२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

यात्राका तस्वीर- तस्वीरभित्रका कथाहरू

यात्रा

सञ्जु अधिकारी

दृश्य-१

दृश्य-१

कालिका मावि तुर्माखाँद, अछाम कक्षा ४ की १२ वर्षे एक बालिका र कक्षा ३ का  १० वर्षे उनको भाइ विद्यालय गएका छैनन्। विगत वर्षमा जेष्ठ दोस्रो हप्ता हातमा पुस्तक लिएर विद्यालय गएका यी दिदीभाइ यो वर्ष कहिले पुस्तक हातमा पर्छ भन्ने कुरामा अनिश्चित छन्। पुस्तकको अभावमा यिनीहरू विद्यालय जान उत्साहित छैनन्। यी बालबालिका घरमा बाआमासँग ढिकी कुटेर र माछा मारेर दिन बिताउँदै छन्।

दृश्य-२

दृश्य-२

मोहन्याल गाउँपालिका ४ खिमडी कैलालीमा रहेको भृकुटी माविमा  ५ कक्षाकी १२ वर्षे  छात्रा विद्यालयमा हाजिर छैनन् । उनी बाआमासँगै बाख्रा चराउन जंगल जान्छिन् र घाँसको भारी बोकेर फर्किन्छिन्। विद्यालयमा पाठ्यपुस्तकको अभावमा अभिभावकसँगै घाँसदाउरा र जंगल गर्नु उनको दिनचर्या बनेको छ।

दृश्य-३

दृश्य-३

जगन्नाथ मावि चौकुने, सुर्खेतमा कक्षा ५ का १२ वर्षे छात्र नयाँ कक्षामा बस्न पाएका छैनन्। विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नभएकाले विद्यालय गएका छैनन् र उनी आफ्नो बालाई हलो मर्मत गर्न सघाइरहेका छन्। आमासँगै खेतमा खनजोत गरी धान रोप्न आदि काम सघाउन व्यस्त छन्।

दृश्य -४

दृश्य -४

तुमाखाँद गाउँपालिका कुल्लिमारामा भेटिएकी यी बालिका कक्षा ५ मा पढ्छिन्। उनी कक्षा ४ उत्तीर्ण भएपछि विद्यालय गएकी छैनन्। पाठ्यपुस्तकको अभावमा विद्यालय जान नपाएकी उनी बाआमालाई मेलापात र धानको बिउ छर्न सघाउनमा व्यस्त छिन्।

यी माथिका चार फरक दृष्यले बालबालिकाहरूकोे शिक्षा प्राप्त गर्ने संविधानप्रदत्त नैसर्गिक अधिकारप्रति वञ्चित रहेको तथ्य देखाउँछ। राजधानीका विद्यालयहरूमा पाठ्यपुस्तकको अभावको समाचार आइरहेको बेला कर्णाली प्रदेशको यी दृष्यहरूले खासै महत्व नराख्ला। तर, विद्यालय जाने उमेरका यी बालबालिकाहरू सिकाइको अवसरबाट वञ्चित भएको घटना चाहे राजधानीमा होस् चाहे त्यो कर्णालीमा, त्यसले सबै बालबालिकाका लागि उत्तिकै प्रभाव पारेको छ।

नयाँ शैक्षिक सत्र शुरू भएको करीब तिन साता बितिसक्दा पनि सामुदायिक तथा संस्थागत विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नहुनु र यसबाट विद्यार्थीको पठनपाठनमा प्रभावित हुनु निकै लज्जास्पद विषय हो।

विद्यालय तहमा करीब २ करोड पाठ्यपुस्तकको अवश्यकता हुनेमा करीब ६५ प्रतिशत पुस्तक मात्रै छापिएको र बाँकी पाठ्यपुस्तक छपाइको क्रममा रहेका छपाइको जिम्मा पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र सम्बद्ध कर्मचारीहरूको भनाइ छ।

यस वर्ष पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ६, र ९ मा नयाँ पाठ्यपुस्तक लागु गरेको हुनाले ती कक्षामा पढने विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तकबिना कक्षा प्रवेश गर्न र विद्यालयलाई पढाइ सञ्चालन गर्न असम्भव छ। पाठ्यपुस्तकको छपाइको जिम्मा पाएको निकायको व्यवस्थापकीय कमजोरी र उदासीनताले देशैभरमा पाठ्यपुस्तकको अभावका हुँदा १ देखि १० कक्षासम्मका नानीहरूको पढाइ अन्योलमा परेको छ। यद्यपि पाठ्यक्रम निर्धारणको दायित्व पाएका पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यपुस्तकको आवश्यकता तथा शैक्षिक क्यालेन्डरको बारेमा अग्रीम जानकारी गराएको बताइन्छ।

अझै करीब २५ प्रतिशत पुस्तक छपाइ बाँकी रहेको जनाएको केन्द्रले बाँकी पुस्तक छाप्न केही साता लाग्ने सम्भावना छ। पुस्तक छपाइपछि यसको देशैभरि ढुवानी र सम्बद्ध विद्यालयको प्रांगणसम्म पुर्‍याई विद्यार्थीको हातमा पुग्न कति समय लाग्छ, यकिन छैन। मौसम विज्ञान विभागले यस वर्ष अन्य वर्षभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। अत्याधिक बर्षादले बाढीपैरोका कारण सडक यातायात अवरुद्ध हुन गई पाठ्यपुस्तक ढुवानीमा अवरोध हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ।

