१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

महाभारत र व्यूहरचना

भारतको नर्मदा नदीको तटमा एउटा महिष्मती नाम गरेको नगर छ। त्यही नगरको सभ्यतालाई लिएर ‘बाहबली’ चलचित्र बनेको हो। त्यो सभ्यता प्राचीन हो। सभ्यताको संरक्षण संवर्द्धनका लागि बाहुबली चलचित्रको निर्माण भएको थियो। उक्त राज्यमा कालिकेय नाम गरेको राक्षस समूहले आक्रमण गर्ने प्रयास गर्‍यो। ऊसँग एक लाख सेना थिए। महिष्मती राज्यमा भएका जम्मा २५ हजार सेना एक लाख सेनासित कसरी भिड्न सक्छन् भन्ने सन्देह थियो। धेरै छलफलपछि पनि निर्णय आएन। त्यो राज्यको सबैभन्दा शक्तिशाली व्यक्ति कटप्पा पनि असमञ्जसमा परेको देखियो। उक्त युद्धलाई पूर्णता दिन र कालिकेयका सेनालाई हराउन त्रिशूल व्यूहको रचना गरिएको थियो। सो व्यूहबाट आक्रमण भएपछि कालिकेय हारेको थियो। यो व्यूह रचना सन् २००७ मा निर्माण गरिएको थियो। सेनालाई त्रिशूल आकारमा राखेर तीनतिरबाट आक्रमण गर्ने प्रक्रिया त्रिशूल व्यूहमा हुन्छ।

के हो व्यूह ?

युद्ध आफैंमा सन्त्रासमय हुन्छ। सन्त्रासबीच बाँच्नु नै युद्धको पहिचान हो। सेनामा कम क्षति होस् र शत्रु पक्षले बढी क्षति बेहोर्नुपरोस् भनेर नै व्यूहको रचना गरिएको हुन्छ। व्यूह रचना सेनापतिको जिम्मा भए पनि जानेका व्यक्तिको रायसल्लाह अनुसार रचना गरिएको पाइन्छ। हाम्रा शास्त्रमा वर्णित देवासुर संग्राम, रामायणको युद्धमा व्यूह रचना देखिएन। तर महाभारतमा आइपुग्दा शत्रु पक्षलाई परास्त गर्ने उद्देश्यले व्यूह रचना गरिएको पाइन्छ। महाभारतमा अभिमन्युको बधका लागि द्रोणाचार्यले चक्रव्यूहको रचना गरेका थिए। उक्त व्यूहलाई महाभारतमा अत्यधिक चर्चित मानिएको छ। सैन्य क्षति कम गराउन र शत्रु पक्षलाई निस्तेज र निरूपाय गराउन नै व्यूह रचना गरिन्छ सैन्य व्यवस्थामा। युद्धमा सेनापति सदैव सेनाप्रति उत्तरदायी हुन्छ।

महाभारतमा व्यूह  

महाभारतको संग्राम तत्कालीन समयको एउटा शक्तिशाली युद्ध थियो। रामायणमा राम–रावण युद्धको तुलना संसारका कुनै पनि युद्धसित कविहरूले गर्न सकेनन् र रामरावर्योयुद्धं रामरावणर्योमिव (राम–रावणको युद्ध राम र रावणको जस्तो थियो) भने। यहाँ कुनै पनि कविलाई त्यस किसिमको युद्ध पहिले नभएको अब पनि नहुने भन्ने संकेत गरिएको पाइन्छ। तत्कालीन संस्कृतका कविहरूले रामायणको युद्धलाई अति महत्व दिए। रामायणकालीन र महाभारतकालीन समाजमा भिन्नता थियो। रामायणकालीनको तुलनामा महाभारतकालीन समाज विकसित थियो। महाभारतको युद्ध भने व्यूहको रचनामा सम्पन्न भएको थियो। महाभारतको युद्ध अठार दिन चल्यो। गुरु द्रोणाचार्यको मृत्यु नहुँदाको समय अर्थात् १५ दिनसम्म पाण्डव र कौरव पक्षले व्यूह रचना गरेका थिए। व्यूह रचनाको अवस्था हेर्ने हो भने युद्धको पहिलो दिनदेखि आरम्भ भएको मानिन्छ।

