२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

चैत २६ मा धिमे बाजा प्रतियोगिता

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ।

शनिबार यहाँ पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो। ओस्ला नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता यही चैत २६ गते मध्यपुर थिमी–४ बालकुमारी प्रांगडमा हुने जनाइएको छ।

आयोजक ओस्ला नेपालका उपाध्यक्ष एवं धिमे बाजा प्रतियोगिताका संयोजक सुशील जोशीले प्रतियोगितामा उपत्यकाका करिब तीन दर्जन धिमे खलः वा पुचः सहभागी हुने जानकारी दिए। एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीको सहभागिता हुने जनाइएको छ।

एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना बाद्यवाधकको सहभागिता हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र, दुई टोलीलाई शान्त्वना पुरस्कारस्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।

सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने ओस्लाका सचिव रोशन बज्राचार्यले जानकारी दिए। प्रतियोगितालाई सफल बनाउन अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको छ।

मूल समितिअन्तर्गत सुशील जोशीको संयोजकत्वमा कार्यक्रम समिति, प्रचारप्रसार उपसमिति, आर्थिक उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, प्राथमिक उपचार तथा स्वयंसेवक उपसमिति गठन गरिएको छ।

मध्यपुर ठिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र ओस्ला नेपालका पूर्व अध्यक्ष मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सम्पदाहरूको पुनःनिर्माणसँगै मध्यपुर ठिमि नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न सम्पदाहरू निर्माण गर्दै विभिन्न कार्यक्रम आयोजना अघि बढाएको बताए।

प्रकाशित: २० चैत्र २०७८ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App