२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

ट्याम्के टिभी

लघुकथा

रामप्रसाद पन्त

मसँग एउटा पुरानो ट्याम्के टेलिभिजन थियो। नेपालमा टेलिभिजन भित्रिनेबित्तिकै किनेको त्यस सोनी टेलिभिजनले झन्डै बीस वर्ष राम्रो काम गर्‍यो। अलिअलि धर्सा आउँदै थियो, छोराछोरीहरूले नयाँनयाँ मोडलका टेलिभिजनहरू देखिसकेका थिए।

उनीहरू के मान्थे! अठार इञ्चको त्यो टेलिभिजन पन्छाएर अर्काे चौबीस इञ्चको एलजी टेलिभिजन भित्र्याउन बाध्य बनाइहाले।

टेलिभिजन मर्मत गर्ने मेकानिक्सलाई ‘लैजाऊ’ भनेको थिएँ। उनले पच्चीस सयभन्दा बढी दिन मञ्जुर गरेन। बरु अर्काे कोठामा राखेर अड्कोपड्को चलाउँदै गरौंला नि त भनेको, राख्दाराख्दै चौबीस वर्ष बितेछ।

कसैलाई दिऊँ कि भन्दा पनि मलाई हेपेको भन्ला भन्ने डर। माग्न पनि कोही आएन। टेलिभिजनको धुलो पुछ्न र ढाकेको कपडा धुन हैरान।

एकदिन मेरै घरको काममा सघाउने दिदीले भनिन्,‘एउटा श्यामश्वेत टिभी थियो। झ्यारझ्यार गर्दागर्दै बोल्नै छाड्यो। अर्काे किन्ने पैसा छैन। मैले त कति दिनदेखि समाचार पनि सुन्न पाएकी छुइनँ।’

‘यही टिभी लैजान्छ्यौ त?’ भनेको ‘हुन्छ’ भनिन्।

उनले लगेर हेरिछन्। मैले जे भनेको थिएँ। अहिले पनि टिभीको अवस्था त्यस्तै रहेछ -श्रव्यदृश्य नआउने होइन, धर्सा देखिने। उनले बनाउने पैसा छैन भनिन्। मैले एक हजार दिएँ। बनाइछन्। केही दिनपछि फेरि आएर भनिन्, ‘रिमोट भए सजिलो हुन्थ्यो।’

मैले रिमोट किन्ने पैसा पनि दिएँ।

हिजो मात्र उनले अर्काे चाहना राखिन्, ‘भुइँमा राख्दा असुरक्षित भयो। केटाकेटी त्यसैमाथि चढेर बस्न थाले। फुटाउलान् भन्ने डर छ। हजुरको यो सानो टेबुल त्यति प्रयोगमा आएको छैन। लगेर यसैमाथि राख्न पाए हेर्न पनि सजिलो हुन्थ्यो, सुरक्षित पनि हुन्थ्यो।’

त्यसमा पनि मैले नाइँनास्ति गरिनँ। अब सोच्दै छु, ‘यिनी यतिमा मात्र चुप लाग्ने छैनन्, कुन दिन आएर फेरि ‘मर्मत गर्नुपर्‍यो’ भन्ने हुन्।’

प्रकाशित: २६ माघ २०७८ ०६:१५ बुधबार

अक्षर