२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पहिलो चिहान

कथा

पवित्रा अधिकारी

रापिलो मध्यान्न ढल्कँदै थियो। त्यो अधबैंसे युवक निकैबेरदेखि हिँडिरहेको थियो। उसको हिँडाइमा तीव्र उत्साह थियो। ऊ हिंड्दाहिंड्दै खेतको सिमाना नजिकै पुग्यो र टक्क अडियो उसले तत्क्षण जे देख्यो ऊ झस्कियो। त्यहाँ अनायास जस्तै उसको आँखाबाट क्षणभरमा नै एउटा विशाल फाँटको मलिलो खेत लुप्त भयो।

त्यस दृश्यले अत्तालिएको ऊ रन्थनिंदै सुदूर क्षितिजतिर हेर्‍यो। मानौं त्यो क्षितिजे किनाराले पनि उसलाई एकतमास हेरिरहेको थियो। ऊ स्वयंबाट धस्सिएझैं विस्मित हुँदै भुईंमा थुचुक्क बस्यो र आफ्नो निधारको टाकुरामा हात लगायो। अहिले ऊ काँपिरहेको थियो।

उसको अगाडि चिहानै चिहानको भीड थियो र ती चिहानहरू अग्ला, कलात्मक र प्रदर्शनीमा राखिएका जस्ता देखिन्थे। लाग्थ्यो वर्षौंदेखि चिहानमा निदाएका ती आत्माहरू उसलाई देखेर जाग्दै थिए अनि चिहानहरूबाट आएका ती आत्माहरूको अमूर्त ध्वनि ऊ भएतिर नै आइरहेको थियो। त्यो अप्रिय दृश्य हेर्न नसकेर उसले आफ्नो परेला घोप्ट्याउनै परेन, भलभली बगेको आँसुले चिहानको दृश्य आफैंमा धमिलिँदै थियो।

उसलाई त्यो अप्रिय क्षणप्रति वितृष्णा बढ्दै थियो। अहिले ऊ नदीमा डुबुल्की मारेझैं पसिनाले पानीपानी भएको थियो तर उसको अस्थिर मनको अग्निमय भुंग्रोमा भने एकतमास धुवाँ पुत्पुताइरहेको थियो। ती प्रशस्त चिहानहरूले थिचिएको त्यो भूमिप्रति उसलाई अगाध प्रेम थियो।

ऊ अप्रिय शैलीमा निकैबेर बर्बरायो। उसले आफूलाई समाल्न खोज्यो तर सकेन। उसले निकै कष्टले चिहानहरूको बीचबाट कतै पर चिहायो। नदीको किनारामा तीन वृद्ध देखिए। तिनका कपाल सेता बादलझैं थिए।

ऊ साँघुरो बाटो हुँदै त्यस ठाउँतिर गयो। अघि देखिएका ती वृद्धहरू झण्डै एक शताब्दीदेखिका धर्तीबासी हुन् भन्ने अनुमान उसले लगायो। तिनको कञ्चट बसेको थियो। तिनका आँखाहरू खोचिला तर आस्थावान् गुफाझैं देखिन्थे। उनीहरूको हातमा कंकाल थियो।

एउटा वृद्ध ती चिहान भत्काउँदै थियो। अर्को वृद्ध कंकाल बोक्दै थियो त अर्को तेस्रो वृद्धले चिता तयार गर्दै थियो। यो क्रम चलिरहेको थियो। धर्तीमा कर्म गर्ने दिनहरू अब बाँकी छैनन् भने झैं उनीहरू लगातार त्यो काम गरिरहेका थिए। नजिकै पुगेको उसलाई ती वृद्धहरूले ध्यान दिएनन्। उनीहरू आफ्नै काममा तल्लिन थिए। अहिले ती वृद्धहरू कंकालले भरिएको चिताको वरिपरि उभिएका थिए। त्यो चिता कंकालको थुप्रोले उचालिएको थियो।

