राष्ट्रकवि घिमिरेसँग कविका रूपमा मेरो परिचय ४ कक्षामा पढ्दादेखि भएको हो। त्यतिखेर हामीले पढ्ने नेपाली किताबमा ‘लाग्दछ मलाई रमाइलो मेरै पाखो पखेरो’ भन्ने कविता पढ्नुपथ्र्यो। त्यो कविता मलाई असाध्य मन पर्यो। त्यसैले कण्ठ भयो र बाटामा गुनगुनाउँदै पनि हिँडिन्थ्यो। सायद कवितासँग मेरो साक्षात्कार यसैबाट भएको हो कि ? अहिले मलाई त्यस्तो आभास हुन्छ। यो कविता मलाई मात्र होइन, पहाडी परिवेशका सबै बालबालिकाको मन छुने खालको छ। त्यही कविताको छाप पछिसम्म ममा बस्यो। यसरी कविताबाट परिचित मेरा कविसँग सशरीर देखादेख भने म विद्यालयको पढाइपछि उच्च शिक्षाका लागि काठमाडौं आएपछि मात्र भएको हो।
जब म उच्च शिक्षाको अध्ययनपछि विश्वविद्यालयको प्राध्यापनमा प्रवेश गरेँ, तब स्वभावतः घरजमको सोच पनि बन्यो। मेरो उहाँकी काहिँली छोरी उषासँग बिहाको चाँजो मिल्यो। यसबाट उहाँसँग सामान्य संगत मात्र नभई पारिवारिक सान्निध्यको अवसर समेत मलाई प्राप्त भयो। २०३२ सालमा मेरो विवाह हुँदा म सानोतिनो लेखकका रूपमा चिनिन थालेको थिएँ। त्यसको प्रमाणका रूपमा ‘पूर्वीय समालोचना सिद्धान्त’ नामक मेरो पुस्तक साझा प्रकाशनबाट प्रकाशित थियो। यस पुस्तकका माध्यमबाट उहाँको रुचि अनुसारको गफगाफमा सम्मिलित हुन मलाई सजिलो भएको थियो। उहाँ मसँग भेट हुँदा प्रायः साहित्यबारे कुरा गर्न रुचाउनुहुन्थ्यो। मलाई पनि त्यसैमा सहज हुन्थ्यो।
‘हाम्रो संस्कृतिमा एक एक अक्षरलाई बीजाक्षर मानिएको छ। वर्णविन्यासमा र उच्चारणमा आजभोलि आएको मत भिन्नता कुन ठीक यसको निर्णय चाहिँ विद्वान्हरूको गोष्ठीबाट नेपाल प्रज्ञा प्रतिष्ठानले गर्छ जस्तो लाग्छ। किनभने भाषा विभाग छुट्टै राखेर नेपाल सरकारले ऐन बनाएर दिएको त्यही संस्था हो।’
पछि बिस्तारै भाषा शिक्षण हुँदै जब मेरो अध्ययन र रुचि भाषा व्याकरणतिर केन्द्रित हुन थाल्यो, त्यस वेला पनि मैले उहाँलाई सहज पाएँ। नेपाली भाषा व्याकरणमा उहाँको गहिरो रुचि देखेर म अझ भित्रभित्रै खुसी भएँ। यसलाई मैले गरेका अध्ययन र नेपाली व्याकरणका बारेमा मेरो सीमित ज्ञानलाई विस्तार गर्ने अवसर ठानेँ। पछि मलाई थाहा भयो, नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा समेत बसेर केही समय काम गर्नुभएको अनुभव पनि उहाँमा रहेछ। व्याकरणका विषयमा कुरा गर्दा उहाँ गोरखा भाषा चन्द्रिका र मध्य चन्द्रिकाको प्रसंग बारम्बार उल्लेख गर्नुहुन्थ्यो। नेपाली व्याकरणका तत्कालीन यी आधार ग्रन्थको गहन अध्ययन उहाँमा रहे पनि नेपाली भाषाको मौलिक स्वरूपबारे चर्चा गर्दा आफू पुष्कर शमशेरका दृष्टिकोणबाट प्रभावित रहेको दर्शाउनुहुन्थ्यो।
