१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

उठ्नै नसक्ने गरी जमिनमा पछारेर गयौ

मुक्तक

प्रकाश घायल

 

                  १)

नजरमा फुल्ने फूलको थुँगा सजाउँदै छु,

ढुङ्गालाई  मूर्ति मनलाई  ढुङ्गा बनाउँदै छु।

ठुला सपना देख्नु छैन चित्त बुझ्छ थोरैमा ,

आजकाल आँसु भेलमा डुङ्गा चलाउँदै छु।

                  २)

कहाँ  शान्ति मिल्छ  र मोहन,मीरा रोएपछि,

मनभरि सन्तापको आँसुले पसिना धोएपछि।

जसले जेजे भने पनि साक्षी किनाराको सदर,

निष्ठापूर्वक गर्नु काम सपथमा गीता छोएपछि। 

                   ३)

उठ्नै नसक्ने गरी जमिनमा पछारेर गयौं,

कलेजीछेउमा सिस्नो,कांडा सारेर गयौं।

मन –मुटुमै घरघडेरी र सम्पत्ति दिँदा पनि,

मलाई  एक्लै  बिलखबन्दमा पारेर गयौं!

                  ४)

बाहिर मिजासिला देखिन्छन् भित्र गोटी चाल्नेहरू,

झन् आगोले पोल्छ भन्छन् आगोमै हात हाल्नेहरू।

आदर्शका प्रवचन दिन्छन् ,नैतिकताको कुरा गर्छन्,

घर बनाउने सल्लाह दिँदै छन् भएको घर बल्नेहरू।

                  ५)

समस्या परेको बेला आफ्नैले अड्को थाप्छ्न्,

यथार्थ  बतायो भने झन्– झन् पो झर्को मान्छन्।

बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्थे हो रहेछ,

अध्यादेशले विदेशी नेपाली बन्न लर्को लाग्छन।

                      –फुटुङ, काठमाडौ।

प्रकाशित: १० श्रावण २०७८ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App