२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

अरूको प्रगति देखेर ऊ तनावले बिरामी भएछ

मुक्तक

दीपक समीप

      १) मुक्तक

टुप्पोबाट पलाउनेको बलियो जरो होस् भन्छु,

मलाई सताउनेको पनि सधैं भलो होस् भन्छु।

अरूको प्रगति देखेर ऊ तनावले बिरामी भएछ,

हे दैव! उसको बिमार चाँडै सन्चो होस् भन्छु।

         २) मुक्तक

पासो नै सही उन्को प्रेममा अल्झिने रहर छ,

छ न त जुनीभर उनीसँगै जोडिने रहर छ।

अरे! कोही र आऊ मलाई शहीद बनाइदेऊ,

उनकै घरअघि शालिक भई उभिने रहर छ।

       ३) मुक्तक

सुखमा सबै ठिक लाग्छन् यो परिवेश मन्दिर लाग्छ,

दशा चल्दा आफ्नै बार्दली पनि छंगाछुर भिर लाग्छ।

आमा हुँ, समय खराब छ तिमी आफ्नो ख्याल गर,

घरबाट निस्केकी छोरी, घर नआइन्जेल पिर लाग्छ।

        ४) मुक्तक

झरीमा आफ्नो छाता अरूले नै ओढेर गइदिए,

जानेले झन् जान्छु पनि नभनी छोडेर गइदिए।

अचेल मन्दिर बाहिरको शिलाझैं भएको छु म, 

कसैले कुल्चेर गइदिए, कसैले  ढोगेर गइदिए।

         ५) मुक्तक

विचमा छोडी जानेलाई थोरै पश्चाताप भैदिए हुन्थ्यो,

बस्नेको पनि अन्तिम बेलासम्म साथ भैदिए हुन्थ्यो।

धस्नेले यो छातीमा छुरा निकै गहिरोसँग धसेकै हो,

उनको सम्झना आउनलाई पनि दाग भैदिए हुन्थ्यो।

प्रकाशित: १७ माघ २०७८ ०१:४१ सोमबार

अक्षर