२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

म रुन्छु तिम्रो छातीमा

मुक्तक

पुष्प अधिकारी अञ्जलि

   १) मुक्तक

म हेरिरहेको छु यहाँ घर जलाउनेहरू कहाँकहाँ छन्,

भागबन्डा नमिलेर सरकार ढलाउनेहरू कहाँकहाँ छन्।

नपत्याए सिंहदरबार अनि बालुवाटारलाई सोध्नु,

साँच्चै मेरो देशको सरकार चलाउनेहरू कहाँकहाँ छन्।

     २)  मुक्तक

पूजा गरेपछि मात्र पत्थर पनि ईश्वर भएको थियो,

गाउँका फाँटहरू बेचिएपछि मात्र शहर भएको थियो।

मान्छे–मान्छेहरूको बीच कसरी यस्तो विभेद देखियो,

यत्ति सोच पहाड खसेर धरातल समथर भएको थियो।

      ३) मुक्तक

म रुन्छु तिम्रो छातीमा रुन देऊ केहीबेर,

पूरै माग्दिनँ जिन्दगी त्यो हुन देऊ केहीबेर।

आगो जस्ता सम्झनाहरू छन् यो हृदयमा,

पोले पनि सहन्छु बरू छुन देऊ केहीबेर।

      ४) मुक्तक

राजधानीलाई किन बेवारिसे टुहुरा मजाक लाग्दैछ,

जसरी एउटी अबलालाई सिन्दुर चुरा मजाक लाग्दैछ।

म भन्दैछु स्कुल बनाऊ यार भएजति जेल भत्काऊ,

तर सरकारलाई किन यहाँ मेरो कुरा मजाक लाग्दैछ।

      ५)  मुक्तक

महलहरूलाई के थाहा झुपडीहरू रुनुको रहस्य,

थाहा हुनुपथ्र्यो फूललाई पनि काँडा हुनुको रहस्य।

मन–मुटु छ भने एकपटक स्पर्श गरेर हेर मलाई,  

कस्तो हुन्छ त्यो दिलले यो दिललाई छुनुको रहस्य।

प्रकाशित: १७ माघ २०७८ ०७:१२ सोमबार

अक्षर