केही क्षणमा नै त्यहाँ देवभाषाको ध्वनिले मन्त्रोचारण सुरु भयो। उनीहरूले शास्त्रको गायन गरे। एउटा अगुल्टो सल्कियो र लहरको बीचमा उभिएको एउटा वृद्धले त्यो बलेको अगुल्टो तयारी चितातिर झोस्न अघि बढ्यो। लाग्थ्यो, तिनीहरू लगातार यस्तो काम गरिरहेका थिए। जुन ठाउँमा चिता बनाउँदै गरिएको थियो, त्यो जमिनमा भर्खरै एउटा आलो चिहान भत्काइएको थियो। त्यस्तो अकल्पित दृश्यले रन्थनिएको त्यो अधबैंसे युवक त्यसैक्षण कम्पित स्वरले करायो, ‘यो केको रमिता हो? यहाँ के हुँदैछ?’

सल्काउन तयार भएको चिता अगाडि उभिएका ती तीन वृद्धले धीमा गतिमा टाउको घुमाए र त्यो आवाज आएकोतिर हेरे। त्यो अधबैंसे अस्थिर थियो र ऊ बारम्बार कराइरहेको थियो, ‘यहाँको त्यत्रो मलिलो फाँट खै? मेरो जमिन खै? मेरो खेत खै?’

उसको एकतमासको चिच्याहटले ती वृद्धहरूको आँखा सल्किएको चिताझैं बल्यो। रिसले दाँत कट्ट पार्न खोजे तर दाँत झरिसकेकाले तिनका गिजाहरू बेस्करी रगडिए। सायद त्यसरी त उनीहरू कहिल्यै रिसाएका थिएनन्। लाग्थ्यो त्यो उनीहरूको जीवनभरको सञ्चित रिस थियो।

ती वृद्धहरूले चितामा तेस्र्याइएको कंकाल उठाएर त्यो अधबैंसेलाई बेस्करी पिटे। घोचे। ऊ घाइतेझैं भयो।

छाला र मासु सुकेर ढुंग्रो जस्तै भएका ती कैयौं कंकाल मक्किएका थिए। मक्किन बाँकी केही कंकालहरू सुइरोझैं तिखो थियो। त्यो अधबैंसे शान्त हुन सकेन। ऊ ती वृद्धहरू जस्तै आक्रोशित भइरहेको थियो। उसको कञ्चटबाट रगत बगेको थियो र रगतमा ती कंकालका धुलिएका चोइटाहरू पनि सँगै टाँसिएर बगिरहेका थिए।

ऊ ती वृद्धहरू छिटै थाक्लान् र उम्किऊँला भनी धैर्य गरिरहेको थियो तर वृद्धहरूको पिटाइमा तीव्रता बढिरहेको थियो। सायद उनीहरू आत्मैदेखि रिसाएका थिए।

अघिदेखि दुई घुँडा बीचमा मुन्टो अड्याएर दुई हातले टाउको छेल्दै बसेको त्यो अधबैंसे जुरुक्क उठ्यो र आफ्ना बलिष्ठ हात हावामा घुमायो। उसको त्यो हातको हुत्याइको बलमा परेर ती वृद्धहरू घचेटिए। एउटा वृद्ध भुईमा पछारियो। अर्को वृद्ध भर्खर बनाएको चितामा गएर ढेसियो। चितामाथि थुपारिएका कंकालहरू भुर्इंमा छिरोलिए। तेस्रो वृद्ध नजिकैको चिहानमा गएर ठोकियो।

अस्थिर अधबैंसेले अजङको रूखलाई काठफोरा चराले ठुँगेझैं चिहानको भित्तामा धेरै पटक मुड्कीले ठोक्यो। उसको त्यस्तो आक्रोशयुक्त हर्कत देखेर ती वृद्धहरू प्रभावित भए र युवकको नजिक आएर नम्र स्वरले भने, ‘तिमीले हामीलाई बर्बाद गर्‍यौ। हाम्रो आस्थामाथि घात गर्‍यौ। यी चिहानभित्र कोचिएका कैयौं आत्माहरूले तिमीलाई माफ गर्ने छैनन्।’

विरक्तिएको अधबैंसे भुईमा घुँडा धसेर बस्यो र भन्नथाल्यो, ‘बर्बाद त म भएको छु। मेरो यत्रो पैतृक सम्पत्ति चिहानै चिहानले ढाकिएको छ। अफसोच छ भने सिर्फ मेरा लागि।

एउटा वृद्ध रिसले काँप्दै अघि सरेर भन्यो, ‘यो तेरै खुसीको कारणले भएको होइन? तैंले नै चिहान गाड्न अनुमति दिएको थिइनस्?’

