नेपालको पहाडी दुर्गम गाउँमा जन्मेर पनि राष्ट्रकै सम्मानित राट्रकवि बन्न सफल माधव घिमिरे अब यो धर्तीमै छैनन्। विशिष्ट प्रतिभाका धनी घिमिरेले नेपाली र विश्वलाई नै हुने गरी अनेकौँ काव्य रचना गरेर पूर्ण आयु लिएरै आफ्नी प्रियतमा ‘गौरी’लाई भेट्न महाप्रस्थानको बाटो समाए। उनको यो पवित्र महाप्रस्थान यात्रा निर्बाध रहोस्, प्रस्थान वर्ष पूरा भएको यस अवसरमा यही कामना गरौँ।
नेपाल र नेपाली साहित्य संसारमा राष्ट्रकवि माधव घिमिरेको परिचय दिन खोज्नु व्यर्थ हुनेछ। अब त उनका काव्य कृतिहरू र कुना काप्चामा लुकेका खेस्रा समेतको खोजीगरी संरक्षण र चिन्तनमनन गर्नुपर्ने वेला आएको छ। देशको गौरवगाथा र पुरुषार्थका कथा लेख्न कहिल्यै नथाक्ने घिमिरेका कविता, लेख, गीत, आदि रचनाको सही मूल्यांकन र अनुशीलन गरिनुपर्छ। राष्ट्रको समुन्नतिको बाटो देखाउन, समाजका विद्यमान विकृतिविरुद्ध उठ्न प्रेरणा छर्न र नवसिर्जनातिर उन्मुख हुन घिमिरे पे्ररित गर्दै रहे। उनको सम्मान गर्नु राष्ट्रको कर्तव्य नै हुन्छ, समाजको चासोको विषय बन्नुपर्छ।
आजको दिनमा राष्ट्रकवि माधव घिमिरेको गीतिनाटक ‘मालती मंगले’ प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन हुँदा देखिएको जनलहरका चर्चा अनि घिमिरेकै सम्मानमा पोखरा नगरमा आयोजित ‘रथारोहणसहितको सार्वजनिक अभिनन्दन’ यो पंक्तिकार विशेष स्मरण गर्न चाहन्छ।
मालतीमंगलेको मञ्चन
संवत् २०४२ को प्रसंग हो। यो पंक्तिकार सरकारी सेवाको जिम्मेवारीमा धौलागिरि अञ्चलको बाग्लुङमा कार्यरत थियो। कविवर माधव घिमिरेको मालतीमंगले गीति नाटक प्रज्ञा प्रतिष्ठानमा मञ्चन हुन थालेको बजारभर हल्ला फैलियो। केही युवा नाटक हेर्नै काठमाडौंतर्फ लागे। पंक्तिकार पनि छटपटमा पर्यो, बिदा लिएरै बाटो लाग्यो। राजारानीबाटै उद्घाटित नाटक हाउसफुलमा चलिरहेको थियो। हप्ताभरलाई नै टिकटको सम्भावना नभएको प्रस्टै बुझियो। तर, पर्सिपल्टको साँझ गीति नाटककार घिमिरेसँगै विशेष सोफामा बसेर हेर्ने अवसर पंक्तिकारलाई सम्भव बन्यो।
प्रज्ञा प्रतिष्ठानको मञ्चन कक्ष दर्शकले खचाखच थियो नै, बीचबीचमा बल्ने प्रकाशमा प्रायः सम्पूर्ण दर्शक आँसु पुच्दै गरेको भावुक अवस्थामा देखिन्थे। कतिपय दर्शक त नाटककार घिमिरे स्वयंलाई अगाडि नै देख्दा दंंग पर्दै नमस्कारको आवाज दिँदै आँसु लुकाउन खोज्थे, यो पंक्तिकार भावुक हुन्थ्यो। नाटक हेर्दै गर्दा नाटककार स्वयंका आँखा पनि रसाएका देख्दा दंगै परेको अवस्था सम्झना हुन्छ।
कार्यक्रमको अन्त्यमा संगीतकार अम्बर गुरुङ लगायत कलाकारले घिमिरेलाई भेट्दै गर्दा उमेरले पाका दर्शकको भीड पनि थपिन आयो। आएका सबैले नमस्कार गर्दै नाटक अति राम्रो भन्दै बिदा हुन्थे। सभा भवनबाट बाहिरिँदै गर्दा अर्को दिन टिकट खोज्ने हल्ला गरेको सुनिन्थ्यो। अरू केही दिन पर्खेरै टिकटमा दुईपटक नाटक हेरेरै पंक्तिकार बाग्लुङ फक्र्यो। मालती मंगले नाटक ११ पटकसम्म पनि हेर्न पुग्ने भएको सुनिन्थ्यो। नाटकले देशभर नै यति चर्चा र सम्मान कमायो कि संगीतकार र कलाकार खुसीले गद्गद् नै हुने भए। अझ नगरका टोलटोलमा मात्र होइन, गाउँगाउँमा समेत मालती मंगलेका गीत गुन्जने लहरै चल्यो। नाटक देशका अन्य नगरमा पनि प्रदर्शनको माग आउँदा प्रतिष्ठानले केही नगरमा मात्र पठाएर सीमित गर्न खोज्यो भन्ने गुनासो पनि सुनियो, तर लाखौँले हेरे। प्रतिष्ठानले मालती मंगलेबाट राम्रै कमाई गर्यो भन्ने चर्चा सुनिन्थ्यो।
