युमाहाङ पालुङ्वा याक्थुङ
पृष्ठभूमि
‘चक्रको युगचक्र’ पुस्तकका लेखक मास्टर चक्रबहादुर पालुङ्वा हुन्। उनले आफ्नो जीवनको उत्तरार्द्धमा यो पुस्तक लेखेर तयार गरेका थिए तर प्रकाशन गर्नुअघि नै ८४ वर्षको उमेरमा स्वर्गारोहण भएपछि उनले यसको विमोचन गर्न पाएनन्। त्यसपछि चक्रबहादुर पालुङ्वा फाउन्डेशन स्थापना गरी उक्त फाउन्डेशन मार्फत सन्तानहरूले यस पुस्तकलाई पूर्णता दिए अतः पुस्तकका प्रधानसम्पादक राजेश्वर थापा, सम्पादक माहिला छोरा डीबी पालुङ्वा र प्रबन्ध सम्पादक साइँला छोरा डा. योगेन्द्र पालुङ्वा रहेका छन्। त्यस्तै यसको प्रकाशक ‘चक्रबहादुर पालुङ्वा फाउन्डेसन’ रहेको छ।
मास्टर चक्रले यस पुस्तकमा आफ्ना बाबुआमाको विवाहदेखिका घटना प्रसंगबाट विषयको सुरुवात गरी आफ्नो जीवनका विभिन्न उतारचढाव, सुखदुख, पारिवारिक स्थिति, तत्कालीन संस्कृति र परम्परा आदि दुरुस्त उतारेका छन्। यहाँ उनको पारिवारिक विवरण मात्र नभएर ताप्लेजुुङको तत्कालीन समाज, सभ्यता, रीतिथिति, पालुुङ्वा वंशको र अरू पनि जाति र वंशका चालचलन, कुलपरम्परा,धार्मिक–सांस्कृति अवस्था आदिलाई उल्लेख गरेका छन्। साथै उनीप्रति परिवारका सदस्यको सम्मान, आत्मीयता, अपनत्व पनि अभिव्यक्त भएको देख्न सकिन्छ।
चक्रबहादुरका बाबुआमाको विवाह
कुरा १९९० सालतिरको हो। त्यसबेला ताप्लेजुङ बस्ने याक्थुङ लिम्बू पालुङ्वाहरूले कसरी आफ्नो धर्मकर्म एवं संस्कार मान्दथे भनेर यस पुस्तकमा छर्लङ्ग देखाइएको छ। यसबाट १०० वर्षअघिको संस्कार तथा चालचलन बुझ्न सजिलो भएको छ। त्यो १०० वर्षले अरू २००–३०० वर्ष अगाडिको झल्को दिएको छ। तसर्थ ३०० वर्ष पहिले र अहिलेको पालुङ्वा याक्थुङ लिम्बूहरूले चलाएको संस्कार धर्मकर्म र परम्परामा खासै परिवर्तन आएको छैन भन्ने बुझ्न सकिन्छ।
चक्रका बावु कालिबहादुर पालुङ्वाका भाग्यमा अनेक उतारचढाव आएको पाइन्छ। उनले ४ बिहे गरेका थिए। तीमध्ये प्रथम श्रीमतीको स्वर्गारोहण माइतघर थेचम्बूमा रातो माटो खन्ने क्रममा माटाले पुरेर भएको थियो। द्वितीय श्रीमती दोस्रो विवाह गरेर अन्यत्र गएकी थिइन् अनि उनले तेस्रो बिहे गरेका थिए। जुन केटी याङ्वरक फावा खोला तिरिङ्गे भन्ने ठाउँकी आइतमाया इजम थिइन्। उनलाई टाढा मैवाखोलातिरको अर्को गाउँमा बर्खी खाएर आएर आधा बाटामा आफ्नो मेदिवुङ गाउँको छिमेकी गाउँ सिम्ले ढाड गाउँमा बास बस्न आएको बेला राति धान नाचेर मायापिरती बसाएर सरसल्लाह गर्दै बिहे गरेका थिए।
यसरी पाहुना गएको बेला धान नाच्ने चलन याक्थुङहरूमा छ भने आमाबाबुलाई नमागीकन बिहे गर्ने पनि चलन छ। त्यसपछि फलाना ठाउँमा तपाईहरूकी छोरी बिहे गरेर राखिएको छ भनेर तत्कालै खवर पुर्याउनुपर्ने चलन समेत रहेको बुझिन्छ। रोचक कुरो– यस्तै केटासँग बिहे गरिने कुरो सपनामा देखेकी थिइन् रे आइतमायाले। त्यही भएर केटाहरूले जिस्क्याउँदा मर्दको छोरो हो भने बिहे गरेर देखाओन भन्दा धेरै तरुनीको बिचमा उमेरमा अरूभन्दा सानी नै मन लागेर कालीबहादुरले उनलाई रोज्न पुगेका थिए र आइतमाया पनि सपना सम्झेर बिहे गर्न राजी भएकी थिइन्।
