छायादत्त न्यौपाने बगर
रुख ढल्यो
जराले जरा झिकिरहे
पुराना पात
पालुवा पन्छाउन व्यस्त
चुहिरहे छानाहरू
खै टालिएका भित्ताहरू ?
रित्तिरहेछ पानस
दनदनी बलिरहेछ अँध्यारो
खनिरहेछ लुरेले
भकारी भरिरहेछ मोटेले
हिजोजस्तै चाल
उस्तै हैकम अहङ्कार ?
अविच्छिन्न तमस
परिवर्तनका चर्का नारा
कर्ममा बेथिति
भोक बाँचिरहेछ झोपडी
विलासका बगैंचाभरि
विभेदका खाल्डाखुल्डी यहाँ
कुचो लाउनु छ
बासी मान्छेको भीडमा
जाँगरिला पैतालाले
वैचारिक धार टेकेर
अँध्यारो निभाउनु छ
दियालो सल्काएर यहाँ !
प्रकाशित: ६ श्रावण २०७८ ०३:३९ बुधबार