युवकले बग्रेल्ती चिहानतिर हेर्‍यो अनि ती जिउँदा तर कंकालतुल्य देह भएका वृद्धहरूतिर हेर्‍यो। एउटा वृद्धको हातले लठ्ठीझैं कंकाल अझैसम्म पनि समातिरहेको थियो।

यस्तो अप्रिय दृश्य हेर्न नसकेर उसले आँखा चिम्लियो र मनमनै भन्यो, ‘म खराब सपनाको बीचमा छु। म बिउँझिन चाहन्छु। उसले लामो श्वास फेर्‍यो र सुस्तरी आँखा खोल्यो तर रिसाएका ती तीन वृद्धले उसलाई घुरिरहेका थिए। वरिपरिका चिहानहरू यथावत् नै थियो। त्यो सपना थिएन।

अब उसले यथार्थलाई स्वीकार्याे। हो मैले नै चिहान बनाउने ठाउँ दिएको थिएँ। उसको बोलीमा पुरानो स्मृति मिसिएको थियो। उसले छक्क पर्दै सोच्यो–यहाँ यत्रो चिहान कसरी?

ती वृद्धहरूले फेरि कंकालको तिखो सुइरो उठाएर उसलाई घोचुँलाझैं गरे। कंकाल समातेका तिनका सुकुटे हातहरू काँपिरहेका थिए। चिहान भत्काउँदा कंकाल उधिन्दा र चिता बनाउँदा तिनका जीर्ण र ज्याद्रा छालामा प्रशस्त घाउहरू बनेको थियो। ती घाउको मुखबाट रगत रसाउँदै थिए जसरी सुक्दै गरेको पोखरीमा पानी रसाउँछ। उनीहरूले त्यो दुखाइको वास्ता गरेनन् तैपनि उनीहरूको आँखामा तीव्र वेदना उर्लिरहेको थियो। त्यो वेदना आगोझैं रापिलो थियो।

वृद्धहरू उसको वरिपरि उभिएका थिए। ऊ कुनै अपराधीझैं भुईमा टुक्रुक्क बसेको थियो। एउटा मोटो कागज उसको अगाडि फैलिएको थियो। त्यस कागजमाथि उसको टाउकोबाट बगेको रगत तप्पतप्प चुहिरहेको थियो।

ती वृद्धहरूले निकै झुकेर त्यो कागजको फराकिलो पानालाई हेरे। त्यो तयारी नक्सा थियो। जुन नक्सामा सुन्दर परिवेशको परिकल्पना गरिएको थियो। जसमा मन्दिर, आश्रम, स्कुल, चौतारी, पशुगोठ, पशुचरन र बगैंचा जस्ता कुराहरूको व्यवस्थित चित्रहरू बनाइएको थियो। अधबैंसे चुपचाप त्यो कागजतिर हेरेर टोलाइरहेको थियो। उसको आँखा आँसुले भरिएको थियो। त्यो देखेर उनीहरू अवाक् रहे।

ती वृद्धहरू त्यो अधबैंसे जस्तै गरी भुईमा बसे र उसलाई एकोहोरो नियाले। एउटा वृद्धले भन्यो, ‘तिमीले धर्म परिवर्तन गर्‍यौ र आफ्नो जमिन चिहान बनाउनका लागि दियौ भन्ने कुराको गाउँमा हल्ला चल्यो। त्यही प्रभावमा परेर धेरैले धर्म परिवर्तन गरे। धर्म परिवर्तन गराउने धूर्तहरूले प्रशस्त पैसा दिए। हामीले रोक्न सकेनौं। अनि क्रमशः चितामा जल्नुपर्नेहरूलाई चिहानमा घुसारियो।

