२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

चाहिएको कुरा

लघुकथा

खगेन्द्र बस्याल

दैलातुङ फाँटमा साँझको खानापछि सँगै बसेर टिभी हेरेपछि छोराबुहारीहरूतिर अचानक जंगिएर उनले भने, ‘तिमीहरूले म बुढाको ख्यालै गर्दैनौं। म महिनौं दिनदेखि निदाइरहेको छैन।’

उनको कुरा सुनेर जेठो छोराले भन्यो, ‘भन्नपर्छ नि बुवा,म भोलि नै अस्पतालमा लगिहाल्छु नि।’

उनले भने, ‘अस्पतालमा लग्यौ भने म झन् बिरामी परिहाल्छु,लान पर्दैन।’

बुहारीले भनिन्, ‘उसो भए बुवालाई धामीझाँक्री बोलाएर के भएको हो, सोधेर उपचार गर्नुपर्ने होकि।’

उनले फेरि झन् जंगिएर भने, ‘आजको जमानामा पनि यस्ता कुरा गर्ने, त्यो पनि पर्दैन।’

कान्छो छोराले भन्यो, ‘उसो भए हजुरलाई केही चाहिएको रहेछ। मैले बुझें। तपाईं भन्नुस् सक्ने चिज भए हामी उपलब्ध गराउँछौं नि।’

कान्छाको कुरा सुनेर उनी मुस्कुराएर भने, ‘मैले भनेको कुरा दिने तिमीहरूको गफै त हो।’

यी सबै कुरा सुनेकी उनकी श्रीमतीले भनिन्, ‘तिमीहरूलाई थाहा छैन  होला। उहाँ  ननिदाउनु भएको महिनौं भयो। कारण सोध्दा मलाई पनि बताउनु हुन्न। जसरी भए पनि निदाउने वातावरण सिर्जना गरिदेओ। बरु मलाई केही चाहिन्न।’

उनका छोराबुहारीहरूले एकैसाथ भने, ‘हजुर हाम्रो देवता हुनुहुन्छ। हामी हजुर ननिदाएपछि कसरी आरामसँग सुत्न सक्छौं र। हजुर भन्नुस् मात्रै हामी परुयाइदिन्छौं नि। आखिर यो सबैै सम्पत्ति हजुरकै देन न हो।’

उनले फेरि भने, ‘मलाई साँच्चिकै माया गरेर भनेका हौ भने म आरामसँग निदाउने औषधि भन्छु है त। त्यो हाम्रै घरमा छ। चिन्ता मान्नु पर्दैन। त्यो उपलब्ध गराइदिए मात्रै पुग्नेछ।’

उनको कुराले सबै मुस्कुराए। एकैसाथ भने, ‘ढुक्क हुनुहोस्। हामीले उपलब्ध गराउँछौँ।’

यो सुनिसकेपछि उनले सबैतिर फर्कदै भने, ‘आफ्नो संस्कार नबिर्स। घरमा एकै ढिक्का भई कर्तव्य पथमा लाग। विलासीपन छोड। सादा जीवन उच्च विचार आत्मसात् गरेर देखाओ। यही हो मलाई खाँचो परेको कुरा। यो पाए म राम्रोसँग निदाइहाल्छु नि।’

प्रकाशित: २५ मंसिर २०७८ ०५:४१ शनिबार

अक्षर