गीति नाटककार माधव घिमिरे एक प्रसंगमा भन्छन्– मालती मंगलेको रचना अधिकार वञ्चित भएर पछाडि परेका वर्गमाथि सहानुभूति जगाउन गरिएको हो।
पोखरामा अभिनन्दन
संवत् २०६० तिरको प्रसंग हो। गण्डकी अञ्चलका कवि लेखक, साहित्यकार बुद्धिजीवी, समाजसेवीले राष्ट्रकवि माधव घिमिरेको सार्वजनिक सम्मानस्वरूप रथारोहण गराई अभिनन्दन गरे। सो अवसरमा पोखरा नगरको महेन्द्रपुल चोक क्षेत्रमा कवि, साहित्यकार, लेखक, पत्रकार, समाजसेवी, व्यापारी, संगीतकार, विद्यालय, महाविद्यालयका छात्रछात्रा एवं शिक्षक समेतको ठूलो जमात भेला भयो। त्यहीँ विशेष सजाइएको जिपमा राष्ट्रकवि घिमिरे र धर्मपत्नी महाकालीलाई राखेर पञ्चेबाजा र पञ्चकन्याअगाडि लगाई मूल सडक हुँदै पृथ्वीनारायण क्याम्पसतर्फ अघि बढियो। साहित्यकार, समाजसेवी, व्यापारीहरू पछाडि जुलुसमा भए। सो अवसरमा नगरका ठाउँठाउँमा विशेष द्वार अनि सडक दायाँबायाँ फूल अबिरले सजाइएका शुभ कलस एवं तामाका गाग्री सजाइएको देखिन्थ्यो।
जुलुसका बीचबीचमा विशेष पोसाकका स्थानीय नेवार, थकाली, गुुरुङ समुदायका टोली थिए। सो जुलुसका समूहले राष्ट्रकवि माधव घिमिरे अमर रहून्, हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ आदि लेखिएका ब्यानर अनि राष्ट्रिय झन्डा लिएका थिए। सडकका किनाराबाटै बजारवासीले ठाउँठाउँमा ताली र फूलअबिरले राष्ट्र कविको स्वागत गरेको देखिन्थ्यो। पृथ्वीनारायण क्याम्पसको विशाल मैदानको भव्य मञ्चमा आसन गराई राष्ट्रकवि र धर्मपत्नीलाई सम्मान स्वरूप माला एवं दोसल्ला ओढाइयो। सम्मान अभिनन्दन आयोजक समितिका वरिष्ठ साहित्यकार सरु भक्तले आम गण्डकीवासी साहित्यकार, संगीत तथा संस्कृतिका कलाकार लगायत सबैको तर्फबाट सम्मान अभिनन्दन पढेर सुनाए। अनि राष्ट्रकवि घिमिरेलाई समर्पण गरे।
समारोहमा २०औँ हजारमा श्रोतागणले ताली बजाएर हर्ष प्रकट गरे। सम्मान अभिनन्दका क्रममा विभिन्न साहित्यकार एवं विशिष्ट समाजसेवीले राष्ट्रकविका विशिष्ट प्रतिभा एवं नेपाली भाषा साहित्यमा पुर्याएको विशिष्ट योगदानको खुलेर चर्चा गरे, दीर्घ जीवन र नयाँ सिर्जनाको आशा कामना गरे। वक्तामध्ये कतिपयले ‘जनस्तरबाट यस किसिमको भव्य र व्यवस्थित साहित्यिक अभिनन्दन कहिल्यै भएन, यो अवसर ऐतिहासिक भयो’ भनी सगौरव सुनाए। हुन पनि महेन्द्रपुलदेखि सुरु भएर विन्ध्यवासिनी मन्दिर हुँदै क्याम्पससम्मको झन्डै पाँच किलोमिटर लामो जुलुस थियो। तर अचम्म, स्थानीयले सरकारी कर्मचारी, सेना वा प्रहरीको सहयोगको अपेक्षा र उपस्थितिविना पनि राष्ट्रकवि सम्मान कार्यक्रम शान्तिपूर्ण वातावरणमा उल्लासका साथ सम्पन्न गरे। धन्य, धन्य पोखरावासी!
प्रकाशित: ३० श्रावण २०७८ ०२:२५ शनिबार