अधबैंसे जिल्ल पर्‍यो र आफूले वर्षौं पहिले अनुमति दिएको ठाउँमा बनेको त्यो पहिलो चिहानतिर हेर्‍यो।

वृद्धहरूले विस्मित हुँदै एकैस्वरमा भने, ‘यी बग्रेल्ती चिहानले हाम्रो चिता घाटको ठाउँ ओगट्यो। हामी हाम्रै चिताका लागि ठाउँ बनाइरहेछौं। चिहान मन नपराएकाहरूका कंकाललाई हामीले चितामा जलाइरहेका छौं।

अधबैंसेले शान्त हुने कोसिस गर्‍यो र भन्यो– बर्सात ऋतुको मध्य झरीमा म घरबाट विदेसिन हिंडेको मात्र थिएँ। त्यो विदेशी साथीले मेरो बाटो छेक्यो। उसले अनुनयसाथ भन्यो– हामीसँगै तिम्रो देश घुम्न आएको मेरो एउटा साथी मर्‍यो। उसका लागि चिहान खन्ने ठाउँको व्यवस्था गरिदेऊ। अस्वीकार्न सकिँन। म उसकै देशमा अध्ययनका लागि हिंडिरहेको थिएँ। मैले आफ्नो खेतको पुच्छरको सिमानामा उसलाई चिहान बनाउने ठाउँ दिएँ।

यहाँ पनि त एक्लो म उता गएपछि पढाइ, कमाइ, यौवन र उन्माद सबैको रन्कोमा बर्षौ हराएँ। उतैको परदेशीसित बिहे गरेँ। उमेर ढल्कँदै गएपछि महसुस भयो। त्यो बिहेमा देह मिल्यो, आत्मा मिल्यो तर संस्कार मिलेन।आफ्नो संस्कारको हार्दिकतामा बाँच्नु र कृत्रिम संस्कारमा बाँच्नुमा पृथक् स्वाद हुँदो रहेछ। भयो। अर्को भूगोलसँग जोडिएको नाताको गर्वलाई बिर्सन नसके पनि क्रमशः फिक्का लाग्न थाल्यो। बच्चाहरू अबोध छउञ्जेल खुब मोह भयो। वयस्क भएपछि सन्तोष र उनीहरू आफ्नै संसारमा रम्न थालेपछि सामान्य लाग्यो। उमेरको केस्रा छिपिन थालेपछि रस–रङको मोह बिस्तारै सुक्दै जाँदो रहेछ।

क्रमशः महसुस भयो म सधैं उनीहरू भएर बाँचें तर मेरोपनमा उनीहरूले चासो राखेनन्। फर्कँदै गर्दा मेरी स्वास्नीले भनी–तिमी मन लागेको बेला हामीलाई भेट्न आउनेछौ। हामी कुनै दिन तिम्रो देश हेर्न आउनेछौं।

अन्ततः म आफ्नै माटोमा केही गर्छु भनी फर्किएँ।

ती दयालु वृद्धहरूले एक आपसमा आँखा जुधाए। अघिसम्म धर्म विद्रोही ठानेर घृणा गरिरहेको त्यो अधबैंसेलाई श्रद्धाले हेरे र भने, ‘त्यो पहिलो चिहान बनेपछि क्रमशः अरू चिहानहरू थपिए। एकएक गर्दै धर्मको नाममा मान्छेहरू किनिन थाले। धर्म परिवर्तन गराउने दलालहरू चतुर निक्लिए।

उनीहरूले भने, ‘यो जमिनको मालिकले धर्म परिवर्तन गर्‍यो र उतैको बिहे गर्‍यो। अहिले ऊ निकै सुखी छ। उसले आफ्नो जमिनमा चिहान बनाउन अनुमति दिएकोमा प्रशस्त धन लिएको छ। यस्तो कुराको प्रभावले गाउँका युवाहरू छिट्टै तानिए। त्यसको कारण थियो आर्थिक लालसा। धर्म परिवर्तन गर्नेहरूले धन पाए। चिहान बनाउनेहरूले विभिन्न अवसर पाए। आफ्ना वृद्ध आमाबाबुको इच्छाबिना पनि तिनको लासलाई चिहानमा घुसारे।