यसरी हेर्दा केन्द्रले बाँकी रहेको छपाइको काम तीव्र गतिमा गर्ने, ढुवानी गर्ने र आफ्नो वितरण केन्द्रलाई चुस्त-दुरुस्त राखी सम्बन्धित विद्यालयसम्म पुर्‍याई विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न दशैतिहार अगाडि कम सम्भावना देखिन्छ।

अझै कर्णाली र सुदूर पश्चिमका पहाडी जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न कति समय लाग्ने हो,भन्न सकिन्न। दशैतिहार भनेको शैक्षिक सत्रको हिसाबले करीब आधा समय बितिसकेको अवस्था हो।

यसरी बाँकी रहेको मंसिरदेखि फागुनसम्म करीब ४ महिना कक्षा सञ्चालनले १ वर्षका लागि तयार गरिएको पाठ्यक्रमले अंक भार कायम गर्न सक्दैन। नयाँ पाठ्यक्रम परिवर्तन भएको कक्षा ४, ७ र ९ का लागि विद्यार्थीहरूको हातमा पुस्तक नपुगुन्जेलका लागि पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटबाट सफ्ट कपी डाउनलोड गरी पढ्न सकिने बताए तापनि दुर्गम गा्रमीण भेगका विद्यार्थीहरू जोसँग विद्युतको पहुँच पनि पुगेको छैन उनीहरूका लागि यो हास्यास्पद छ।

यसरी जेष्ठमा शुरू भएको शैक्षिक क्यालेन्डरको कार्तिक–मंसिरसम्म प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बालबालिकाहरू पढ्न पाउने अधिकारबाट वञ्चित त छन् नै, यसले गर्दा कक्षा बिचैमा छाड्ने सम्भावना पनि उत्तिकै बढेको छ।

‘सुदूर पश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा असारको धान रोपाइपछि दशैं खर्चको जोहो गर्न भारततिर मजदुरी गर्न जाने प्रचलन रहेकाले पाठ्यपुस्तकको अभावमा विद्यालय जाने वातावरण नहुँदा विद्यालय जाने उमेरका छात्रहरू भारततिर पलायन हुने सम्भावना बढ्दै गएको बताउँछन्’ स्थानीय माविका पूर्व प्रधानाध्यापक। पाठ्यपुस्तकको अभावले विद्यालय जानबाट वञ्चित छात्राहरूको तुलनामा छात्रहरूको विद्यालय छाड्ने क्रम बढिरहेको उनी बताउँछन्।

यद्यपि पठ्यपुस्तक छपाइको जिम्मा पाएको केन्द्रले स्थानीय निर्वाचनमा मतपत्र छपाइमा व्यस्त हुनुपरेकाले पाठ्यपुस्तक छपाइमा बाधा पुगेको, युक्रेन रसिया युद्धका कारण कच्चा पदार्थको आयातमा असहज भएकाले पाठ्यपुस्तक छपाइमा ढिला भएको बताए तापनि शिक्षाविदहरू यो स्विकार्न तयार छैनन्। बर्सेनि पाठ्यपुस्तक  छपाइको जिम्मा पाएको केन्द्रले आफ्नो आन्तरिक व्यवस्थापन नसुधारेसम्म यो रोगको अन्त्य नहुने बताउँछन्।

यसरी विद्यालयमा तहमा अनिवार्य तथा निशुल्क शिक्षा दिने प्रतिबद्धतालाई केन्द्रको अर्कमण्यता र व्यवस्थापकीय कमजोरीले सरकारको धज्जी उडाएको छ।

जुनसुकै बहानामा समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउनु नसक्नुले विद्यार्थीको भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता कमजोर देखिन्छ। गुणस्तरीय शिक्षाका लागि विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक पुग्नु पहिलो अनिवार्य शर्त हो।

हरेक वर्ष कुनै पनि बहानामा पुस्तक प्रकाशनदेखि वितरणसम्म व्यवस्थापकीय कमजोरीका कारण हुने ढिलासुस्तीले विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा पारिनु हुँदैन। यससँग सम्बन्धित सबै सरोकारवालाले आआफ्नो दायित्व समयमै पूरा गरी हरेक शैक्षिक वर्ष दोहोरिने यो विकराल समस्या सधैंका लागि अन्त्य गरी विद्यार्थीको हातहातमा समयमै पाठ्यपुस्तक पुर्‍याउनु आजको टड्कारो आवश्यकता हो।

यसका साथै पाठ्यपुस्तक वितरणमा स्थानीय निकायलाई बढी जिम्मेवारी बनाई शैक्षिक सत्रको शुरूवातमा नै पाठ्यपुस्तक विद्यार्थीहरूको हातमा पुरयाई शैक्षिक वातावरण तयार गर्न सरोकारवालाले समयमै ध्यान पुर्याउनु जरुरी छ।  

प्रकाशित: १० असार २०७९ ०९:२६ शुक्रबार

अक्षर