बिहे पछाडि लिम्बूूहरुले चारवटा कलमको रित (चार कलम) बुझाउनुपर्दछ। पहिलो कलममा धेरै खालका सम्मानका रित बुझाउनुपर्दछ। यी सबैको विस्तृत विवरण पुस्तकमा दिइएको छ। यो खण्ड हेरेपछि लिम्बूको बिहेमा गरिने सबै कर्मकाण्ड जोसुकैले बुझ्न सक्दछन्। बिहेमा बेहुलाबेहुलीले कस्तो पहिरन लगाउँछन्? युप्पारुङको चलन कसरी चल्यो? याक्थुङमा लिम्बुनीहरूले लगाउने गहनाको चलन कसरी सुरु भयो? बिहेमा बजाउने केलाङ बाजाको शुरुवात कसरी भयो भन्नेबारे स्पष्ट पारेका छन्। त्यो बेला मागी विवाहको चलन थियो। बिहेपछि पनि दुलहार दुलही बोल्न लजाउँथे, सानैमा बिहे गर्दथे, उमेर नपुुग्दासम्म माइत बढी बस्दथे आदिबारे यहाँ प्रकाश पारिएको छ। त्यतिबेलाको बिहे निकै खर्चालु पनि हुन्थ्यो भन्ने त्यहाँ उल्लेख पाइन्छ।
उनको तेस्रो बिहे भएको २ महिनापछि १९९० सालको विशाल भुइँचालो गएको थियो। त्यस्तै १९९४ मा धान रोप्ने समयमा खडेरी लागेर सबैतिर धान रोप्न सकिएको थिएन। फेरि बल्लबल्ल धान रोपिएको पनि मंसिरमा अन्न थन्क्याउने बेलामा असिना परेर बाली सखाप भएको थियो। १९९६ सालमा मालिङ्गो र बाँस फुलेको थियो। २००० साल माघमा हिमालदेखि तराईसम्म हिउँ परेको थियो। यो बेला धेरै पशुपन्छी र मानिस मरेका थिए। यस्ता घटनाहरूको विस्तृत विवरण यस पुस्तकमा पाइन्छ।
चक्रबहादुरको जीवनचक्र
विसं १९९१ साल फागुन २५ गते चक्रबहादुरको जन्म भयो। उनी मावली घरमा जन्मिएका थिए। विधिको विधान, चक्र बहादुर ११ वर्षका हुँदा आमाको मृत्यु भएको थियो। बिरामी हुँदा आमाले सहयोग गर्नेछिन्, तगडा फेदाङ्मा पनि माइत तिरिङ्गेमा पाइने छन् भनेर आइतमाया माइतीघर लगिएकी थिइन्। चक्रबहादुर जन्मिँदा आइतमायाले छोरालाई पढाएर विद्वान् बनाउने सल्लाह पति कालीबहादुरँंग गरेकी थिइन्। आमाको अन्तिम क्षणमा पनि चक्रबहादुर आमासँगै मावलमा थिए। आमाले– म मर्छु होला, तँलाई बावुले पढाउने हुुन्, होइनन् भनेर चिन्ता गरेकी थिइन्। त्यो बेला भर्खरै राणा शासनको अन्त्य भएको थियो, लाहुरे जाने चलन थियो, त्यता जान प्रोत्साहन नगरेर उनी छोरालाई पढ्नमा जोड दिन्थिन्। यसबाट नपढे पनि उनी (आइतमाया) निकै चेतनशील थिइन् भनेर बुुझ्न सकिन्छ। बिरामी हुँदा कानको पछाडि गहिरो खोपिल्टा हुन्छ भनेर उनले एकदिन नजान्ने पाराले चक्रलाई छुन लगाएकी थिइन्। चक्रले पनि आमालाई चिन्ता हुन्छ भनेर नभनेको दुःखद प्रसंग पुस्तकमा आउँछ।