राष्ट्रकवि घिमिरे उत्कृष्ट र सफल साहित्यकार भएको त सबैलाई थाहा भएको कुरा हो। उहाँ नेपाली भाषाको मौलिक पक्षको मर्मज्ञ पनि हुनुभएको कुरा कमैलाई ज्ञात हुन सक्छ। उहाँ कविका रूपमा पनि आदिकवि भानुभक्तको जस्तो सरल र सहज शैलीबाट बढी प्रभावित भएको अनुभव हुन्छ। उहाँले प्रयोग गरेको नेपाली भाषामा भानुभक्तको जस्तै प्राकृतपनको अनुभूति हुन्छ। साथै, सरल तथा प्राकृत शैलीमा गहन अभिव्यञ्जना दिन सक्नु उहाँको कवित्वको विशिष्टता हो। यो विशिष्टता प्राप्तिमा उहाँमा भाषा व्याकरणको गहिरो ज्ञानका साथै त्यसको मर्मबोधको पनि ठूलो हात रहेको अनुभव हुन्छ।
राष्ट्रकवि घिमिरे मलाई नेपाली भाषाका मौलिक विशिष्टताप्रति सचेत गराउनुहुन्थ्यो। यस क्रममा उहाँ नेपाली भाषामा निपातको प्रयोगबारे व्याख्या गर्नुहुन्थ्यो। उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदा एकपटक नेपालीका निपातबारे प्रवचन पनि दिनुभएको उल्लेख गर्नुहुन्थ्यो। उहाँ मलाई उखान टुक्कासम्बन्धी विस्तृत शब्दकोश आवश्यक भएको कुरा बारम्बार उल्लेख गर्नुहुन्थ्यो। ‘नेपाली कारक व्याकरण’ विषयमा २०४६ मा विद्यावारिधि प्राप्त गरेपछि म नेपाली व्याकरणका सबैजसो पक्षलाई समेटेर भाषा वैज्ञानिक अवधारणाका आधारमा व्याकरण लेख्ने जमर्कोमा लागेँ। त्यतिखेर उहाँसँग विविध पक्षमा ज्ञान तथा सुझप्रद छलफल हुन्थे। दुई–तीन वर्षको कडा मिहिनेतपछि २०४९ सालमा मेरो ‘समसामयिक नेपाली व्याकरण’ प्रकाशित भयो। त्यो सम्पूर्ण पढेर उच्च प्रशंसा र स्याबासी दिनुहुनेमध्ये उहाँ नै पहिलो हुनुहुन्थ्यो। उहाँले त्यसमा चर्चित वर्ण व्यवस्था, क्रियापदको रूपायन, क्रियाका काल, पक्ष र भाव, वाच्यगत विविधता, असमापिका उपवाक्य र द्वित्व प्रक्रियाबारे पछिसम्म उल्लेख गरेको मलाई सम्झना हुन्छ।
आफ्नो जीवनको आरोह अवरोहमा साहित्यकारबीच पद्य कवि र गद्य कवि भनी रेखा खिची उहाँलाई यदाकदा विवादमा तानिएको देखियो। तर, विवादबाट आफूलाई भरसक टाढा राख्ने उहाँको स्वभाव रहेको देखिन्छ। आफ्नो लक्ष्य र गन्तव्यप्रति अर्जुनदृष्टि राखेर अगाडि बढ्नुभएकाले उहाँ आम नेपाली पाठकको माया पाई ससम्मान पूर्णायु जीवन बाँचेर हामीबाट अलप हुनुभएको वर्ष दिन भयो।