सञ्जयलाई दिव्यदृष्टि  

महाभारतको सम्पूर्ण युद्धलाई राजा धृतराष्ट्र विस्तारपूर्वक सुन्न चाहन्थे। युद्ध आरम्भ हुनुभन्दा केही समयपहिले हस्तिनापुरमा व्यास आए। उनले राजालाई युद्ध हेर्ने अभिलाषा भए दिव्यदृष्टि दिने बताउँदै भन्छन्, ‘यदि चेच्छसि संग्रामे द्रष्टुमेतान् विशाम्पते। चक्षुददानि ते पुत्र युद्धं तत्र निशामये’ (युद्धभूमिको सबै कुरालाई तिमी हेर्न चाहन्छौ भने म तिमीलाई दिव्यदृष्टि दिन्छु।) धृतराष्ट्रलाई आफ्ना सन्तानको सर्वनाश हेर्ने अभिलाषा थिएन। युद्धको अवस्थाबारे जानकारी पाउने चाहना थियोे। सोहीअनुरूप नै उनले व्यासबाट प्राप्त हुन लागेको दिव्यदृष्टि आफ्ना सारथि सञ्जयलाई दिन आग्रह गरे। सञ्जयले दिव्यदृष्टि पाएपछि सबै युद्धको हाल वर्णन गरेका थिए। यो युद्धलाई वर्णन गर्ने एक मात्र साक्षीका रूपमा सञ्जय रहेका थिए। आजको जस्तो टेलिभिजन सृष्टि नभए पनि तपस्याको बलमा ऋषिले दिएको दिव्यदृष्टि नै तत्कालीन समयको टेलिभिजन थियो। कुरुक्षेत्रमा भएको युद्ध सञ्जयले हस्तिनापुरमा प्रत्यक्ष प्रसारण गरेका थिए। यहीँबाट सञ्जयले युद्धमा रहेका व्यूहको रचना र युद्धको जानकारी धृतराष्ट्रलाई बताएका थिए।

महाभारतमा सबै व्यूहको प्रयोग भएको देखिन्छ। देव असुर र कुर्म व्यूहको उल्लेख भएको भए पनि ती व्यूहको रचना कति बेला भएको थियो भन्ने सन्दर्भमा महाभारत मौन छ। महाभारतको युद्धमा जम्मा १८ प्रकारका व्यूहको उपस्थिति देखापरेको छ। यी व्यूहका माध्यमबाट नै महाभारतको युद्ध समापन भएको थियो।  

बज्र व्यूह

महाभारतको युद्धमा पहिलो दिन अर्जुनले बज्र व्यूह प्रयोग गरेका थिए। ‘बज्रो नामैष स व्यूहो निर्भय सर्वतोमुख’। अर्थात्, सबैतिर मुख भएको व्यूह नै बज्रव्यूह हो। यो सेनाले सबैतिरबाट विपक्ष सेनालाई आक्रमण गर्न सक्ने व्यूह हो। यो व्यूह महाभारतमा पाण्डव र कौरव पक्षले निर्माण गरेका थिए।

क्रौञ्च व्यूह

क्रौञ्च एक किसिमको पक्षी हो। यसलाई कर्‍याङकुरुङ पनि भनिन्छ। यो व्यूहको रचना पाण्डवले आफ्नो सेनामा गरेका थिए। ‘क्रौञ्च दृष्ट्वा ततो व्यूहमभेद्यं तनयस्तव’। सञ्जयले धृतराष्ट्रलाई भनेका छन्, ‘तपाईंको भाइको छोरा अर्जुनले क्रौञ्च व्यूहको रचना गरे।’ यो व्यूहको प्रति उत्तरमा गरुड व्यूहको रचना भीष्मले गरेका छन्।

गरुड व्यूह  

भीष्म पितामहले यो व्यूहको रचना पाण्डव सेनाको संहार र कौरव सेनाको रक्षाका लागि गरेका थिए। यो व्यूहमा गरुड आकारमा सेनालाई राखिएको हुन्छ र गरुडको चुच्चोमा स्वयं सेनापति रहने गर्छ। यसलाई महाव्यूह पनि भनिन्छ। ‘गारुडं च महाव्यूहं चक्रे शान्तनवस्तदा’। अर्थात्, शान्तनु पुत्रले गरुड व्यूहको रचना गरे। पाण्डव सेनापति धृष्टद्युम्नले अर्धचन्द्रेण व्यूहेन व्यूहं तमतिदारुणम् गरुडव्यूहको प्रत्युत्तरमा अर्धचन्द्र व्यूहको रचना गरिएको हो। यसमा सेना अर्धचन्द्राकारमा रहेका हुन्छन्।  