यस प्रसंगमा पुग्दा पाठक भावुक बन्न पुुग्छन्। यो पुस्तक पढ्दा म पनि धेरै ठाउँमा अश्रुमय भएको थिएँ। अझ मेरो र लेखकको मावली गाउँ एउटै र एउटै इजम थरी हुन्। मेरी आमाले पनि पढ्नमा सधैं प्रेरणा गर्नुहुन्थ्यो। मावली जाँदा विभिन्न बाटो भएर लानुहुन्थ्यो। त्यहीं बाटो भएर चक्र र उहाँकी आमा हिंड्नुभएको थियो।
लेखकले वर्णन गरेझैं बाटामा डाँफे र मुनालका जोडी मैले पनि देखेको छु। उहाँहरू जहाँजहाँ चौतारीमा बस्नुभयो र खाजा खानुभयो ती ठाउँमा हामीले पनि त्यसै गरेका छौं। देउराली जंगल उकालीओराली हिंडेका थियौं। यसरी उहाँको विगतझैं मेरो विगत सम्झाउने मेरी आमा पनि गत साल बित्नुभयो। यो पुस्तक पढ्दा भक्कानो फुटेर आयो,बलिन्द्र अश्रुधारा चुहिए।
चक्र सानैमा टुहुरा भए। बावु मर्दाभन्दा आमा मर्दा टुहुरा भइन्छ रे। चक्रले पनि त्यो भोगे। मैले पनि बावु सानैमा मरेपछि टुुहुरो हुनुुपर्यो तर पनि मलाई आमाले ओत दिइरहनुुभएको थियो। चक्रलाई त्यो अवस्था आएन। उनका दुःखका दिन ११ वर्षदेखि नै शुरु भए। उनले आफ्ना १ भाइ २ बहिनीलाई स्याहार गर्न बावुलाई सघाए। निकै वर्षपछि बावुको एक्लोपन देखेर बिहे गर्न सुझाव दिए।
बावुले मानेका थिएनन्। पछाडि सहमतिमा आएर चौथो बिहे गरे तर कान्छी आमा आएपछि झन् सुख मिलेन। चक्रले पढ्ने विचार गरेका थिए तर अवसर पाएनन्। गाउँको एक ठाउँमा बाहुन केटाहरूले संस्कृत पढेको देखेर हेर्दा बाहुन गुरुले ‘ए केटा, के हेर्छस्? पर जा’ भनेको कुरा नराम्ररी बिझेको थियो। यहीबेला ताप्लेजुङ बजारमा लाग्ने तोक्मे हटियाबाट नेपाली वर्णमालाको किताब किनेर ल्याएर स्वाध्ययन गरे तर त्यो पनि पढ्ने वातावरण हुँदैनथ्यो। उनले गाईवस्तु,घाँसदाउरा, र भाइबहिनीको स्याहारसुसार गर्दै बचेको थोरै समयमा पढेर लेखेर जान्ने भए। उनी निकै दिमागिला रहेछन्, पढ्न र लेख्न समस्या भएन।
उनी कतै बाहिर गएर पढन चाहन्थे तर उनलाई बिहे गर्न बाबु र कान्छी आमाले दबाब दिए। उनलाई बिहे गर्न कर लाग्यो। उनलाई मनपर्ने केटी ताप्लेजुङ बजारकी थिइन्। ती केटीले पनि खुव मन पराएकी थिइन् तर बुुढा मावलीको साइनो लाग्ने हुनाले अर्कै साइनो नलाग्ने केटीलाई अरू मान्छे भेट्ने निहुँमा साथी जाने बहाना बनाई केटी हेर्ने काम छिमेकी अभिभावकसँग भएको थियो। कतै काम विशेषले जाँदा गाग्री बोकेको, घर बढारेको, चामल निफनेको, जाँतो पिंधेको देख्यो भने साइत जुर्छ भनेझैं उनले केटी माग्न जाँदा त्यस्तै भएको थियो। अन्ततः उनलाई केटी दिने काम भएको थियो तर केटीको घरमै पुगे पनि हेराहेर गर्न नपाएको र पछि बिहेको बेला सिन्दुर लाउने बेलामा मात्रै दुलही देखेपछि मेरी श्रीमती कस्ती होलिन् भन्ने खुलदुली मेटिएको थियो।