२०६१ मा म र बद्री विशाल भट्टराईको संयुक्त सम्पादनमा ‘प्रयोगात्मक नेपाली शब्दकोश’ प्रकाशित हुनुअघि मैले त्यसमा उहाँको मन्तव्य राख्ने इच्छा जाहेर गरेँ। उहाँलाई त्यसका विशेषताबारे मैले जानकारी गराएँ। उहाँले पाण्डुलिपि वल्टाइपल्टाई गरेर हेर्नुभयो। उहाँलाई त्यसबारे मन्तव्य लेख्न धेरै दिन लाग्यो। त्यसको कारण पहिले त मैले बुझिनँ तर पछि उहाँसँग भएका कुराकानीबाट मलाई थाहा भयो। त्यस वेलासम्म नेपाली भाषामा उच्चारणको सूचना समेत दिइएको नेपाली एक भाषिक शब्दकोश प्रकाशित थिएन। हिन्दीमा पनि थिएन। संस्कृतमा अलग्गै उच्चारण भन्ने कुरा नै भएन। त्यसमा त जे उच्चारण गरिन्छ, त्यही लेखिन्छ भन्दै आइएको छ। कतै यो प्रयोगात्मक कोशका प्रयोक्ताहरूले उच्चारणमा दिइएको रूपलाई ठीक ठानेर प्रयोग गर्ने हुन् कि ? उहाँलाई अप्ठेरो परेछ। मैले विभिन्न किसिमले बुझाउने प्रयास गरेँ। पछि उहाँले एक वैदिक मन्त्रको उल्लेख गरेर भाषा बोलीबाट उठेको हुन्छ र विशेष गरी नेपाली विमातृभाषीलाई उच्चारणको सूचना आवश्यक हुन्छ भन्ने आसयको मन्तव्य लेखेर दिनुभएको थियो। त्यस मन्तव्यमा लेखिएको सानो अंश यहाँ उद्धृत गर्न चाहन्छु :
शब्दकोश पनि व्याकरणजस्तै शास्त्र हो। कुनै पनि शास्त्रले समसामयिक प्रवृत्तिलाई स्वीकार नगर्ने हो भने त्यो अधुरै रहन्छ। शास्त्र कुनै कल्पनामा आधारित भएर आफूखुसी निर्मित हुन्न, त्यसको निर्माण त लोक व्यवहारलाई हेरेर मात्र गरिन्छ। लोक व्यवहार त भाषा प्रयोगको नियम पत्ता लगाउने र पहिचान गर्ने पहिलो प्रयोगशाला हो।
यस्तै अर्को अप्ठेरो २०६९ सालमा पनि आइपरेको थियो। यस वर्ष पाठ्यक्रम विकास केन्द्रले नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृतिमा त्यसअन्तर्गत प्रकाशित हुने नेपाली भाषाका पाठ्य सामग्रीमा नयाँ वर्ण विन्यास लागू गरेको थियो। यद्यपि यो क्रम २०५६ मा उक्त केन्द्रले ‘प्रकाशन तथा सम्पादन शैली पुस्तिका’ (हाउस स्टायल) प्रकाशित गरी आरम्भ गरेको थियो। बीचबीचमा यसमा केही संशोधन हुने गथ्र्यो। यस्तै केही संशोधन २०६३ मा पनि भएको थियो। २०६९ मा भने यस्तो संशोधन मन्त्रालय स्तरको स्वीकृतिबाट भयो। त्यसपछि यसको विरोधमा अभियान नै चलाइयो। त्यस अभियानमा लागेकाले लेखकको हस्ताक्षर संकलन गर्ने क्रममा उहाँको पनि हस्ताक्षर पनि गराएछन्। मसँग कुराकानी हुँदा उहाँले भन्नुभएको थियो, ‘यहाँको पनि हस्ताक्षर देखेर मैले पनि हस्ताक्षर गरेँ।’ पछि विभिन्न सन्दर्भमा लिएका हस्ताक्षर एकै ठाउँ सङ्कलन गरी पुस्तिका नै प्रकाशित गरिएको थियो।