व्याल व्यूह

महाभारतमा सर्पको आकारमा पनि सेनालाई राखिएको थियो। यस्तो व्यूहलाई व्याल व्यूह भनिन्छ। यसको उत्तरमा पाण्डव सेनाले ‘गरुड व्यूह’ को निर्माण गरेको थियो। ‘तं व्यालनानाविधगूढसारं। यथा हि पूर्वोऽहनि धर्मराज्ञ।’ भीष्मले व्याल व्यूहमा कौरव सेनालाई समाहित गरेपछि पाण्डवले पहिलो दिनको व्यूहलाई नै प्राथमिकतामा राखेका थिए।

मकर/श्येन व्यूह

भीष्म पितामहले मकर (मगरमच्छ) आकारमा सेनालाई ढालेर यो व्यूहको रचना गरे। यसको प्रत्यूत्तरमा पाण्डव सेनाले श्येन (बाज) पक्षी समानको व्यूह रचना गरेका थिए। ‘अक्षरन्मकरव्यूहं भीष्मो राजन् समन्ततः। श्येनवद् व्यूह्यं तं व्यूहं’। मकर र श्येन दुवै व्यूह तत्कालीन समयका महाव्यूह मानिएका थिए।

मण्डल व्यूह

आफ्नो सेनाको क्षय कम होस् भन्ने उद्देश्यले कौरव सेनाका सेनापतिले मण्डल (गोलाकार) वृत्तमा सेनालाई राखेका थिए। सो व्यूहलाई मण्डलाकार व्यूह भनिएको छ। गोलाकार रूपमा सेनालाई राख्ने व्यूह नै मण्डल व्यूह हो। मण्डलं मनुजश्रेष्ठो नानाशस्त्रसमाकुलम् अनेक प्रकारका शस्त्र अस्त्रले सजिएका सेनालाई मण्डल आकारमा राखिएको थियो। यो व्यूहलाई देखेर युधिष्ठिरले बज्रव्यूहको निर्माण गरेका थिए।

ऊर्मि व्यूह  

समुद्रमा आउने छाललाई ऊर्मि भनिन्छ। यो व्यूहमा सेना समुद्रको छालजस्तै देखिन्छ। भीष्मले यो व्यूहको रचना गरेर सेनालाई सुरक्षित राख्ने उपाय खोजेका थिए। यसलाई महाव्यूह पनि भनिएको छ। ‘भीष्मः कृत्वा महाव्यूहं पिता तव विशाम्पते। सागरंप्रतिमं घोरं वाहनोर्मितरङ्गिणम्’। अर्थात्, महामना भीष्मले ऊर्मि नामक व्यूह रचेर सेनाको संरक्षण गरेका थिए।

अर्धमण्डल व्यूह

महाभारतमा भीष्मको अवसानपछि कौरव सेनापतिका रूपमा द्रोण आए। आफ्नो सेनापतित्वको पहिलो दिनमा उनले गरुड व्यूहको निर्माण गरे। उक्त व्यूहलाई भेदन गर्न पाण्डव जेष्ठ युधिष्ठिरले अर्धमण्डल व्यूह रचना गरेका थिए। ‘व्यूढं दृष्ट्वा सुपर्णं तु भारद्वाजकृतं तदा। व्यूहेन मण्लार्धेन पत्यव्यूहद् युधिष्ठिरः’। भारद्वाज पुत्र द्रोणले बनाएको गरुड व्यूह भेदनका लागि युधिष्ठिरले अर्ध मण्डलाकार व्यूहको रचना गरे।

चक्र व्यूह  

यो महाभारतमा सबैभन्दा चर्चित व्यूह मानिएको छ। अभिमन्युको बध यही व्यूहमा भएको थियो। यो व्यूहभित्र छिरेर बाहिर निक्लन तत्कालीन समयमा जम्मा सात महारथी मात्र सक्षम थिए। कृष्ण, अर्जुन, भीष्म, द्रोण, अस्वस्थामा, कर्ण तथा कृष्णका छोरा प्रद्युम्न मात्र यो व्यूहका ज्ञाता थिए। अभिमन्युलाई व्यूह प्रवेशको ज्ञान थियो तर बाहिर निस्कने ज्ञान उनमा थिएन। त्यसैले अभिमन्युको बध यही व्यूहभित्र भएको थियो।