उनले याक्थुङ परम्परामा रहेको केटी लिन जाँदा बन्दुकेसहित जाने काम रीतपूर्वक पूरा गरे अनि बन्दुक पड्काउँदै ल्याउने, खाजा दिने, डेरा बसाउने, घरभित्र छिर्ने, लगन गर्ने काम बडो स्पष्टसँग गरेको कुरा यस पुस्तकमा लेखेका छन्। माङ्गेना गर्दै बिहे गरेको प्रसंग यहाँ याक्थुङ लिम्बू भाषाको समेत प्रयोग गरेर बडो सुन्दरतापूर्वक वर्णन गरेका छन्।
बिहेपछि अझै पढ्न मन लागेको, पढ्न र पैसा पनि कमाउन भनेर साथीसँग भागेर लाहुर जान खोजेको, बिचमा सुत्ने भाइ पनि यिनीहरू कतै भाग्छन् भनेर नसुतेको, भाग्नलाई पैसाको जोहो गरेको, बावु धागो व्यापारीको धागै बोकेर माथि ताप्लेजुङ बजारछेउ अर्कैलाई लगेर खर्चका लागि बेचेको, श्रीमतीसँगै पैसा कमाउन र पढ्न आसाम गएको, आसाम जाने प्रसंगमा सासू आमाले ‘आसाम जानेहरू उतै हराउँछन्, अपुताली हुन्छन् , नजानू’ भनेर घुमाईघुमाई सुझाव दिएको कुरा पनि पुस्तकमा लेखिएको छ।
आसाममा गएर गाउँले र जिल्लावासीहरू भेटेर कानी बेचेको, रक्सी बेचेको, आरा काटेको लगायतका कष्टपूर्ण कथाहरू यहाँ आएका छन्। पढ्नका लागि आसामीसँग मीत लगाएको प्रसंग पनि छ। उनका काकाले सहयोग गरे तापनि संयुक्त लगानीमा व्यापार गरेर पैसा कमाउने भनेर श्रीमती विष्णुमायाले चेप्टे सुन काकालाई दिएकी थिइन् तर काकाले जुवामा हानेका थिए। अंग्रेजी सिक्ने धोको पूरा गर्न बेलाबेला आसामे मीतले पढाउने स्कुलमा गएर पढेका थिए। त्यतिञ्जेलसम्ममा एक छोरा एक छोरी भएका थिए।
आसाममा जति कोसिस गर्दा पनि प्रगति नहुने देखेर उनीहरू सधैंका लागि आसाम छोडेर आफ्नै गाउँ नेपाल मेदिवुङ आए। त्यस बिचमा दाजुभाइ ४ जना जति मरिसकेका थिए। भाइ पनि भर्ती लागेर मलाया गएको थियो। भाइको बिहे गर्दा खर्च सकिएर पल्टन फर्कदा रिन काढेर जानुपरेको थियो। यसको मतलव याक्थुङ लिम्बूको बिहे खर्चिलो थियो भन्ने देखिन्छ भने लाहुरे भएको ब्रिटिस सेनामा पनि तलब थोरै थियो, थोरै तलबमा ज्यानको बाजी लगाउनुपर्ने रहेछ भन्ने पनि देखिन्छ। त्योबेला अन्ने ब्याज निकै हुन्थ्यो। उत्पादनको आधाउधी धान अन्ने ब्याजमा जान्थ्यो।
२०१८ सालमा जनगणना भयो त्यो बेला गाउँमा सहयोगी चाहियो। गाउँकै महाजन भनेर चिनिने ज्ञाननाथ बरालका छोरा अधिकृत भएर आएका थिए। उनलाई सहयोगी गणक चाहिने भनेर गाउँकै पढेका फर्म भर्न जान्ने मान्छे खोज्दा चक्रलाई भेटेर जनगणकको जिम्मा दिएपछि उनले त्यो काम गरे। त्यसबेला भर्खरै २०१७ सालमा राजा महेन्द्रले पञ्चायत व्यवस्था सुरु गरेकाले धर्म लेख्ने चलन रहेछ। त्यसैले लिम्बूले के धर्म लेख्ने भन्दा युमा धर्म लेखेछन् र गाउँले लिम्बूहरुलाई पनि लेखाएछन्। त्यसबेला उति कडाइ गरिएको रहेनछ। पछि २०२८–२९ सालतिर भने याक्थुङ लिम्बू भाषा, धर्मको कुरा गर्दा अराजक तत्व, राजद्रोही र देशद्रोही भनेर पक्राउ गरिन्थ्यो।
