२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

हाकिमको ड्राइभर

लघुकथा

ढाकामोहन बराल

अफिसमा नयाँ हाकिम फेरिएका छ्न्। हाकिम मात्र फेरिएका हुन्, नयाँ मान्छे भने होइनन्। यतै वरिपरि नै कार्यरत हुन् तर परिस्थितिले कार्यालय प्रमुख हुन पाएका उनलाई करीव सबैले चिन्दछन्।

सबैमा हाकिमको रूपमा कसरी प्रस्तुत हुने हुन् भन्ने मात्र उत्सुकता छ। त्यसमाथि राजनीति दाउपेचको कुरा बेग्लै छ। अन्य समयमा कुराकानी हुँदा सधैं अरूको आलोचना गर्दै भन्थे, ‘हुने हो भने म यो अफिसलाई कस्तो बनाइसक्थें।’

अफिसमा नयाँ हाकिमलाई पदस्थापन सहित स्वागत गर्ने तयारी भइरहेको छ। फूलको गुच्छा, अबिर र खाता तयारी अवस्थामा राखिएको छ। सधैं राखिएको भए पनि स्वागत गर्नु नै पर्ने हाम्रो अचम्मको परम्परा छ। कर्मचारीहरू खासखुस कुरा गरेको पनि सुनिन्छ।

हाकिमको ड्राइभरलाई भने कुनै मतलव छैन। उसलाई थाहा छ, सबै हाकिम उस्तैउस्तै हुन्। आज बिहानै नयाँ हाकिमले फोन गरेर ‘लामा दाइ, अब हाकिम भई त हालियो गाडी चलाउन सिक्नुपर्‍यो। बिहान सात बजे अफिसको गाडी लिएर आउनु न ल’ भनेको सम्झ्यो अनि अफिसको कुर्चीमा पदस्थापन नगर्दै गाडीको सिटमा पदस्थापन गरायो।

प्रकाशित: २६ माघ २०७८ ०५:५७ बुधबार

अक्षर