कल्पना काफ्ले
१) मुक्तक
मरुभूमिमा हरियो बाली लाग्ने भए,
पानी उमालेर बाक्लो छाली लाग्ने भए।
यहाँ असम्भव कुरा पनि सम्भव हुन्थ्यो,
शत्रुलाई सराप्दैमा गाली लाग्ने भए।
२) मुक्तक
चन्दन–अबिर दलेपछि, ढुंगा पनि भगवान् बन्छ,
त्यही ढुंगा कैयौंका लागि, गरिखाने दोकान बन्छ।
भ्रम नै भ्रमको संसारमा, असम्भव भन्ने केही छैन,
धोईपखाली गरेपछि, फटाहा पनि महान् बन्छ।
३) मुक्तक
कहिले घन्टी बजाएर आउँछन्, कहिले बाजा बजाएर आउँछन्,
आउनेहरू निर्लज्ज नैतिकतासँग अनैतिकता भजाएर आउँछन्।
मन नलागीनलागी हेरिरहेछु जताततै जोकरहरूको तमासा,
अपराधीहरू पनि अचेल आफूलाई, फूल र मालाले सजाएर आउँछन्।
४) मुक्तक
घाम खराब हुन्छ कहिले पानी खराब हुन्छ,
भलाद्मी लाग्ने कसैको बानी खराब हुन्छ।
टोल्हाएर असम्भव सपना नदेख्नु कहिल्यै,
अचेल बुढेसकालको जवानी खराब हुन्छ।
५) मुक्तक
जिन्दगीमा कहिले माल कहिले कुमाल आइलाग्छ,
चल्लाहरूको बस्तीमा कहिले स्याल आइलाग्छ।
फूलकै जस्तो सुन्दर, सुवासित जीवन बाँचूभन्दा,
खै कहाँबाट हो, उड्दै कालो अरिंगाल आइलाग्छ।
प्रकाशित: २१ माघ २०७८ ०६:२२ शुक्रबार