यही जनगणनापछि लेख्न र पढाउन जान्ने भनेर ताप्लेजुङ बजारछेउ दाहाल गाउँका जल्दाबल्दा गंगा दाहालले उनलाई धनकुटामा अधिकृतको लागि खोजेका रहेछन् तर पुग्न ढिलो भएपछि उनलाई मेदिवुङ स्कुलको मास्टर बनाइदिए। त्यहाँ उनी अंग्रेजी, गणित र भूगोल पढाउँथे। त्यसपछि उनी मास्टरको नामले चिनिन थाले र जीवनभर यसै नाउँबाट प्रसिद्ध समेत भए। उनी स्काउट पनि सिकाउँथे। त्योबेला बाहुनलाई नाघ्न र लात्ताले हान्न पाइँदैन भन्ने बाहुन जातिको आफ्नै नियम थियो। स्काउट ट्रेनिङमा सुरुमा बाहुन टिचरले उसको पालामा चक्रलाई नाग्यो। चक्रले बाहुनलाई नाघ्ने पालामा बाहुन ठिङ्ग उभियो। फेरि बाहुनको नाघ्ने पालामा उनी पनि ठिङ्ग उभिए र विवाद चल्यो। गुरुले कुरा मिलाएपछि दुवैले नाघानाघ गरे। त्यसबेलाको बाहुन र लिम्बूको सामाजिक स्थितिबारे बुझ्न पनि यसले सघाउँछ। अहिले यस्ता कुराहरू इतिहास मात्र भएका छन्।
उनी स्कुलमा नाटक देखाउँथे, साहित्य सुनाउँथे। त्यतिबेला गीता, रामायण, महाभारत अरू जातिले पढ्दा बौलाउँछन् भनिन्थ्यो तर यो सबैले पढ्दा हुन्छ,ज्ञान लिँदा हुन्छ र मैले पढेको छु भनेर उनी मानिसहरूलाई सम्झाउँथे। त्यस्तै कहिले कसैको पालि कहिले कसैको पालि आउँछ भन्दै चर्खा घुमाएर उदाहरण दिन्थे। त्यस कुराले पोलेर प्रधानाध्यापक पशुपति भट्टराईले उनलाई एकपटक स्कुलबाट समेत निकालेका थिए। उनी निकालिएपछि विद्यालयमा अराजकता बढ्यो, विद्यार्थी कन्ट्रोल गर्न समस्या पर्यो। त्यसपछि प्रधान गुरु उनको घरमा गई पुनः बोलाएका थिए। त्यसबेला उनले सचिव भएर स्कुलका लागि आर्थिक संकलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे, साथै प्रशासन पनि सम्हाले।
उनी २०२५ सालतिर राजनीति गर्ने मनसायमा लागे। उनी पहिल्यै युवक संगठनको सदस्य भैसकेका थिए। त्यसैले रा.पं.स.मा भिड्न लाग्दा तत्कालीन नेता नातामा भतिज पर्ने भू.पू. गृहसहायक मन्त्री चन्द्रबहादुर पालुङ्वाले उनलाई सहयोग गर्न अनुरोध गरेकाले रा.पं.स.मा उठ्न पाएनन्। उनको एजेन्ट भएर सघाए। चन्द्रबहादुरलाई रा.पं.स.मा जिताए। त्यो बेला चन्द्रबहादुरका प्रतिद्वन्द्वी विजय थेवेसँग भोटिङमा कानुनी लडाइँ लड्दा चक्रबहादुरले भरमग्दुर सघाएका थिए। त्यसपछि उनले वडाध्यक्ष र उप–प्रधानपञ्च लडे।
आफ्नै मीत भाइ डिल्लीराम गुरागाईसँग मत बराबर भयो। फेरि भोट माग्न जाने बेलामा कान्छी आमा मरेर क्रिया बस्नुपर्ने भयो। त्यसैले उनी हारे। पछि प्रधानपञ्चमा भिडे। त्यहाँ पनि मत बराबर भयो। गाउँफर्केले अर्कैलाई प्रधानपञ्च बनाइदियो। यद्यपि गाउँफर्केमा आफ्नै मान्छे थिए। सम्भवतः उनी त्यो बेला कम्युनिस्ट विचारधारामा आबद्ध भएका थिए। त्यही भएर उनलाई पञ्चायतमा आफ्नैले सहयोग गरेनन्। त्यसैले उनी ताप्लेजुङका पुराना कम्युनिस्ट पनि हुन्।
