त्रिपुरा खरेल
‘म अब घर जानुपर्यो।’ सानैदेखि हुर्काएको उसको कुराले म छाँगाबाट खसेझैं भएँ।
–किन अहिले नै जाने? दुई वर्षमा तेरो बन्दोबस्त मिलाइदिएर पठाउँछु भनेकै छु त। अहिले बाहिरफेर गर्न मलाई तेरो खाँचो छ। उसले ममाथि दया देखाउँछ कि भन्ने ठानेर मेरो जटिल कठिनाइ देखाएँ।
–त्यो तपाईंको आफ्नो समस्या हो,आफैं सुल्झाउनुस्।
–स्वार्थी रहिछस् तँ।
–कसरी म स्वार्थी भएँ? तपाईंले मेरा लागि एक मोहोर खर्च गर्नुभएको छ?
–उसले पहिलोपल्ट यस्ता प्रश्नहरू गरेको थियो। उत्तर मेरो मनभरि थिए। आँखाबाट झर्न आँटेको टिलपिल आँसुलाई गहबाट झर्न दिइनँ।
‘आमा,मेरो प्रश्नको उत्तर दिनुभएन त?’
ऊ मेरो कमजोरीको फाइदा उठाइरहेको थियो। म आफूलाई दह्रो बनाएर उत्तर खोज्न थालें,
–नौ वर्षको उमेरमा ल्याएर पढाउनु।
–सहोदर ठानेर उसलाई माया गर्नु।
–उसलाई खेलकुदमा हौसला दिन उसँग खेलिदिनु।
–सिकिस्त बिमारी पर्दा राज्यको प्राइभेट अस्पतालले सक्दिनँ भनेर हात उठाएपछि राज्य बाहिरको महँगो प्राइभेट अस्पतालमा उपचार गराउनु।
–पाठशालामा धेरै पटक अनुत्तीर्णको मेडल थाप्दा पनि ओपन स्कुलबाट बाह्रसम्म पढाउनु।
–पढाइमा रुचि नहुँदा उसलाई कल–धारा बनाउने तालिम दिन तालिम केन्द्रमा भर्ना गराउनु।
–महिनैपिच्छे उसको ब्याज खातामा दस हजार हालिदिनु। खाना,लुगा,किताब आदिको खर्च मैले बेहोर्नु।
–घर गएकैपिच्छे सौदापात किनेर पठाइदिनु।
–अर्काको घरमा भाडा तिरेर सुटुक्क लुकाएर राखेकी प्रेमिकालाई बिहानबेलुकाको खाना लगिदिंदा पनि नदेखेको जस्तो गर्नु।
मैले मौन अवस्थामै उसको प्रश्नको उत्तरका लागि दिने तयार पारें।
‘म भोलि नै घर जान्छु।’ उसले कान रातो पार्यो।
कुन घर? मैले खेतबारीको उब्जनी नलिएर सित्तैमा तेरा बाबुआमालाई राखेको मेरो घर? यो मेरो प्रश्न अर्काको बाछालाई थियो।
प्रकाशित: २७ माघ २०७८ ०४:३० बिहीबार