चक्रशकट व्यूह  

अभिमन्युको मृत्युपछि अर्जुनले जयद्रथलाई भोलिको युद्धमा मार्ने प्रतिज्ञा गरे। यदि उक्त कार्य युद्धमा गर्न नसके स्वयं अग्निप्रवेश गर्ने निर्णय अर्जुनको थियो। यही अवस्थामा जयद्रथको रक्षाका लागि द्रोणाचार्यले यो व्यूहको रचना गरेका थिए। गोरुगाडा जस्तो आकारमा सेनालाई राखेर निर्माण गरिएको व्यूह हो यो। यो व्यूहको लम्बाइ र चौडाइ समेत उल्लेख गरिएको छ। ‘दीर्घो द्वादश गव्यूति पश्चार्धे पञ्च विस्तृत। व्यूहस्तु चक्रशकटो भारद्वाजेन निर्मित।’ दुई कोसको परिमाणलाई (गव्यूति) भनिन्छ। यो व्यूहको लम्बाइ २४ कोश र चौडाइ १० कोस थियो। यो व्यूहमा अर्जुन प्रवेश गर्न सकेका थिएनन्। चक्रशकट व्यूहको पछाडि पद्म (कमल) अगाडि सूचीमुख (सियोको अग्रभाग) समानका व्यूह रचना गरेका थिए सेनापति द्रोणले। जसमा अर्जुन प्रवेश गर्न सकेका थिएनन्।  

श्रीन्गात/माला व्यूह  

श्रीन्गात (भवन) समान देखिने सेनाको संरचनालाई श्रीन्गात व्यूह भनिन्छ। साथै माला आकारमा सेनालाई सुसज्जित बनाउने व्यूहलाई माला व्यूहका रूपमा चिनिन्छ। महाभारतको युद्धमा यी व्यूहको चर्चा कतै पाइँदैन। तर व्यूहका रूपमा यिनको गणना भने रहेको पाइन्छ।  

शृंगाटक व्यूह  

महाभारतमा कौरव सेनाका सेनापति भीष्मले ऊर्मि व्यूहको निर्माणपछि धृष्टद्युम्नले शृंगाटक सिँघाडा (तराईमा पाइने एककिसिमको फल) समानको व्यूह रचना गरेका थिए। शृङ्गाटकं महाराज परव्यूहविनाशनम् सञ्जयले धृतराष्ट्रलाई बताएअनुसार यो व्यूह शत्रु पक्षको व्यूहलाई ध्वस्त पार्ने अवस्थाको रहनेछ।

व्यूह रचनाको आधार  

शत्रु पक्षलाई कमजोर बनाउने र आफ्ना सेनालाई बलवान् तुल्याउनु व्यूह रचनाको आधार हो। व्यूहले पूर्णतया सेनालाई सुसज्जित पार्नुका साथै सैन्यशक्तिमा मियोको काम गरेको हुन्छ। वायु तथा जल सेना थिएन। पैदल वा थल सेना नै युद्धको केन्द्रमा रहेका थिए महाभारतको युद्धमा। त्यसैले यो युद्धमा आफ्ना सेनाको जति सक्दो सुरक्षा व्यूह रचनाका माध्यमबाट गरिएको छ। महाभारतमा प्रशस्त अस्त्रको प्रयोग भएको छ। कतिपय अस्त्र प्रयोग निषिद्ध मानिएका थिए। ब्रह्मास्त्रको प्रयोगलाई पनि महाभारतमा निषिद्ध मानिएको थियो। तर, पाण्डवको वंशनाशका लागि अस्वस्थामाले उक्त अस्त्र प्रयोगमा ल्याएका थिए। उनले अपाण्डवायेति (पाण्डवविहीन) बनाउने उद्देश्यले छाडिएको उक्त अस्त्र सबैभन्दा बलवान् मानिएको थियो। उक्त अस्त्रले अभिमन्युकी श्रीमती उत्तराको गर्भलाई क्षति पुर्‍याउने उद्देश्य राखेको थियो। जसलाई कृष्णले रक्षा गरेका थिए। त्यसैले महाभारतमा सेनालाई नियमित, व्यवस्थित तरिकाले सञ्चालनमा ल्याउन व्यूहको व्यवस्था गरिएको थियो।

प्रकाशित: ५ भाद्र २०७८ ०३:५६ शनिबार

महाभारत र व्यूहरचना महाभारतको युुद्ध बाहबली’ चलचित भारतको नर्मदा नदी