त्यो बेलासम्ममा उनका धेरै छोराछोरी भएका थिए। उनीहरू कलेज पढ्ने भए। जेठा छोरा सानैमा मरेकाले जेठा छोराकै रोलका केपी पालुङ्वा धरान झरे। माइला डी.बी.पनि दाजुलाई पछयाउँदै झरे। हुँदै गर्दा उनीहरू सपरिवार मोरङ,सुन्दरहरैंचा बसाइँ सरे। छोराहरूचाहिं धरानमा पढ्दै र व्यवसाय गर्दै बसोबास गर्न थाले। माथि पहाडको घरमा शेर्पा परिवारलाई रेखदेख गर्न लगाए।
उनको पुस्तकमा चक्रले गरेको राजनीति, समाजसेवा, याक्थुङ लिम्बूू सुधारसंघमार्फत गरेका कामको पाटो समेटिएको छैन। यी विषय किन समेट्न खोजेनन्,ती सबै समेटिएका भए अझ सुनमा सुगन्ध हुने थियो। उनको राजनीतिक जीवनमा थोरै असफलता देखिन्छ। यदि उनी एक खुड्किला मात्र उक्लन सकेका भए धेरैमाथि पुग्न सक्ने थिए। यद्यपि उनकै प्रतिफल अहिले छोराछोरीहरू सफल जीवन बिताइरहेका छन्। जेठा छोरा केपी पालुङ्वा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष भएर राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान कायम गरिरहेका छन्। उनी धरान नगरपालिकाको मेयर पनि भैसकेका छन्।
माहिला छोरा डी. वी. पालुङ्वा राष्ट्रिय स्तरकै सात्यिकार हुन। उनी विसंगतिवादी साहित्यकार हुन्। उनका विधा कविता र कथा हुन्। साथै उनी गीतकार पनि हुन्। ‘अजम्बरी को छ र ...’ लगायत उनका धेरै गीत नेपालका चर्चित गायकहरूले गाएका छन्। साइला छोरा डा. योगन्द्र किराँतेश्वर मावि (धरान) का प्रधानाध्यापक हुन् र कलेज पनि सञ्चालन गर्दछन्। काइला राजेन्द्र अधिवक्ता थिए। उनी परलोक भए। कान्छा वीरेन्द्र सफल व्यवसायी हुन्। छोरीहरूमा जेठी गायत्रा ताप्लेजुङमा छिन्। माहिली अमृता युके छिन्। उनी समाजसेवी हुन्। कान्छी छोरी सरिता हङकङ छिन् उनी पनि समाजसेवी हुन्। उनीहरूको काठमाडौंमा पनि घर रहेको छ।
टुङ्ग्याउनी
यसरी चक्रबहादुरको ४ पुस्ता हेर्दा धनपाल त्यस जमानाका पढेलेखेका वैदार (लेखनदास) थिए। उनले सुब्बाङ्गी पनि चलाएका थिए। कालीबहादुर व्यापारी थिए। कालीबहादुरको भाइ काइला कवि थिए। कालीबहादुरका छोरा चक्रबहादुरले पनि व्यापार गरे तर सफल भएनन् तर उनी शिक्षामा सफल भए। चक्रबहादुरका छोराहरू नेता, साहित्यकार, शिक्षासेवी, वकिल र व्यापारी भए। नाति पुस्ताहरू पनि कोही समाजसेवी र व्यापारी छन् भने कोही अध्ययनरत छन् ती सबै अब्बल क्षमताका देखिन्छन्। यी सबै देखेर खुसीसाथ जीवन व्यतीत गर्दै गर्दा २०७५ साल माघ २५ गते ८४ वर्षको उमेरमा उनको देहावसान भयो।
समग्रमा यस पुस्तकले एक डेढ सय वर्ष अगाडिको पहाडी समाजको चित्रण गरेको छ। त्यो बेला याक्थुङ लिम्बू समुदायको धर्म संस्कार ऐनाझैं छर्लङ पारेको छ। यो पुस्तक पढेपछि याक्थुङ लिम्बूहरूलाई भड्किलो संस्कारले निकै पिरोलेको सजिलै बुझ्न सकिन्छ। साथै पुस्तकमा समावेशी समाजलाई समायोजन गरिएको देखिन्छ। पुस्तक पठनयोग्य छ। ऐतिहासिक, सांस्कृतिक दस्तावेज सहित भएकाले महत्त्वपूर्ण रहेको छ।
प्रकाशित: १६ चैत्र २०७८ ०६:४१ बुधबार