सुरुमा सेर रेजिमेन्टमा जागिरे थिए भने पछि महिन्द्र दल गणमा सरुवा भएका थिए। कर्नेल गुण शमशेर राणा, पछि प्रधान सेनापति, पोखरा ब्यारेकमा महिन्द्र दल गणको गणपति हुँदा बमप्रसादको पेसागत सिपको उच्च मूल्याङ्कन गरी गणपतिले नै उनलाई मुस्ताङमा रहेको हिमाली राइफल कम्पनीसरह काम गर्ने गरी पठाएका थिए। उनी १ प्लटुन सेना लिएर तैनाथ थिए। उनी पोखराबाट मुस्ताङ पुगेको १५ दिनमा नै चिनियाँ सेनाद्वारा मारिए। उनी मारिँदा उनकी श्रीमती लीलादेवी पोखरामा डेरा गरी बसेकी र २ महिनाकी गर्भवती थिइन्। त्यो नै पहिलो गर्भ र छोरी गीता बास्कोटाको जन्म भएको थियो।

 सुबेदार बमप्रसादको पेन्सनपट्टाअनुसार उनी टेम्पोररी सुबेदार थिए। पूरा सुबेदार हुने बेलामा उनले वीरगति पाएका थिए र सोही कारणले उनको परिवारले हाल जमदारको पेन्सन पाएको कुरा पनि लीलादेवीबाट जानकारी भएको छ। लीलादेवीकै अनुसार अर्को गजबको कुरो त जब १४ वर्षीय बमप्रसाद बास्कोटाको विवाह गर्न भनेर जन्ती आफ्नो गाउँ इलाका ओखलढुङ्गामा गए, तब दुलहीको घर खलकले दुलही भगाएछन्। किनकि बमप्रसाद भन्ने मान्छे अपाङ्ग छ भन्ने हल्ला फिँजाएछन्। केटा र केटी नदेखी मेजर देवीप्रसादको छोरालाई केटी छिनिएको रहेछ। यो अति दुर्भाग्यपूर्ण अवस्था बन्यो दुलहा पक्षलाई। सोही बेलामा नस् नाता मिलेर तुरुन्तै अर्की कन्या खोजी सोही जग्गेमा विवाह गरेछन्। इज्जत बँचेछ। ती बेहुली थिइन् चार वर्षीया लीलादेवी। लीलादेवीले बेहुली बनी चार वर्षमा डोली चढेकी थिइन्। उनै लीलादेवी हाल ८२ वर्षीय जीवन बिताउँदै छिन्, सुनसरी इनरुवामा। (२०७९ भाद्र १७ गते समाजको आवाज अन लाइन टेलिभिजनमा राजु बस्नेत र प्रेमसिंह बस्न्यातले सुबेदार बमप्रसादकी श्रीमती लीलादेवीसँग लिएको अन्तर्वाता अनुसार)  

अन्तमा, सुबेदार बमप्रसादका बारेमा शोधखोज गर्दै जाँदा विभिन्न व्यक्ति, बमप्रसादका परिवार, प्रकाशित दस्ताबेज, भिडियोलगायतका सहयोगमा यो प्रारम्भिक लेख प्रस्तुत गरिएको छ। यो लेख पूर्ण नहुन सक्छ। सुधार र सुझावका लागि आशा राखिएको छ। प्रकाशित बमप्रसादको तस्बिर पनि पहिलोपटक प्रकाशित भएको होजस्तो लाग्छ। सबैभन्दा ठूलो कुरो बमप्रसादको घर, ठेगाना र उनको खास जात बारेमा विवाद थियो। त्यस बारेमा अब द्विविधा रहेन। उनको परिवारसँगको भिडियो कन्फ्रेन्स र टेलिफोन वार्ताबाट सो पाटो पनि हल भएको छ। सुबेदार बमप्रसाद नेपालको इतिहासमा आजसम्म हराएका व्यक्ति हुन्। त्यत्रो घटनामा मारिँदा पनि आजसम्म उनको परिचयसम्म प्रकाशन नहुनुमा ककसको कमजोरी हो ? सबैले मनन गरून्। मेरो जोडदार अनुरोध के छ भने सम्बन्धित निकायले तुरुन्त बमप्रसादको विरुद्ध धर्मपत्नीलाई भेटेर चीन सरकारले बमप्रसादको क्षतिपूर्तिबापत दिएको रु ५० हजार दिलाउनुपर्छ र बमप्रसादको इतिहास नेपाली सेनाले लेखेर उनको तस्बिर र विवरण सैनिक सङ्ग्रहालयमा समेत राख्न ध्यानाकर्षण गराउँछु। यो नेपाल सरकारकै चासोको विषय र बमप्रसादको परिवारलाई न्याय दिने काम पनि हो।

प्रकाशित: ८ आश्विन २०७९ ०२:३३ शनिबार

सुबेदार बमप्रसाद