ती वृद्धहरूले आफ्नो परको बस्तीतिर हेर्दै भने, ‘क्रमशः हाम्रो पुरातन संस्कार हराउँदै गयो। हामीले चाहेर पनि रोक्न सकेनौं। आज यी चिहानहरूको झुण्डमा पनि हामी आफ्नो सदियौं पुरानो चिता घाटलाई बिउँझाउन खोजिरहेका छौं।

अधबैंसे आक्रोशले जुरुक्क उठ्यो र भन्यो, ‘अब म यी सबै चिहानलाई एकाएक भत्काउनेछु।

होइन, हुँदैन। तिमीले त्यो अन्तिम लहरको चिहान भने भत्काउने छैनौ। ती चिहानहरू धर्तीमा निदाइरहन पाऊन्। चिहानमा माटो बन्नेहरू फुर्सदले माटैमा मिलून्। चितामा जल्नेहरू धुवाँ बनून् र तिनका अस्तुलाई नदीले सदियौंसम्म बगाइरहोस्। सबैको पृथक् धर्म, परम्परा र पहिचान अनन्तसम्म चलिरहोस्। विविधताप्रिय धर्तीका लागि यही नै प्रिय कथा हुनेछ।

अधबैसे ती बग्रेल्ती चिहानहरू बीचबाट हिंडिरहेको थियो। ती वृद्धहरू फेरि मानव कंकाल बटुलिरहेका थिए।

चिहानको अन्तिम लहरमा पुगेको ऊ ती चिहानहरूलाई एकाएक गर्दै नियाल्दै थियो। ती कलात्मक चिहानहरूमा क्रमशः विदेशीका नामहरू लेखिएका थिए। ऊ त्यो लहरको अन्तिम चिहानमा पुग्यो जुन चिहान सबैभन्दा पहिले बनाइएको थियो। त्यो चिहानलाई उसले सबैभन्दा बढी वितृष्णाले हेर्‍यो।

अरू चिहानभन्दा त्यो पहिलो चिहान फरक थियो। त्यस चिहानमा कुनै मृतकको नाम लेखिएको थिएन। मात्र त्यस धर्मको विशेष चिन्ह अंकित थियो। पलभर अलमलिएपछि उसले त्यो चिहानलाई पटकपटक फन्को मार्‍यो र सूक्ष्म निरीक्षण गर्‍यो। त्यो चिहानको एक भित्तो नबुझिने गरी धस्सिएको थियो। उसले त्यो धस्सिएको भित्तालाई हल्लायो। त्यहाँको एक फक्ल्याँटो निक्लियो।

टाउको निहुराएर उसले चिहानभित्र हेर्‍यो। त्यो चिहान खोक्रो थियो। त्यहाँ मानव देह गाड्नलाई खनिएको कुनै निशाना समेत थिएन किनकि नदी किनाराको बालुवा त्यहाँभित्र यथावत् थियो। ऊ छक्क पर्‍यो। तर, उसले त्यो चिहानभित्र अर्को केही वस्तु देख्यो। त्यो विशेष धातुले बनेको थियो। उसले त्यसलाई चिहानको सानो प्वालबाट निकाल्न खोज्यो तर सकेन।

उसले प्वालैको मुखमा ल्याएर त्यो चिजलाई नियालेर हेर्न थाल्यो। बाहिरबाट छिरेको उज्यालोले उसलाई सघाइरहेको थियो। त्यो कुनै फोटो फ्रेम जस्तो पनि देखियो। जसमा लेखिएको थियो– यस माटोमा हाम्रो धर्मको प्रवेश गराउने यो पहिलो व्यक्तिलाई विशेष धन्यवाद!

उसले हतपत्त त्यसलाई अर्कोतिर पल्टाएर हेर्‍यो। ऊ अवाक् भयो। बर्षौंदेखिको त्यो पहिलो चिहानमा त ऊ आफै पो सुतिरहेको थियो।  

प्रकाशित: ११ पुस २०७८ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App