यही विवादको प्रसंगमा नयाँ नेकशुले (नेपाली कसरी शुद्ध लेख्ने ?) भनी २०६९ मा जारी गरिएको ‘ललितपुर घोषणापत्र’उपर झर्रोवादी आन्दोलनका पुराना हस्ती झापामा बसेर प्रसिद्धि कमाएका अग्रणी साहित्यकार चूडामणि रेग्मीले लेखेको लेख मैले राष्ट्रकवि घिमिरेलाई पढ्न दिएको थिएँ। सो लेखमा उक्त घोषणापत्रको पाणिनि को ? भन्ने सवाल उठाइएको थियो। त्यो सवाल निकै चित्तबुभ्mदो लागेको उहाँले बारम्बार बताउनुहुन्थ्यो।
यसै क्रममा एउटा पत्रिकामा राष्ट्रकविको टाउको दुखाइ भनी केही टिप्पणी प्रकाशित भएछ र उहाँले त्यो पढ्नुभएछ। त्यसपछि सो टिप्पणीबारे उहाँले यस्तो जवाफ दिनुभएको थियो :
मत सम्मत (शुक्रबार, साप्ताहिक) पत्रिकाको २०७३।२। ११ को अंकमा प्रकाशित राष्ट्रकविको टाउको दुखाइ शीर्षकको लेख पढेँ। आजभोलि नेपाली वर्णविन्यासमा आएको परिवर्तनप्रति मेरो कुनै चित्त दुखाइ छैन। जीवित भाषामा परिवर्तन भई नै रहन्छ। पाणिनिले वर्ण वर्गीकरणमा ऋलृक् भनेर दुई अक्षरलाई एउटै वर्गमा राखे तापनि ‘लृ’को उच्चारण हुन्न र ‘ऋ’ को उच्चारण पनि आजभोलि रि हुन्छ। म ने.भा.प्र. समितिमा हुँदैको कुरा हो- पुष्कर शमशेरले केही अक्षरको उच्चारण र लिपिमा फरक हुन्छ भनेका छन्। हाम्रो संस्कृतिमा एक एक अक्षरलाई बीजाक्षर मानिएको छ। वर्णविन्यासमा र उच्चारणमा आजभोलि आएको मत भिन्नता कुन ठीक यसको निर्णय चाहिँ विद्वान्हरूको गोष्ठीबाट नेपाल प्रज्ञा प्रतिष्ठानले गर्छ जस्तो लाग्छ। किनभने भाषा विभाग छुट्टै राखेर नेपाल सरकारले ऐन बनाएर दिएको त्यही संस्था हो। (उक्त टिप्पणी उहाँको हस्ताक्षरसहित रचना पूर्णाङ्क १४७ (२०७३) मा प्रकाशित छ।)
आफ्नो जीवनको आरोह अवरोहमा साहित्यकारबीच पद्य कवि र गद्य कवि भनी रेखा खिची उहाँलाई यदाकदा विवादमा तानिएको देखियो। तर, विवादबाट आफूलाई भरसक टाढा राख्ने उहाँको स्वभाव रहेको देखिन्छ। आफ्नो लक्ष्य र गन्तव्यप्रति अर्जुनदृष्टि राखेर अगाडि बढ्नुभएकाले उहाँ आम नेपाली पाठकको माया पाई ससम्मान पूर्णायु जीवन बाँचेर हामीबाट अलप हुनुभएको वर्ष दिन भयो। कृतिबाट स्थापित साहित्यिक उचाइ र सुस्पष्ट जीवन दर्शनले उहाँ नेपाली साहित्यका अग्रज र समकालीन साहित्यकारमध्ये पृथक् र अतुलनीय स्थान बनाउन सफल हुनुभएको हामी सबैले अनुभव गरेको विषय हो।
विभिन्न विधामध्ये उहाँको योगदान कविता, गीत र निबन्धमा समेत बेजोड रहेको छ। यसबाहेक उहाँ नेपाली काव्य साहित्यको प्रखर चिन्तक पनि हुनुहुन्थ्यो। यस विषयमा कमै चर्चा भएको देखिन्छ। मैले ‘कविवर माधव घिमिरे : अभिनन्दन ग्रन्थ २०६०’ मा ‘स्रष्टा घिमिरे : नेपाली काव्यशास्त्रका द्रष्टाका रूपमा’ (पृष्ठ ६५९–७०२) चर्चा गरेको यहाँ स्मरण गर्न चाहन्छु।
प्रकाशित: ३० श्रावण २०७८ ०५:३२ शनिबार