शारदा दहाल भण्डारी
सोनु र सन्तोष जिल्ला बालक्लब मार्फत भेट् हुन्छन्। रुचि एउटै थियोे बालअधिकारका खातिर काम गर्ने। अध्यक्ष र सचिव भई बालविवाह र बालश्रम शोषणविरुद्ध धेरै उदाहरणीय काम गरे। समय क्रमसँगै १२ कक्षा सिध्याएपछि ‘समाजसेवाबाट घर-व्यवहार नचल्ने र अब बाँकी पढाउने काम मबाट सम्भव छैन’ भनेपछि सन्तोष शहर पस्छ। त्यहाँ पनि बालबालिकाकै क्षेत्रमा काम गर्ने संस्थामा आबद्ध हुन्छ। विभिन्न पत्रपत्रिकामा बालबालिकाका अधिकारबारे लेख्छ। यता सोनु पनि महिला र बालबालिकाकै क्षेत्रमा सामाजिकीकरण हुँदै जान्छे गाउँमा। यी खबर आदानप्रदान हुन्थ्यो एका अर्कामा।
एक दिन सोनुले विवाह गर्ने प्रस्ताव राख्छे सन्तोषसँग। सहर्ष स्वीकार गर्छ। तर, कमाइ छैन। अहिले नै वैवाहिक जीवनमा बाँधिनुभन्दा वैदेशिक रोजगारमा गएर केही पैसा ल्याउने निर्णय गरी विदेश जान्छ।
२ वर्षपछि ५/७ लाख रुपैयाँ लिएर घर फर्किन्छ र सोनुसँग विवााह गर्छ। घर मात्र होइन गाउँ पनि खुसी हुन्छ समाजसेवी दुलाहादुलहीको जोडी देख्दा। अब उनीहरू शहरमा होटेल व्यवसाय गरेर बस्ने निर्णय गर्छन् र शहरतर्फ लाग्छन्।
‘निकै राम्रो व्यापार चलेको छ। शहराँ घरघडेरी जोडिसके। नाति पनि हुर्किंदैछ। यो दशैंमा घर आउँछन्’ भन्ने सुनाउँदै थिइन् सन्तोषकी आमा गाउँलेलाई।
कान्छो भाइले फेसबुक देखाउँदै भन्यो,‘दाजुभाउज्यूलाई बालिका होटेलमा राखेर व्यवसाय गरेको आरोपमा उजुरी पर्यो रे।’
प्रकाशित: १ असार २०७९ ०७:०३ बुधबार