शान्ता तिम्सिना
प्रत्येक बेलुका जुवाको अखडा बनेको थियो आशिषको घर। जुवा खेल्ने सबै उच्च स्तरीय कर्मचारी नै हुन्थे। जुवा खेल्न प्रतिबन्ध लगाएको भए पनि लुकिछिपी जम्मा हुन्थे उनीहरू।
रातभर जुवा खेले पनि भोलिपल्ट अफिसको समयमा जसरी पनि पुग्थे।
नेपालीहरूको महान् चाड तिहारमा बिदा भयो। प्रहरीको निगरानी नपुगोस् भनेर कुनै गोप्य ठाउँ छनोट गरेका थिए उनीहरूले। बिदाको दिन बिहानैदेखि खेल्दै थिए। उनीहरूको दिमागमा जुवाको कौडाबाहेक केही कुरा पनि थिएन।
कति बेला रात पर्यो, कति बेला उज्यालो भयो, कसैलाई पनि थाहा थिएन। सबैको घरमा खाना बनाउँदै राख्दै गरेर बाटो हेर्ने गर्थे।
भाइ टिकाको दिन बिहान राम सरको घरमा श्रीमतीलाई कोहीले खबर गर्यो, ‘सरले त गैरी खेत जुवामा हान्नुभयो रे! अब सिम खेत हान्न लाग्दै हुनुहुन्छ रे! भनेको सुनें मैले त। के हो कुरा?’
उहाँहरू कृष्ण काकाको घरको माथिल्लो तलामा बस्नुभएको छ रे!
यति सुन्नासाथ श्रीमती मिना हतारहतार उक्त स्थानमा पुगिन्। कति दिनदेखिको भोको र अनिदो श्रीमानको अनुहार देखेर भनिन्,‘तपाई कस्तो मान्छे! आज राति नै आमा बित्नुभयो! जेठो छोरो नभएकाले लास चलाएकै छैन।’
यति भनेर डाँको छोडेर अलापविलाप गर्न थालिन्।
श्रीमतीको कुरा सुन्नासाथ हातको कौडा छोडेर हतारहतारमा घर पुगेका थिए उनी। आमालाई आँगनमा देखेर श्रीमतीसित झोक्किंदै भने, ‘झुट किन बोलिस्?’
श्रीमतीले हाँस्दै भनिन्,‘यति नाटक नगरेको भए सिम खेत कसरी बँच्थ्यो?’
प्रकाशित: २२ जेष्ठ २०७९ ०७:२२ आइतबार