२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

दुई पटक नमस्कार

लघुकथा

खगेन्द्र बस्याल

सँगै दैलातुङ फाँटमा गएको बेला आमा–छोरीको कुरा हुँदै थियो।

उसले भनी, ‘आमा, माइजूले सुन्नु हुँदैन र! हिजो मैले नमस्कार गर्दा भने नमस्कार फर्काउनु मात्र भएन, काखमा लिएर माया दर्शाउनुभएको थियोे।’

उनले भनिन्, ‘किन सोध्यौ यो कुरा?’

उसले भनी, ‘हजुरबुबा,हजुरआमा र मामाले उहाँलाई गाली गरिरहँदा पनि वास्तै नगरी एक्लै काममा लागिरहनुभएको देखेर  नि।’

उनले भनिन्, ‘माइजूमा एउटा विशेष गुण छ। उनले राम्रो कुरा मात्रै सुन्छिन्। नराम्रो कुरा पटक्कै सुन्दिनन् अनि रिसाउनै परेन।’

त्यो सुनेर अनुहार उज्यालो पार्दै उसले भनी, ‘आमा, अब मामाघर आउँदा मैले उहाँलाई दुई पटक नमस्कार गर्ने भएँ।’

उनले सोधिन्, ‘किन दुई पटक नमस्कार गर्ने नानू?’

उसले गम्भीरतापूर्वक भनी, ‘पहिलो नमस्कार माइजूलाई र दोस्रो नमस्कार उहाँको महानताका लागि।’

प्रकाशित: १० माघ २०७८ ०७:४३ सोमबार

अक्षर